Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, October 14, 2015

जब राजेन्द्र महत्तो वेलकम होटलमा चुकुल लगाएर रोए...

नयाँ संविधानको धारा २९८ लाई कार्यान्वयन गराउनका लागि भएको प्रधानमन्त्रीको निर्वाचनमा आन्दोलनरत तराई–मधेस केन्द्रित दलले मतदान गरे पछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा समस्या देखा परेको छ ।

तर, नयाँ संविधानलाई स्विकार गरेको तथा त्यसको कार्यान्वयनमा सहभागी नभएको जति जिकिर गरे पनि त्यो सत्य हुन सक्दैन् । नयाँ संविधानको धारा २९८ लाई कार्यान्वयन गराउनका नै सो चुनाव गरिएको थियो । सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउनका लागि नै मधेसी मोर्चाले वार्ता टोली गठन गरिएको थियो ।

 जुन रहस्यको उदघाटन तत्कालिन वनमन्त्री महेश आचार्यले वालुवाटारको गोप्य बैठकमा नै गरि दिएका थिए, जुन कुरा मैले चुनावको ६ दिन अघि नै नागरिक दैनिकमा समेत लेखेको थिए । ‘महन्थजीहरु भोट हाल्न आउनु हुन्छ, त्यसैले सुशिल दाले जित्नु हुन्छ’ नभन्दै त्यसको ६ दिन पछि मोर्चाका ३४ सभासदले प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापति कोइरालालाई मत हालेरै छोडे, वनमन्त्री आचार्य यस सवालमा पुष्टी नै भए ।

तर, कोइरालालाई भोट हाले पछि उपेन्द्र–महन्थ–राजेन्द्र–महेन्द्रको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सबैभन्दा संकटमा परेको छ । आन्दोलन छाडेर प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएको भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद बृजेशकुमार गुप्ताले राजिनामा दिए भने सरिता गिरीले पार्टी नै परित्याग गरिन् ।

प्रधानमन्त्रीको निर्वाचनमा मत हाल्ने कि नहाल्ने भन्ने बिबादका बिच शनिवार राती तमलोपा कार्यालय, बिजुलीबजारमा बैठक बसेको थियो । त्यो बेलासम्म, उपेन्द्र यादव चाँही कोइरालाले चुनाव हार्छन, त्यसकारण मतदान नगरौं भन्ने पक्षमा देखिएका थिए, जसकाकारण उनी बिजुलीबजारमा गएनन र बरिष्ठ नेता अशोक राईलाई त्यहाँ पठाए । तर, सो शनिवार रातमा कोइरालालाई मत हाल्ने भन्नेमा लगभग सहमति भई सकेको थियो ।

महन्थ त कोइरालालाई मत हाल्नका लागि मुख्य लबिङ गर्ने नेता नै थिए, कारण उनलाई भावी राष्ट्रपतिको भरपर्दो आश्वासन आइसकेको थियो । जसकाकारण कोइरालालाई मत हाल्ने बारेमा अरु भन्दा उनी अलि प्रस्ट नै थिए ।
आइतवार प्रधानमन्त्रीको निर्वाचनको तयारी हुदैँ गर्दा बिजुलीबजारमा भने मत हाल्ने निष्कर्ष मधेसी मोर्चाले औपचारिक रुपमा नै निकाल्यो । बिज्ञप्ति पनि तयार पारियो । जसमा ओली प्रति लक्षित गर्दै त्यसको बिपक्षमा मत हाल्ने निर्णयसमेत मोर्चाले ग¥यो ।

त्यतिबेला राजेन्द्र महत्तो भने जनकपुरमा थिए । त्यहाँको वेलकम होटलमा बसिरहेको महत्तोले कोइरालाले चुनाव हार्ने लगभग निश्चित भए पछि चुनावमा मत हाल्न नहुने अडान कसे तर उनका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण भने मत हाल्नु नै पर्ने पक्षमा उभिए । कोइरालालाई मत हाल्ने कि नहाल्ने ? भन्नेमा दुवै नेता बिच टेलिफोनमा नै बिबाद भयो ।

