Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, May 17, 2015

यो तस्विर,जसले विश्वलाई भुकम्प गएको पहिलो सन्देश दियो

तपाईले आजसम्म भुकम्प पछि तहस नहस भएको नेपालको धेरै नै तस्विर हेरिसक्नु भएको छ । गत बैशाख १२ गते आएको भुकम्प पछि ढलेको धरहरा, बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, गोरखा बारपाक देखी अनेकौ स्थानका भत्किएका दृश्य समेटिएका तस्विर देख्ने बितिक्कै भन्न सक्नु हुन्छ कि यो २०७२ सालको भुकम्प पछिको तस्विर हो । 
अझ, नेपाल प्रहरी, सशष्त्र प्रहरी र नेपाली सेनाले ज्यान जोखिममा राखेर सयौं घन्टा पछि जीवितै उद्धार गरेका कयौं तस्विरहरु पनि निकै चर्चित भएका छन् । जस्तो कि गोंगबुवाट १५ बर्षिया किशोर पेम्बा लामालाई ६ दिन पछि जीवित उद्धार गर्ने टिमका नेतृत्वकर्ता सशष्त्र प्रहरी निरिक्षक लक्ष्मणबहादुर बस्नेतलाई स्थानिय जनतालाई स्वतः स्र्फुत रुपमा उचालेर जय जयकार गरेको होस वा नेपाली सेनाले लामो समय पछि जीवितै उद्धार गरेको भक्तपुर एउटा बालकको तस्विर नै किन नहोस । यी सबै सबै तस्विरले भुकम्पका त्रासदीका प्रतिनिधित्व गरिरहेका छन् ।


र, ती सबै सबैले २०७२ को यो भुकम्पको त्रासदी बयान हजारौ बर्षसम्म नै गरिरहने छ । र, ती तस्विरले हामीलाई बाचुन्जेल यो भुकम्पले दिएको त्रास र दुःख सम्झना पनि गराई नै रहने छ । माथीको तस्विरमा तपाईले अपेक्षा गरे जस्तो त्यस्तो केही चीज छैन, जो अरु भन्दा केही फरक र पृथक खालको होस । तर, यही एउटा सामान्य तस्विरले नेपालमा इतिहास बनायो र त यो ब्लगमा उल्लेख गर्ने कोशिष गरिहरेको छु ।

यो यस्तो ऐतिहासिक तस्विर हो, जुन तस्विरले बिश्वमा नेपालमा महाभुकम्प गएको भन्ने पहिलो सन्देश दिन सफल भएको थियो ।

विश्वका कयौं देशका चर्चित अनलाइन, टिभी शो देखी छापा माध्यममा ठाउँ पाएको यो तस्विर बरिष्ठ पत्रकार गुणराज लुईटेलले खिचेका हुन । हाल सेतोपाटी डटकममा आबद्ध बरिष्ठ पत्रकार तथा टिप्पणीकार लुइटेलको यो तस्विरले नै विश्वलाई नेपालमा शक्तिशाली भुकम्प गएको पहिलो सन्देश दिएको थियो ।

सम्भवतः नेपालवाट बाह्य विश्वमा पुगेको भुकम्प त्रासदीको पहिलो तस्विर पनि यही थियो, जसले एउटा इतिहास बोक्यो । जुन तस्विरलाई पत्रकार लुईटेलले भुकम्प गएको टवीटरमा पोष्ट गरे लगत्तै सारा संसारले थाहा पायो कि नेपालमा ठुलै भुकम्प गयो र त्यसले निकै धनजनको क्षति पनि गराई दिएको छ ।

त्यो दिन नेपाली समय अनुसार ११ः५६ बजे गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टरको भुकम्प गएको थियो तर लुईटेलले १२ः१४ बजे यो तस्विर पोष्ट गरेका थिए । यो तस्विर कपनस्थित सात तले भवनको हो ।

