Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, May 11, 2016

भित्रभित्रै १२ बुदेँ सहमति गरेर प्रचण्ड–बादल, बैद्यलाई पर्खदै

पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा पक्षधरबीच पार्टी एकता गर्न १२ बुँदे सहमति भएको छ। लाजिम्पाटस्थित दाहालनिवासमा मंगलबार क्रान्तिकारी माओवादीका थापा पक्षधर र एमाओवादी पदाधिकारीबीच उक्त सहमति भएको हो।
बैठकमा दुई हप्ताभित्र पार्टी एकीकरण गर्ने गरी योजना पनि बनाइएको स्रोतले जनायो । 'पार्टीको वैचारिक र सैद्धान्तिक विषय तथा सांगठनिक निर्णय लिन ऐतिहासिक रूपमा १२ बुँदे सहमति भएको छ,' स्रोतले भन्यो, 'त्यो सहमतिलाई बढीमा दुई हप्ताभित्र पार्टी एकीकरण गरी टुंग्याउने योजना छ ।' बैठकमा एमाओवादीका पदाधिकारी टिम र थापा पक्षधर शीर्ष नेता सहभागी भएको स्रोतको भनाइ छ ।


वैचारिक विषय टुंग्याउन एमाओवादीबाट अध्यक्ष दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा क्रान्तिकारीबाट थापा र देव गुरुङसहितको कार्यदल सक्रिय थियो । त्यसै गरी सांगठनिक विवाद मिलाउन एमाओवादीबाट महासचिव कृष्णबहादुर महरा र सचिव वर्षमान पुन तथा क्रान्तिकारी माओवादीबाट हितमान शाक्य र कुलप्रसाद केसी संलग्न थिए । यी टोलीले वैचारिक र सांगठनिक विषयमा आधारभूत सहमति जुटाइसकेको पनि स्रोतले जनायो ।

स्रोतका अनुसार जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिमा अघि बढ्ने, दोस्रो संविधानसभाबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी–समानुपातिकसहितको लोकतान्त्रिक व्यवस्थाजस्ता उपलब्धि रक्षा गर्दै अघि बढ्ने, संविधानद्वारा प्रदत्त शासकीय प्रणालीविरुद्ध सडक, सदन र सरकारमार्फत संघर्ष कायम राख्नेजस्ता विषय १२ बुँदेमा समेटिएका छन् । स्रोतका अनुसार थापाले मर्यादित जिम्मेवारी दिए दाहालपछि दोस्रो स्थान पाउनुपर्ने तथा कार्यकारी भए पुरानै पद अर्थात् महासचिव दिनुपर्ने माग राखेका छन् । 'यसमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले भने अस्वीकार गरिरहेका छन्,' स्रोतले भन्यो ।

अध्यक्ष दाहालसँग १२ बुँदे सहमति गरेर कुपन्डोल पुगेको थापा समूहले मंगलबार सुरु गर्ने भनिएको केन्द्रीय समिति बैठक अन्तिम समयमा रोकिएको छ । 'पार्टी एकीकरण विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएका थियौं तर अध्यक्ष (वैद्य) ज्यूले जेठ १ गतेलाई सारेपछि रोक्यौं,' नेत्री पम्फा भुसालले भनिन्, '१ गतेसम्म उहाँहरूको प्रतिक्रिया हेर्छौं, भएन भने आफ्नो ढंगले बढ्छौं ।' उनका अनुसार कुपन्डोल कार्यालयमा थापा पक्षमा उभिएका १ सय ११ सदस्य अनौपचारिक छलफल भने गरिरहेका छन् । तर, दाहालसँग भएको १२ बँुदे सहमति अध्यक्ष वैद्यलाई देखाएर मात्रै पार्टी एकीकरण निर्णय लिने भन्दै मंगलबारको बैठक स्थगित गरिएको बुझिएको छ ।

यसै गरी, एमाओवादीले मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र मातृकाप्रसाद यादव नेतृत्वको नेकपा माओवादी पार्टीसँग एकै चरणमा एकीकरण गर्ने योजना अघि बढाएको छ । अध्यक्ष दाहालले थापा र यादवसहित हाल स्वतन्त्र रहेकी जयपुरी घर्तीमगरलाई निवासमा बोलाएर सोमबार छलफल गरेका थिए । यी तीन समूह पनि थापासहित एकीकरणमा सामेल हुने पक्कापक्की भएको छ ।

एकीकरणका लागि तयार माओवादीका पाँच पक्षबीच सुरुमा संयुक्त रुपमा राजनीतिक–वैचारिक आधार बनाइने र त्यसपछि सांगठनिक प्रक्रिया हल गरिने जनाइएको छ । त्यसपछि पाँच पक्षका केन्द्रीय समितिको संयुक्त बैठकले पार्टी एकताको राष्ट्रिय अधिवेशन÷सम्मेलन गर्ने गरी छलफल चलिरहेको छ । 'सम्भवतः यी पाँच चरणका काम दुई हप्ताभित्रै टुंगिनेछ,' थापाले नागरिकसँग भने । उनका अनुसार अध्यक्ष दाहालले पार्टी एकताका लागि विभिन्न समूहसँग अलगअलग वार्ता गरेका थिए ।

No comments:

Post a Comment