Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, March 3, 2016

देउवाको प्रतिवद्धताः तत्कालै महासमिति बैठक र संसदीय दलको चुनाव

नेपाली कांग्रेस १३ औं महाधिवेसनका लागि सभापतिका प्रत्याशी शेरबहादुर देउवाले महाधिवेसनमा बिजयी भएमा महासमितिको बैठक बसाउने र संसदीय दलको चुनाव गराउने प्रतिवद्धता जनाएका छन् । महाधिवेसन प्रतिनिधिका सामु पेश गरेका प्रतिवद्धता पत्रमा नै सो बिषय उल्लेख गरेर देउवा प्रतिनिधिका सामु प्रस्तुत भएका छन् ।  जस्तो कि, देउवाले चुनाव जितेमा गर्ने भनेर धेरै प्रतिवद्धता जनाएका त छन, जसमध्ये कांग्रेसका आन्तरिक पार्टीको हकमा जनाएका दुई प्रतिवद्धता महत्वपुर्ण छन । पहिलो,  संघीय संरचना अनुरूप पार्टी संरचनालाई रूपान्तरित गरिनेछ । तेह्रौं महाधिवेशनपछि यथाशीघ्र महासमितिको बैठक बोलाइनेछ । महासमितिमा बदलिंदो आवश्यकता र अनुभवका आधारमा विस्तृत संशोधन प्रस्ताव प्रस्तावित गरिनेछ ।
र, दोस्रो  नेपाली कांगे्रस संसदीय दलको तत्काल कार्य समितिसहित नेतृत्व निर्वाचित गरी नेपाली कांग्रेसको व्यवस्थापिका संसद्मा प्रभावकारी भूमिका सुनिश्चित गरिनेछ । संसदीय दल र पार्टी बीचमा उच्च समन्वय कायम गरिनेछ । कुलबहादुर गुरुङको प्रस्तावक र खुमबहादुर खडकाको समर्थनमा उम्मेदवारी दर्ता गराएका देउवाले प्रस्तुत गरेको प्रतिवद्धतामा के के छन त ? अध्ययन गरौं । 


आदरणीय साथीहरू,
प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहास बोकेको नेपाली कांगे्रसको तेह्रौं महाधिवेशनमा सहभागी हुन स्वदेश तथा विदेशबाट आउनुभएका सम्पूर्ण मित्रजनलाई म हार्दिक स्वागत गर्दछु । समृद्ध नेपाल र शक्तिशाली कांगे्रस निर्माण गर्ने अठोट र उत्साहका साथ हामी तेह्रौं महाधिवेशनमा जुटेका छौं । यस अवसरमा म प्रजातान्त्रिक आन्दोलनका धरोहर जननायक बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, नेता सुवर्णशमशेर, सन्त नेता कृष्णप्रसाद भट्टराई तथा गिरिजाप्रसाद कोइराला जस्ता मार्गनिर्देशक नेताहरूलाई स्मरण गर्दछु । त्यसैगरी नेपालको प्रजातान्त्रिक आन्दोलन र पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नै दिवान सिंह राई, योगेन्द्रमान शेरचन, महेन्द्रनारायण निधि, शैलजा आचार्य, शेख इद्रिश र भीमबहादुर तामाङसहितका नेताहरूलाई पनि म स्मरण गर्न चाहन्छु । हाम्रो पार्टीको नेतृत्वमा २००७ साल, २०४६ र २०६२÷६३ सालको ऐतिहासिक आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण वीर सपुत तथा वीराङ्गनाहरूको स–सम्मान स्मरण गर्दछु । पार्टी निर्माण एवं विस्तार तथा प्रजातान्त्रिक आन्दोलनको विभिन्न चरणमा आफ्नो रगत पसिना बगाउँदै योगदान पु¥याउने पार्टीका नेता तथा कार्यकर्ता साथीहरू, समर्थक र शुभेच्छुकहरूलाई यस महान् अवसरमा अभिनन्दन गर्न चाहन्छु ।
हाम्रो पार्टीका सभापति सुशील कोइरालाको केही दिनअघि मात्र भएको असामयिक निधनबाट हामी स्तव्ध र मर्माहत भएका छौं । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

