Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, May 5, 2013

हल भित्र छाता ओडेर फिल्म हेर्नु पर्दा !!!

आज चाँही आफ्नै कुरा लेख्न मन लाग्यो, कति अरुका कुरामात्र लेख्ने त ? बाल्यकालका केही कुरा सम्झियो भने अहिले पनि निकै रोमाञ्चित महशुश हुन्छ, ओ हो, ती पलहरु ! अब फेरी कसरी पुनारावृति होलान ?  मनमा कहिलेकाही यस्तो पनि लाग्छ । 
तर, बितेका कुरा सम्झनु बाहेक अर्को बिकल्प पनि त छैन हामीसँग । सम्झयो चित्त बुझायो, बस् । आज मलाई बाल्यकालका केही रोमाञ्चक पलहरु फेरी सम्झना आयो, यसो सेयर गरौ भनेर लेख्ने जमर्को गरेको छु । 
खासमा हल भित्र छाता ओडेर ‘राजा हिन्दुस्तानी’ हेरेको एउटा मिठो र रोमाञ्चक सम्झना यहाँ उल्लेख गर्न प्रयास गरेको छु ।
म त्यति बेला न अमिर खान चिन्थे, न त करिश्मा कपुर, न त राजा हिन्दुस्तानी चलचित्रको बारेमा नै । सानै देखी नै नियमित पत्रिका पढने भएकाले राजा हिन्दुस्तानीले (सायद विश्व ज्योतीमा हुनुपर्छ) सयौं दिन कटाएको समाचार पढे । र झन अचम्म सय दिनमा पनि ब्लाकमा टिकट विक्री हुने गरेको थाहा पाए पछि मलाई पनि त्यो फिल्म हेर्ने रहर लागेको थियो । 
त्यसताका, चन्द्रनिगाहपुरमा दुई वटा चलचित्र भवन थिए, माओवादी सशष्त्र द्धन्द्धकालमा ती बन्द भए, अहिले चन्द्रनिगाहपुरमा चलचित्र भवन नै छैन् । भवानी चलचित्र मन्दिर, जसलाई माख्लो हल भनिन्थ्यो र बजारमा दुर्गा चलचित्र मन्दिर थियो, जसलाई तल्लो हल भनिन्थ्यो । सायद ६–७ पढथे वा कति हो ठ्याक्कै याद भएन ।
घरवाट भागेर गएको जन्तमा केटी पक्षकाले टिका लगाएर दिएको १० रुपैयाँ मेरो खल्तिमा ढुक्कसँग बसेको थियो । जन्तीवाट फर्के पछि त्यही पैसा लिएर ३–६ बजेको शोमा फिल्म हेर्न मेरो योजना पैसा हात पर्ने बितिक्कै जन्ती स्थलमा नै बनेको थियो । त्यसैले कति खेर, बिबाह सकिएला भन्ने लागिरहेको थियो ।
सो फिल्म हेर्नुका मेरा दुईवटा उदेश्य थिए । पहिलो, यो राजा हिन्दुस्तानी भन्ने फिल्म कस्तो चाँही रहेछ, जो मिडियामा लगातार छाइरहको छ, त्यो जान्नु थियो । दोस्रो, सो फिल्म हेरे पछि अढाई तीन घन्टाको कथा भएको सो फिल्मका बारेमा चार घन्टा जति साथीहरुलाई ‘बबाल स्टोरी’ सुनाउनु थियो अर्थात यस्तो उस्तो भनेर ठुलै गफ दिनु थियो । दोस्रो उदेश्यले मेरो ध्यान बढी खिचिरहेको थियो, त्यसका लागि मैले कथा सुनाउने ठाउँ पनि मन मनै छानिसकेका थिएँ । पहिलो, टोल नजिकको फुटबल मैदान, दोस्रो गाउँ विचमा रहेको निमको चौतारो र तेस्रो स्कुलमा, जहाँ मेरा साथीहरु छन् ।
