Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, May 11, 2015

भुकम्प पछिको नुवाकोट यात्रामा मैले जे जे देखे, त्यही नै लेखे

ढिकुरेमा एउटा ट्रकले त्रिपाल झारयो, गाउँले टिपे, पछि प्रहरी आएर उठाएर लग्यो
खानीगाउँ–५, लब्धुका रामजी राई, २६, मलेसियाबाट फर्किएका छन्। ६ वर्षदेखि मलेसियाको चाइनिज कम्पनीमा 'फिस प्याकिङ' गर्दै आएका राई घर बनाएरमात्रै मलेसिया फर्कने सुरमा छन्।
'नेपालमा भूकम्प आएको फेसबुकबाट थाहा पाएपछि अफिसमा छुट्टी मिलाएर आएको हुँ,' राईले नागरिकसँग भने, 'अब घर बनाएरमात्रै फेरि जाने कि नजाने भन्ने निर्णय गर्छु।' भूकम्प आएको कार्यालयमा जानकारी गराएपछि उनले सहजै छुट्टी पाएका रहेछन्।
परिवारका कोही हताहत नभए पनि राई गाउँ आइपुग्दा पुर्ख्याैली घर र त्यसमा रहेका केही चिज बाँकी थिएनन् तैपनि धेरै चिन्ता भने नलागेको उनले बताए। 'मेरै मात्रै बर्बाद भएको भए बढी पीर लाग्थ्यो होला, सबैको हालत उस्तै छ, चित्त बुझाउने ठाउँ बाँकी नै रहेछ भन्ने लागिरा'छ।'
राहत ल्याउनु भयो कि ?- हामी चढेको गाडीमा चियाएर हेर्दै तामाङ बालबालिका
दुई साता बित्दा लब्धु गाउँको राई समुदायका धेरै युवा सामान्य जीवनतर्फ फक्रेको देखिन्थ्यो। कोही घर बनाउन लागेका, कोही भग्नावशेषबाट सामान खोजिरहेका दृश्य बाक्लै देखिन थालेको छ।

लब्धुमा राईहरुको ठूलो बस्ती छ, पछिल्लो समय त्यहाँ राहत पनि पुगिरहेको स्थानीयले जनाएका छन्। तादी नदीको किनारको सो बस्तीमा रहेका राईहरुको मुख्य पेसा खेतीकिसानी नै हो। तरकारी बेच्छन्, पेट पाल्छन्, त्यसबाहेक अरु केही पेसा अहिलेसम्म बनिसकेको छैन। 'यहाँ अहिलेसम्म राहत लिएर कोही न कोही आइरहेका छन्, त्यस्तो ठूलो समस्या छैन,' गोविन्द राई, २६, भन्छन्, 'बर्खा लाग्न थाल्यो, पाल भए ज्यान लुकाउने ठाउँ हुन्थ्यो कि भन्ने धेरैले आसाचाँहि गरिरहेका छन्।' शुक्रबार दिनभरि एउटा ट्राभल एजेन्सीले ल्याएको राहत बाँडेर बसेका ती राई युवाका अनुसार राहत दोहोर्या्एर लिनेका कारण केही स्थानमा समस्या देखा परेको थियो।

'राहत पनि कसैले दोहोर्यािएर लिन्छन्, जसलाई चाहिएको हो, उसले नपाउने डर बढी हुन्छ,' राहत वितरण अनुभव सुनाउँदै गोविन्दले भने, 'जसलाई आवश्यक छ, त्यसले मात्रै लिए हुन्थ्यो नि, पिल्लरवाला घर भएकाले पनि राहत लिएर गएका छन्, सुन्दा र देख्दा पनि लाजमर्दो।' त्यस्तो घटना घटेपछि पछिल्लो चरणमा भने स्थानीय प्रहरीलाई साथमा राखेर राहत बाँड्न थालिएको उनले सुनाए।