प्रिय साथीहरू,
नेपालको राजनीति अझै स्थिर हुनसकेको छैन । संविधानसभा मार्फत संविधान बनाउन सफल भए पनि कार्यान्वयनमा जटिलता यथावत् छन् । विविध कारणबाट तराई मधेशलगायत विभिन्न क्षेत्र र समूहबाट प्रकट भएका असन्तुष्टिलाई व्यवस्थापन गर्ने चुनौती हाम्रा सामु छन् । आम जनताको समृद्धि र प्रगतिको चाहना अधुरै छन् । बीपी कोइरालाले परिकल्पना गर्नुभएको विधि र समानतामा आधारित समृद्ध नेपाल बनाउने चाहना पूरा हुनसकेको छैन । देशमा  विद्यमान अस्थिरता र भविष्यप्रतिको अनिश्चितताले लाखौं युवा विदेश  पलायन हुने क्रम जारी छ । मुलुकमा देखिएका यी समस्याको समाधान गर्दै जनताको आधारभूत आवश्यकता र चाहनाहरू पूरा गर्न संविधानसभाले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई कार्यान्वयन गरी विधिको शासनलाई नेपाली समाजको अभिन्न अङ्ग बनाउन जरूरी छ । यो कार्यभार पूरा गर्न नेपाली कांग्र्रेसको मजबूत नेतृत्व विना सम्भव छैन । नेपाली कांग्रेसको १३औं महाधिवेशनले सबल, सक्षम र दृढ नेतृत्वसहितको एकताबद्ध र गतिशील कांग्रेस बनाउने विश्वास मैले लिएको छु ।
हाम्रो पार्टी नेपाली कांग्रेसको आन्तरिक जीवनलाई व्यवस्थित, गतिशील र लोकतान्त्रिक बनाउने काम बाँकी छ । पार्टीका कतिपय महत्वपूर्ण वैधानिक व्यवस्थालाई व्यवहारमा अनुवाद गर्न सकिएको छैन । २१औं शताब्दीको आवश्यकता अनुसार पार्टीलाई वैज्ञानिक व्यवस्थापनमा ढाल्न सकिएको छैन । वैचारिक बहस र प्रशिक्षणलाई पार्टीको जीवन पद्धति बनाउन बाँकी नै छ । भ्रातृ संगठनका अधिवेशन समयमा हुन नसक्दा संगठन विस्तार र नेतृत्व विकासमा गम्भीर अवरोध पैदा भएको छ । तराई–मधेश, पहाड र हिमाली क्षेत्रका बसोबासी महिला, दलित, आदिवासी÷जनजाति, मुस्लिम, थारू र अल्पसङ्ख्यक तथा गरीब, निमुखा र सीमान्तकृत जनतामाझ हाम्रो सहज पहँुच स्थापित हुनसकेको छैन । पार्टीका प्रकाशन, प्रशिक्षण, अभिलेखीकरण र मूल्याङ्कन पद्धतिलाई नियमित र संस्थागत गर्ने काम अझै बाँकी छ ।

यी सबै कार्यका लागि नेतृत्वले साथीहरूको अन्तरवाणी सुन्नैपर्छ । पार्टीमा निरन्तर योगदान पु¥याएका कर्मठ, क्षमतावान् र लोकप्रिय सबै नेता तथा कार्यकर्ता साथीहरूलाई उदार हृदयले न्याय, सुरक्षा र अवसरको प्रत्यभूति दिंदै सबै क्षेत्र, वर्ग र समूहको समावेशी सहभागिता एवं प्रतिनिधित्वसहितको एकताबद्ध पार्टी बनाउने ठोस नीति र कार्ययोजना बनाएर अघि बढ्न अब ढिला गर्ने अवस्था छैन । यी सबै काम पूरा गर्ने नेतृत्वका लागि म दृढ र कृतसंकल्पित छु र तपाईंहरूको सहयोग, सुझाव र समर्थनको अपेक्षा राखेको छु ।