किनपनि भने, स्कुल गयो, चौतारोमा गयो, फुटबल खेल्न गयो, सब साथीहरु यो हिरोले यसरी हान्यो, त्यसको किक नै खतरा यार, बाफ रे त्यो त चार तल्लावाट हाम्फालेर गुन्डालाई कुटयो, अभिताभ बच्चन पनि चिन्दैनस, लौ यो तर राजेश हमाल पनि चिन्दैन् । के के हो के के ? लास्ट टेन्सन हुने भन्या ।
झन, दिन दिनै माख्लो÷तल्लो हलको फिल्म प्रचार गर्ने आँगन मै रिक्सा आउथ्यो । र, भन्थ्यो ‘सानदार साथ चलिरहेको छ’ ‘धमाकेदार एक्सनले भरिपुर्ण’ ‘महान प्रेमकथामा आधारित’ । अरे बाबा, दिन दिनै घरमा आउने तीनै रिक्साका पछि पछि कुद्नु बाहेक अरु केही गर्न सकिएको थिएन् । झन माइकवालाले पछि–पछि लागेको भनेर गाली गर्दा मनमनै सराप्थे, यदी मेरो सराप लाग्ने भए हरेक चोटी माइकवाला फेरिन्थ्यो किनकी म सद्यै त्यो माइकवाला मरिजाओस भनि सराप्ने गर्थे । तर, न त्यो रिक्सावाला म¥यो, न उसले जति नै गाली गर्दा म नै पछि लाग्न छाडे ? जे होस, धेरै पछि लागेर होला उ मलाई चाँही राम्रैसँग चिन्थ्यो ।
हरेक चोटी, फिल्मको प्रचार गर्दै घर आँगनमा आउने फिल्मबालाको रिक्साले मलाई गिज्जाएर गए झै लाग्थ्यो ।  म चाँही रिक्साको दाँयाबाँया र पछाडी राखिएको पोष्टर हेरेर चित्त बुझाउँथे । म त्यतिबेला रुन मात्रै सक्दैनथे र गाली नखानका लागि कहिले काँही बार्दलीवाट रिक्सा छेल नपरुन्जेल हेर्थे ।
यसमा मेरो एउटा कारण थियो, मलाई मेरा बाले सबै कुरामा खर्च दिने गरे पनि फिल्म हेर्न चाँही सुको नाई । बाले पैसा दिदैनन भन्ने नै थाहा पाएर मैले मुख फोरेर कहिल्यै मागिन पनि । तर, कहिलेकाँही छ्याकन चाँही हानियो । त्यो कुरा अझैसम्म बाले थाहा पाएका छैनन । योे ब्लग पढे भने पछि थाहा पाउँछन् । अब ठुलो भइयो, सानोको जस्तो डर र लाज चाँही अब नहोला ।
खैर, केही छैन, जन्त गएर कमाएको ५ रुपैयाको राजा हिन्दुस्तानी हेर्ने, १ रुपैयाको चटपटे खाने, बाँकी ४ रुपैया स्कुलमा खर्च गर्ने, अर्थात बरफ खाने । खर्चको हिसाव पनि मन मनै मिलाए । त्यति बेला टिकटको दर चाँही ५, ७ र १२ रुपैया थियो ।
जन्तवाट फर्कने बितिक्कै एक्लै फिल्म हेर्न गएँ, तल्लो हलमा, जहाँ शानदारका साथ राजा हिन्दुस्तानी चलिरहेको थियो । चन्द्रनिगाहपुरमा शुक्रवार र सोमवार हाट लाग्थ्यो, अझै पनि लाग्छ । जुन दिन हाट लाग्थ्यो, त्यो दिन हलमा खुट्टा राख्ने ठाउँ हुदैनथ्यो । म गएको दिन पनि हाट लाग्ने दिन परेछ । बल्ल बल्ल दुलोवाट (टिकट काउन्टरमा) हात छिराएर ५ रुपैयाँको टिकट काटे । ५ रुपैयाँ भने पछि त अगाडी नै परिने भो, भन्न त साथीहरुले जति पछाडी बस्यो, त्यति राम्रो देखिन्छ भन्थे । तर, साथीहरुले भनेर मात्र के गर्नु, अहिलेसम्म पाँच रुपैयाँको टिकट भन्दा माथी जान सकिएकै छैन । कुनै दिन जाउँला, जुन दिन मसँग पैसा मनग्गे हुनेछ, यस्तो चाँही सोध्थे ।
