Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, April 4, 2016

सरकारलाई अल्टिमेट छाडेर संगठन निमार्णमा मोर्चा ब्यस्त

चैत मसान्तभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध दल यतिखेर संगठन निर्माणमा व्यस्त छन्। ६ महिनाभन्दा बढी आन्दोलन गर्दा पनि माग सम्बोधन गराउन नसकेका मोर्चाआबद्ध सातवटै दल आन्दोलन समीक्षा, संगठन विस्तारदेखि महाधिवेशनसम्मको तयारीमा जुटेका छन्।

तराई–मधेसकेन्द्रित अधिकांश दलले यसबीच केन्द्रीय समिति बैठकसमेत गरिसकेका छन्। आन्दोलनले उचाइ लिएर पनि किन सफलता हासिल गर्न सकेन भन्नेमा धेरैजसो दलमा बहस जारी छ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले चैत १५–१६ गते पार्टीको राष्ट्रिय सम्पादन समिति बैठक उदघाटन सत्रमा आन्दोलन सफल हुन नसकेको विषयलाई गम्भीरतासाथ समीक्षा गर्न प्रस्ताव गरे। 'सीमा मधेस र राजमार्ग मधेस गरी अहिले दुईवटा मधेस छ, यसलाई स्वीकार गर्नुपर्छ,' भण्डारीले भने, 'सीमा मधेसले गरेको आन्दोलनलाई राजमार्ग मधेसले समर्थन जनाउन नसक्दा आन्दोलन सफल हुन नसकेको हो, किन समर्थन गरेन? समीक्षा यहीँबाट गर्नुपर्छ।'

उक्त बैठकले चुरे क्षेत्रसहितको मधेसमा जोड गर्दै 'चुरे जोगाऊँ, मधेस बचाऊँ' अभियान चलाउने निर्णय गरेको छ। त्यसका लागि 'समाजवादी रक्षक दस्ता' बनाउने उक्त पार्टीको तयारी छ। 'संगठन र संघर्ष सँगसँगै' भन्ने नारा लिएर रामसपाले जेठ मसान्तभित्रै जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने निर्णय लिएको छ।

महेन्द्र राय यादव नेतृत्वको तराई–मधेस सद्भावना पार्टीले चैत महिनाभित्रै जनकपुर र भैरहवामा केन्द्रीय समिति बैठक तयारी गरेको छ। 'मधेसको भूमिमै केन्द्रीय समिति बैठक गर्दैछौं,' वरिष्ठ नेता रामनरेश रायले नागरिकसँग भने, 'जनकपुर र भैरहवामा चैत महिनाभित्रै बैठक गर्ने योजनामा छौं।' उनका अनुसार केन्द्रीय कार्यसम्पादन र संगठन विभागलगायतको बैठक भने काठमाडौंमै सम्पन्न भइसकेका छन्।

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले विराटनगरमा राष्ट्रिय कार्यसमितिको विस्तारित बैठक चैत १५–१६ मा सम्पन्न गर्न भ्याएको छ। २०७३ चैतमा पार्टी महाधिवेशन गर्ने निर्णयसहित सद्भावनाले 'संगठनको निर्माण, नेताको अभियान' चलाउने भएको छ।

साथै, असोजदेखि माघसम्ममा १४ वटा भातृसंस्थाको राष्ट्रिय अधिवेशन गराउने समयसीमासहितको कार्यक्रम तथा पार्टीको आर्थिक नियमावली बनाउँदै अनिवार्य लेबी उठाउने उसले घोषणा गरेको छ।