देवीघाटमा यो भारतीय टोली अड्डा नै जमाएर बसेको देखियो
ढिकुरे बजारभन्दा पूर्वतिर एउटा घरमा विवाहको निकै रमझम थियो। मानौं, भूकम्पले सो ठाउँमा कुनै प्रभाव परेको छैन, महिला रत्यौली खेलिरहेका थिए, जन्ती फर्केर आउन बाँकी नै थियो। 'भित्र त मन रोएको छ नि के गर्नु! मन बहलाउन पनि यहाँ आएर नाचेकी हुँ,' कान्छी राई, ४५, ले नागरिकसँग भनिन्, 'चिन्ता लियो भने जताततै चिन्ता नै चिन्ता छ तर चिन्ताले मात्रै केही हुँदैन, त्यसैले भदाको विवाहमा मज्जासँग नाचेर आफूलाई भुलाइरा'छु।' निकै दुःख गरेर जोडेका दुई गाई भूकम्पमा गुमाएको बताउने कान्छी राईले शुक्रबारसम्म एक थान त्रिपाल र केही खाद्यान्न भने राहतको नाममा पाइरहेको सुनाइन्।

कटकबहादुर राई, ६०, ले भूकम्पपछि सरकारले घर बनाउन खर्च दिन्छ भन्ने सुनेका छन् तर कसैले पनि त्यसको आधिकारिक जानकारी उनलाई दिएको रहेनछ। 'भूकम्पपछि सरकारले घर बनाउन सहयोग गरिदिन्छ भनेर ठिटाहरुले भनेका छन् तर अहिलेसम्म सरकारी मान्छेले आएर भनेका छैनन्,' कटकबहादुरले भने, 'सरकारले रकम दिए, एकपटक घर ठडयाएर मर्ने विचार छ।' आफ्नोभन्दा पनि छोराछोरी र नाति–नातिनाको पुनः घर फर्केर हेर्ने इच्छा जीवितै रहेको कटकबहादुरले सुनाए।

भुवन राई, २३ ले राहत टोली र सरकारले टेन्ट, पाल र त्रिपालको सट्टा जस्तापाता वितरण गरेको भए प्रभावकारी हुने देखेका रहेछन्। 'टेन्ट, पाल र त्रिपालको सट्टा जस्तापाता राहतमा दिए धेरैको ज्यान सुरक्षित हुने थियो,' उनले नागरिकमार्फत सन्देश पठाएका छन्, 'बर्खामा टेन्ट र त्रिपालले दर्के पानी छेक्न सक्दैन, यो कुरा माथि सरकारलाई भनिदिनुहोला।' अर्थमन्त्री रामशरण महतको निर्वाचन क्षेत्र (नुवाकोट २) मा पर्ने सो गाउँका धेरैले मन्त्री महत भूकम्पपछि पनि फर्केर नआएकोमा चित्त दुखाएका रहेछन्।

नुवाकोटमा भारतीय टोलीले राहत लिएर गएका धेरै दृश्यसमेत देखिन्छन्। सन्त गुरमित राम रहिम सिंहजी इन्साद्वारा पठाइएको राहत टोली देवीघाटमा अड्डा जमाएर बसेको छ। हरियाणाबाट आएको सो टोलीले टेन्ट, पानी, खाद्यान्नमात्रै ल्याएको छैन, केही गाडीमा काठ पनि ल्याएको देखिएको छ।

'मोदी सरकार ने नेपाल के भूकम्पपीडित के लिए भेजगए राहत' उल्लेख गरेर नेपाल प्रवेश गरेका ट्रक लरीहरु नुवाकोटमा निकै गुडिरहेका छन्। पानी, चाउचाउसहित आएका केही ट्रकमा पुराना लुगा पनि भेटिएपछि स्थानीय प्रशासनले लिन अस्वीकार गरेको थियो।

त्यसो त भूकम्पपीडित सर्वसाधारणले पनि राहत वितरण गर्न गएका टोलीसँग अमार्यादित काम व्यवहार गरेको घटना धेरै रहेछन्। रामती र दुई पीपल गाविसमा राहत लिएर गएको ट्रकलाई अवरोध गरिएको थियो। त्यस्तै, राजनीतिक विचारधाराका कारण राहत वितरणमा भेदभाव हुने गरेको सुनाउने नुवाकोटमा धेरै भेटिए।

