Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, May 27, 2015

भण्डारी निवासमा ओली-प्रचण्डको दर्जनौ भेट, क्या. थापा मख्ख

प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीले सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रमा राखेर भावी राष्ट्रिय सहमतिको सरकार गठन पहल सुरु गरेको छ। एमाओवादीका कटु आलोचक भनेर चिनिएका ओलीलाई केन्द्रमा राखेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नै यस्तो प्रस्ताव अघि सारेका छन्।

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गरेर अघि जान एमाओवादी सहमत भएपछि दाहाल–ओलीबीच दर्जनौँ आन्तरिक छलफल भइसकेका छन्। दाहाल निकटस्रोतका अनुसार संविधान निमार्णको सर्तमा अध्यक्ष दाहालले दुई मोडल प्रस्ताव गरेर सहमतीय सरकारका लागि पहलकदमी थालेका हुन्। 
‘कोइराला सरकारलाई नै अहिले राष्ट्रिय सरकारको स्वरुप दिने र प्रतिपक्षमा रहेका दल पनि सोही सरकारमा जाने र सोही सरकारले सहमतीय संविधान महिना दिनभित्रै जारी गर्ने,' दाहालकोे पहिलो मोडल छ, ‘त्यसको महिना दिनभित्र ओलीको नेतृत्वमा अर्को नयाँ सहमतीय सरकार गठन गर्न कांग्रेसले सहमति जनाए माओवादी पनि कोइराला सरकारमा सहभागी हुनेछ।' 
संविधान जारी भएको एक महिनाभित्र ओलीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने लिखित सर्तमा मात्रै माओवादी कोइराला नेतृत्वको सरकारमा जाने दाहालले कांग्रेस नेतृत्वसँग प्रस्ट राख्दै आएका छन्। 
दाहालले राष्ट्रिय सहमतिका लागि पेस गरेको यो मोडेलमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला र ओली दुवै सहमत देखिएको माओवादी दाबी छ। ‘संविधान निर्माण र विपद व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यसहित माओवादीले राष्ट्रिय सहमति सरकार गठन गरेर जान सहमति जनाएको हो,' एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले नागरिकसँग भने, ‘राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिन्छ कि भनेर हाम्रातर्फबाट पहलकदमी भइरहेकै छ।'
सत्तारुढ दल नेपाली कांग्रेस–एमालेबीच सहमतीय सरकारको स्वरुपबारे सहमति हुन नसक्दा छलफल अन्योलग्रस्त बन्न पुगेको गजुरेलको भनाइ छ।
माओवादी बुझाइमा पहिलो मोडलमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र बहालवाला कांग्रेसका केही मन्त्री भने असहमत देखिँदै आएका छन्। यद्यपि, प्रधानमन्त्री, ओली र दाहालबीच भने यो मोडलमा लगभग सैद्धान्तिक सहमति जुटिसकेको छ। 
त्यसलगत्तै लाजिम्पाटस्थित दाहाल निवासमा कांग्रेसका बहालवाला मन्त्रीसमेत पुगेर चासो व्यक्त गर्न थालेका छन्। बुधबार बिहान मात्रै सञ्चारमन्त्री मीनेन्द्र रिजाल दाहाल निवास पुगेका थिए भने त्यसअघि महामन्त्री कृष्ण सिटौलासहित मन्त्री महेश आचार्य, कानुनमन्त्री नरहरि आचार्य पनि दाहाल निवास पुगेर पहिलो मोडेलबारे छलफल र चासो व्यक्त गरिरहेका छन्। 
वार्तामा संलग्न कांग्रेसका एक नेताका अनुसार संविधान निर्माण, भूकम्पबाट उत्पन्न परिस्थिति र स्थानीय निर्वाचनलाई सम्बोधन गर्न दाहालसँग मन्त्री आचार्यको भेट भएको थियो। कोटेश्वरका व्यापारी अर्जुन भण्डारीको निवासमा पटकपटक ओली र दाहालबीच सम्बन्ध सुधारका निम्ति निकट सहयोगीहरूले बैठक आयोजना गरेका थिए। 