कपन निवासी पत्रकार लुईटेल दुई मिनेट अघि मात्रै सोही भवन अगाडीवाट मोटरबाइक लिएर रिङ्गरोड तर्फ अघि बढिरहेका थिए । घरमा छोरी एक्लै छाडेर हिडेका पत्रकार लुईटेल गोपीकृष्ण हल नजिक आइपुग्दा नपुग्दै अचानक भुकम्प गयो, निकै ठुलो आवाजसहित भुकम्प गए पछि पत्रकार लुइटेल मोटरसाइकल घुमाएर आफनो छोरीको चिन्ता गर्दै घरतर्फ फर्के ।

भुकम्प ठुलै गएको महशुश गरेका लुईटेल छोरीको चिन्ताले कपनस्थित घर फर्कन लाग्दा दुई जना बाल-बालिका बाटोमा रोइ रहेको अवस्थामा भेटे र तीनलाई आफनो बाइकमा हालेर उनी कपनतर्फ हान्निए । तर, जब उनले त्यही साततले भवन नजिक पुगे, उनी त्यसपछि भने निकै नै खङग्रङ हुन पुगे र अझ बढी आत्तिएका जस्ता भए । 
एक छिन अघि सोही वाटो हुदैँ जादाँ ठाडै देखिएको चर्चित सात तले भवन भुकम्प गएको भनेर फर्केर आउँद भाच्चिएर भुइमा नमज्जासँग पछारिएको थियो । एकछिन त उनले सोच्न पनि सकेनन कि यहाँ के भयो ? तर पत्रकार न हुन, उनले आफनो मोबाइल खल्तीवाट निकाले र धमाधम तस्विर खिच्न थालिहाले । तर, आफुले खिचेको सो तस्विर टिवट गर्न खोज्यो तर इन्टरनेट भने मरिकट्टे चल्दैन । बल्ल बल्ल इन्टरनेट चल्यो र भत्किएको सो भवनको तस्विरसहित उनले टविट गरे– Terrible in . Just saved ourselves. Don't know how many killed. Roads are blocked already. । र, त्यही तस्विरले एउटा इतिहास पनि साथ साथै बनायो ।

बाह्य विश्वले पत्रकार लुइटेलको तस्विरसहितको सो टविट हेरे पछि मात्रै यो कुरा थाहा पायो कि- नेपालमा भुकम्प गयो, त्यो पनि निकै नै शक्तिशाली । केही छिन मै भारतका टाइम्स अफ इन्डियादेखि बिबिसी, सिएनएन, अमेरिकी समाचार एजेन्सी एपी लगायतले लुइटेलको त्यो तस्विरलाई सार्वजनिक गरे।

 र, पत्रकार लुइटेलको सो तस्विरलाई आधार बनाएर अन्य धेरै विदेशी मिडियाले धमाधम ब्रेकिङ न्युज दिन थाले, ‘नेपालमा शक्तिशाली भुकम्प, सयौं हताहती भएको हुन सक्ने’, ‘नेपालमा महाभुकम्प, कयौं घर ढले, मान्छे धेरै मारिएको हुन सक्ने’ आदी इत्यादी शिर्षकमा धमाधम लगातार समाचार प्रकाशन हुन थालि हाल्यो ।
र, समाचार प्रकाशन र प्रशारण भए लगत्तै बाह्य विश्व जगतले एकै पटक थाहा पायो कि – नेपालमा शक्तिशाली भुकम्प गएको छ र त्यसले ठुलो धनजनको क्षति पनि सँगसँगै गरेको छ भन्ने । धेरैले सोही टिवट हेरेरै समाचार सम्प्रेषण गरेका थिए र उनका टिवटलाई इम्बेड गर्दै समाचार बनाए ।

