Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, November 4, 2012

पुनर्स्थापना होइन, नयाँ चुनाव- मधेसी मोर्चा

प्रकाश तिमल्सिना, काठमाडौं, कात्तिक १९ -सत्तारुढ गठबन्धनको मुख्य घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि संविधानसभा नयाँ चुनावका लागि दबाब दिने भएको छ।
गठबन्धन नेतृत्वकर्ता एकीकृत माओवादी तथा प्रतिपक्षी कांग्रेस र एमालेले संविधानसभा पुनर्स्थापना छाडेर नयाँ चुनावमा जाने निर्क्योल गरेपछि मोर्चाको आगामी बैठकले औपचारिक निर्णय गरी चुनावको पक्षमा दबाब दिने तयारी गरेको हो।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले मोर्चाको अब बस्ने बैठकले संविधानसभा चुनावमा जाने औपचारिक निर्णय गर्ने जानकारी दिए। 'पुनर्स्थापना प्रसंग माओवादीको सत्ता लम्ब्याउने दाउपेच मात्र हो भन्ने हामीले पहिलेदेखि नै भन्दै आएका हौं,' शुक्लाले नागरिकसँग भने, 'त्यसैले मोर्चाको आउँदो बैठकले संविधानसभाको नयाँ निर्वाचनमा जाने औपचारिक निर्णय गरेर तयारी सुरु गर्नेछ।' उनका अनुसार मोर्चाका घटकबीच वैशाखभित्र चुनाव गराउने पहलकदमी लिने अनौपचारिक सहमति भइसकेको छ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष तथा सञ्चारमन्त्री राजकिशोर यादवले पनि मधेसवादी दलहरू पहिलेदेखि नै नयाँ चुनावको पक्षमा रहेको बताए। 'संविधानसभा पुनर्स्थापना गरेर नौटंकी गर्नेभन्दा पनि ताजा जनादेश लिनुपर्छ भन्नेमा हामी पहिलेदेखि नै प्रस्ट छौं,' मन्त्री यादवले नागरिकसँग भने, 'खर्च र समय जोगाउन पुनर्स्थापना राम्रो विकल्प भए पनि त्यसले मात्र मुलुकलाई निकास दिन सक्दैन।' चार वर्षमा निर्माण हुन नसकेको संविधान, संविधानसभा पुनर्स्थापना गरेर छोटो समयमै निर्माण हुन्छ भन्ने विश्वास मोर्चालाई नलागेकोे यादवको भनाइ छ। पूर्ण बजेट पनि सहमतिका आधारमा ल्याउनुपर्ने मोर्चाको जोड छ।
तमलोपाले माओवादीसँग चुनावी गठबन्धन हुन नसक्ने यसअघि नै प्रस्ट पारिसकेको छ। विपक्षीलाई विश्वासमा लिएर पूर्ण बजेट ल्याउनुपर्ने उसको धारणा छ। 'विपक्षीलाई निषेध गरेर बजेट ल्याउनुहुन्न भन्ने हामीले प्रधानमन्त्री र माओवादी अध्यक्षलाई सुझाव दिइसकेका छौं,' शुक्लाले भने।
तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल (तमलोपा, नेपाल) का महामन्त्री दानबहादुर चौधरीले पनि आफ्नो दल नयाँ निर्वाचनको पक्षमा रहेको बताए। 'हामीले त निर्वाचनमा जानुपर्छ भनेर निर्णय नै गरिसकेका छौं, ताजा जनादेशबाट नयाँ नेतृत्व आउनुपर्छ र त्यसैले संविधान निर्माण गर्नुपर्छ भन्ने हाम्रो माग नै हो,' चौधरीले नागरिकसँग भने। तमलोपा, नेपालले संविधान संशोधनका लागि पुनर्स्थापना आवश्यक भएमा त्यसमा सहमति गर्न सकिने भए पनि मुख्यतः निर्वाचनमा नै जोड दिएको चौधरीले बताए। सहमतिमा पूर्ण बजेट ल्याएर सहमतिको वातावरण बनाउनुपर्ने पार्टी धारणा रहेको उनको भनाइ छ।
फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले संविधान सभाको नयाँ निर्वाचनमा जानुको विकल्प कसैसँग नभएको बताए। 'जसरी पनि निर्वाचनमा जानुपर्छ, हामी कहिल्यै पुनर्स्थापनाका पक्षमा छैनौं र थिएनौं,' चौधरीले नागरिकसँग भने, 'अब सकेसम्म वैशाखभित्रै निर्वाचन गर्ने गरी प्रक्रिया अघि बढाउन हाम्रो पार्टी र मोर्चा दुवैले दबाब दिने कार्य गर्छ।' उनका अनुसार मोर्चाको आगामी बैठकले नयाँ निर्वाचनमा जोड गर्दै स्पष्ट धारणा बनाउँदैछ। त्यसो त सहमतिको आधारमा बजेट ल्याउने तथा सहमति हुन नसके पनि बजेट ल्याउनुको विकल्प नभएको चौधरीको भनाइ छ।
मधेसी मोर्चाबाहिरको सत्तारुढ संघीय सद्भावना पार्टीका उपाध्यक्ष खोभारी रायले राजनीतिक दलले गर्ने सहमतिमा आफ्नो पार्टीको आपत्ति नहुने बताए। 'निर्वाचनमा जाने सहमति भए हाम्रो पार्टीलाई स्विकार्य छ, हामी त्यसको विपक्षमा छैनौं,' रायले भने। नयाँ निर्वाचनमा जाने सहमति भए आफनो पार्टी तयार रहेको उनको भनाइ छ।

No comments:

Post a Comment