त्यसैगरी, राष्ट्रिय सहमति सरकारमा ओली नेतृत्व स्वीकार गर्दै दाहालले प्रस्ताव गरेको दोस्रो मोडलमा व्यवस्थापिका संसदकै सबैभन्दा ठूलो दल कांग्रेस समावेश नहुने संकेत गरेको छ। 
दाहालले ओलीलाई प्रतिपक्षमा रहेका एमाओवादीसहित तराई–मधेसकेन्द्रित दल र आदिवासी/जनजाति पार्टी संलग्न भएर नयाँ सरकार गठन गर्न सकिने जनाउँदै आएका छन्। ‘त्यसबारे पनि ओलीजीसँग अध्यक्षको पटकपटक कुराकानी भइसकेको छ,' दाहाल निकट स्रोतले नागरिकसँग भन्यो, ‘दुवै मोडेलमा एमाओवादी र एमाले भने अहिले एकमत देखिएका छन्।' व्यवस्थापिका संसदमा पहिलो दल भए पनि कांग्रेससँग २ सय ६ मत मात्रै रहेको र कांग्रेसबाहेकका ३ सय ९५ मत रहेको गणितीय जोडघटाउ गर्दै दाहालको दोस्रो मोडल प्रस्तुत भएको हो। 
तर, पहिलो मोडेलमा आश्वस्त प्रधानमन्त्री कोइरालाले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमति सरकार गठन गर्ने अडान राखेका छन्। त्यसमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पनि समर्थन प्राप्त भइसकेको छ। 
ओलीका नाममा एमाओवादी नेता बाबुराम भट्टराईको पनि विमति नरहेको उनका प्रेस सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए। 
‘सकेसम्म कोइरालाकै नेतृत्वमा सहमतीय सरकार बनोस्, नभए एमालेको नेतृत्वमा पनि त्यस्तो सरकार बनाउन सकिन्छ,' भट्टराईलाई उद्धृत गर्दै पाण्डेले नागरिकसँग भने, ‘ओलीलाई मान्दै नमान्ने भन्ने छँदैछैन, उहाँले अन्य दलको पनि सहमति जुटाउन सक्नुभयो भने उहाँलाई मानेर जान सकिन्छ।' 
आफू त्यस्तो सरकारको नेतृत्व नगर्ने प्रस्टाउँदै भट्टराईले पूर्वप्रधानमन्त्रीमध्ये कोही पनि भावी सहमतीय सरकारको नेतृत्व गर्न जान नहुने धारणा राख्दै आएका छन्। 
तेस्रो ठूलो दल माओवादीसहित प्रतिपक्ष दलले पहिलो विकल्पमा कोइरालाको नेतृत्व र दोस्रो विकल्पमा ओलीलाई समर्थन जनाउन सकिने भन्दै छलफल र वार्ता अघि बढाएपछि देउवा र माधवकुमार नेपाल भने भावी प्रधानमन्त्रीको दौडबाट ओझेल परेका छन्। यसको परिणामस्वरुप मैदानमा रहेका भनिएका देउवालाई दाहालले भने अझैसम्म भेटघाट गरेका छैनन्।
सहमतीय सरकारका लागि नेपालका चार अजेन्डा 
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले नेता माधवकुमार नेपालले भावी सहमतीय सरकार चारवटा अजेन्डामा केन्द्रित हुनुपर्ने बताएका छन्। 
‘पहिलो सहमति जुटाएर चाँडै संविधान जारी गर्ने, दोस्रो स्थानीय निकायको निर्वाचन अविलम्ब गराउने, तेस्रो भूकम्पपछिको राहत र पुनर्निमार्णमा ध्यान दिनेेसहित चौथो ठूला परियोजना बनाउन पहल लिइहाल्ने,' नेपालले नागरिकसँग बुधबार भने, ‘यी चार अजेन्डा पूरा गर्न सहमतीय सरकारको आवश्यक परेको हो, यसैमा बढी केन्द्रित हुनुपर्छ, नत्र नाम मात्रको सरकार काम छैन।' 
महाभूकम्पपछि राजनीतिक दलबीच देखा परेको एकतालाई सदुपयोग गर्दै अविलम्ब सहमतीय सरकार बनाउन पहलकदमी थाल्नुपर्ने उनको भनाइ छ।

No comments:

Post a Comment