पार्टीमा लामो समय काम गरेका र 'लडेर आएका' भन्दा अन्य दलबाट रातारात छिरेकाहरूले टिकट वितरणमा प्राथमिकता पाएकैले एकीकृत माओवादीलाई मिथिला क्षेत्रमा चुनावी प्रतिस्पर्धा पेचिलो बनेको छ। मिथिला राज्य समितिअन्तर्गतका पाँच जिल्लाका प्रायः क्षेत्रमा टिकट विभाजनको कमजोरीले प्रचारप्रसारमै नकारात्मक प्रभाव पारेको छ। कतिपय क्षेत्रमा पार्टी उम्मेदवारविरुद्ध बागी छन् भने अधिकांशमा स्थानीय कमिटी र प्रभावशाली कार्यकर्ता नै आफ्ना नेतालाई जिताउन प्रचारप्रसारमा हिँड्दैन्। एमाओवादीले सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका ३१ निर्वाचन क्षेत्रमध्ये ११ वटामा कांग्रेस, एमाले र मधेसवादी दलबाट प्रवेश गरेकालाई उम्मेदवार बनाएको छ।
सप्तरी, सिरहा र सर्लाहीमा १/१ जना तथा धनुषा र महोत्तरीमा ४/४ जना नवप्रवेशीलाई टिकट दिएपछि युद्धकालीन र तत्कालीन एकता केन्द्रबाट आएका कार्यकर्ता निराश छन्। उनीहरूले उम्मेदवारलाई सघाउनुको साटो प्रचारमा ननिस्किएर असहयोगसमेत गरेका छन्। 'नवप्रवेशीलाई टिकट दिएको भनेर केही असन्तुष्टि आएका छन्, त्यसको असर प्रचार–प्रसारमा देखिएको छ,' पूर्व मधेस ब्युरो इन्चार्ज गिरिराजमणि पोखरेलले भने, 'जनयुद्ध र जनआन्दोलनमा सक्रियको अन्तरघुलन गरेरमात्र क्रान्ति पूरा हुने भएकाले यसरी टिकट वितरण गरिएको हो।' पोखरेलले पार्टीभित्र यो विषयले आन्तरिक समस्या ल्याएको स्विकारे पनि धेरैजसो समाधान भइसकेको दाबी गरे। तर चुनाव प्रचार क्रममा टिकट वितरणको असन्तुष्टि स्पष्ट देखिएको छ, जसले अन्य दललाई फाइदा हुने वातावरण बन्दैछ।
केन्द्रमा कांग्रेसको टिकट लिन आएका शम्भुलाल श्रेष्ठलाई एमाओवादीले उम्मेदवार छनोटको अघिल्लो दिन पार्टी प्रवेश गराई भोलिपल्टै सर्लाही १ बाट उम्मेदवार बनाएको थियो। एमाले अध्यक्ष झलनाथ खनालसँग प्रतिस्पर्धामा रहने गरी पार्टीले नवप्रवेशी श्रेष्ठलाई उम्मेदवार बनाएपछि एमाओवादीका स्थानीय नेता रमेश आचार्यले त्यसविरुद्ध बागी उम्मेदवारी दिएका थिए। आचार्यले उम्मेदवारी फिर्ता लिए पनि 'युद्धकालीन' कार्यकर्ता श्रेष्ठको पक्षमा खुलेर भोट माग्न निस्केका छैनन्।
महोत्तरी २ मा लालबाबु यादव, ३ मा रामाआधार कापड र ५ मा रजि हैदर पनि कांग्रेसबाट आएका माओवादी उम्मेदवार हुन् भने महोत्तरी ४ की इन्दु शर्मा तमलोपाबाट आएकी हुन्। यी सबै उम्मेदवारका कारण पार्टीभित्र आन्तरिक समस्या बढेको छ। महोत्तरी ४ मा शर्माका विपक्षमा बागी उम्मेदवारी दिएका केन्द्रीय सल्लाहकार राजेन्द्र साहलाई समानुपातिक उम्मेदवार बनाए पनि उनी प्रचारप्रसारमा निस्केका छैनन्।
तमलोपाबाट आएका रामकुमार शर्मा र साहबीच टिकटमा सहमति हुन नसकेपछि केन्द्रले शर्माकी श्रीमती इन्दुलाई टिकट दिएको हो। मुसलमान बाहुल्य क्षेत्र रहेको भन्दै केन्द्रले कांग्रेसका हैदरलाई टिकट दिएको छ तर स्थानीय पार्टी कमिटी उनको पक्षमा खुल्न सकेको छैन। २ नम्बरका यादव र ३ नम्बरका कापडको हकमा पनि यस्तै समस्या छ।
धनुषाका ७ मध्ये चार क्षेत्रमा विभिन्न पार्टीबाट एक वर्षयता आएकाले टिकट पाएका छन्। क्षेत्र नम्बर १ मा एमाले परित्याग गरी आएका रामचन्द्र झा र ३ नम्बरमा हरिदेव मण्डलले टिकट पाएका छन्। झाको क्षेत्रमा एमाओवादीकै मिथिला संयोजक जोगकुमार बरबरिया (श्रवण) यादव बागी छन्। कात्तिक ११ गते दुई पक्षबीच झडप हुँदा झा पक्षका सातजना घाइते भएका थिए।