गत बिहीबार राहतका सामग्री लिएर गएको भारतीय सवारी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले अवरोध गरेपछि गल्छीनजिकको कोल्पुटारबाट फर्र्किएका थिए, पछि प्रहरीले स्कर्टिङ नै गरेर राहत सदरमुकाम पुर्या उनुपरेको थियो। 'पुराना कपडा, कुहिएका चामल ल्याएको र राहतमा स्थानीय नेताले भेदभाव गरेपछि ती गाडीमा अवरोध गरिएको हो,' स्थानीय माओवादी नेता चिरञ्जीवी लामिछानेले नागरिकसँग भने। उनका अनुसार कांग्रेसका स्थानीय नेताले आफ्नो पकड क्षेत्रमा मात्रै राहत लान खोजेको गुनासो धेरै छ।

सर्वसाधारणले पनि आफ्नो नैतिकतामा नबस्दा समस्या परेको नुवाकोटमा राहत वितरण गरिरहेकाको अनुभव रहेछ। 'जो चाँहि बढी पीडित छ, उसैलाई राहत वितरण गर्न खोज्यो, त्यो सम्भव हुँदै भएन,' बालकुमारी, कमारेगाउँमा राहत वितरण गरेर फर्केकी भवानी खतिवडाले सुनाइन्, 'धनीमानीले एक बोरा चामलका लागि, एउटा त्रिपालका लागि राहतको लाइन बसिदिन्छन्, अनि वास्तविक पीडितकहाँ राहत पुर्याीउनै मुस्किल पर्यो्।' उनका अनुसार एउटै घरका ५–६ जना आएर राहत लिइदिँदा समस्या पर्योि। गुरागाईं समाजबाट तीनसय बोरा चामलसहित अन्य खाद्यान्न लिएर उनको टोली बालकुमारी गाविस पुगेको थियो।

दुई पीपललगायत धेरैवटा गाविसमा राहत जान थालेलगत्तै घरधुरी संख्या भने अचम्म तरिकाले बढ्न थालेको छ। संविधानसभा चुनावअघि १८ सय घरधुरी भएको दुई पीपल गाविसमा अहिले २४ सय बढी घरधुरी संख्या पुगेको छ, जसका कारण पुर्वानुमानसहित विभिन्न स्थानबाट लगिएको राहत अपुग हुन पुग्यो। 'चुनावअघिको घरधुरी संख्यालाई अन्दाज गरेर राहत लिएर गयो तर हामी भिन्न भइसकेका छौं, छुट्टिएको यति भयो, उति भयो भन्दै एउटै परिवारका धेरैजना राहत थाप्न आउँछन्,' राहत वितरणमा सक्रिय आरपी नेपालको अनुभव छ, 'रातारात बढेको घरधुरी संख्याका कारण राहत अपुग भएको छ।' उनका अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटका पीडित परिवारलाई जनही ७ हजार राहत दिने भनेर निकासा गराए पनि घरधुरी संख्या बढेपछि २ हजारमा सीमित गरेर नगद बाँड्नु परेको छ।

प्रहरी सहायक निरीक्षक नेतृत्वमा १२ जनामात्रै दरबन्दी रहेको ढिकुरे प्रहरी चौकीले सूर्यमती, खानीगाउँ, चौगडा, गणेशस्थानलगायत चारवटा गाविस हेर्नुपरेको छ। त्यो चौकी पनि भित्र पूरै चर्किएर बस्नयोग्य नभएपछि बाहिर पाल टांगेर सञ्चालन गरिएको छ।

'सरकारले कतै ७ हजार, कतै ५ हजार र कतै २ हजारको दरले राहत बाँडयो तर यताका पीडितले रक्सी र तासमा ती पैसा उडाइरा'छन्,' एक प्रहरीको अनुभव छ, 'राहतको रकम दुरुपयोगमात्रै भए त हुन्थ्यो नि, त्यही पैसाले रक्सी खाएपछि ठूला झगडा गर्छन् अनि पुलिस गुहार्छन्।' राहतको रकम वितरण पछि गाउँमा प्रहरीले राति दुई बजेसम्म सुरक्षा दिन थालेको छ।

राहत वितरणमा समस्या देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयमार्फत सो चौकीमा थप ८ सशस्त्र प्रहरीको व्यवस्था गरिएको छ। जसले दिनभर आएका राहतको सुरक्षा गर्ने र रातभर राहत बाँडिएको गाउँमा चौकीदारी गर्ने गरिरहेको सहायक प्रहरी निरीक्षक लोकनारायण श्रेष्ठले बताए।

No comments:

Post a Comment