नोटः तस्विरसँग सो हलको कुनै संवन्ध छैन् । |
छाता ओडेर फिल्म हेरेको क्षणको सम्झना लेख्दा मैले बाचा गरेको थिए कि अर्को फिल्म हेर्दाहेर्दै भित्तो भत्किएको प्रसङ्ग लेख्नेछु भनेर । सोही बाचा पुरा गर्ने प्रयासमा छु, आज म । जतिखेर म ‘प्लस टु’ पढथे, त्यति खेरको घटना थियो त्यो ।
चन्द्रनिगाहपुरका त्यसताका रहेका दुईवटा फिल्म हल मध्ये एउटा हल थियो– भवानी चलचित्र मन्दिर । महेन्द्र राजमार्गसँगै जोडिएको थियो, त्यसको मुलढोका चाँही । जसलाई हामी बोलचालको भाषामा माथ्लो हल भन्थ्यौं, त्यसरी नै चिन्थ्यौं । त्यही हलमा चलेको थियो, राजेश हमाल र दीपा श्री अभिनित चलचित्र ‘गाउँले’ । त्यही चलचित्र हेर्न जाँदा हो, माथ्लो हलको दायाँतर्फको भित्तो भत्किएको ।
मेरा एकजना निकै नै मिल्ने साथी छ, नवराज पहाडी । हुन त उ धनुषा जिल्ला अन्तर्गतको लालगढ, बेङ्गाडाबरको हो । त्यतिखेर भर्खर एसएलसी दिएको भए पनि यतिखेर भने ऊ इन्जिनियर भइसकेको छ र त्यही पेशामा छ, बिदेशमा ।
त्यो बेला एसएलसी दिएर मेरो टोलमा रहेको एकजना आफान्त कहाँ ऊ बस्न आएको थियो, सोही बसाईमा मेरो उसको यति निकट संवन्ध भयो कि हामी एकपल पनि छुट्टिदैनथ्यौं । निकै रमाइलो र अबिश्मरणीय पल थियो, उसँग बिताएका । मैले ‘कुरकुरे’ उमेरमा मन पराएको एकजना केटीलाई मेरो पक्षमा ल्याउन उसले निकै नैै बलजोड पनि ग¥यो, मैले जस्तै उसको पनि केही हात लाग्न सकेन् । जे होस्, त्यो बितेका क्षण म कहिल्यै पनि बिर्सन भने सक्दिन् ।
नबराज कै प्रस्तावमा हामी त्यो दिन ‘गाउँले’ फिल्म हेर्न गएका थियौं । फुटबल मैदान मै हाम्रो सो फिल्म हेर्ने योजना बनेको थियो, उसैको प्रस्ताव मानेर हामी दुवै जना ‘नाइट शो’ हेर्न गएका थियौं । अरु अरु गए पनि तर म राती राती फिल्म हेर्न भने जादैँनथे । त्यसको कारण एउटै थियो– राती खाने खाने बेला म जसरी पनि घरमा हुनु पर्दथ्यो, नत्र बाले ‘डायलग’ ले रामधुलाई गर्थे । दिनभर जहाँ गए पनि मलाई फ्रि नै थियो तर रातमा भने खाना खाने बेला घर पुगिएन भने के–के हुन्थ्यो, त्यो अहिले सम्झिऊ मात्रै, जम्मै चाँही नभनौं (हा...हा...हा )। दिनभर चौतारो र फुटबल मैदानमा ठुल ठुला गफ दिए पनि राती भने बाको अगाडी लुत्रुक पर्नु पर्दथ्यो, क्या पीडा हुन्थ्यो मलाई ।