सुदृढ कांग्रेसको लागि सबल नेतृत्व 

संविधान कार्यान्वयनको चुनौती, राष्ट्रिय राजनीतिमा देखिएका अस्थिरता, नेपाल र नेपाली जनताले भोगेका समस्याको समाधान नेपाली कांग्रेसको कुशल नेतृत्व विना सम्भव छैन । यो अहम् राष्ट्रिय जिम्मेवारी पूरा गर्न नेपाली कांग्रेस पार्टीलाई सुदृढ र गतिशील बनाउन जरूरी छ । सुदृढ र गतिशील कांग्रेसले मात्र राष्ट्रसामु विद्यमान चुनौतीलाई पार गर्दै विविध दिशामा फर्केका राजनैतिक पार्टीहरूलाई समेत साथ लिएर लोकतन्त्र सुदृढीकरण र समृद्धिको बाटोमा देशलाई अगाडि बढाउने अभियानको अगुवाई गर्न सक्दछ । यो राष्ट्रिय अभियानको अगुवाई नेपाली कांग्रेसले गर्न पार्टीभित्र उदार र सबल नेतृत्वको आवश्यकता छ ।
नेपाली कांग्रेस पार्टीलाई नेपाली समाजको विविधता प्रतिबिम्बित गराउने नेतृत्वको खाँचो छ । नेपाली का(ंग्रेसलाई समाजको पछाडि परेका क्षेत्र, वर्ग र समूहमा विस्तारित गरी उनिहरूको सहभागिता, पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्दै जाने नेतृत्वको खाँचो छ । पार्टीलाई एकताबद्ध गर्दै पार्टीका हरेक नेता र कार्यकर्ताको क्रियाशीलता, योगदान र लोकप्रियताको आधारमा सुरक्षाको प्रत्याभूति गर्ने नेतृत्वको अभाव खट्किएको छ । नेपाली कांग्रेस पार्टीलाई युवा वर्गको आशा र भरोसाको केन्द्र बनाउन जरूरी छ । पार्टी विधानको व्यवस्थालाई अक्षरशः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुक समर्थकको ऊर्जा एवम् क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउन आवश्यक छ ।
यी जिम्मेवारीहरू पूरा गर्दै पार्टीलाई सुदृढ र गतिशील बनाउन सक्दछु भन्ने कुरामा म पूर्ण रूपले विश्वस्त छु । पार्टी सञ्चालनमा संकीर्ण दृष्टिकोण राख्दा त्यसले पार्टी सुदृढीकरण एवं गतिशील बनाउने कार्यमा अवरोध पैदा गर्छ भन्ने मैले बुझेको छु । साथीहरूले मलाई पार्टी नेतृत्व गर्ने अवसर दिनुभएमा नेपाली कांग्रेसको समावेशी स्वरूपलाई विस्तार गर्दै सम्पूर्ण नेपालीको भरोसायुक्त पार्टी बनाउन म कटिबद्ध छु । एक्काइसौं शताब्दीको आवश्यकता अनुसार पार्टीलाई आधुनिक व्यवस्थापन र सूचना प्रणाली अनुसार चलाउन पनि म उत्तिकै प्रतिबद्ध छु ।

. नेपाली कांग्रेसलाई नेपाली समाजको साझा पार्टी बनाउने अभियानको शुरुआत मेरै नेतृत्वमा भएको थियो र त्यसको अनुसरण अरू पार्टीहरूले धेरै पछि मात्र गरेका हुन् । पछाडि परेका कर्णालीवासी जनता, दलित, मधेशी, आदिवासी÷जनजातिहरूलाई पार्टीको विभिन्न तहमा प्रतिनिधित्वको सुनिश्चितता गर्ने व्यवस्थाको शुरुआत मेरै नेतृत्वमा भएको थियो । पार्टीलाई समावेशी बनाउने हाम्रो अभियान अझै पूरा भएको छैन । संविधानमा भएका व्यवस्था अनुसार पार्टीको नेतृत्व तहमा महिला, दलित, आदिवासी÷जनजाति, मधेशी, मुस्लिम, थारू तथा अन्य सीमान्तकृत समूहको प्रतिनिधित्व बढाउँदै लैजान म प्रतिबद्ध छु । साथै यी समूहबाट पार्टीभित्र सदस्यता संख्या बढाउन विशेष अभियान सञ्चालन गर्ने सोच मैले बनाएको छु ।

२. नेपाली कांग्रेस पार्टीभित्र रहेको विभाजित मानसिकतालाई अन्त्य गर्न न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै पार्टीका हरेक नेता र कार्यकर्ताको मूल्याङ्कन योगदान, सक्रियता र लोकप्रियताका आधारमा गर्ने व्यवस्थालाई संस्थागत गर्ने मेरो सोच छ । ‘नेताको होइन जनताको घर जाऊँ’ अभियान सञ्चालन गरिनेछ ।