ब्यवस्थापिका संसदको बैठकमा उपस्थित भए पनि महत्तो सदभावनामा भने ३ बजेसम्म पनि मत हाल्ने कि नहाल्ने भन्ने 'फाइनल' नै हुन सकिरहेको थिएन । महत्तोसहित अन्य पार्टीका सभासद पनि कोइरालालाई मत हाल्ने नेतृत्वको निर्णयको भने बिपक्षमा थिए ।  तर, ‘ठुल्दाई’को निर्देशन उलङघन गर्ने पक्षमा मधेसी नेताहरु कोही पनि सामथ्र्यवान थिएनन् ।

उता, जनकपुरको वेलकम होटलमा बसेर प्रत्यक्ष प्रसारण हेरिरहेका महत्तोले आफनी श्रीमती शैलीदेवीलाई जब टेलिभिजनमा देखे, तव उनले भनिदिए– ‘ठिक छ मेरो पनि सहमति छ, मतदान गर्नुहोस् ।’ त्यसपछि सबै सभासदले कोइरालाको पक्षमा मतदान गरे, अन्ततः कोइरालाले ओलीसँग चुनाव हारे । त्यसपछि भने मधेसी मोर्चामा भने ठुलै संकट देखा पर्न थाल्यो ।

महत्तो वेलकम होटलमा चुक्कुल लगाएर दुई तीन घन्टा बसे, नेता कार्यकर्ताको फोन पनि उठाएन, बिघ्नै फोन आए पछि उनले मोबाइल नै स्विच अफ गरे । पत्रकार देखी पार्टी नेताको कुनै पनि जवाफ उनले दिएनन । सदभावनाका नेताका अनुसार उनी त्यो कोठा भित्र बसेर मज्जैसँग रोए । उनको बुझाई छ, यो सब सह–अध्यक्ष कर्णका कारण भएको हो । कानुनी र कुटिल भाषा प्रयोग गरेर मधेस आन्दोलन तुहाउनका लागि कर्ण र ठाकुरले मुख्य भुमिका खेलेका छन् ।

त्यसपछि महत्तो त्यहाँवाट निस्केर हिडे । भिट्टामोडमा उनलाई केही आन्दोलनकारीले दुब्र्यब्यावहार पनि गरेका रहेछन् । ४२ जना आन्दोलनकारी मारिएको  हिसाव किताव पनि महत्तोसँग मागियो तर उनी नाजवाफ थिए । त्यहाँ बस्दा थप तनाव हुने भएकाले उनी भारतको सितामढीतर्फ लागे, उनी नेपालमा भने बसेनन् । किनभने, उनी आन्दोलनकारीको तारामा परेका थिए ।

आन्दोलन नै छाडेर मतदान गरे पछि उपेन्द्र–महन्थ–राजेन्द्र–महेन्द्रको जनकपुरमा पुत्ला दहन भएको छ । सत्ताका लागि ४२ जनालाई अनावश्यक मार्न लगाएको आरोप उनीहरु माथी आन्दोलनकारी माथी छ । त्यो सजिलै सेलाउनेवाला भने छैन ।

खासमा, भारतीय संस्थापन पक्ष र गुप्तचरी संस्थाहरुले एमाओवादीमा बिभाजन आउने र पार्टी छाडेका बाबुराम भट्टराईले पार्टी फुटाउनेसहित राप्रपाले मत हाल्ने खबर गरिएको थियो । त्यती मात्रै होइन, ओलीका समर्थक रहेको राप्रपा नेपालमा 'फ्लोरक्रस' हुनेसम्मका तिव्रताका साथ मधेस केन्द्रित दलका नेताहरु सामु प्रचार गरिएको थियो ।

