मिथिला राज्यको माग गर्दै शान्तिपुर्ण आन्दोलनमा ज्यान गुमाएका जनकपुरवासीहरु |
नयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई 'मिथिला प्रदेश' नामकरण गराउन र त्यहाँको सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल थालिएको छ। मिथिला राज्य माग गर्दै आन्दोलनरत मिथिलाराज संघर्ष समितिले जनकपुर बमकाण्डमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन आयोजित कार्यक्रममार्फत औपचारिक बहस सुरु गरेको हो।
२ नम्बर प्रदेशलाई 'मिथिला प्रदेश' नामकरण गराउनुपर्ने तथा त्यहाँको सरकारी कामकाजको भाषा 'मैथिली' हुनुपर्ने माग राखेर समिति बहसमा उत्रिएको संयोजक परमेश्वर कापरीले बताए। '२ हजार वर्ष पुरानो मैथिली संस्कृति र सभ्यता जोगाउन पनि मिथिला प्रदेश नामकरण गर्नुपर्ने हाम्रो माग हो, त्यहाँको सरकारी कामकाजको भाषा पनि मैथिली हुनुपर्छ,' उनले भने।
२ नम्बर प्रदेशलाई 'मिथिला प्रदेश' नामकरण गराउनुपर्ने तथा त्यहाँको सरकारी कामकाजको भाषा 'मैथिली' हुनुपर्ने माग राखेर समिति बहसमा उत्रिएको संयोजक परमेश्वर कापरीले बताए। '२ हजार वर्ष पुरानो मैथिली संस्कृति र सभ्यता जोगाउन पनि मिथिला प्रदेश नामकरण गर्नुपर्ने हाम्रो माग हो, त्यहाँको सरकारी कामकाजको भाषा पनि मैथिली हुनुपर्छ,' उनले भने।
विगतको संविधानले तराई–मधेस भूगोललाई २ नम्बर प्रदेश बनाई 'मिथिला' लाई ओझेलमा पारेको भन्दै आन्दोलनरत उक्त समितिले शनिबार काठमाडौंबाट पुनः बहस थालेको हो। समितिको नेतृत्वमा जनकपुरमा भएको आन्दोलनमा बम प्रहार हुँदा पाँच आन्दोलनकारीको ज्यान गएको थियो। घटनामा मैथिली कलाकार रञ्जु झा, दीपेन्द्र दास, झमरु मण्डल, विमल शरण र सुरेश उपाध्यायको मृत्यु भएको हो। उक्त घटनाका आरोपित राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका सांसद सञ्जय साह जेलमा छन्।
समितिले 'नेपालको संघीय प्रदेश नम्बर २ मा मिथिला र मैथिलीको पहिचान र पहँुच' शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रम राखेर आफ्ना एजेन्डा अघि सारेको हो। कार्यक्रममा अधिकांशले मिथिला प्रदेशको पक्षमा नैतिक समर्थन जनाएका थिए।
भाषाशास्त्री डा. योगेन्द्रप्रसाद यादवले नेपालका ११.६७ प्रतिशत जनताको मातृभाषा मैथिली रहेकाले मिथिला प्रदेश बनाउने आधार प्रशस्त रहेको तर्क गरे। 'नेपालमा कुल जनसंख्याको ३३ लाखजति मैथिलीभाषी छन्, ती भनेका त्यसको कला, संस्कृति र सभ्यतालाई अनुसरण गर्नेहरू हुन्,' यादवले भने, 'सर्लाहीदेखि मोरङसम्म मैथिलीहरू बाक्लै बस्छन्।' उनका अनुसार मैथिली भाषा बोल्नेहरू क्रमशः धनुषा, सिरहा, महोत्तरी, सप्तरी, मोरङ, सुनसरी र सर्लाहीसम्म फैलिएको तथ्यांक छ।