३. मूल्याङ्कन पद्धतिलाई संस्थागत गर्न देशभरिका पार्टी कार्यकर्ताको विशेषता र योगदानको वैज्ञानिक अभिलेख राखिनेछ । त्यस्तै देश र देश बाहिर रहेका पार्टीका शुभेच्छुक र समर्थकहरूको योग्यता र उपयोगितासहितको अभिलेख पनि तयार गरिनेछ र उनीहरूको योग्यता र सीपलाई पार्टी निर्माणमा प्रयोग गरिनेछ ।

४. नेपाली कांग्रेस पार्टीका बुद्धिजीवी तथा शुभेच्छुकहरूको विचारसमूह (थिंक ट्यांक) को अवधारणालाई संस्थागत गरी पार्टी नीति र राष्ट्रिय नीतिनिर्माणमा विचार समूहबाट आएको सुझावको उपयोग पूर्ण रूपमा गरिनेछ ।

५. जुझारु भ्रातृ संगठनहरू ः भ्रातृ संस्थाहरूलाई पार्टीको नीति र कार्यक्रममार्फत परिचालित र निर्देशित गरिनेछ । पार्टीको नीति र कार्यक्रमको अधीनमा रही भ्रातृ संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिइनेछ । भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्ने प्रक्रिया तत्काल आरम्भ गरिनेछ । भ्रातृ संस्थामार्फत नेपाली कांग्रेसभित्र युवा, विद्यार्थी, महिला, दलित र अन्य पछाडि परेका वर्ग समूहहरूकोे सहभागितालाई व्यापक विस्तार गरिनेछ ।
६. गतिशील विभागहरू: पार्टीका विभागहरूलाई तत्काल क्रियाशील गराई पार्टी निर्माणको अभिन्न अंगका रूपमा संस्थागत गरिनेछ । सम्बन्धित विभागहरूलाई नीतिनिर्माण र संगठन विस्तारको पूर्ण जिम्मेवारी दिइनेछ ।
नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण विभागलाई देशको बदलिंदो आवश्यकता अनुसार नीति र कार्यक्रमका सम्बन्धमा निरन्तर छलफल र बहस गर्ने थलोको रूपमा विकसित गरिनेछ । पार्टी कार्यकर्तालाई दिइने प्रशिक्षण नेताहरूको भाषण गर्ने थलो र औपचारिकतामा सीमित राखिने छैन । व्यावसायिकता र समय सान्दर्भिक विषयवस्तु केन्द्रित प्रशिक्षण सामग्रीमा आधारित प्रशिक्षणलाई केन्द्रदेखि गाउँतहसम्म नियमित बनाइनेछ ।

७. प्रजातन्त्र सेनानी र द्वन्द्व पीडितहरूको सुरक्षा: प्रजातान्त्रिक आन्दोलनको विभिन्न कालखण्डमा योगदान पु¥याउनुहुने हजारौं कार्यकर्ता छन् । माओवादी हिंसात्मक आन्दोलनको बेला पीडा भोगेका हजारौं पार्टी कार्यकर्ता र शुभेच्छुकहरू छन्, उनीहरूको सुरक्षा र न्यायको सुनिश्चितता गर्नु पार्टीको दायित्व हो । उनीहरूको अभिलेखको यथार्थ व्यवस्था गरी सुरक्षा र न्याय दिलाउनुलाई मैले महत्वपूर्ण दायित्वका रूपमा लिएको छु । यस्ता पीडित र आर्थिक रूपमा दुर्बल कार्यकर्ताको सुरक्षाको लागि पार्टीको छुट्टै सुरक्षा कोष स्थापना गरिनेछ ।

८. लेखा विभागको व्यवस्थाः पार्टीको आर्थिक व्यवस्थापनलाई पूर्ण रूपमा पारदर्शी बनाइनेछ । यसको लागि स्थायी लेखा विभागको व्यवस्था गरी आर्थिक हिसाबकिताबलाई नियमित रूपमा सार्वजनिकीकरण गरिनेछ ।
९. स्थायी निर्वाचन आयोगको व्यवस्था: पार्टीको क्रियाशील सदस्यता दिने विषयलाई लिएर हुने गरेको अनिश्चितता र असुरक्षाको स्पष्ट मापदण्डको आधारमा क्रियाशील सदस्यता दिने व्यवस्थालाई संस्थागत र पारदर्शी बनाइनेछ । पार्टीको क्रियाशील सदस्यताको अद्यावधिक गर्ने र पार्टीको निर्वाचनलाई लिएर हुने गरेको अनिश्चितता अन्त्य गर्न र स्वतन्त्र एवम् निष्पक्ष ढंगले पार्टी तथा भ्रातृ संगठनहरूको निर्वाचन सम्पन्न गर्न पार्टीको आफ्नै स्थायी निर्वाचन आयोगको व्यवस्था गरिनेछ ।
 
