Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, November 4, 2012

नेकपा-माओवादीलाई निःशर्त संविधानसभा चुनाव अस्वीकार्य

प्रकाश तिमल्सिना, काठमाडौं, कात्तिक २० - नेकपा-माओवादी निशर्त संविधानसभा चुनावको विपक्षमा उभिने भएको छ। केन्द्रीय कमिटी बैठकमा अधिकांश नेताहरू सशर्त चुनावको पक्षमा देखिएका पार्टीले जनाएको छ। संविधानसभाको नयाँ चुनावमा जाने-नजानेबारे पार्टीले अझ निर्णय नगरेको केन्द्रीय सदस्य भरत बमले बताए।


'निशर्त संविधानसभा चुनावमा जान सकिँदैन,' बमले भने, 'त्यस्तो चुनाव राजनीतिक निकास र अग्रगमनका लागि बाधक हुन्छ।' संविधानसभा चुनावमा जानुअघि 'जनताको संविधान' बन्नेबारे ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ छ।

पार्टी अध्यक्ष मोहन वैद्यले पेस गरेको राजनीतिक प्रतिवेदन सत्ता प्राप्तिभन्दा पनि सत्तामा परिवर्तनमा केन्द्रित भएको एक नेताले बताए। 'अहिलेसम्मका सबै आन्दोलन सत्ता प्राप्तिमा केन्द्रित भएकाले समस्या ज्यूँकात्यूँ छन्, पराम्परागत सत्तामा आमूल परिवर्तन आएको छैन,' वैद्यको भनाइ उद्धृत गर्दै ती नेताले भने, 'जनताले अब सत्ताको संरचना परिवर्तन गर्ने आन्दोलन खोजिरहेका छन्, हामीले गर्ने आन्दोलन त्यसैका लागि हो।' सत्ताका लागि मात्र आन्दोलन गर्दा माओवादी कमजोर र बदनाम हुन पुगेको निष्कर्ष वैद्यको छ।

बैठकमा पार्टीको भावी कार्यदिशा तथा महाधिवेशन तयारीबारे छलफल हुने एक केन्द्रीय नेताले बताए। सहरी जनविद्रोहको तयारी वा जनवादी सशस्त्र क्रान्तिमा जानेबारे नेकपा-माओवादीले छिनोफानो गर्नु अहिलेको चुनौती हो। 'कसरी र कुन कार्यदिशा तय गरेर जाने भन्नेमा छलफल चलिरहेको छ,' प्रवक्ता पम्फा भुसालले भनिन्। कम्युनिस्ट पार्टीले प्रयोग गर्दै आएको बल प्रयोगको सिद्धान्तलाई तत्काल नछाड्ने नेकपा-माओवादीको अडान छ।

सत्तारुढ एकीकृत माओवादी र मधेसवादी दल, विपक्षी कांग्रेस-एमालेले मुलुकलाई निकास दिन नसकेको निष्कर्ष नेकपा-माओवादीले निकालेको छ। तर, गतिरोध अन्त्यका लागि पार्टीले पहल लिन नसकेको अध्यक्ष वैद्यले स्वीकार गरेका छन्। 'प्रमुख राजनीतिक दल असफल भए पनि हामीले राजनीतिमा पहलकदमी लिन सकिरहेका छैनौं, यो स्विकार गर्नैपर्छ,' वैद्यको प्रतिवेदन उद्धृत गर्दै अर्का नेताले भने।

शान्ति र संविधानको कार्यदिशालाई समर्थन गरेर एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष बाबुराम भट्टराईमा विलय भएको वैद्यको ठहर छ। 'अहिले पार्टी बाबुरामको शान्ति र संविधानको कार्यदिशामा गएको छ, अध्यक्ष दाहाल उक्त कार्यदिशा बोकेर बाबुराममा विलय भइरहेका छन्,' पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले नागरिकसँग भने, 'संविधान जारी गर्न नसकेको तथा शान्ति प्रक्रियालाई नटुंग््याएकाले असफल भइसकेको शान्ति र संविधानको कार्यदिशा बोकेर हिँडने दाहालले कुनै नयाँ नीति ल्याउन सकेका छैनन्, यसबाट उनी बाबुराममा विलय भएको पुष्टि हुन्छ।'

No comments:

Post a Comment