बालाई चाँही छोराले जतिखेर पनि पढेको अवस्थामा देख्नु पर्ने तर आफ्नो मन चाँही सद्यै साथीभाई, फुटबल मैदान, चौतारो मात्रै कुदिरहने, कयौं बर्ष यसरी नै गुज्रियो । खैर, अब केही छैन, नवराजले मलाई साहस दियो, ‘एसएलसी पास गरेको मान्छे हौ, जाबो के डर मान्छ्यौ, बाऊसँग ।’ उसले फुटबल मैदान देखी उचाल्न सुरु गरेको, घर आउन्जेल सम्म पनि उचाल्यो मलाई, मैले पनि साहस लिए ‘अब पनि के बाऊको डर मान्नु, एसएलसी पास गरेको मान्छे न हुँ म ?’ भन्दिए र हान्निए, भवानी चलचित्र मन्दिरमा ।
तर त्यो हलमा पस्यो कि सद्यै एउटा कुराको भने निकै नै याद आउने भन्या, के भा को हो ? त्यो चाँही म बुझ्नै सक्दिन थे । जव पहिलो पटक म आफ्ना दीदीहरुसँग फिल्म हेर्न गएको थिएँ, परिवारका अन्य ठुला सदस्य पनि थिए । त्यतिखेर म निकै नै सानै थिएँ, घरमा मलाई हेर्ने कोही नभए पछि उनीहरुले मलाई फिल्म हेर्न लगेको हुनुपर्छ, नत्र भुत्तिभाङ्ग फिल्म नबुझनेलाई किन लान्थे होला त्यतिखेर ? राती फिल्म हेर्दा हेर्दै आफुलाई भने ‘सु’ आइदियो । कहाँ ‘सु’ गर्ने ? कसरी गर्ने ? त्यसपछि उनीहरुले सिट भन्दा मुनी राखेर मलाई हल भित्रै ‘सु’ गर्न आदेश दिए । मैले निकै आनन्द मानेर ‘सु’ त गरे तर त्यहाँ भने अचम्मको घटना भयो । ‘सु’ गर्न पाएको छैन, तलवाट कराउन सुरु भयो, ‘को हो त्यो मेरो टाउकोमा ‘सु’ गर्ने ?’ त्यसपछि त के के हो ? के के ? भएछ के भने, मैले ‘सु’ गरेको बाल्कोनीको भुईमा त काठ (पट्टा) विछयाइरहेको पो रहेछ । माथीवाट ‘सु’ गरेको काठको प्वालवाट छिरेर तल बस्नेलाई लुथ्रुक्कै बनाई दिएछ । अनि किन नकराउन त तला बस्नेले ? पछि बल्ल बल्ल तल रहेकालाई थामथुम पारेर कुरा मिलाए छन् । ‘बच्चा भएकाले मात्रै छाडेको हो, नत्र ?’ धम्काउनु सम्म धम्काएछन्, दिदीहरुलाई । दिदीहरुले पछि सम्म यही कुरा गरेर मलाई बारम्बार जिस्काउँथे । उनीहरुले नभनेको भए, के थाहा पाउँथे, थाहा नपाएको भएँ, आज किन घरीघरी सम्झीरहन्थे । मैले यही कुरा नबराजलाई पनि सुनाए, त्यो बेला । उ चाँही मरी मरी हाँस्यो ।
फागुन–चैत तिर हुनुपर्छ । चन्द्रनिगाहपुर(चपुर)मा जस्तो सुकै नेपाली फिल्म चले पनि सुपर हिट हुने, ओ हो कति धेरै भिड हुन्थ्यो त्यो बेला । (दुईवटा हल थिए त्यो बेला, अहिले त एउटै छैन) । नवराज र म फिल्म हेर्दै गयौं, जहाँ माथीवाट ‘सु’ गर्दा तलका मान्छे भिजेका थिए, त्यही ठाउँमा नै बस्यौं । फेरी त्यहाँ दुवै जनाले ‘सु’ प्रसङ्गलाई जोडयौं । नवराज त मलाई जिस्काउँदै थियो, ‘पहिला तिमिले ‘सु’ गर्दा तलको मान्छे भिजे, आज तिमीलाई भिजाई देलान, अलि होसियार भऊ ।’