१०. जन–सम्पर्क समितिहरूको सुदृढीकरण र विस्तार: लाखौं युवा नेपाली देशले भोगेको द्वन्द्व र त्यसपछिका अस्थिरताका कारण विदेशिएका छन्, त्यसको ठूलो हिस्सा नेपाली कांग्रेसका समर्थक र शुभेच्छुकहरू रहेका छन् । उनीहरू नेपालको विभिन्न भागमा बस्ने लाखौं परिवारसँग जोडिएका छन् । नेपाली कांग्रेसको संगठन उनीहरूलाई बिर्सिएर पूरा हुन सक्दैन । यसका लागि विधान संशोधन मार्फत सम्पर्क समितिहरूको विधानमा समानता ल्याइनेछ ।
सदस्यता अभियानलाई विस्तारित गर्दै जनसम्पर्क समितिहरूको क्षेत्रीय समिति र अन्तर्राष्ट्रिय  समन्वय समितिको व्यवस्था गरिनेछ । जनसम्पर्क समितिहरूमा आवद्ध गैरआवासीय नेपालीहरूकोे ऊर्जा र सीपलाई पार्टी र देश निर्माणमा उपयोग गरिनेछ ।

११. शुभेच्छुक संस्थाहरूको राष्ट्रिय सञ्जाल: राष्ट्रिय जीवनको विविध क्षेत्र र विषयसँग सम्बन्धित भएर कार्यरत शुभेच्छुक संस्थाहरूको राष्ट्रिय सञ्जाल विकसित गरी पार्टीसँग निरन्तर सम्बन्ध विकसित गरिनेछ ।
१२. अन्तर्राष्ट्रिय सम्बन्धः क्यअष्बष्कित क्ष्लतभचलबतष्यलब िसँग हाम्रो पार्टीको लामो सम्बन्ध छ । म हाल यसको उपाध्यक्ष पनि छु । आगामी दिनमा यो सम्बन्धलाई अझ मजबूत बनाइनेछ । छिमेकी देशका पार्टी र अन्य देशका समान विचार भएका पार्टीहरूसँग सम्बन्ध विस्तार गरिनेछ ।
१३. अन्य संस्थागत सुधारहरूः
संघीय व्यवस्थासहितको संविधान कार्यान्वयनलाई समय सीमा भित्र सम्पन्न गर्ने कामलाई अगुवाई गर्न पार्टीले विशेष इकाई गठन गर्नेछ ।
   विधानले व्यवस्था गरेको समय सीमाभित्र विधानमा भएका पार्टी संरचनाका व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गरिनेछ ।
*   
केन्द्रीय समितिको बैठकलाई एजेन्डासहित नियमित गरिनेछ । पार्टीको स्थानीय तहसम्म यस्तो व्यवस्थालाई संस्थागत गरिनेछ ।  
*    संघीय संरचना अनुरूप पार्टी संरचनालाई रूपान्तरित गरिनेछ । तेह्रौं महाधिवेशनपछि यथाशीघ्र महासमितिको बैठक बोलाइनेछ । महासमितिमा बदलिंदो आवश्यकता र अनुभवका आधारमा विस्तृत संशोधन प्रस्ताव प्रस्तावित गरिनेछ ।*    पार्टी केन्द्रीय सचिवालय तथा तल्लो तहसम्मका पार्टी कार्यालयहरूमा वैज्ञानिक व्यवस्थापन, आधुनिक सूचना र प्रविधि अनुसार व्यवस्थित गरिनेछ ।
*    नेपाली कांगे्रस संसदीय दलको तत्काल कार्य समितिसहित नेतृत्व निर्वाचित गरी नेपाली कांग्रेसको व्यवस्थापिका संसद्मा प्रभावकारी भूमिका सुनिश्चित गरिनेछ । संसदीय दल र पार्टी बीचमा उच्च समन्वय कायम गरिनेछ ।

संविधान कार्यान्वयन गर्दै समृद्ध र समतामूलक समाज निर्माण गर्ने कार्यभार:
 
