एकीकरण तयारीका लागि बसेको एमाओवादी स्थायी समिति बैठक |
माउ पार्टीसँग एकता अजेन्डामा मोहन वैद्य नेतृत्व माओवादी विभाजनको संघारमा देखिएको छ। अध्यक्ष वैद्यलाई छाडेर प्रभावशाली नेता रामबहादुर थापासहित पुराना नेतापंक्ति एकीकृत माओवादीसँग एकतानजिक पुगेका हुन्।
पुष्पकमल दाहाल नेतृत्व माओवादीसँग पार्टी एकीकरण विषयमा उत्पन्न विवाद समाधान गर्न नसक्दा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा विभाजनको रेखा बाक्लिँदै गएको हो।
अध्यक्ष वैद्यले जारी केन्द्रीय समिति बैठकमा एमाओवादीसँग सैद्धान्तिक रुपमा एकता गर्नै नसकिने अडान राखेपछि थापाले छुट्टै केन्द्रीय समिति बैठक राखेर पार्टी एकीकरण निर्णय गराउने योजना बनाएका छन्।
'कुनै चमत्कार भएन भने पार्टी एमाओवादीसँग अध्यक्ष (वैद्य) बिनै एकता हुन सक्ने प्रस्टिँदै गएको छ,' नेता लेखनाथ न्यौपानेले नागरिकसँग भने, 'बादल (थापा) जीसहित बहुमत सदस्यको एमाओवादीसँग एकता हुन सक्ने देखियो।'
न्यौपानेका अनुसार अध्यक्ष वैद्यले केन्द्रीय समिति बैठक आह्वान गरेनन् भने थापा समूहले अलग्गै भेला गरेर एमाओवादीसँग पार्टी एकता निर्णय गर्नेछन्।
जारी केन्द्रीय समिति बैठकमा एकीकरण पक्षधर थापासँग सहमत केन्द्रीय सदस्यको बहुमत देखा परेपछि एकीकरणप्रति अनिच्छुक अध्यक्ष वैद्यले एक महिनाका लागि केन्द्रीय समिति बैठक अचानक स्थगित गरेका थिए। तर स्थगित उक्त बैठक भने अझै पनि उनले आह्वान गरेका छैनन्। उक्त बैठक आह्वान गर्न दबाब दिए पनि वैद्यले अस्वीकार गरेपछि थापाले अलग्गै बैठक डाकेर एकीकरण गर्ने निर्णय गराउन खोजेका हुन्।
एमाओवादीसँग पार्टी एकीकरणपछि नयाँ कार्यदिशा बनाउनुपर्ने थापाको राजनीतिक मान्यतामा पार्टीका बहुमत सदस्यको समर्थन छ। अध्यक्षले एकीकरणप्रति अनिच्छा देखाएको संकेत पाएपछि थापाले फरक मत मात्र राखेनन्, एकताका पक्षमा हस्ताक्षर संकलन गरेर दबाब दिनेसम्म काम गरेपछि तनाबमा रहेका वैद्यले 'प्रचण्डसँग एकता गर्नुभन्दा स्वतन्त्र भएर बस्छु' भन्ने धारणा बनाएको स्रोतले जनायो।
राजनीतिमा सधैं सिद्धान्तलाई सर्वाेपरि मान्ने वैद्य एकीकरण प्रक्रियामा नआउने पक्का भएपछि थापा नेतृत्वमा देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, सूर्य सुवेदी, महेश्वर दाहाल, लेखनाथ न्यौपानेलगायत बहुमत सदस्य एकीकरण प्रक्रियामा सामेल हुनेछन्। अध्यक्ष वैद्यसँग सिपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमणि सिग्देल, दिनेश शर्मालगायत पाका उमेरका माओवादी नेता बाँकी रहनेछन्।
'पार्टी एकताका आधार तय नभई त्यसै एकता हुन सक्दैन, पहिले एकताका लागि प्रस्ट आधार हुनुपर्छ,' कँडेलले नागरिकसँग भने, 'त्यसमाथि पार्टीभित्र दुई लाइन संघर्ष चलिरहेको बेला छलफललाई निष्कर्षमा नटुंग्याई एकीकरणमा जान खोज्नु पार्टीको नीतिविपरीत हुनेछ।'
एकताका आधार किटान गरेर मात्र एमाओवादीमा जानुपर्ने वैद्य पक्षको धारणा रहेको कँडेलले जानकारी दिए। त्यसो त थापाले आफ्नो पार्टीभन्दा बाहिर रहेका नेकपा माओवादी अध्यक्ष मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मणि थापा, पार्टी परित्याग गरेकी जयपुरी घर्तीको समूहसहित दाहाल नेतृत्वको एमाओवादीसँग सामूहिक रुपमा एकीकरण गर्ने प्रयास जारी राखेका छन्।
त्यसका लागि थापाले गत मंगलबार कोपुन्डोलस्थित नेवाः राज्यसमितिको कार्यालयमा माओवादीका विभिन्न शक्तिसँग सामूहिक रुपमा छलफलसमेत गरिसकेका छन्।
छलफलमा सहभागी नेता मणि थापाका अनुसार वैद्यबिना नै एमाओवादीसँग एकीकरण गर्नेबारे छलफल सुरु भएको जानकारी दिए। 'वैद्यजीको समूह प्रचण्डसँग एकता गर्न अनिच्छुक भएपछि बाँकी माओवादी शक्ति कसरी एकता प्रक्रियामा सहभागी हुनेबारे छलफल सुरु भएको हो,' थापाले नागरिकसँग भने, 'बादल (थापा) जीले निर्णय गर्ने बितिक्कै अन्य माओवादी शक्ति एकीकरणका लागि तयारी अवस्थामा छन्।' नयाँ संविधान जारी भएको अवस्थामा राजनीतिक कोर्ष नै अर्को ढंगले बढेकाले एकीकरणमा बाँकी समूह प्रयासरत रहेको थापाले जानकारी दिए। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी भने तत्काल उक्त एकीकरण प्रक्रियामा सामेल हुने छैनन्।
माओवादी शक्तिबीच एकीकरणलाई मूर्त रुप दिने भन्दै एमाओवादीले स्थायी समिति एकीकरणका प्रक्रियाबारे छलफल चलाइरहेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'वैशाखभित्रै माओवादी शक्तिसँग एकीकरणको काम सम्पन्न गर्ने योजनामा पार्टी गम्भीरतासाथ लागिपरेकोे छ,' श्रेष्ठले नागरिकसँग भने, 'वैद्य माओवादीसहित अन्य माओवादी घटकसँग एकता प्रक्रियालाई अविलम्ब टुंग्याउन हामी लागिपरेका छौं।'
उनका अनुसार वैशाखभित्रै 'एकता अधिवेशन' गरी पार्टी मिलाउने योजना शुक्रबार सम्पन्न स्थायी समिति बैठकले बनाइसकेको छ।
एकीकरणपछिको पार्टीमा थापा तेस्रो वरीयतामा रहने निश्चित गरिए पनि मातृका, मणि र जयपुरीलाई 'सम्मानजनक' स्थान दिनेबारे एमाओवादीमा छलफल जारी छ।
No comments:
Post a Comment