प्रधानमन्त्रीको निर्वाचन अघिल्लो दिन राप्रपाका सभासद बिक्रम पाण्डे र सुर्यबहादुर थापाका नाती सिद्धार्थ थापाले पनि आफनो पार्टीको ‘कन्डिसन’ मधेसी नेताहरुलाई बताएका थिए । उनले कोइरालालाई मतदान गर्ने जनाउ पनि दिएका थिए ।

त्यही रात बाबुराम भट्टराई निकट नेता देवेन्द्र पौडेल वालुवाटार छिरे र संञ्चारमन्त्री मिनेन्द्र रिजालसँग गोप्य भेटघाट पनि गरे । ‘तपाईहरुको १० जनाले 'फ्लोर क्रस' गर्ने खबर आएको छ, के तपाईहरु अब २० जनालाई गराउन सक्नु हुन्छ ?’ भन्दै ठेकदारी पारीमा मन्त्री रिजालले पौडेलसँग वालुवाटारमा  कुराकानी गरे । त्यसका लागि जे जति गर्न र दिन तयार हुने मन्त्री रिजालको प्रस्ताव पनि आएको थियो । तर, भट्टराईले भनेको मान्नेवाला कोही पनि थिएनन् ।

त्यसैले पौडेलले बाबुराम हस्ती मानिएका टोपबहादुर रायमाझी र प्रभु साहले नै 'फ्लोरक्रस' गर्न अस्विकार गरेको जनाउँदै पौडेलले आफना सबै सभासदले ओलीलाई मत हाल्ने खबर शनिवार राती नै गरि दिएका थिए । तर, यो घटना भने मधेसी नेताहरुले शनिवार साँझ थाहा पाएनन ।

जब बाबुराम भट्टराईले आफु निकट सभासदलाई सानेपास्थित निवासमा प्रधानमन्त्रीको निर्वाचनका दिन बोलाएका थिए, त्यो थाहा पाए पछि प्रचण्डले त्यही समयमा आफना सभासदलाई बानेश्वरमा भेला हुन निर्देशन दिए । संसदीय दलका नेताले दिएको निर्देशन उलङघन गर्ने हिम्मत कसैको भएनन, सभासद आउलान भनेर कुरेर बसेका भट्टराई हिस्स परे ।
त्यसपछि प्रचण्डलाई भट्टराईले फोन गरे, ‘म के गरु ?’ प्रचण्डको जवाफ थियो, ‘तपाई बानेश्वर आउनुहोस, आफनो राजिनामा सनाखत गर्नुहोस ।’ झोंकमा भट्टराई बानेश्वर गए र आफनो राजिनामा सनाखत गरे । सभामुख बानेश्वर संसद भवन छिरेको २ मिनेटमा बाहिर खबर आयो, बाबुरामको राजिनामा स्विकृत भयो । यो कुरा पनि मधेस केन्द्रित दलले निर्णय गरिसके पछि मात्रै थाहा पाए ।

उता, शनिवार दिउँसो गच्छदारले आफना मोर्चामा रहेका शरदसिंह भण्डारी र राजकिशोर यादवलाई निवासमा बोलाए । अघिल्लो दिनसम्म ओलीलाई भोट मागिरहेका गच्छदार शनिवार दिउसो अचानक कोइरालाको पक्षमा ढल्किए । भण्डारी र यादव भने कोइरालाको पक्षमा पहिला देखी नै थिए । गच्छदारको प्रस्ताव नै आए पछि आइतवार बिहान बैठक बसेर औपचारिक निर्णय गर्ने भनेर तीनै जना छुट्टिए ।

तर, गच्छदारले कोइराला र ओलीलाई रोज्नु परेमा ओलीलाई मतदान गर्ने बचन पहिला नै दिइसकेका थिए । आङछिरिङ शेर्पाको घरमा बसेका बैठकमा ओली, प्रचण्ड, गच्छदार, कृष्ण सिटौला र पुर्णबहादुर खडका सामेल भएका थिए । त्यही बेला ओलीको पक्षमा ३ सय २३ मत गणना गरियो । गच्छदार र कांग्रेस बिनाको नै ओलीलाई उक्त मत प्राप्त हुने त्यो दिनको बिश्लेषण थियो ।