नेपाल भित्र पनि निकैसँग ब्यक्तिगत र अन्तरंग संवन्ध भएका पत्रकार लुइटेललाई विश्वका चर्चित पत्रकारसहित ५३ हजार बढी टविटेले पहिला देखी नै पछयाउँदै आएकै थिए । सन २००९ देखी टविटरमा आवद्ध पत्रकार लुइटेल नेपालको पहिलो टिवटर पुस्ता पनि हुन । तीन दशक लामो पत्रकारिताको संलग्नताले मात्रै होइन, नेपालका ठुला मिडिया हाउसका सम्पादकसमेत जिम्मेवारी निभाई सकेका पत्रकार लुइटेलको तस्विरसहितको विश्वासनीयतामा कुनै शंका गर्ने ठाउँ थिएन ।
पत्रकार लुइटेलले  तस्विरसहित नेपालमा महाभुकम्प आएको टिवट गरे पछि विश्वका धेरै पत्रकारले उनलाई सम्पर्क गरेर आफनो अनलाइन, टिभी शो र छापा माध्यमका लागि अनुमति मागे । जुन पत्रकार लुइटेलले सहजै अनुमति दिए र त विश्वका धेरै अनलाइनमा तत्कालै सो तस्विर ‘ब्रेकिङ्ग न्युज’का रुपमा प्रकाशित गर्न पाए ।

नागरिक दैनिकका आवसीय (पश्चमेली)सहित अन्नपुर्ण दैनिकका सम्पादकको जिम्मेवारीसमेत सम्हालि सकेका पत्रकार लुइटेलको सो तस्विर २९०० बढी पटक रि–टविट भई सकेको छ । उनलाई मेन्सन गरेर तस्विरका बारेमा जिज्ञासा राख्ने, अनुमती माग्ने र प्रशारण गर्ने पनि सयौं संख्यामा छन ।

‘मैले घर जाँदा बाटोमा खिचेर टिवट गरे लगत्तै पछि विश्व भर रहेका मेरा पत्रकार मित्रहरुले न्युज कभरेज गर्न अनुमति मागेका थिएँ,’ लुइटेल सम्झन्छन, ‘नेपालको यो त्रासदीपुर्ण घटनालाई विश्वभर देखाउनका लागि मैले खिचेको तस्विर यति धेरै प्रयोग भएको रहेछ भन्ने कुरा मैले पछि मात्रै थाहा पाएँ ।’ खासमा पत्रकार लुइटेल एकजना बिदेशीसँग भेटघाटका लागि समय मिलाएर त्यो दिन घरवाट निस्केका थिए तर भुकम्पले त्यो दिनको भेटघाट नै रद्ध गरायो।

यद्धपी, विश्व जगतलाई भने नेपालमा भएको त्रासदीपुर्ण घटनाका बारेमा पहिलो जानकारी गराउन भने पत्रकार लुइटेलको सो तस्विर निकै नै सफल भयो । र, विश्व जगतमा लुइटेलले टविट गरेको यो तस्विर पहिलो ऐतिहासिक तस्विर बन्न पुगिदियो ।

लुइटेलले पोष्ट गरेको तस्विर विश्व चर्चित भए लगत्तै एउटा कुरा के प्रस्ट हुन पुगेको छ भने– विश्व जगतलाई सुचना दिन ठुला लगानीका पत्रपत्रिका र ठुल–ठुला मिडिया हाउसहरुले मात्र सक्छन भन्ने चाँही रहेन  । र, तीनका मात्र भर पर्नु पर्छ भन्ने रहेन, सामाजिक सञ्जाल पनि बिश्व जगतलाई सुचना सम्प्रेषण गर्न ठुलो भुमिका खेल्छ भन्ने पत्रकार लुइटेलले पोष्ट गरेको तस्विरसहितको टिवटले पनि प्रमाणित गरि दिएको छ ।

(पत्रकार लुइटेलले भुकम्प गएको दिन देखी ४८ घन्टासम्मका त्रासदीलाई आफनो डायरीमा विस्तारमा उल्लेख गरेका छन् । उनले भोगेको भुकम्पको डायरी पढन इच्छुक भए, यहाँ क्लिक गर्नुहोस । )

No comments:

Post a Comment