प्रजातान्त्रिक पद्धतिलाई संस्थागत गर्न नसक्दा देश अस्थिरता र अनिश्चितताको अन्त्यहीन श्रृंखलाबाट गुज्रिराखेको छ । विधिको शासनलाई संस्थागत गर्दै समृद्ध र समतामूलक समाज निर्माण गर्ने लक्ष्यप्रति नेपालको राजनीति उन्मुख गराउने कार्यभारको नेतृत्व नेपाली कांग्रेसले लिनेछ । यसका लागि मेरो नेतृत्वमा नेपाली कांग्रेस पार्टी संक्षेपमा निम्न लिखित लक्ष्यप्रति केन्द्रित हुनेछ ।

१. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनः नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट संविधान बनाउने कार्यभार हामीले पूरा गरेका छौं । संविधानमा समेटिएका कतिपय प्रावधान हामीले चाहे अनुसार नभए तापनि लोकतान्त्रिक पद्धतिका मूल भावना र विषयवस्तु यसमा समाविष्ट छन् । नेपाली कांग्रेसकै नेतृत्वमा भएको दुईओटा संविधान संशोधनले यसलाई अझ समावेशी र समानुपातिक सिद्धान्तको अनुरूप ढाल्ने काम पनि भएको छ । संविधानलाई समावेशी र समानुपातिक सिद्धान्तका आधारमा निर्माण गर्न मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको थिएँ । संविधानमा थारू, मधेशी, जनजाति र मुस्लिम आयोगहरू समावेश गर्नका लागि मैले विशेष तदारुकता दिएको थिएँ । मधेशी, थारू, आदिवासी÷जनजाति, दलित र पछाडि परेका क्षेत्रबाट कतिपय असन्तुष्टिका स्वरहरू अझै आइरहेका छन् । यसलाई सम्बोधन गर्नुपर्ने मेरो ठहर छ । तराई मधेशमा संघीय प्रदेशहरूको सीमांकन लगायतका विषयलाई लिएर कतिपय असन्तुष्टिहरू आन्दोलनमार्फत मुखरित भएका छन् । मधेश तराईमा उठेका सीमाङ्कनका मुद्दालाई समाधान गर्दै संविधान कार्यान्वयनको कार्यभार पूरा गर्ने काम नेपाली कांग्रेसको अगुवाईमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

२. संविधानको कार्यान्वयन सँगै देश स्थिरताको बाटोमा उन्मुख हुनेछ । स्थिरता र भविष्यप्रतिको सुनिश्चितताले देशमा आर्थिक, सामाजिक रूपान्तरणको बाटो खुल्नेछ । रोजगारीका अवसरहरू बढ्नेछन् र यसले विदेशिएका नेपाली युवाहरू स्वदेश फर्कने अवस्था निर्माण हुने विश्वास मैले लिएको छु । युवाहरूलाई केन्द्रविन्दुमा राखेर उनीहरूको सीप र जाँगरको उपयोग गर्न सक्दा मात्र आर्थिक सामाजिक रूपान्तरणको बाटोमा नेपाल अग्रसर हुने मेरो ठम्याइ छ ।
३. यो देशको एकता र राष्ट्रिय अखण्डतालाई सुदृढ गर्नु हाम्रो पार्टीको मूल लक्ष्य हुनेछ । देश संघीय संरचनामा गएको सन्दर्भमा विभिन्न भौगोलिक, सांस्कृतिक, भाषिक र जातीय समूहका विशिष्ट पहिचानहरूलाई संरक्षण र प्रवद्र्धन गर्दै समृद्ध नेपाल निर्माणमा उनीहरूलाई हिस्सेदार बनाइनेछ । यसरी विविध समूहको पहिचान र विशिष्टता, नेपाल र नेपालीको साझा चिनारीको आधारशिला बनाउँदै नेपाली राष्ट्रियताको प्रवद्र्धन गरिनेछ ।
४. प्रजातान्त्रिक विधिको शासन नेपाली कांग्रेसको मूल लक्ष्य हो । लोकतन्त्रका सर्वमान्य सिद्धान्त र विचारहरूलाई संसदीय प्रणाली अन्तर्गत सम्पूर्ण नेपालीको मौलिक अधिकारहरूको सुरक्षा प्रत्याभूति  गर्ने कुरामा म विश्वास गर्दछु ।
५. प्रातःस्मरणीय बी.पी. कोइरालाद्वारा २०१२ सालमा वीरगंज महाधिवेशनमा प्रस्तुत प्रजातान्त्रिक समाजवादी विचारप्रति म पूर्ण प्रतिबद्ध छु । आर्थिक समृृद्धि सृजना गर्ने तरिका र यसको वितरणको मोडलमा आवश्यकता अनुसार समयसापेक्ष परिवर्तन हुँदै जानेछ । तर प्रजातान्त्रिक पद्धतिलाई आधार मान्दै देशमा आर्थिक समृद्धि सृजना गर्ने, आम जनताको पहुँचमा समृृद्धि पु¥याउने प्रजातान्त्रिक समाजवादी लक्ष्यप्रति हामी अविचलित छौं ।
. वर्तमान अवस्थामा नेपालको आर्थिक सामाजिक रूपान्तरण र व्यापक रोजगारीको अवसर सिर्जना हुने नहुने कुरा राजनैतिक स्थिरता र विधिको शासन कार्यान्वयनमा निर्भर छ । देशमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र औद्योगिक विकासमा व्यापक लगानीमार्फत रोजगारी र समृृद्धि सिर्जना गर्न सम्भव हुनेछ । निजी क्षेत्रलाई आर्थिक समृद्धि सिर्जना गर्ने महत्वपूर्ण भूमिका दिनुपर्ने कुरामा हामी विश्वास गर्दछौं । राज्यले प्रतिस्पर्धा र नियमन सुनिश्चित गर्ने भूमिकामा आफूलाई केन्द्रित गर्नुपर्दछ । सामाजिक सुरक्षा, सकारात्मक विभेद आधारभूत निःशुल्क शिक्षा, स्वास्थ्य र अन्य प्रभावकारी र लक्षित कार्यक्रमहरूमार्पmत पछाडि परेका वर्ग समूहमा समृद्धिको पहुँच विस्तार राज्यको अगुवाईमा गरिनेछ । पूर्वाधार शिक्षा र स्वास्थ्यको क्षेत्रमा राज्यको भूमिका अहम् हुनेछ ।