 तर गच्छदारले भने त्यो दिन ओलीलाई मतदान गरे पनि संविधान संसोधन गरे पछि मात्रै सरकारमा आउन सक्ने तर्क गरेका थिए । जसका कारण गोपाल दहित र रुक्मीणि चौधरीसँग ओलीको पक्षमा पनि मत माग्ने काम भित्र भित्रै गरिरहेका थिए ।


दिउँसो गच्छदार, भण्डारी र यादवसँग कोइरालालाई मत दिने अनौपचारिक निर्णय गरे पनि प्रधानमन्त्री निर्वाचनको अघिल्लो रात गच्छदार उपाध्यक्ष जितेन्द्र देव र महासचिव रामजनम चौधरीलाई लिएर लाजिम्पाट पुगे । त्यहाँ प्रचण्ड र अनन्त कुरेर बसेका थिए, त्यही राती तीनै नेताले ओलीलाई मत दिने निर्णय गरे, तर सो अघि एउटा सम्झौता गर्नुपर्ने गच्छदारको सर्त थियो ।

त्यसपछि मध्यरातमा गच्छदार, जितेन्द्र देव र रामजनमले ओलीलाई भेट गरे । बिहान ९ बजे बानेश्वरमा एउटा सम्झौता गर्ने र त्यही सम्झौता गरे लगत्तै ओलीलाई भोट हाल्ने निर्णय गरेर छुट्टियो । यो कुरा कही कतै पनि सार्वजनिक गरिएन, यतिसम्मका गच्छदारसहित तीनै नेताले आफना अरु सभासदलाई पनि जानकारीसम्म दिएनन् ।

बरु, संसदीय दलको बैठकमा कोइरालालाई मतदान गर्नेतर्फ कुरा गरे । त्यसपछि बानेश्वर लागे, शनिवार राती नै भएको सहमति अनुसार गच्छदारले ओलीलाई मतदान गरे । ओलीले जिते ।

अघिल्लो दिन ओलीलाई समर्थन गरेका साना दलका नेताहरु हरिचरण साह, रामकुमार सुब्बा, यशोदा लामाले भने अन्तिम दिन कोइरालालाई मतदान गरे । शुक्रवार ओली निवासमा पुगेर खसीको मासु, माछा र हलुवावेद खाएका र भोलीपल्ट ओलीको समर्थनमा सही छाप गरेका यी नेता शनिवार साँझ वालुवाटार पुगेका थिए । बालुवाटारमा पुगे पछि  के ‘चमात्कार’ भयो कि भोलीपल्टै यी नेता पर्लक्कै पल्टे ।

ओलीलाई समर्थन जनाउने स्वतन्त्र सांसद पनि मतदानमा नै उपस्थित भएनन । संविधान प्रति बिमति राख्दै बहिस्कार गर्दै आएका थरुहट तराई पार्टीका दुई सभासद गोपाल दहित र गंगा चौधरी सत्गौवाले भने मतदान नै गरेनन् ।


१६ बुदेँ सहमतिका बेलामा "संविधान कांग्रेसको र कार्यान्वन एमालेको नेतृत्वमा" गर्ने भनि भएको भद्रा सहमति तोडदै कोइरालाले प्रधानमन्त्रीको निर्वाचनमा मतदान गरे पछि कृष्ण सिटौला र पुर्ण बहादुर खडका असन्तुष्ट रहदैँ आएका थिए । उम्मेदवारी दर्ता गरे पछि खडकाले त सह महामन्त्रीवाट नै राजिनामा दिए ।


कांग्रेसका नेताहरुले भारतीय योजना अनुसार उठेको भन्दै गरिरहेको आलोचनाको बिचमा उनको उम्मेदवारी दर्ता भएको थियो । तर, संविधान बनाएर हिरो भएका कोइराला अन्तिममा पदका लोभी भएको प्रमाणित गराउँदै ओलीसँगको पराजयलाई स्विकार गरे ।




5 comments: