Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, May 14, 2015

बदलियो सिंहदरबारः टेन्ट भित्र मन्त्रालय र मन्त्रीको कार्यकक्ष

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल टेन्ट मुनीको 'नयाँ कार्यकक्ष'मा
युवा तथा खेलकुद मन्त्रालय परिसरमा नीलो पाल टाँगिएका छन् । एउटा पालभित्र छिर्दा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल भेटिए। ‘भूकम्पले भित्र बस्न नहुने गरी क्षति पुर्याएकाले यो टेन्टभित्र सारिएको हो,’ मन्त्री पौडेलले त्यहाँ बस्नुको कारण नागरिकसँग खुलाए। मन्त्री पौडेल कार्यरत पालभित्र एउटा टेबल छ, टेबलमा राष्ट्रिय झन्डा पनि राखिएको छ । केही फाइल छन् र  आगुन्तकका लागि दुइटा कुर्सी पनि छन्। ‘मन्त्री स्तरका निर्णय पनि यहीँबाट गरिरहेको छु र केही भेटघाट पनि यहीँ टेन्टभित्र नै भएको छ,’ मन्त्री पौडेलले भने । मन्त्री पौडेलको नजिकै सचिव दीपेन्द्रनाथ शर्मा पनि पाल गाडेर कामकाज सञ्चालन गरिरहेका छन् ।
खुला चौरमा टेन्ट गाडेर काम गरिरहेका मन्त्री र सचिवलाई भेट्न पूर्वजानकारी गराइरहनुपर्दैन, न त कुनै चिट भित्र पठाएर समय नै माग्नुपर्छ । भेट्न मन लाग्यो लुसुलुस गयो, मन्त्रीलाई भेट्यो, कुरा गर्यो हिँड्यो ।

भूकम्पपछि मन्त्रीको कार्यालय मात्रै होइन, काम गर्ने तरिका पनि निकै बदलिएको दृश्य सिंहदरबारमा देखिन्छ ।
‘शान्ति मन्त्रालयमा रहेको कानुन आयोगलाई अन्यत्र सारेर हामी त्यहाँ जाने कुराकानी भइरहेको छ, तर निर्णय भएको छैन,’ पौडेलले भने, ‘निर्णय नहुन्जेलसम्म यहीँबाट मन्त्रालय सञ्चालन हुन्छ ।’ उनका अनुसार सोही पालभित्रबाटै १ लाखभन्दा बढी स्वयंसेवक परिचालन गर्ने निर्णय भइसकेको छ ।

खेलकुद मन्त्री पौडेलको पाल रहेको पूर्वी छेउमा अरू दुइटा नीलो पाल टाँगिएका छन् । ‘यो मेरो कार्यालय, त्यो चाहिँ मन्त्री (टेकबहादुर गुरुङ) ज्यूको कार्यालय हो,’ श्रम सचिव भोला सिवाकोटीले नागरिकसँग भने ।

२९ गते पुनः आएको भूकम्पले मन्त्रालयको भवनमा थप क्षति पुर्याएपछि श्रममन्त्री र सचिव पालमुनि आएका हुन् । वैशाख १२ गतेको भूकम्पपछि भने सोही मन्त्रालयको पछाडि रहेको भवनवाट कार्य सञ्चालन हुँदै आएको थियो । ‘यो टेन्टमा आएपछि मन्त्रालयबाट ५ हजारलाई तुरुन्तै तालिम दिने निर्णय भएको छ,’ मन्त्री गुरुङले भने, ‘पुनर्निमार्णका लागि जनशक्ति आवश्यक भएकाले सीप विकास तालिममार्फत तालिम दिन लागेका हांै । त्यस्तै इजरायलसँग केयरगिभर सम्झौता गर्न अन्तिम निर्णय लिँदैछांै ।’

उनका अनुसार पुनर्निमार्णका लागि प्लम्बर, डकर्मी, भवन निर्माणमा आवश्यक अन्य कामदार उत्पादन गर्ने लक्ष्यसहित मन्त्रालयले तालिम दिने निर्णय गरेको हो ।

खेलकुद र श्रम मन्त्रालय पालमा गए पनि छेउमा रहेको परराष्ट्र मन्त्रालयका कर्मचारीलाई भने उताका भवन भत्केर क्षति पुर्याउलान् भन्ने भय छ । ‘मेरो मन्त्रालयमा चाँहि केही खतरा छैन, तर फेरि भूकम्प आयो भने खेलकुदको भवन भत्केर यता क्षति पुर्याउला कि भन्ने भय कर्मचारीमा देखिन्छ,’ पराराष्ट्रमन्त्री महेन्द्र पाण्डेले नागरिकसँग भने, ‘मन्त्रालयका काम भने रोकिएको छैन ।’ उनका अनुसार खेलकुद मन्त्रालयतर्फ झ्याल भएका कोठामा भने सावधानीका साथ काम गर्न निर्देशन दिइएको छ ।

अर्थ मन्त्रालयको बजेट शाखाका केही कोठामा क्षति भएपछि कर्मचारी त्यहाँ बसेका छैनन्, तर पनि नियमित काम भने नरोकिएको सूचना अधिकारी रामशरण पुडासैनीले बताए । ‘बजेट र राजस्व शाखाका केही कोठा क्षति भएकाले त्यहाँ बस्न छाडिएको छ, तर काम रोकिएको छैन,’ पुडासैनीले नागरिकसँग भने, ‘तर, भोलि (शुक्रबार) हुने भनिएको बैठक भने सभाहलमा नगर्ने निर्णय गरेका छांै ।’

उनका अनुसार सभाहल पाँचांै तलामा रहेकाले नेपालस्थित कार्यालय भएका दातृ निकायका संयुक्त बैठक अर्थ मन्त्रालयको प्रांगणमा शुक्रबार गरिँदैछ । अर्थमन्त्री रामशरण महत पनि सहभागी हुने संयुक्त बैठकका लागि प्रांगणमा पाल नै टाँगिएको छ ।

सामान्य प्रशासन मन्त्रालय पनि चर्किएको छ, तर मन्त्री लालबाबु पण्डितले मर्मतसम्भार गरेर बस्ने योजना बनाइसकेका छन् । ‘पहिला त मन्त्रालय पनि स्थानान्तरण नै गर्ने कुरा थियो, तर पछि मन्त्रीज्यूले मर्मत गरेर बस्ने कुरा सुनाएकाले समस्या अब नहोला,’ प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले नागरिकसँग भने ।
 
सिंहदरबारको पश्चिम प्रवेशद्वारतर्फ रहेको रक्षा मन्त्रालय बस्नै नहुने गरी क्षति भएपछि पूर्वी गेटतर्फ सरेको छ । नेपाल टेलिभिजन भवन अघिल्तिर रहेको राष्ट्रिय सुरक्षा परिषदभित्र रहेको पुतली बगैंचामा रक्षा मन्त्रालय लगिएको हो । पहिले रक्षा मन्त्रालय रहेको भवन आसपास खतराको संकेत नै राखेर सवारी साधन चलाउन पूर्ण रोक लगाएको छ ।
यहाँ चाँही राष्ट्रिय योजना आयोगको कार्यालय खडा गरिदैछ
त्यसो त प्रधानमन्त्री कार्यालय भवनमा नै रहेको मुख्य सचिवको सचिवालय प्रवेशद्वारमा नै ठूलो ताला झुन्ड्याएर प्रवेशमा नै पूर्ण रोक लगाइएको छ । सचिवालय चौरमा सरेको छ ।
‘सचिवालयमा एउटा सिडिएमए फोन र ल्यापटप भयो भने अलि सजिलो हुन्छ,’ सचिव सुवेदीले मुख्य सचिव लीलामणि पौडेललाई बिहीबार बिहान जानकारी दिएका थिए ।
रेडियो नेपालको आडैमा टाँगिएको नयाँ पालभित्र मुख्य सचिवको सचिवालय खडा गरिएको हो ।
बिहानै १० बजे पुगेका मुख्य सचिव पौडेलले नयाँ सचिवालयमा पुगेर सल्लाहका लागि आवश्यक सचिवलाई बोलाउन निर्देशन दिएका थिए । त्यसपछि सहयोगीले मोबाइलबाट सचिवहरूलाई धमाधम फोन गरे ।

त्यही बेला एक कर्मचारीले पाल बाहिर टाँस्न कम्प्युटरमा ‘मुख्य सचिवको सचिवालय’ लेखेर प्रिन्ट गरे ।
सचिवालयमा पनि न कम्प्युटर छ, न टेलिफोन नै । अरू आवाश्यक समान पनि उपलब्ध भइसकेका छैनन् ।
‘जहाँ जे उपलब्ध छ, त्यसैलाई अधिकतम प्रयोग गरी कार्य सञ्चालन नियमित गर्ने र नरोक्ने भनेर लागिपरेका हौंै,’ पौडेलले नागरिकसँग भने ।

सोही पालभित्रबाट पौडेलले बिहीबार क्षतिग्रस्त मन्त्रालय र अन्य कार्यालयलाई कहाँ कहाँ स्थानान्तरण गर्न सकिन्छ भन्ने बारेमा सचिवहरूसँग राय लिने काम गरेका थिए ।

वैशाख १२ र २९ गतेको भूकम्पका कारण प्रमुख प्रशासनिक निकायको मुख्य भवन सिंहदरबारमा रहेका अधिकांश कार्यालय चौरमा पुगेका छन् । प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, मुख्य सचिवको सचिवालय र राष्ट्रिय योजना आयोगको कार्यालय भवनबाट झरेर खुला चौरमा पुगेका हुन् । सचिवहरूले मन्त्रालय स्थानान्तरणका बारेमा दिएको सुझाव र सम्भाव्यताका बारेमा जानकारी लिएर मुख्य सचिव मन्त्रिपरिषदको बैठकमा जाने कार्यक्रम त्यही बन्यो ।

सोही बैठकले प्रधानमन्त्री कार्यालयलाई शिक्षा, संघीय तथा संस्कृति र शान्ति मन्त्रालयमध्ये कुनै एक मन्त्रालयमा स्थानान्तरण गर्ने बारेमा प्रारम्भिक छलफल गरेको सचिव सुवेदीले बताए । ‘तर, सिंहदरबार बाहिर कुनै पनि मन्त्रालय नराख्ने भन्नेमा चाहिँ सचिवहरू एकमत भएका छौं,’ सुवेदीले नागरिकसँग भने, ‘मन्त्रालयलाई सिंहदरबारभित्रै अटाउने गरी कुन कुन ठाउँमा स्थानान्तरण र व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल गरिराखेका छौं ।’
मुख्य सचिव पौडेल चौरमा गाडिएको टेन्टमा बैठक राख्दै
प्रधानमन्त्री कार्यालयसँगै विस्थापित भएको राष्ट्रिय योजना आयोगलाई प्रतिनिधिसभा भवन अघिल्तिर पाल टाँग्नका लागि ठाउँ छुट्ट्याइएको छ । शुक्रबारदेखि कार्यालय सञ्चालन गर्ने योजना बनाए पनि बैठक भने नियमित सञ्चालन भइरहेको थियो । ‘आफ्नो भवन नभएपछि वातावरण मन्त्रालयमा गएर योजना आयोगको बैठक गरिरहेका छौं,’ सदस्य डा. चन्द्रमणि अधिकारीले नागरिकसँग भने, ‘भूकम्पपीडितका लागि असारसम्म गर्न सकिने तत्कालीन योजनाको मस्यौदा बनाउने काम पनि  लगभग सम्पन्न गरिसकेका छौं ।’ उनका अनुसार असार मसान्तसम्म गर्न सकिने राहतका अल्पकालीन योजना बनाउने काम आयोगले सम्पन्न गरिसकेको छ र त्यो सरकारलाई बुझाइँदैछ ।

No comments:

Post a Comment