Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, March 27, 2016

मोहन बैद्यले सक्रिय राजनीति छाडने, स्वतन्त्र भई बस्ने !!!

एकीकृत नेकपा माओवादीसँग पार्टी एकतालाई लिएर नेकपा क्रान्तिकारी माओवादीमा अध्यक्ष मोहन वैद्य र अर्का नेता रामबहादुर थापाबीच विवाद देखिएको छ। केन्द्रीय समिति बैठकमा वैद्य र थापाले अलग–अलग प्रतिवेदन पेस गर्ने भएका छन्।

अध्यक्ष वैद्यले जनवादी क्रान्ति सम्पन्न नभइसकेको अवस्थामा समाजवादी क्रान्ति गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नीतिमा असहमति राख्दै तत्काल पार्टी एकीकरणको विपक्षमा मत राखेका छन् भने थापाले पार्टी एकीकरणपछि मात्रै राजनीतिक दिशाबारे निर्णय गर्नुपर्ने भन्दै प्रस्ताव ल्याउने भएका छन्।

केन्द्रीय समिति बैठकमा शुक्रबारदेखि दुवै प्रतिवेदनमा छलफल सुरु हँुदैछ। पार्टी एकीकरणबारे वैद्य र थापाबाहेक अर्का नेता कुलप्रसाद केसीले पनि नयाँ प्रतिवेदन पेस गर्नसक्ने सम्भावना छ। यद्यपि बैठकको मूल एजेन्डा भने दाहाल नेतृत्वको एनेकपा माओवादीसँग तत्काल पार्टी एकीकरण गर्ने कि नगर्ने भन्ने नै रहने केन्द्रीय नेता हरिभक्त कँडेलले बताए।


'एमाओवादीसँग पार्टी एकीकरण गर्ने कि नगर्ने भन्नेमा आगामी केन्द्रीय समिति बैठक निर्णायक हुन सक्छ, बढी छलफल यसैमा केन्द्रित हुनेछ,' कडेँलले नागरिकसँग भने, 'एकीकरणबारे विभिन्न विचार आएका छन् तर पनि निर्णयचाहिँ केन्द्रीय समितिले नै लिनेछ।' उनका अनुसार केन्द्रीय सचिवालयले पार्टी एकताका लागि तीनवटा सर्त राखेर वार्ताको जिम्मेवारी अध्यक्ष वैद्य र अर्का नेता रामबहादुर थापालाई दिइसकेको छ।

उनका अनुसार माघ २–१० सम्म बसेको सचिवालय बैठकले तीनवटा निर्णय गरेको थियो। पहिलो, क्रान्तिकारी माओवादी शक्तिबीच एकता अनिवार्य छ। दोस्रो, पार्टी एकीकरणपछिको नेतृत्व आफैँले गर्नुपर्छ। तेस्रो, वार्ता समिति बनाएर माओवादी शक्तिसँग पार्टी एकताका लागि पहलकदमी लिनुपर्छ।

सोही निर्णयपछि एकताका लागि कार्य प्रारम्भ गरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले 'एकता आधार' भन्दै औपचारिक रूपमा आफ्नो पार्टीलाई पत्र पनि पठाइसकेको कँडेलले जानकारी दिएका छन्।

तीन वर्षअघि पार्टी विभाजन नेतृत्व गरेका वैद्यले त्यसको औचित्य पुष्टि गर्न नसकेपछि पछिल्लो समय पार्टी एकताका लागि आन्तरिक रूपमा वैद्यमाथि चर्को दबाब परेको छ। पहिलो संविधानसभा विघटन भएपछि २०६९ असार ५ गते एमाओवादी विभाजन भई वैद्यनेतृत्वमा नेकपा–माओवादी बनेको थियो। उसले गोलमेच सम्मेलन र संविधानसभा विघटनको माग गर्दै आएको थियो। केही समयपछि नै तत्कालीन सचिव नेत्रविक्रम चन्दले पार्टी विभाजन गरी नेकपा माओवादी गठन गरेका थिए भने परी थापा नेतृत्वको नेकपा एकीकृतले वैद्य–माओवादीसँग एकीकरण गरेको थियो।

'दाहालसँग तत्कालै एकतामा वैद्य अनिच्छुक देखिएपछि थापाले अर्को प्रतिवेदन ल्याउन बाध्य भएका हुन्,' स्रोतले भन्यो। आफ्नो राजनीतिक निष्ठा जोगाउने नाउँमा वैद्य विपक्षमा उभिन पुग्दा एकीकरणमा समस्या देखा परेको थापा पक्षको आरोप छ।

पार्टी एकीकरणपछि मात्रै कार्यदिशा र कार्यनीति संश्लेषण गर्नुपर्ने थापाको राजनीतिक प्रतिवेदनलाई प्रवक्ता पम्फा भुसाल, हितमान शाक्य, सूर्य सुवेदीलगायत नेताले साथ दिइरहेका छन्।

तत्काल एकता गर्न नहुने पक्षमा रहेका वैद्यलाई अर्का वरिष्ठ नेता सिपी गजुरेल र परी थापालगायतले साथ दिएको बुझिएको छ। देव गुरुङ र हरिभक्त कँडेल भने वैद्यसहितको एकताको पक्षमा छन्, उनीहरु वैद्यलाई छाडेर जानुहुन्न भन्ने पक्षमा उभिँदै आइरहेका छन्।

वैद्य निकटका अनुसार पार्टी एकीकरणका लागि अझै प्रस्ट नभएका वैद्यले स्वतन्त्र भएर बस्ने भनाइ पनि राख्दै आएका छन्। 'प्रचण्डसँग पार्टी एकता गरेर जानेभन्दा पनि स्वतन्त्र भएर बस्ने इच्छा प्रकट भइरहेका छन्,' वैद्यनिकट एक नेताले नागरिकसँग भने, 'केन्द्रीय समितिले पार्टी एकता गर्ने निर्णय गरे पनि वैद्य भने नजान सक्छन्, स्वतन्त्र बाम बुद्धिजीवीको हैसियतमा पनि रहन सक्छन्।' उनका अनुसार दाहाल अझै पनि राजनीतिक र व्यक्तिगत रुपमा 'नसुधि्रएका' कारण पार्टी एकता गर्नुको औचित्य नभएको तर्क वैद्यले निकटस्थसँग राख्दै आएका छन्।

वैद्य र थापा समूहबीचको विवाद र बहसले केन्द्रीय समिति बैठकमा भने चर्कै बहस हुने प्रस्ट देखिएको छ। 'अध्यक्ष (वैद्य) ज्यू र बादल (थापा) का दुई प्रतिवेदन केन्द्रीय समितिमा पेस हुँदैछ भन्ने सुनिएको हो तर अझै प्रतिवेदन पाइएको छैन,' एक केन्द्रीय सदस्य बद्री बजगाईंले नागरिकसँग भने। उनका अनुसार पार्टी एकीकरणबारे विभिन्न कोणबाट बहस भइरहेकाले केन्द्रीय समितिले औपचारिक धारणा बनाउने छ।

No comments:

Post a Comment