Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, November 24, 2012

राष्ट्रपतिको आह्वानबारे सत्तारुढ एमाओवादीमै दुई धार

प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर १० - राष्ट्रपति रामवरण यादवको आह्वानबारे सत्तारुढ एकीकृत माओवादीमै दुई धार देखिएको छ। अध्यक्ष पुष्पकमल दाहालसहित उनी निकट नेताले राष्ट्रपति आह्वानलाई स्वाभाविक मान्दै समर्थन गरेका छन् भने प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष बाबुराम भट्टराईसहित उनीनिकट नेताहरु त्यसलाई 'कू' भन्दै कडा विरोधमा उत्रने भएका छन्। राष्ट्रपति आह्वानलाई हेर्ने विषयमा पार्टीमै दुई धार देखा परेपछि माओवादीले शनिबार 'औपचारिक' धारणा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने प्रयास शनिबार राति अबेरसम्म पनि सफल भएन।

बिहान अध्यक्ष निवास लाजिम्पाटमा बसेको विघटित स्थायी समितिका सदस्यको बैठकले राष्ट्रपतिको कदमलाई 'असंवैधानिक' भएकाले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाउने निर्णय गरेको थियो। 'पूर्व स्थायी समितिका सदस्यको लाजिम्पाटको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै विरोध गरेर जाने निर्णय गरी प्रेस विज्ञप्ति सार्वजनिक गर्ने निर्णय गरेको थियो,' प्रधानमन्त्रीका स्वकीय सचिव गंगा श्रेष्ठले नागरिकसँग भने, 'हामीले सो निर्णयपछि राष्ट्रपतिको आह्वानको विरोधमा कार्यक्रम गर्दैछौं भनेर तल्ला कमिटीमा जानकारी गरायौं तर विज्ञप्ति सार्वजनिक हुन सकेन।'
बैठकलगत्तै शीतल निवास पुगेका दाहालले राष्ट्रपतिसँग भेटेर फर्केपछि राष्ट्रपति कदम सहमतिको उद्देश्यले भएको भन्दै अन्यथा लिन नहुने प्रतिक्रिया दिए। 'सहमतिका लागि नै हो भने सकारात्मक छ, कार्यकारी अधिकारका लागि हो भने खेदजनक छ,' भेटपछि दाहालको प्रतिक्रिया थियो। राष्ट्रपतिले शक्ति हातमा लिने गरी आह्वान गरेको भन्नेमा आफू विश्वस्त नभएको दाहालले प्रतिक्रिया दिए।
बैठक सकाएर दाङ-काठमाडौं पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका दाहाल निकट प्रभावशाली नेता कृष्णवहादुर महराले पनि राष्ट्रपतिको आह्वान स्वाभाविक भएको धारणा राखे। 'राष्ट्रपतिले गर्नुभएको हिजोको आह्वान सहमतिका लागि नै हो,' महराले कार्यक्रममा भने, 'राष्ट्रपतिले दिएको समयसीमाभित्र नै राष्ट्रिय सहमतिको सरकार निमार्ण गर्नुपर्छ।' राष्ट्रपति यादवले आफैं शक्ति हातमा लिनेभन्दा पनि सहमतिका लागि आह्वान गरेकाले विरोध गर्नुको तुक नहुने दाहालकै भनाइ दोहोर्यानए।
शनिबार नै राजधानीको रिपोर्टस क्लबमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले राष्ट्रपतिको आह्वानलाई 'कू' को संज्ञा दिए। 'राष्ट्रपतिले आफूमा नरहेको अधिकार प्रयोग गरेर कू गर्ने आशयको वक्तव्य दिनुभएको छ,' पौडेलले भने, 'यसको प्रतिवाद गर्नुको विकल्प छैन।' आह्वानमा समयसीमा तोक्ने र प्रधानमन्त्रीलाई पत्र नपठाई मुख्य सचिवलाई पठाएर कूको संकेत गरेको उनको भनाइ थियो।
दाहाल निकटको समर्थन र प्रधानमन्त्री निकटको विरोधमा कडा अभिव्यक्ति आएपछि दिउँसो तीन बजे पुनः बैठक डाकियो। ' दिनभर बेग्लाबेग्लै धारणा आएपछि तीन बजेको बैठकले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्ने निष्कर्ष निकाल्यो,' श्रेष्ठले नागरिकसँग भने। राष्ट्रपतिको आह्वान असंवैधानिक भन्ने निष्कर्षमा पार्टी पुगेको श्रेष्ठले जिकिर गरे।
माओवादीभित्र राष्ट्रपतिको आह्वानबारे स्पष्ट दुई धार देखा परेपछि सत्तारुढ गठबन्धनका दल पनि अलमलिएका छन्। उनीहरुले अब छुट्टाछुट्टै बैठक बोलाएर आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन्।
बैठकमा सहभागी तराई मधेसी लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष तथा सिँचाइमन्त्री महेन्द्र यादवले माओवादीभित्रको दुई धारबारे प्रस्ट पार्नुपर्ने माग गरे। 'राष्ट्रपतिको आह्वानलाई लिएर तपार्इंको पार्टी (माओवादी) मा दुई धार देखा परेको छ,' बैठकमा यादवले भने, 'हामी पनि मधेसी मोर्चाको बैठक बसेर भोलि नै धारणा बनाउँछौं।' माओवादीभित्रको दुई धारबारे प्रस्ट पार्न माग गरेपछि अध्यक्ष दाहाल र प्रधानमन्त्रीले राष्ट्रपति आह्वान 'असंवैधानिक' भएको धारणा राखेको यादवले जनाए।
माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने साना १० दललाई पनि माओवादीभित्रको दुई धारले अलमलमा पारिदिएको छ। 'राष्ट्रपति आह्वानबारे माओवादीभित्र दुई धार देखा परे पछि हामी साना दलले पनि छुट्टै धारणा बनाउँदैछौं,' सहभागी एक नेताले नागरिकसँग भने। उनका अनुसार साना दलको बैठक आइतबार नै बसी आफ्नो धारणा सार्वजनिक गरिनेछ।
'माओवादीभित्रै दुई धार देखा परेपछि सत्तारुढ गठबन्धनको प्रेस विज्ञप्ति पनि माओवादीको कार्यालयको इमेलबाट सार्वजनिक हुन सकेन,' स्रोतले भन्यो।

No comments:

Post a Comment