७. कृषिलाई आधुनिकीकरण गर्दै किसानहरूलाई नयाँ प्रविधि र उत्पादनशील क्षेत्रमा आकर्षित गरिनेछ । यसका लागि अनुदान र सेवा विस्तार गर्दै कृषकका बीउ, बिजन, मल, सिंचाइ, बिजुली लगायतका आवश्यकताहरूलाई हाम्रो पार्टीले उच्च प्राथमिकता दिने छ । कृषिमा सहकारितालाई महत्वका साथ प्रोत्साहित गरिनेछ ।
८. गुणस्तरीय एवम् सर्वसुलभ स्वास्थ्य र शिक्षा ः गुणस्तरीय एवम् सर्वसुलभ स्वास्थ्य र शिक्षाको आधारमा समृद्ध र समानतामा आधारित नेपाल निर्माण संभव छ । नेपाली कांग्रेस सरकारी लगानीमा संचालित स्वास्थ्य र शैक्षिक संस्थाहरूको सेवा आम जनतामा विस्तार गर्दै यसको गुणस्तर बढाउने प्रभावकारी उपायहरू कार्यान्वयन गर्न प्रतिबद्ध छ । निजी क्षेत्रद्वारा संचालित शैक्षिक र स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी अनुगमनमार्फत सेवामूलक बनाउन चाहन्छ । उच्च शिक्षालाई एक्काइसौं शताब्दीका आवश्यकताहरूलाई केन्द्रित गर्दै प्राविधिक, सीपमूलक र रोजगारीमूलक शिक्षा दिने कुरालाई नेपाली कांग्रेसले उच्च प्राथमिकता दिनेछ ।
९. हाम्रो विकासको ढाँचालाई वातावरणमैत्री देशको सांस्कृतिक, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनले ल्याएका चुनौतीहरूलाई व्यवस्थापन गर्ने सोचका साथ अगाडि बढाइनेछ ।

१०. देशमा लगानीमैत्री वातावरण सुनिश्चित गरिनेछ । स्वदेशी र विदेश लगानीकर्ताको लगानी सुरक्षालाई उच्च प्राथमिकतामा राखिनेछ । साथै श्रमजीवीहरूको अधिकार र सुरक्षालाई महत्वका साथ कार्यान्वयन गरिनेछ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्न विशेष पहल गरिनेछ । 

