Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, November 21, 2012

एमाओवादीको महाधिवेशन अनिश्चिततातिर

प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर ७ - सत्तारुढ एकीकृत माओवादीको आगामी माघ १४ गते हुने भनिएको महाधिवेशनका लागि आवश्यक निर्णय गर्न नसक्दा मिति सर्ने संकेत देखिएको छ। २२ वर्षपछि हुने भनिएको सो महाधिवेशनका लागि आवश्यक प्रतिनिधि चयनविधि, सांगठनिक संरचना, राजनीतिक प्रतिवेदन लगायत विषयमा टुंगो लगाउन नसक्दा मिति सर्ने संकेत देखिएको हो।
महाधिवेशनलाई प्रभावित पार्ने भन्दै माओवादीले यसअघि नै जनवर्गीय संगठन, जिल्ला र राज्य समितिका सम्मेलन स्थगन गरे पनि महाधिवेशनका लागि आवश्यक निर्णय गर्न नसकेको संगठन विभागका सदस्य जनार्दन शर्माले वताए। 'मुलुकको जटिल राजनीतिक स्थितिले पनि महाधिवेशनका लागि आवश्यक निर्णय गर्न नसकिएको हो,' शर्माले नागरिकसँग भने, 'केही दिनमै आयोजक समितिको बैठक बोलाएर निर्णय लिँदैछौं।' मंसिर ७ गतेका लागि बोलाइएको आयोजक समितिको बैठक अन्तिम समयमा स्थगन गरेको माओवादीले अर्को मिति अझै तय गर्न सकेको छैन।

टुंगो लगाउन बाँकी विषय
कार्यदिशा
न्युनतम कार्यक्रम
पार्टी विधान
राजनीतिक प्रतिवेदन
सांगठनिक प्रतिवेदन
महाधिवेशन प्रतिनिधि चयन विधि
सांगठनिक संरचना निर्माण विधि
जिल्ला, राज्य र केन्द्रीय समितिको संरचना र आकार
माओवाद वा माओ विचारधारा
प्रचण्डपथ स्थगित वा निरन्तरता
महाधिवेशनको नारा
राष्ट्रियताको प्रश्न (मूलतः भारतलाई हेर्ने दृष्टिकोण)
खुल्ला/मिश्रित/बन्द कुन अर्थतन्त्रको पक्षपाती