फिल्म चल्दै गयो, जहाँ हामी बसेका थियौ, त्यहाँवाट हलको रिल चलेको मज्जासँग सुनिन्थ्यो । टिरररररररर... आवाजले हैरान बनाए पछि अलि स¥यौं । बाल्कोनी भन्दा तल्लो क्लासको ‘स्पेशल’ मा हामी बसेका थियौं । एकछिन पछि पानी पर्न सुरु ग¥यौ । जस्तापाताको छानो भएकाले हल भित्रै पानी परेको मज्जासँग नै सुनियो । प्राबधिकले साउन्ड त बढायो, के छेक्न सक्थ्यो र जस्तापातामा बज्रिएको पानीको आवाजलाई । त्यसैगरी सुइय सुइय गर्दै हुरीबतास चलेको आवाज पनि उत्तिकै सुनियो । ‘तिमी चाँही बाहिर नजाउँ है, हावाले उडाई देला नी’ मेरो दुब्लो शरिरलाई नवराजले ब्यंग्य हान्यो । तैपनी, नबराजको ब्यंग्य, जस्तापातामा बज्रिएको पानीका आवाज र बाहिरको हुरी बतास, कुनै प्रवाह नगरी मेरा आँखा चाँही पर्दा भन्दा बाहिर जानै सकेन् । त्यसमाथी राजेश हमालले गुन्डालाई कुटदा हलमा बज्ने ताली र सिटठीले यति रोमाञ्चित बनाइरहेको थियो कि घरमा जाँदा बाले गाली गर्छन भन्ने डर मलाई त फुट्टी नाई ।
यतिकैमा नवराजले मलाई कोटयायो । ‘डिस्टर्ब नगर न यार’ मैले जिऊ चलाउँदै भने तर उसले कोटयाउन छाडेन । निकै नै गरे पछि ‘के भयो ?’ म झर्किए । अनि, उसले दायाँ तर्फको भित्तोमा इशारा ग¥यो, हेरे तर केही देखिन् र फेरी पर्दामा आँखा एकटक्क । पुनः उसले मलाई कोट्यायो र नबोलीकन त्यही भित्तोमा हेर्न फेरी इशारा ग¥यो । जब मैले गढिएर हेरे अनि पो सात्तो गयो । त्यो भित्तो त हुरी बतासले लचक लचक बनाउँदै पो रहेछ । त्यो दृश्य देखे पछि मलाई चाँही निकै डर लाग्यो र मनमनै सोचे– अब भित्तो भत्किने भयो । उसलाई त पहिला देखी नै डर पसिसकेकोे रहेछ र त नबोलीकन इशारा मात्रै गरेर बस्दो रहेछ । अचानक, दायाँ तिर बसेर फिल्म हेर्ने दर्शक भागाभाग गर्न थाले । हल भित्र भित्तो हल्लिन थाले पछि हल्लीखल्ली सुरु भयो । झन हुरी बतास यसरी चलेको छ कि त्यसको आवाज नै निकै त्रासदीपुर्ण रहेको भित्रै नै अनुभव गर्न सकिन्थ्यो ।
पछि कुरा बुझदै जाँदा थाहा भयो कि बायाँ तर्फको भित्तो इटाँको भए पनि दायाँतर्फको भित्तो चाँही बाँसले बेरेको पो रहेछ, (तराई तिर त्यसलाई बाँसको टाटी लगाएको भनिन्छ), त्यसैले पो हल्लिरहेको रहेछ । जति जति जोडले बतास चल्थ्यो, त्यो बाँसको टाटी त्यही बेगमा लचक लचक हुन्थ्यो । यद्धपी, फिल्म भने निरन्तर चलिरहेको छ । दायाँ तर्फ हल्लिरहेको भित्तोले हाम्रो ध्यान पुरै केन्द्रित गरेकाले फिल्ममा के भइरहेको थियो ? बुझ्न सकिरहेको थिएन् ।
