नेतालाई गाला चड्काउने असभ्य अभियानका
प्रारम्भकर्ता हुन् सुनसरीका देवीप्रसाद रेग्मी । जसले, एमाले अध्यक्ष
झलनाथ खनाललाई गत माघमा इटहरीमा सार्वजनिकस्थलमा थप्पड हानेका थिए । तर,
नेता कुटेकोमा रेग्मीलाई अहिलेसम्म पछुतो लागेको रहनेछ ।
शुक्रबार भृकुटीमण्डपमा माओवादी अध्यक्ष प्रचण्डमाथि देवीप्रसादकै शैलीमा हातपात भएपछि अनलाइनखबरले
रेग्मीलाई प्रश्न गर्यो- ‘एमाले नेता खनालमाथि हातपात गरेकोमा तपाईलाई
अहिले पछुतो लागेको छ कि छैन ?’ रेग्मीले जोसिंदै भने, ‘किन पछुतो लाग्ने ?
मलाई त गर्व लागेको छ, अब यी नेतालाई संसद भवन -?) अगाडि खाडल खनेर जिउँदै
हाल्नुपर्छ, अनिमात्रै यिनीहरु सहमतिमा आउँछन् ।’ आफ्नै पथ पछ्याउँदै
प्रचण्ड पिटिएपछि रेग्मी भन्छन्- मैले पहिले हात उठाएँ, तर सबैले एउटै पेशा
गर्न मिल्दैन ।’
अहिले के गर्दै हुनुहुन्छ ?
–खेती किसान गर्ने मान्छे, धान काट्ने र थन्क्याउने काम गरिँदैछ सर ।
तपाईले झलनाथ खनाललाई पिट्दा लागेको मुद्दा अझै बाँकी छ कि सिद्धियो ?
–छैन, त्यतिखेरै समाप्त भैहाल्यो नि । ५ दिन थुनामा बसियो अनि तारेखचाँहि ४/५ महिना धाइयो ।
तपाईले नेता खनालसित माफी मागेपछि छुट्नुभएको होइन ?
–मैले माफी माग्ने कारणै छैन । मैले किन
माफी माग्ने ? हल्ला त उनीहरुले जे पनि गर्छन् नि, नेताहरुको बोलीको ठेगानै
छैन । अहिले बोलेको कुरो अहिले हामीले गरेको होइन भन्छन् ।
तपाईले किन त्यसरी नेतालाई थप्पड हान्नुभएको ?
–मैले भलनाथलाई शिक्षाको रुपमा दिएको हुँ ।
वहाँ जतिबेलासम्म राजनीतिक पेशामा रहनुहुन्छ, त्यतिबेलासम्म नयाँ सोचविचार
आओस् भनेर हानेको हुँ । नेताहरु हिँडेको बाटो साह्रै अप्ठ्यारो छ क्या !
उनीहरुलाई राक्षसले पनि आक्रमण गर्न सक्छन् । त्यही भएर सही बाटो हिड्नु है
भनेर मैले शिक्षा दिएको हो ।
माओवादीका कुरा सुनेर तपाईले पिट्नुभएको होइन ?
–भन्नलाई त जे भने पनि हुन्छ तर, मेरो
विचार र सिद्धान्त त्यही (एमाले) नै हो । अहिले म एमालेका लागि विरोधी भएको
छु, तर म एउटा स्वच्छ विचारधाराको व्यक्ति हो र मैले ३ करोड जनताको हितका
लागि क्रान्ति गरेको हो । खनाललाई पिटेकोमा म अहिले गर्व गरिरहेको छु ।
पहिले १० वर्षसम्म मुढाले झिंजा डढायो, अहिले झिँजाले मुढा डढाउन थालेको छ,
त्यसैले म गर्वमा छु ।
तपाईले नेता पिट्न थालेपछि झक्कुप्रसाद सुवेदी, सुसील कोइराला र प्रचण्डले पनि पिटाइ खाए नि ?
–चुटाइ भनेर घाइते नै पार्न खोजेको होइन ।
तपाईहरु सुध्रनोस् भनेरै यस्ता घटनाहरु दोहोरिएका हुन् । तर, अब जति गर्दा
पनि भएन त्यसैले अब म के भन्छु भने मैले शुरुमा हात उठाएँ, सबैले एउटै
पेशा गर्न मिल्दैन । अहिले तेस्रो घटना भैसक्यो । अब यस्तो गर्नुभन्दा
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हामी जनता जाग्नुपर्छ र संसद भवनअगाडि
६ सय १ जनालाई अट्नेखालको खाल्टो खनेर वहाँहरुलाई जिवितै सर्लक्कै
हाल्नुपर्छ । त्यहाँबाट वार्ता मिल्छ कि ? सदनबाट त वार्ता मिलेन । अब
सबैले यतातिर सोचिदिए हुन्थ्यो भन्ने मलाई लागेको छ ।
अब प्रचण्डलाई के सल्लाह दिनुहुन्छ ? पिट्ने मान्छेलाई आफूलाईजस्तै ५ दिन थुनेर छाडिदिनु भन्नुहुन्छ कि ?
–छाड्दिँन भनेर हुन्छ र ? उनीहरुले आफ्नो
पालामा जनतालाई माफी दिएका छन् त ? जनतालाई त जबरजस्ती लगेर गोली हानेका
छन् नि । जनतामा अहिले त्यो ताजा घाउ छँदैछ । उनीहरुले दुनियाँका
छोराछोरीलाई ड्याङ कि ड्याङ गोली हानेर मार्दा उनीहरुले चाँहि जनताले माफी
दिनु पर्ने, अनि जनताले चाँहि गलत बाटो नहिँड है, सचेत होऊ भनेर यसो छुँदा
पनि माफी नदिने ? यस्तो व्यक्तिलाई कारवाही गरियो भने भोलि यसले कुन रुप
लिन्छ भन्ने कुरो नेताहरुले सोच्न जरुरी छ ।
यसरी नेतालाई सार्वजनिक ठाउँमा थप्पड हान्नु जंगली तरिका भएन र ?
–ठीकै छ सर, यसबारेमा म कामरेड प्रचण्ड,
झलनाथ खनाल वा जुनसुकै ठूला नेतासित मैले फोनमार्फत् बोल्नुपर्यो भने म
जवाफ दिन्छु । एक किसिमले म आफ्नो ज्यान त्यागेको व्यक्ति हुँ । तीन करोड
जनताका अगाडि मलाई मेरो ज्यानको कुनै पर्वाह छैन ।
अझै केही भन्नु छ कि ?
–सरलाई धेरै-धेरै धन्यवाद । देश र जनताले
सुख पाउन्, सबैले शान्तिसँग हिँड्न पाउन् । सबै हामी नेपाली दाजुभाइ एकै
हौं, हातेमालो गरेर अघि बढौं । यही नै मेरो चाहना हो ।
source:onlinekhabar
No comments:
Post a Comment