Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, March 15, 2015

लाजिम्पाटमा प्रचण्ड र बैद्य हाँस्दा, को को हुने भए त निराश ?

पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकरणका लागि औपचारिक वार्ता सुरु गरेका छन्। एकताका लागि दुवै पार्टीले आइतबार शीर्ष नेतृत्व संलग्न वार्ता टोली घोषणा गरेका छन्।
लाजिम्पाटस्थित दाहाल निवासमा एकीकरण पहलका लागि पुनः छलफल सुरु भएको दुवै माओवादीले जनाएका छन्। सबै माओवादी एवं सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूका बीचमा पार्टी एकता आवश्यक रहेको अनुभूत गरेर एकीकरणका लागि दुवै पक्षको वार्ता समिति गठन गरिएको उनीहरूले जनाएका छन्। वार्ता टोली एमाओवादीका तर्फबाट ५ जना र माओवादीका ४ जना छन्। 

टोलीमा एमाओवादीबाट अध्यक्ष दाहाल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी छन् भने माओवादीबाट अध्यक्ष वैद्यसहित सिपी गजुरेल, रामबहादुर थापा र देव गुरुङ छन्।
वैद्य नेतृत्व माओवादीबाट सचिव नेत्रविक्रम चन्द नेतृत्वमा अलग पार्टी गठन भएको तीन महिना पछि दुई पार्टीबीच एकीकरणको औपचारिक प्रयास भएको हो। दुवै पार्टीले सोमबार 'माओवादी आन्दोलन पुनर्गठन अभियान' को संयुक्त घोषणा सभा पनि आयोजना गर्दैछन्।
'पार्टी एकताका लागि वैचारिक, राजनीतिक र सांगठनिक विषय मिलाउन व्यवस्थित बहस सुरु गर्ने र अन्य माओवादी शक्तिलाई पनि एकीकरण प्रक्रियामा आउन पहलकदमी गर्ने साझा निर्णय भएको छ,' बैठकपछि एमाओवादी महासचिव महराले भने। प्रतिगमन हाबी र क्रान्तिको उपलब्धिमाथि खतरा उत्पन्न हुँदै गएकाले त्यसलाई जोगाउन माओवादी केन्द्रहरूबीच एकीकरणको प्रयास सुरु गरिएको उनको भनाइ छ।
'नवसंशोधनवादी र संसदीय भासमा फसेको पार्टी' को आरोप लगाउँदै एमाओवादीबाट २०६९ असार ५ गते अलग भएको वैद्य नेतृत्व माओवादीले शनिबार एकताका लागि वार्तामा बस्ने जनाएको थियो। एकताका लागि आफ्नो पार्टीले प्रस्ताव गरेको ६ बुँदामध्ये 'जनवादी क्रान्तिलाई हेर्ने दृष्टिकोण' बाहेक अन्य विषयमा एमाओवादीले सहमति जनाएकाले वार्तामा बस्न लागेको माओवादीका महासचिव थापाले शनिबार भनेका थिए। संविधानसभा चुनावलगत्तै माओवाद र माओविचारधारा स्वीकार गर्ने बीच कार्यगत एकताको घोषणा गरिए पनि कार्यान्वयन हुन सकेको थिएन।
सैद्धान्तिक, वैचारिक र राजनीतिक कार्यदिशामा विमति यथावतै रहे पनि मुलुकको आवश्यकताका कारण माओवादी शक्तिहरूबीच एकीकरण अनिवार्य बन्दै गएको माओवादीका सचिव गुरुङले बताए। 'एकता र एकीकरणका लागि हामीले अघि सारेका ६ बुँदामध्ये पाँचवटामा उहाँहरूले सहमति जनाइसक्नुभएको छ,' गुरुङले बैठकपछि भने, 'जनवादी क्रान्तिका कार्यक्रम र राजनीतिक कार्यदिशमा केही विमति कायमै छन्, त्यसलाई नयाँ उचाइबाट छलफल र संश्लेषण गरेर अघि जाने कुरा भएको छ।'
वैचारिक र राजनीतिक विषयमा नयाँ संश्लेषण गर्दै अघि बढेर पार्टी एकीकरणलाई परिणाममुखी बनाउने विषयमा दुवै पार्टीका नेता सहमत भएको गुरुङले जानकारी दिएका छन्।
संविधानसभा विघटन गरी अधिकारसम्पन्न सर्वपक्षीय राजनीतिक सभा गठन गर्नुपर्ने माओवादीको माग र संविधानसभाभित्रबाटै सहमतीय संविधान जारी गर्ने राजनीतिक माग बोकेको एमाओवादीबीचको मिलनबिन्दु भने नेताहरूले बताएका छैनन्। 'छलफल र वार्तामार्फत त्यसको पनि टुंगो लगाइनेछ,' गुरुङले भने।
दुवै पार्टीले 'प्रतिगमन, राष्ट्रघात र जनजीविका' को विषयलाई लिएर संयुक्त रूपमा आन्दोलन घोषणा गर्ने प्रतिबद्धता पनि जनाएका छन्। 'सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसहित शान्ति प्रक्रियासँग जोडिएका विषयहरूमा राज्य पक्षबाट भइरहेको प्रतिगमनकारी कदमहरूका विरुद्धमा संयुक्त आन्दोलन गर्ने निश्चित गरिएको छ,' दाहाल र वैद्यद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

No comments:

Post a Comment