फोरम लोकतान्त्रिकका अरबिन्द साहलाई धनुषा–४ मा र नेपाली कांग्रेसबाट आएका विजय यादवलाई धनुषा ५ मा उम्मेदवार बनाएपछि एमाओवादीका स्थानीय नेता खुलेर प्रचारमा लागेका छैनन्। 'सबै नवप्रवेशीलाई टिकट दिएपछि कसरी कार्यकर्ता खुलेर लाग्छन् ?' यादवले भने, 'जनयुद्ध लडेकालाई अपमान गरी पार्टीले जसरी टिकट वितरण ग¥यो, त्यसको असर धनुषामा मात्रै होइन, देशभरि परेको छ।'
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिने भनिएको क्षेत्रमा रामवृक्ष यादवकी छोरी बोधमाया यादवलाई उठाइएको छ। प्रत्यक्ष र समानुपातिक दुवै कोटामा क्षेत्रीय कमिटीले सिफारिस नगरेका व्यक्तिलाई उम्मेदवार बनाएपछि क्षेत्रीय इन्चार्ज विन्देश्वर कापडलगायतले प्रेस विज्ञप्ति नै निकालेर आपत्ति जनाए। 'सिरहाकी बोधमायालाई उत्ताबाट ल्याएर धनुषा–६ मा उम्मेदवार बनाइयो, प्रत्यक्ष र समानुपातिक दुवैका लागि क्षेत्रले सिफारिस गरेका कसैलाई टिकट दिइएन', राज्य समिति सदस्य योगेश्वर यादवले भने, 'त्यसैले विज्ञप्ति निकालेरै विरोध जनाएका हौं।'
सिरहा १ मा कांग्रेस, एमाले, माले, मुस्कान सेना नेपाल हुँदै माओवादी भएका मुन्नी साहलाई एमाओवादीले टिकट दिएको छ। एमालेमा रहँदा लहान नगरपालिकाको मेयर भएकै आधारमा साहलाई टिकट दिएपछि जिल्ला कमिटीमा त्यसको असर देखा परेको स्थानीय एमाओवादी नेताहरू बताउँछन्।
त्यसो त अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्वलडाकु प्रवेश लामा तथा पूर्वसभासद जगत यादवले स्वतन्त्र उम्मेदवारी दिएर अप्ठयारो पारेका छन्। 'प्रचण्डलाई हराउन यहाँ धेरै लागि परेका छन् तर हामी तीन गुणा बढी मतले जिताउने योजनासहित प्रचारमा छौं,' मिथिला राज्य समिति इन्चार्ज विश्वनाथ साहले भने, 'नवप्रवेशीलाई टिकट दिएकोमा केही असन्तुष्टि भए पनि धेरैजसो ठाउँमा हामी जित्छौं।'
सप्तरी १ मा एमालेबाट आएका मानपुर चौधरीले टिकट पाएका छन्। अघिल्लो निर्वाचनमा एमालेले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले तेस्रो स्थान ल्याएकै आधारमा माओवादीमा प्रवेश गराई टिकट दिइएको हो। 'अरु जिल्लामा जस्तो यहाँ नवप्रवेशीका कारण समस्या छैन,' जिल्ला संयोजकसमेत रहेका सप्तरी ३ का उम्मेदवार उमेश यादवले भने, 'नवप्रवेशी एक स्थानमा र अन्यमा पार्टीका पुराना नेतालाई उम्मेदवार दिएपछि स्थिति राम्रो देखिएको छ।'
केन्द्रमा प्रवेश, क्षेत्रमा बागी
एमाओवादी मुख्यालय पेरिसडाडाँमा एमाओवादी प्रवेश गरेका सूर्यनारायण मण्डलले टिकट नपाएपछि सप्तरी ४ वाट बागी उम्मेदवारी दिएका छन्। केन्द्रले मोहम्मद कलामलाई उम्मेदवार बनाएर धोका दिएको भन्दै मनोनयनको पाँच दिनअघि एमाओवादी प्रवेश गरेका यादवले बागी उम्मेदवारी दिएका हुन्। 'प्रवेश गरेर मात्रै टिकट पाइन्छ भन्ने छैन, उनी हाम्रो पार्टी सम्पर्कमा आएका छैनन्', जिल्ला संयोजक यादवले भने, 'आफूलाई बागी भन्दै हिँड्ने मण्डल हाम्रा पार्टीका होइनन्।'
(सप्तरीबाट जितेन्द्रकुमार झा, सिरहाबाट मिथिलेश यादव, धनुषाबाट सुरेश यादव, महोत्तरीबाट महेश दास र सर्लाहीबाट सन्तोष सिंहको सहयोगमा)
No comments:
Post a Comment