अनिल झा नेतृत्वको सद्भावना पार्टीले चैत २६–२८ गते जनकपुरमा महाधिवेशन गर्दैछ। त्यसको तीव्रतासाथ तयारीमा लागेको अध्यक्ष अनिलकुमार झाले बताए। 'महाधिवेशनमा सम्पूर्ण ध्यानकेन्द्रित गर्नुपरेकाले संघर्षमा हाम्रो पार्टी अहिले छैन तर मोर्चाले गरेको संघर्षको कार्यक्रमलाई साथ समर्थन कायमै रहनेछ,' उनले भने।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम आन्तरिक पार्टी प्रशिक्षणमा व्यस्त छ। चैत ६–८ सम्म तीन दिन बसेको राजनीतिक समिति बैठकको निर्णयअनुसार पार्टी प्रशिक्षणदेखि भातृसंस्था र जिल्ला कमिटीको समायोजनमा संघीय फोरम व्यस्त बनेको छ। गत जेठमा तीन पार्टी एकीकरण भई बनेको संघीय फोरमले शनिबार सुर्खेत जिल्ला कमिटी समायोजन गराएको छ।

नाकाबन्दीलगायत कार्यक्रम स्थगित गरेलगत्तै तरार्ई–मधेस लोकतान्त्रिक पार्टीले चार स्थानमा केन्द्रीय कार्यसमिति बैठक गर्न भ्याएको छ। मधेस सेवा आश्रम, बाराबाट सुरु भएको उक्त बैठक भैरहवा, नेपालगन्ज हुँदै राजविराजमा पुगेर टुंगिएको महामन्त्री जितेन्द्र सोनलले बताए।

'बारा, नेपालगन्ज, भैरहवा र राजविराजमा केन्द्रीय कार्यसमिति बैठक राखेर आन्दोलनको समीक्षा गरेका छौं,' सोनलले भने, 'भावी आन्दोलनको रणनीतिदेखि सांगठनिक निर्णय पनि लिएका छौं।' पछिल्लोपटक सम्पन्न राजविराज बैठकले इयु–भारत संयुक्त विज्ञप्तिको स्वागतसहित मधेसका ११ बुँदे माग पूरा नभएसम्म कुनै पनि निर्वाचन गर्न नदिने निर्णय गरेको उनले जनाए।

जिल्लास्तरको विस्तारित बैठकमा व्यस्त मधेसी जनअधिकार फोरम गणतान्त्रिकले पार्टी संगठन मजबुत बनाउन प्रत्येक जिल्लामा ७–७ जना सदस्य रहनेगरी मोबाइल टोली गठन गरेको छ। 'आन्दोलनमा भएका कमी–कमजोरीसहित भावी रणनीति बनाउनेबारे समीक्षा गरेका छौं,' अध्यक्ष राजकिशोर यादवले भने, 'चैत २७–२८ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाएर ठोस निर्णय लिनेछौं।' उनका अनुसार आन्दोलन समीक्षासहित भावी आन्दोलनको स्वरूपबारे मोर्चाघटक दल केन्द्रित भइरहेका छन्।

कुन पार्टी कहाँ के गर्दैछ?

१. संघीय समाजवादी फोरम नेपाल

राजनीतिक समिति बैठक, आन्तरिक पार्टी समायोजन, पार्टी प्रशिक्षण

२. तराई मधेस सद्भावना पार्टी

झापादेखि महोत्तरीसम्मको केन्द्रीय समिति बैठक (राजविराज, वीरगन्ज, भैरहवा र नेपालगन्ज), चैत १९

३. सद्भावना पार्टी

केन्द्रीय कार्यसमितिको विस्तारित बैठक, चैत १६–१७, विराटनगर

४. तराई मधेस सद्भावना पार्टी

केन्द्रीय कार्यसम्पादन समिति बैठक, काठमाडौं– चैत २०

५. राष्ट्रिय मधेस समाजवादी पार्टी

राष्ट्रिय कार्यसमितिको विस्तारित बैठक, काठमाडौं– चैत १५–१६

६. नेपाल सद्भावना पार्टी

पार्टी महाधिवेशन, जनकपुर– चैत २६–२८

७. मधेसी जनअधिकार फोरम गणतान्त्रिक

केन्द्रीय कार्यसमितिको बैठक– चैत २७–२८

No comments:

Post a Comment