दायाँतर्फ बसेका सबै बायाँतर्फ आए, नाइट शो भएकाले दर्शक कम थिए । हेर्दाहेर्दै, पर्दा छेऊमा रहेको भित्तोले पानीको गलाई र बतासको पेलाई सहनै सकेन । बाँसको टाटीको त्यो भाग झ¥यो– गल्र्याम्म ? त्यो टाटी ढल्दा आएको चिसो हावाले हामीलाई पनि छोयो, सबै एकै पटक कराउन थाले । टाटी झरे पछि बाहिर हेरेको त हल भित्रैवाट मकैबारी पुरै देखियो, छ्याङ्गै । चटयाङले निकालेको बिजुलीले ठिङ्ग उभिएको रुख बतासका कारण भुई छोउला झै गरेको पनि हल भित्रैवाट देखियो । बतासे पानी हल भित्र पनि पस्न सुरु ग¥यो । हलवालाले त्यसपछि फिल्म रोक्यो, रिल घुम्न बन्द भयो ।
फिल्म हेर्दा हेर्दै हलको एउटा भित्ता नै ढल्यो । चलिरहेको फिल्म रोकियो । हलवाला आएर भन्यो, ‘आजलाई हल बन्द भयो, भोली टिकट लिएर आउनु होला, त्यही टिकटमा हामी फिल्म हेर्न दिन्छयौं ।’ तर, हलवालाको सो कुरा सबै दर्शकले कहाँ मान्छन र ? दर्शक बिचमा नै बादबिबाद सुरु भयो । कोही हेर्ने भन्छन, कोही नहेर्ने ? हामी दुई फुच्चेका कुरा कसले सुन्छ र ? हामी बोल्दै बोलेनौ र चुपचाप बस्यौं, रमिता हेरिरहयौं तमासे भएर ।
‘जे जे भए पनि फिल्म चाँही पुरै हेर्ने’ भन्ने मत नै बलियो भयो र हलवालाले हार खाएर फिल्म चलायो । भित्र फिल्म चलिरहेको छ तर मेरो आँखा चाँही कहिले हलको पर्दामा जान्छ त कहिले बाहिरको मकैबारीमा ।
मकैबारी र हलको पर्दा दुवै तिर हेर्नु पर्दा फिल्म त वुझ्नै केही सकिएन् । जे होस, ‘पुरै फिल्म’ हेरेर घर आइयो । रातको १० बजिसकेको थियो, चौकवाट घर पुग्दा त बाटो भरी रुखहरु लडेका रहेछन् । रुखका हाँगा भाचिएर बाटोमा आएको, कसैको घरको छानाका खपडा सडकमा वाल छ्वाल्ल भएको जस्ता दृश्य देखियो । सद्यै सुत्ने गाउँ त्यो दिन सुतेको नै रहेनछ, हरेक घरमा बत्ति बलेको पनि देखियो ।
बाले त घर पुग्ने बित्तिक्कै बोलीको झप्पु हाल्लान भन्ने डर मनमा त छदैँ थियो । घर पुग्दा केही गरेनन तर ‘कहाँ थिइस, यत्रो हुरी चल्दा ?’ भनेर आमाले सोध्नु भयो र मेरो टाउको मुसार्नु थाल्नु भयो । बाले आँखा मात्रै तरे, तै केही पनि भनेनन् ।
‘हामी त चौकमा पानी परेर अडकियौं नि, अंकल’ भन्दै नवराजले स्पष्टीकरण दिदै थियो । अरु के के भन्यो, मलाई त थाहा भएन । तर, जे होस, उसले बाको चित्त चाँही मज्जैसँग वुझायो जस्तो लाग्छ ।
भोलीपल्ट नवराज र म फेरी हलमा गयौं, ‘हिजो भित्तो भत्किएको हल आज कस्तो भयो होला ?’ भन्ने जिज्ञासा बोकेर । जाँदा त हल भित्रवाट मोटर लगाएर पानी पो तानिरहेको रहेछ । त्यस पछि त्यो हल कहिल्यै पनि खुलेन् । हामीले हेरेको ‘शो’ नै त्यो हलका लागि अन्तिम भईदियो ।
No comments:
Post a Comment