एकीकरणका लागि सहमत भएका तराई–मधेसकेन्द्रित प्रमुख तीन राजनीतिक दलले एकीकरणपछि पार्टीको नाम, झन्डा तथा सांगठनिक संरचना र आकारबारे कार्यदलमा आ–आफ्ना पार्टीका प्रस्ताव लगेका छन्।
एकीकरण हुन लागेका उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी तर्फबाट पेस गरिएको प्रस्तावमा सोमबार नयाँबानेश्वरस्थित सद्भावना केन्द्रीय कार्यालयमा छलफल हुँदैछ।
पार्टी एकीकरणका लागि तीनै दलले निर्माण गरेका १५ सदस्यीय कार्यदलमा ती प्रस्तावमाथि छलफल हुन लागेको हो। कार्यदलका सदस्य तथा फोरम नेपालका महासचिव रामसहाय यादवले एकीकरणका लागि प्रारम्भिक छलफल सुरु भएको बताए।
'पार्टीको नाम, झन्डा, सांगठनिक संरचनाबारे कार्यदलमा प्रस्ताव आएको छ,' यादवले आइतबार नागरिकसँग भने, 'प्रारम्भिक छलफल भएकाले कुनै ठोस निर्णयमा पुग्न सकिएको छैन।' उनका अनुसार कार्यदले प्रारम्भिक सहमति जुटाएलगत्तै अन्तिम निर्णय तीनै पार्टीका अध्यक्षले गर्नेछन्।
नयाँ पार्टीको झन्डा र चुनाव चिह्न आ–आफ्नै प्रस्ताव गरेका तीन दलले आन्तरिक सहमतिअनुसार एकीकरणपछि हुने नयाँ पार्टीका प्रस्तावित तीन–तीनवटा नामावली कार्यदलमा पेस गरेका छन्।
फोरम नेपालले समाजवादी लोकतान्त्रिक फोरम, लोकतान्त्रिक समाजवादी फोरम, समाजवादी फोरम लोकतान्त्रिक नाम प्रस्ताव गरेको छ भने तमलोपाले समाजवादी लोकतान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र युनाइटेड मधेस पार्टी नाम प्रस्ताव गरेका छन्। यसैगरी, सद्भावनाले सद्भावना फोरम लोकतान्त्रिक, फोरम लोकतान्त्रिक सद्भावना, लोकतान्त्रिक सद्भावना फोरम नाम प्रस्ताव गरेका छन्। 'तीनै पार्टीलाई तीन–तीनवटा नाम प्रस्ताव गर्ने सहमतिअनुसार यी नाम आएका हुन्," कार्यदल स्रोतले भन्यो।
एकीकरणपछि नेतृत्वको विषयमा भने तमलोपा एकातिर र फोरम नेपाल तथा सद्भावना अर्कातिर उभिएका छन्। ुतमलोपाले एकजना अध्यक्ष र दुईजना वरिष्ठ नेता बनाएर जानुपर्ने प्रस्ताव गरेको छ,ु कार्यदलका अर्का सदस्यले नागरिकसँग भने, 'फोरम नेपाल र सद्भावनाले अध्यक्ष मण्डल बनाउने र चक्रीय प्रणालीअनुसार आलोपालो नेतृत्व गर्ने प्रस्ताव गरेको छ।'
उनका अनुसार बढीमा छ महिना एकजनाले नेतृत्व गर्नेगरी अध्यक्ष मण्डल बनाउनुपर्ने तर्क फोरम नेपाल र सद्भावनाको छ। उपाध्यक्ष, महासचिवसहित केन्द्रीय सदस्यको आकारबारे पनि तीनै दलले प्रस्ताव पेस गरेका छन्। फोरम नेपाल र तमलोपा सानो आकारको केन्द्रीय समिति बनाउने पक्षमा छन् भने सद्भावनाले ठूलो आकारको केन्द्रीय समिति बनाउनुपर्ने प्रस्ताव लगेको छ। कार्यदल सदस्यहरूका अनुसार प्रत्येक दलबाट २०–२५ को संख्यामा प्रतिनिधित्व गराएर बढीमा ७५ सदस्यीय, तमलोपाले प्रत्येक पार्टीबाट ४०–५० को संख्याका आधारमा बढीमा १ सय ५० सदस्यीय र सद्भावनाले प्रत्येक पार्टीबाट ९५ जनाको आधारमा २ सय ८५ जनासम्मको केन्द्रीय समितिको आकार बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।
यी विषयमा सहमति गरेपछि पार्टी विधान र घोषणापत्रलाई प्राथमिकता दिने तयारीमा तीनै दल छन्। माघ १० गतेभित्र नयाँ पार्टीबारे टुंगो लगाउन नेतृत्वले कार्यदललाई समयसीमा तोकेको छ। उक्त अवधिभित्र टुंगो लगाउन कार्यदलका औपचारिकरअनौपचारिक बैठक निरन्तर जारी छन्। यस क्रममा सोमबार कार्यदलको अनौपचारिक बैठक बस्न लागेको छ।
No comments:
Post a Comment