तराई–मधेस केन्द्रित दलले हिन्दीलाई सम्पर्क तथा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड गरिरहेका बेला भाषाशास्त्री यादवले भने भारतको उदाहरण पेस गरेका छन्। उनले भने, 'भारतमा पनि हिन्दीलाई राष्ट्रभाषाको मान्यता दिन प्रयास भएको थियो तर गुजरातको उच्च अदालतले त्यसलाई अस्वीकार गरिदियो। यहाँ हिन्दी कसरी हुन सक्छ?' जबर्जस्ती हिन्दी भाषा राखेर मौलिक पहिचान मेट्न नहुने धारणा डा. यादवको छ।
अर्का भाषाशास्त्री रामावतार यादवले मैथिलीलाई संस्कृतिका रूपमा मात्रै अर्थ्याउन नहुनेमा जोड गरे। 'मैथिली संस्कृति र सभ्यता मात्रै होइन, मैथिली र मिथिलाका छुट्टाछुट्टै पहिचान छन्, त्यो हराउन दिन हुन्न,' उनले भने। भाषारक्षाका लागि भएको आन्दोलनमा ज्यान गुमाउनेका भावना कदर गरेर अघि बढ्नुपर्ने उनले बताए।
मधेस मुद्दाका राजनीतिक विश्लेषक तुला साहले २ नम्बर प्रदेशबाट केन्द्रमा छाप छाड्ने व्यक्ति उत्पादन गरे पनि उक्त प्रदेशको स्तर उकास्न नसकेको भन्दै ध्यानाकर्षण गराए। 'मिथिला क्षेत्रबाट काठमाडौंमा मात्रै होइन, सम्पूर्ण देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित भएका छन् तर त्यस क्षेत्रको विकास किन हुन सकेन? अबको बहस त्यता हुन जरुरी छ,' साहले भने, 'त्यसैले मिथिला प्रदेशको पहिचानसहित विकासनिर्माणमा जुट्नुपर्छ।'
कार्यक्रममा एमाले सांसद तथा साहित्यकार शीतल झाले मिथिला प्रदेश माग गर्दा मधेसका केही समूहबाट प्रताडित हुनुपरेको अनुभव बाँडे। 'मधेसका नाममा मिथिलाको पहिचान खण्डित भएको छ, यो हाम्रो कला र संस्कृतिमाथिको प्रहार हो,' झाले भने, 'पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई– मधेसको भूगोल हो तर त्यहाँभित्र दुई हजार वर्षको इतिहास बोकेको मिथिला छ भन्ने बुझ्नुपर्छ।' प्रस्तावित २ नम्बर प्रदेशभित्र मिथिला संस्कृति र मैथिलीभाषीको बाहुल्य भएकाले त्यसको नामकरण पनि मिथिला हुनुपर्ने झाको मत छ।
मधेस मुद्दाका राजनीतिक तथा सामाजिक विश्लेषक सिकेलालले भने पहिला मधेसलाई स्थापित गराउन लड्नुपर्ने, त्यसपछि मात्रै मिथिलाका लागि लड्नुपर्ने राय प्रकट गरे। 'पहिला मिथिलाभन्दा पनि मधेसलाई स्थापित गराऊँ, त्यसपछि मिथिला आफैँ स्थापित हुन्छ,' उनले भने, 'दुई हजार वर्षभन्दा पुरानो संस्कृति यसै हराएर जान्न, पहिल मधेस प्रदेश बनाउन पर्छ।' मधेसी जनताको मन र भावना एउटै भएकाले यसलाई विभाजन गर्न नहुने धारणा उनले राखे।
पछिल्लो आन्दोलनले 'मधेस प्रदेश' का नाममा मिथिलाको पहिचान नामेट गराउन खोजेको भन्दै संषर्ष समिति पदाधिकारी भने रुष्ट छन्। मिथिला संस्कृति, सभ्यता नष्ट गर्न उक्त प्रदेशको अवधारणा ल्याइएको भन्दै उनीहरूले आशंका प्रकट गरे। 'हामीले पहिचानका लागि संघर्ष गरेका हौं, जुन मिथिला र मैथिलीबाट मात्रै झल्किन्छ, अरूबाट झल्किँदैन,' संयोजक कापडीले भने, 'मिथिला राज्यप्राप्तिका लागि हामी निरन्तर संघर्षमा छौं, रहनेछौं।' पहिचानको मुद्दा उठाउनेहरूले 'लाद्ने पहिचान' आफूहरूलाई स्वीकार्य नभएको समिति सदस्यहरुको भनाइ छ।
No comments:
Post a Comment