त्यसो त महाधिवेशनका लागि आवश्यक महत्वपूर्ण राजनीतिक, सांगठनिक र विधान, न्युनतम कार्यक्रम, अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण लगायतका प्रतिवेदन अझै पारिएको छैन। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठबीच प्रतिवेदन लेखन बाँडफाँट भए पनि अन्तिममा सबै प्रतिवेदन लेखनको जिम्मेवारी अध्यक्ष दाहाललाई सुम्पिइएको छ। 'एकातिर सबैले फरक-फरक लेख्दा एकताको भाव नआउने खतरा हुने र अर्कातर्फ भाषा र प्रस्तुतिमा पनि अनमेल हुने हुँदा अन्तिममा अध्यक्षले नै सो प्रतिवेदन लेख्न लाग्नुभएको हो,' ताम्सालिङ राज्य आयोजक समितिका इन्चार्ज विश्वभक्त दुवालले नागरिकसँग भने। उनका अनुसार अध्यक्ष दाहाल एक्लैले राजनीतिक, सांगठनिक, न्युनतम कार्यक्रम र विद्यानसहित चार प्रतिवेदन लेख्दैछन्।
कृष्णबहादुर महरा नेतृत्वको संगठन विभागले प्रतिनिधि चयनविधि, जिल्ला, राज्य र केन्द्रीय समितिको सांगठनिक संरचना र आकारबारे मस्यौदा बुझाएको भए विवादले त्यो अझै पास हुन सकेको छैन। 'कम्युनिस्ट पार्टी क्षमताका आधारमा निर्माण हुन्छ, आरक्षणका आधारमा होइन भन्नेमा श्रेष्ठ पक्ष र आरक्षणसहितको केन्द्रीय समिति हुनुपर्ने भट्टराई पक्षको बीचको फरक भनाइ आएकाले पार्टी केन्द्रीय समिति कुन विधिअनुसार निर्माण हुने हो, त्यो अझै तय हुन नसकेको हो,' दाहालनिकट एक नेताले नागरिकसँग भने। केन्द्रीय समिति निर्माणविधिमा देखिएको सैद्धान्तिक विवाद आयोजक समितिको आगामी बैठकले निर्क्योल गर्ने उनको विश्वास छ।
महाधिवेशनको नाराबिना नै गाउँ सम्मेलन गरेको माओवादीभित्र सोही नाराका विषयमा पनि विवाद देखापरेको छ। 'भट्टराई समूहले विचारको महाधिवेशन भनिरहेका छन् भने श्रेष्ठ समूहले एकताको महाधिवेशन भनिरहेका छन्,' दाहाल निकट अर्का सदस्यले नागरिकसँग भने, 'जसका कारण पनि महाधिवेशनको नारा महाधिवेशन आउन दुई महिना बाँकी रहँदा पनि तय हुन सकिरहेको छैन।'
सामान्य प्रचलन विपरीत माओवादीको जारी गाउँ कमिटीका अधिवेशनमा कुनै पनि राजनीतिक विषयमा छलफल र बहस नै नगरी निर्वाचनमार्फत केवल नेतृत्व चयन गरिरहेको छ। 'जिल्ला र राज्यको भेलामा मात्र महाधिवेशनका डकुमेन्ट छलफल हुन्छन्, तलका कमिटीमा भने छलफल हुन सकेन,' दुवालले नागरिकसँग भने।
यता, महाधिवेशनमा सहभागी हुने प्रतिनिधि चयनविधिमा पनि माओवादीभित्र मतभेद देखापरेको स्रोतले बतायो। 'महरा कार्यदलले बुझाएको मस्यौदामा असहमति जनाउँदै समावेशी र समानुपातिक प्रणालीअनुसार महाधिवेशन प्रतिनिधि चयनविधि बनाउनुपर्ने माग आएपछि समस्या देखिएको हो,' विभागका अर्का सदस्यले भने।
यता, पार्टीको मार्गदर्शक सिद्धान्त माओवाद वा माओ विचारधारा कुन हुने, साथै, प्रचण्डपथलाई निरन्तरता दिने वा नदिने भन्ने पनि माओवादीभित्र बहसको विषय बनिरहेको छ। एकता प्रक्रियाबाट आएको समूहले माओवाद र प्रचण्डपथ दुवैलाई अस्वीकार गरी विचारधारामा जानुपर्ने जोड गरिरहेका छन् भने युद्धकालीन त्यसको विपक्षमा देखिएका छन्। 'मुख्यतः राजनीतिक प्रतिवेदनमा राष्ट्रियता, विदेशी लगानी र खुल्ला अर्थतन्त्र लगायत सैद्धान्तिक विषयलाई अबको स्थितिमा कसरी समेटेर जाने भन्ने निर्क्योल गर्न नसक्दा पनि प्रतिवेदन निर्माण हुन सकिरहेको छैन,' दाहाल निकट नेताको भनाइ छ।
आन्तरिक विवादका कारण जनवर्गीय संगठन, जिल्ला, राज्य समितिको सम्मेलन स्थगन गरिसकेको माओवादीले सदस्यता नवीकरण भने टुंगाइसकेको छ। महाधिवेशनका लागि आवश्यक सैद्धान्तिक र प्राविधिक विषयमा अझै निर्णय गर्न नसकेको पनि माओवादीका नेताहरू भने महाधिवेशन पूर्वनिर्धारित मितिमा नै सम्पन्न हुने दाबी गरिरहेका छन्।

No comments:

Post a Comment