तर गेट मै भेटियो, रिक्सामा प्रचार गर्न आउने उही रिक्सावाला । ५ रुपैयाँको टिकट लिने ढोकामा उ उभिएको रहेछ, सात्तो गई हाल्यो । भीडभाड बढी नै थियो । उसको मुखमा नहेरीकन टिकट दिए, उसले आँधी च्यात्यो र आधि मलाई दियो । ‘टिकट नहराउनु होला, फेरी चेकमा परियो भने बाहिर निकालिन्छ’ भन्ने सम्म सुनेको छु, अरु केही सुन्ने क्षमता थिएन । कतै नपसाउला कि भन्ने डर लागेको थियो, त्यो बेला । बिलम्ब नगरी हल भित्र पसे, बल्ल सास आयो । तैपनी डर चाँही अझै बाँकी नै छ । चेक गर्ने बेलामा फेरी त्यही रिक्सावाला चाँही नपरोस भन्ने मेरो भित्री इच्छा, जीबितै छ । 
फिल्म चल्न सुरु ग¥यो, म भन्दा निकै अग्लो पर्दा भएकाले घाँटी ठाडो पार्दै फिल्म हेर्न सुरु गरियो । फिल्म सुरु भएको आधा घन्टामा टर्च लाइट बाल्दै आएका दुई जनाले टिकट चेक गर्न थाल्यो, चेक गर्न त फेरी उही रिक्सावाला नै आयो, चिनिहाले । पछि बुझ्दा थाहा भयो, त्यसरी सद्यै टिकट चेक गर्नेमा एउटा गेटमा बस्ने ब्यक्ति हुदोँ रहेछ, अर्को हलवालाको मान्छे । जे होस, जतनका साथ राखिएको टिकट दिए, उसले हे¥यो तर देखेर पनि मलाई केही भनेनन । अब चाँही बल्ल साँस आयो, ढुक्कले फिल्म हेरिने भयो भन्ने चाँही लाग्यो ।
तर, सबैको टिकट चेक गरेर गएको केही छिन मै पानी प¥यो । जस्ताको छानो भएकाले त्यो हल भित्रै सुनियो । रङ्ग लगाएर आकर्षक बनाइएका म भन्दा ठिक माथी रहेको मान्द्रोले छेक्न के सक्थ्यो र पानीले बजारेको जस्तापाताको आवाजलाई ? हलवालाले साउन्ड त बढायो तर पनि पानी बज्रेको आवाजलाई माथ गर्न सकेन् । यहाँसम्मको कष्ट त ठिकै थियो ।
अब सुरु भयो, अर्को कष्ट । पानी जस्तापाता माथी मात्रै बज्रिएन, त्यो पानीका अंश मेरो शरिरमाथी पनि बज्रिन सुरु ग¥यो । पानीवाट ज्यान जोगाउन अलिकति ठाउँ सरे तर जीऊमा पानी पर्न भने छाडेन् । यता सरे पनि पानीले जिऊ भिजाउने, उत्ता सरे पनि । हल भित्र  पानी परेर रुझाउने भए पछि मसँगै फिल्म हेर्ने चिनेकै काठ चिर्न आउन गाउँमा आउने चौधरी दाजुले छाता खोले । मैले त म मात्रै होला भनेको त मेरो जस्तै पीडा त अरुले पनि भोगिरहेका पो रहेछन् । यता उता आँखा लगाए, हल भित्र पाँच–छ वटा छाता खोलिएको देखिए पछि त्यो कुरा थाहा पाएको थिए । म चाँही उही नजिकै रहेकोे काठ चिर्ने दाजुसँग छाता मुनि घुस्ने