Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, May 25, 2013

महन्थ र उपेन्द्रलाई टुक्राउने गच्छदार पो रहेछन, अहिले आएर पो कहेछन् !

बिजयकुमार गच्छदार, नेपालको राजनीतिमा जति भाग्यमानी छन, त्यो भन्दा कयौ गुना ‘बिबादस्पद’ र ‘रहस्यमयी’ नेता पनि हुन् । नेपाली कांग्रेसवाट परिचय र पहिचान बनाएका गच्छदार यतिखेर ‘मधेसमा क्रान्ति’ गर्न पुगेका छन् । आफुलाई ‘खाट्टी’ लोकतान्त्रिक भन्न रुचाउने उनी ‘कम्युनिष्ट शाषन’ स्थापनाका लागि लडेको भन्न रुचाउने माओवादीसँग पनि घाँटी जोडन पुग्छन र बर्षौ उपप्रधानमन्त्री पनि भई रहन्छन् ।
जसरी माओवादी अध्यक्ष प्रचण्ड अरुका पार्टी भित्र खेल्न सक्छन र भत्काउन सक्छन, उनै प्रचण्डसँग लामो समय ‘सहकार्य’ गरेका गच्छदारले त्यसतै सिको गरेर दुईवटा पार्टी नै फुटाइदिएका रहेछन, जो धेरैलाई थाहा हुन सकेको छैन् । तर, आफ्नै बलमा पार्टी बिभाजन गराई दिएर ‘अध्यक्ष’ बनाएकाले पछि धोका दिए पछि गच्छदारले के गरे त ? त्यसको एउटा ‘भित्री रहस्य’ चाँही भर्खरै पत्ता लागेको छ । त्यो रहस्यलाई यहाँ समेटने प्रयास गरेको छ, आजको यो ब्लगमार्फत ।
कांग्रेसी हुदैँ मधेसी जनअधिकार फोरम, नेपालमा प्रवेश गरेका गच्छदार आफै पनि उपेन्द्र यादव नेतृत्वको फोरम, नेपाललाई बिभाजन गरी फोरम लोकतान्त्रिक भन्ने नयाँ पार्टी बनाएका ब्यक्ति हुन् । उनी अहिले पनि त्यसका अध्यक्ष नै छन् । ‘तोडन, फोडन र बिभाजन गर्न’ खप्पिस गच्छदारले आफुले छोडेर आएको पार्टी फोरम नेपाललाई पुनः बिभाजन मात्रै गरिदिएका रहेनछन, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीलाई पनि त्यही हालतमा पु¥याउन सफल भएका रहेछन् । त्यसका लागि ‘थारुको चतुर छोरो’ गच्छदारले दुवै विभाजनका बेला ठुलै ‘द्रब्य’ लगानी पनि गरेका रहेछन् ।
सुरु गरौं, आफुले छाडेर आएका उपेन्द्र यादव नेतृत्व फोरम नेपालवाट छुट्टिएका जेपी गुप्ताको प्रसङ्गवाट । गुप्ताले उपेन्द्रको ‘ब्यक्तिवादी र जातीवादी अहंकार’ तोडन पार्टी बिभाजन गर्ने निर्णय त गरे तर सख्त जरुरी भईदियो, ‘द्रब्य’को । त्यो पार्टी विभाजन गर्नका लागि गुप्तालाई दुई कुरा गर्नु अनिवार्य थियो, पहिलो आफुसँग आउनेलाई मन्त्री बनाई दिने भरपर्दो प्रतिवद्धता ब्यक्त गर्नु र दोस्रो, त्यसका लागि केही खर्चका बन्दोबस्त गर्नु ? पहिलो त बोले पुग्ने थियो, तत्काल नै गरिहाले । दोस्रो त दिनु पर्ने कुरा थियो, त्यसमा भने गुप्तलाई समस्या आयो ।
त्यसपछि गुप्ता पुगेछन्, गच्छदार कहाँ । ‘दाजु, उपेन्द्रसँग बस्न सकिएन, मैले पार्टी विभाजन गर्ने निष्कर्ष निकाले ।’ त्यसपछि गच्छदारले गुप्तालाई भने, ‘पहिला सँगै (फोरम लोकतान्त्रिक गठनका बेला) जाऊँ भन्दा मान्नु भएन, अहिले आएर त्यही महशुश गर्नुभयो ।’ गच्छदारका यस्तै यस्तै केही कुरा सुन्नु थियो, गुप्ताले सुने पनि । अनि  गुप्ताले गच्छदारलाई आफुँसँग आउने सभासदलाई केही ‘रकम बन्दोबस्त’ तत्काल गनुपर्ने तर आफुसँग नभएको सुनाए । गच्छदारले सर्त राखे, ‘ठिक छ, म पैसा त दिऊला तर भोली तपाईको पार्टी र मेरो पार्टी मिलाउनु पर्छ नी’ गुप्ताले त्यसमा मञ्जुर गर्दै भने, ‘ठिक छ, त्यो म गर्छु, त्यसका लागि अहिले मसँग आउन लागेका १३ जना सभासदको मात्रै केन्द्रिय समिति बनाउँछु, त्यसमा एकजना पनि थप गर्दिन र भोली पार्टी एक बनाएर जाउँला पहिला चाँही उपेन्द्रसँग निस्किएर आउनु प¥यो ।’ उपेन्द्रसँग पार्टी विभाजन गरेर आए पछि पुनः मिल्ने सर्तमा गच्छदारले गुप्तालाई तत्कालै ५ लाख दिने बाचा गरे र सोही बाचा आए पछि गच्छदार निवासवाट गुप्ता फर्के ।
गच्छदारले तत्काल आफ्नी श्रीमतिलाई भनेर ५ लाख निकालि दिन निर्देशन दिए । सो पैसा लिन गुप्ताले राहादानी दुरुपयोगको अभियोगमा जेल परेका पुर्व सभासद बीपी यादवलाई गच्छदार निवास पठाए । गच्छदारकी श्रीमतीले सो पैसा यादवको हातमा हालि दिइन् । त्यही पैसाले गुप्ताले धुलिखेलमा लगेर १३ जना सभासदलाई राखे र दुई दिन पछि पार्टी विभाजन भएको घोषणा गरे । लगत्तै संसद सचिवालयमा उपेन्द्र नेतृत्वको पार्टी विभाजन भएको जानकारी गराउँदै गुप्ता कै अध्यक्षतामा गठन भयो– मधेसी जनअधिकार फोरम, गणतान्त्रिक ।  
दोस्रो, महन्थ ठाकुर नेतृत्व तमलोपाको विभाजनमा पनि गच्छदारले ‘राम्रै’ लगानी गरे । गुप्ताले झै महेन्द्र यादव पनि गच्छदार कै शरणमा परे, ‘द्रब्यका लागि’ । महेन्द्र र गच्छदार विच कुराकानी ‘फाइनल’ भए पछि ‘द्रब्य’ रौतहटका गोबिन्द चौधरीले ल्याए । ‘सभासद तान्न र पार्टी चलाउन’ गच्छदारका रकम त्यहाँ पनि काम लागि दियो । गुप्ता र महेन्द्र यादवले गच्छदारले दिएका पैसा ‘घर खर्च’ भन्दै आफुसँग आएका सभासदलाई पनि दिए, केही आफ्नै पकेट र ‘अन्य स्रोत’ वाट निकाल्ने काम गरे । जे होस, दुबै पार्टी विभाजनमा राम्रैसँग ‘द्रब्यको चलखेल’ भयो, बिभाजन गर्ने र आउने दुवै पक्षलाई त यो कुनै नयाँ कुरा भने हुदैँ होइन् ।
त्यसवाट गच्छदारले एउटा फाइदा भने उनीहरुवाट लिन सफल भए, आफु भन्दा कयौं गुना सिनियर भए पनि ठाकुरलाई पछि पार्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अघोषित नेता हुन सफल भए । सबैजसो सहमतिहरुमा गच्छदारको हस्ताक्षर हुनुका कारण पनि यही थिए । त्यसमा चाँही अर्थात मोर्चाका नेता महन्थको सट्टा गच्छदारलाई बनाउनुमा गुप्ता र महेन्द्रको ठुलै हात रहयो । त्यस्तै, महन्थका सट्टा मधेसी मोर्चाका तर्फवाट गच्छदार प्रधानमन्त्रीको उम्मेदवारी दिनुमा पनि त्यही ‘ब्याक बोन’ शक्तिले काम गरेको थियो ।
दुई ठाउमा गच्छदारलाई राम्रै सहयोग गरे पनि पछि चाँही गुप्ता र महेन्द्र टाढिन खोजे । पहिला शरण पर्न जाने र ‘द्रब्य लिने’ उनै गुप्ता र गच्छदार भने पार्टी बिभाजन पछि गच्छदारसँग क्रमशः बाङ्गिन सुरु गरे । ‘पार्टी फुटाएर आए पछि भोली मिल्ने भन्ने सर्त’ मा ‘द्रब्य’ लगानी गरेका गच्छदारले पुर्व सहमति अनुसार गुप्ता र महेन्द्र चल्न छाडे पछि निकै नै सशंकित भइदिए । गच्छदारले त्यस तर्फ धेरै पटक ध्यानाकर्षण गराए, दुबैले ‘भोली भोली’ भन्दै टार्दै गए । त्यसको केही समय पछि भ्रष्टचारको आरोपमा मन्त्री छदैँ गुप्ता जेल गए, पार्टी एकता गर्ने र शक्तिशाली हुने गच्छदारको सपनामा एउटा ठुलै धक्का लाग्यो ।
उता, महेन्द्रले पार्टी एकता गर्न तर्फ ध्यान दिनु भन्दा पुर्व सहमति बिपरित भित्र भित्रै संगठन बिस्तारमा ध्यान दिन थाले । जुन कुरा गच्छदारलाई एकरती मन परेन् । उनलाई लाग्यो, गुप्ता र महेन्द्र दुबैले आफुलाई धोका दिइरहेका छन र पुर्व सहमतिलाई निरन्तर उलङघन गरिरहेका छन् ।
त्यही रिसमा गच्छदारले सरकारवाट हटेको एक महिना भित्रैमा महेन्द्र यादवको पार्टीमा पहिलो आक्रामण गरे र उनलाई ‘नाङ्गै’ बनाइदिए । महेन्द्रसँग रहेका ९ जना सभासद मध्ये एकै दिन ५ जनालाई आफ्नो पार्टीमा प्रवेश गराई आफ्नो ‘तागत’ देखाए । जसको नेतृत्व गर्न लगाए, पार्टी विभाजन गर्ने बेला गच्छदारसँग पैसा लिन जाने उनै गोबिन्द चौधरीलाई । महेन्द्रका सबै जसोलाई ‘साम दाम दण्ड भेद’ प्रयोग गरी गच्छदारले लगे र गौरमा प्रवेश कार्यक्रम राखेर महेन्द्रलाई ‘बिजोग’ बनाइदिए । अब महेन्द्रसँग अब ठुला नेता भनेका दानबहादुर चौधरी मात्र छन्, गच्छदारसँग नगएका अरु पहिला नै बाटो लागि सकेका थिए । चौधरी पनि महेन्द्रलाई छाडेर कुन दिन हिडने हो ? त्यसको ठेगान छैन् । त्यही पीडाले होला, आजकाल महेन्द्र गुमनाम छन । प्रायः उनकोे मोबाइलाई सम्पर्क बिहिन हुन्छ, नभए पनि फोन उठाउँदैनन् ।
उता, गच्छदारसँग मिल्ने बाचा गरेका गुप्ता जेल मुक्त भए पछि तराई–मधेस जागरण अभियान लिएर हिडिरहेका छन् । गच्छदारको ध्यान अब धोका दिने ‘भाई गुप्ता’ लाई पनि महेन्द्र जस्तै बनाउनेमा छ । महेन्द्रले टक्कर लिदाँ के भयो ? त्यसको स्वाद चखाउने पक्षमा यतिखेर गच्छदार रहेका छन् । जेलवाट छुट्ने बितिक्कै गुप्ताका पछि लागेका पुर्व सभासद सन्ध्यादेवी, सल्मा खातुन, ओमप्रकाश गुल्जारी अहिले क्रमशः गुप्तासँग टाढिन सुरु गरेका छन् । हुन त सन्ध्या देवीहरु उपेन्द्रसँग पार्टी बिभाजन गर्दा गुप्ताले दिन्छु भनी बाचा गरेको बाँकी ‘द्रब्य’ लिन डिल्लीबजार सदरखोरमा नै पुग्थिन । गुप्ता सद्यै ‘म बाहिर आए पछि बाचा गरेको रकम दिलाई दिन्छु’ भन्थे तर गुप्ता निस्केको दुई महिना बढी भइसक्यो, सन्ध्याले बाचा गरे अनुसारको रकम पाउन सकेकी छैनन् । परिणाम, सन्ध्याको मन अब गुप्तासँगै टासिएर बस्ने पक्षमा रहेको छैन् । गच्छदार भने गुप्तासँग रहेका सबैलाई आफ्नो लाने प्रयासमा निरन्तर गरिरहेका छन । त्यसैले कुनै दिन गुप्ता एक्लै भए भने अनौठो नमाने हुन्छ किनकी महेन्द्रलाई जस्तै गुप्तालाई पनि गच्छदारले ‘नाङ्गै’ बनाई दिदैछन् ।
गच्छदारवाट हुने त्यो खतराको सुईको पाएका गुप्ता हतार हतार उनैसँगै छुट्टिएका शरदसिंह भण्डारी र तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग मिलेर जान प्रयास गरिरहेका छन् । ताकी, ‘नाङ्गो’ हुनु भन्दा अघि नै ‘सेटल  र सेफ ल्यान्डिङ’ हुन सकियोस’ भन्ने चाहाना गुप्ताको छ, गुप्ताको मान्छे यही भन्छन् ।
जय मधेस !!!



No comments:

Post a Comment