Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, June 2, 2015

'एअरपोर्टको खाजा टुडिखेलमा लगेर खुवाउन प्रमले सकेनन'

संविधान लेखन तथा महाभूकम्पपछिको विपत सामना गर्ननिम्ति सहमतीय सरकार बनाउन कस्सिएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नै मोर्चाबाट अवरोध उत्पन्न भएको छ ।
पहिचानसहितको संघीयता, संघीयतासहितको संविधानबिना कुनै पनि खाले सरकारमा जान नहुने भन्दै विपक्षी मोर्चाका संयोजकसमेत रहेका दाहाललाई घटक दलहरूले र्यािखर्या ख्ती पारेका छन्। 

संविधान निर्माणपछि मात्रै सहमतीय सरकारमा जान सकिने धारणा विपक्षी मोर्चामा रहेका प्रायः सबै दलले धारणा राखेको सद्भावना पार्टी महासचिव मनीष सुमनले बताए। ‘प्रचण्ड (दाहाल) जीले सरकारमा जान किन रातारात हतार गर्नुभयो, के त्यस्तो चमत्कार भयो र राष्ट्रिय सहमतिको सरकारको कुरा आयो भन्ने प्रश्न उहाँमाथि गरियो,' सुमनले नागरिकसँग भने, ‘संविधान निर्माण नगरी सरकारमा जानु हुँदैन भन्ने मोर्चामा एकमत जस्तै देखिएको छ।' उनका अनुसार सोमबारको बैठकमा सहभागी दलले संयोजक दाहाललाई सरकारभन्दा संविधान निर्माणमा ध्यान दिन आग्रह गरेका छन्। 
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भूकम्पको विपतमा फाइदा उठाएर संविधानका मुद्दालाई ओझेलमा पार्न खोजिएको आरोप लगाए। ‘यो हामी मान्नेवाला छैनांै,' यादवले बैठकमा भने, ‘जसजसलाई सरकारमा जाने रहर छ, ती जाऊन्, तर हामी जाँदैनांै।' फास्ट ट्र्याकबाट संविधान ल्याउने प्रमुख दलको तयारीप्रति पनि यादवले विमति जनाएका छन्। 
तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले प्रमुख प्रतिपक्ष दल भएर पनि एमाओवादीले सहमतीय सरकारको एजेन्डा राखेपछि आफू आश्चर्यचकित भएको जनाए। ‘एअरपोर्टमा वैदेशिक सहयोग आएको छ, टुँडिखेलमा जनता भोकै छन्, तर आधा घन्टाको बाटो पार गरेर जनताको भोक मेटाउन सरकार सक्दैन,' त्रिपाठीले बैठकमा भने, ‘अनि, त्यस्तो सरकारलाई सहमतीय सरकारको आकार दिऊँ रे। प्रचण्डजी पनि अचम्मको कुरा गर्नुहुन्छ।' सुशील कोइराला नेतृत्व सरकारको लाचारी र गैरजिम्मेवारीको विरोध गर्न छाडेर सरकारमा सामेल हुने कुरा आफ्नो पार्टीलाई मान्य नभएको त्रिपाठीको भनाइ छ।
संघीयतामा तलमाथि गरेर तथा फास्ट ट्र्याकबाट संविधान जारी गर्ने तयारीमा अर्को तराई–मधेसकेन्द्रित दल सद्भावना पार्टीले पनि आपत्ति जनाएको छ। ‘हामीले संविधान निर्माणका लागि पेस गरेको नौबँुदेमा के त्रुटि छ र अहिले सच्याउने कुरा गर्नुहुन्छ?' सहअध्यक्ष लक्ष्मणलाल कर्णले बैठकमा भने, ‘संकल्प प्रस्तावमा उल्लेख भएका विषय नै काफी छन् अहिलेका लागि, त्यो कार्यान्वयन गरे पुग्छ, सरकारमा जान किन हतारो?' संकल्प प्रस्ताव कार्यान्वयन गराउन प्रतिपक्षी दलहरूले भूमिका खेल्नुपर्नेमा कर्णले जोड गरेका थिए। 
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले माघ २९ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘मानसिक सन्तुलन गुमेको' भन्दै उपचारको माग गरेको दाहाललाई स्मरण गराए। ‘हिजो जसलाई मानसिक सन्तुलन गुम्यो भनेर हामीले भन्यौं, त्यही मान्छेलाई प्रधानमन्त्री बनाउने भनेर प्रचन्डजी नै हिँडिरहनुभएको छ, यो बीचमा के आश्चर्यजनक घटना भयो?' राईले भने, ‘संविधानबिनाको सरकारमा गइँदैन, तपार्इं (दाहाल) लाई जान मन लागे जानुस्।' आफ्ना एजेन्डा संविधानमा स्थापित गराउन सके मात्र मोर्चा फलदायी हुन सक्ने राईको भनाइ थियो।
बैठकमा बोल्ने दर्जनभन्दा बढी नेताले दाहालको सहमतीय सरकारको प्रस्तावप्रति विमति जनाएपछि दाहालले आफ्नो भनाइ सच्याएका छन्। ‘मैले कहाँ संविधानबिना सहमतीय सरकार गठन गर्ने भनेको हो र?' भन्दै दाहालले आफ्नो बचाउ गरे। सहमतीय सरकारका लागि पहलकदमी गरिरहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले धारणा राख्न समय मागे पनि सोमबार उनले पाएनन्। गच्छदारले मंगलबार आफ्नो धारणा राख्नेछन्। विपक्षी मोर्चाभित्र दाहाल र गच्छदार सहमतीय सरकारका पक्षमा छन्।

No comments:

Post a Comment