प्रयास गरे तर उसले म घुस्रिन आएको त्यति मन पराएनन् तर मुखै फोरेर केही चाँही भनेनन् । तैपनी, डर मान्दै मान्दै छाता भित्र पस्ने प्रयास गरे । अलिकति आफुलाई छाता भित्र छिराए पनि, दया लागेछ क्यारे सानो फुच्चे देखेर होला । उसले अलिकति मायाँ चाँही ग¥यो, घुस्रे पनि केही नभन्ने संकेत पाए पछि मात्र म घुस्रिन पुगेको थिए ।
तर, के गर्नु ? छाता ओडन पाएको छैन, पछाडीबाट हुटिङ सुरु भयो । ‘ओ....छाता बन्द गर, पछाडी हामीलाई छेल प¥यो’ ‘हामीले चाँही हेर्नु पर्दैन ?’ छाता बन्द गर्छस कि घुच्चुकमा दिऊ’ भन्दै धम्की पनि आउन थाल्यो । कोही छाता ओडेको भन्दै हाँसेको सुनिन्छ, कोही रिसले चुर भएको आवाज निकालेर हामीलाई गाली गर्छन । सिट्टठी हानेर हुटिङ गरेर छाता बन्द गर भन्नेका आवाज पनि त्यत्तिकै बाक्लो आयो । सायद, त्यतिबेला एकदम चलचित्रमा निकै आकर्षक ‘सिन’ आएको हुनुपर्छ ।  मलाई फिल्म भन्दा पनि पानीले भिजाएको शरिरलाई जोगाउनु र हुटिङ गर्नेले ध्यानलाई बिकेन्द्रित गरिरहेको थिए । अन्ततः केही सिप लागेन, सँगैका दाजुले छाता बन्द गरे । र, मलाई पुलुक्क हेरे तर पनि केही भनेनन् । अन्ततः दुबै भिज्दै हाफ टाइमसम् फिल्म हे¥यौं । हाफ टाइममा बाहिर निस्कदा पानी रोकिसकेको थियो तर हाम्रो शरिर भने हल भित्रै पुरै भिजिसकेको । फिल्म सकिनु अघि फेरी पानी प¥यो, उस्तै दुर्गती भोग्नु प¥यो ।
तर मलाई भने पानीले भिजेको भन्दा पनि साथीहरुलाई गफ लाउन नपाइने भयो भनेर हल भित्रै चिन्ता सुरु भइसकेकोे थियो । हलवाट भिजेको शरिर लिएर घर पुग्दा रात परिसकेको थियो । त्यो फिल्ममा के कथा थियो ? कुन बेला कुन सिन थियो ? ती सबै हल भित्रको पानीले नै खाइदियो । र, मेरा साथीहरुलाई ‘गफ’ लगाउने ठुलै सपना पनि चकनाचुर भयो, त्यही पानीले । बल्ल बल्ल मिलाएर फिल्म हेर्न आएको त्यो पनि यति धेरै झुर भयो ? म रुन मात्रै सकिन् । 
त्यो बेला साथीहरुलाई केही भनिन्, चुपचाप नै बसे । त्यो दिन चटपटे पनि खाइन, न त स्कुलमा गएर बरफ नै खाइ ? अर्को पटक फेरी बाँकी रहेको ५ रुपैयाँमा गएर दोहो¥याएर फिल्म हेरेर आए । अनि मात्र मैले तीन घन्टाको फिल्मलाई बढाई चढाई गरेर पाँच घन्टासम्मको गफ लाए । केटाहरुले मेरो कुरा चाख दिएर सुने पछि मलाई लागिसकेको थियो, ‘म ठुलै मानिस भइसकेको छु’, जे होस १५ दिन जति त त्यही फिल्मको कुराले कटायो ।
अर्को पटकको ब्लगमा चाँही फिल्म हेर्न जाँदा हुरीले भित्तो नै भत्काएको प्रसङ्ग जोडने छु, त्यो चाँही माथ्लो हलको कथा हो ।




No comments:

Post a Comment