११. प्रेस स्वतन्त्रता ः अभिव्यक्ति स्वतन्त्रता विना देशमा विधिको शासन स्थापित हुनसक्दैन । जिम्मेवार एवम् स्वतन्त्र सूचना र सञ्चारमाध्यमहरूको विकासमा म विश्वास गर्दछु र यसको पक्षमा म सधैं उभिनेछु । स्वतन्त्र र प्रभावकारी सञ्चारमाध्यमहरूको प्रोत्साहन गर्न सरकारद्वारा प्रदान गरिने लोककल्याणकारी विज्ञापनलाई दोब्बर गर्ने काम मेरै नेतृत्वको सरकारले गरेको थियो भन्न पाउँदा मलाई सुखद् अनुभूति भएको छ ।

१२. पछाडि परेका महिला, दलित, मधेशी, मुस्लिम आदिवासी÷जनजाति, थारू  र अन्य सीमान्तकृत तथा लोपोन्मुख जातिहरू, अपाङ्ग, तेस्रोलिङ्गी, श्रमिक, किसान, वृद्धवृद्धा, बालबालिका, गरीब र अवसरबाट वञ्चित युवा सबैलाई विशेष अवसर तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै सबैखाले भेदभाव अन्त्य गर्ने नीति र कार्यक्रमलाई पार्टीले कार्यान्वयन गर्नेछ । सरकार सञ्चालन गर्ने अवसर पाउँदा पनि तमाम अप्ठ्यारा र गतिरोधका बाबजूद राष्ट्रिय मूलधारमा देशका आदिवासी÷जनजाति, दलित, महिलाहरूको राज्य संरचनामा पहुँच बढाउन दलित आयोग, आदिवासी÷जनजाति प्रतिष्ठान, महिला आयोगको शुरुआत मेरै नेतृत्वमा भएको थियो । कमैया मुक्तिको कार्यक्रम मेरै नेतृत्वमा अगाडि बढेको थियो । महिला तथा बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयको व्यवस्था मेरै नेतृत्वको सरकारले गरेको थियो । 

१३. वैदेशिक सम्बन्धमा गतिशीलता ः भारत र चीनबीच अवस्थित भूपरिवेष्ठित राष्ट्र हो नेपाल । भूपरिवेष्ठित राष्ट्रका आफ्नै समस्या र जटिलता छन् । त्यसका बाबजूद विकासमा अगाडि बढिरहेका ठूला दुवै छिमेकीहरूको आर्थिक विकासको फाइदा पर्यटन र लगानीमार्फत नेपालले लिन सक्नुपर्दछ  ।
*   हाम्रो भारतसँग बहुआयामिक आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र राजनैतिक सम्बन्धहरू छन् । नेपालमा संविधान घोषणासँगै सम्बन्धमा आएको गतिरोध समाप्त पारी दुई देशको सम्बन्धलाई सुदृढ गर्ने कामको अगुवाई नेपाली कांगे्रसले गर्नेछ । सरकार, पार्टी र जनताको तहमा सम्मान र विश्वासमा आधारित सम्बन्धलाई विकसित बनाइनेछ ।
*      चीनसँगको सम्बन्धलाई पनि पारस्परिक विश्वासका आधारमा विकसित गर्ने नीति हाम्रो रहनेछ ।*    अमेरिका, बेलायत, यूरोप र जापानलगायतका मित्र देशहरूको सम्बन्धलाई पनि थप विकसित गर्ने कुरामा पनि म प्रतिबद्ध छु ।
*   संयुक्त राष्ट्रसंघ, बहुपक्षीय र अन्य अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघसंस्थाहरूसँगको सम्बन्धलाई नेपालको हितमा विकसित गरिनेछ ।

१४. भूकम्प पीडितहरूको सुरक्षा र पुनस्र्थापना ः नेपाली कांग्रेसको नेतृत्वमा भूकम्पपीडितहरूको उद्धार र राहतको सफल कार्यान्वयन भयो । धेरै ठूलो वैदेशिक सहयोग पनि नेपालले प्राप्त ग¥यो । तर पुनःनिर्माण प्राधिकरण समयमा निर्माण गर्न नसक्दा पुनःनिर्माण कार्य अगाडि बढ्न सकेन । अझै पनि भूकम्पपीडितको सुरक्षा, पुनःनिर्माण र पुनस्र्थापनालाई वर्तमान सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाएको छैन । भूकम्पपीडितको सुरक्षा र पुनस्र्थापनालाई मेरो नेतृत्वमा नेपाली कांग्रेसले उच्च प्राथमिकतामा राख्नेछ । सरकारलाई पुनस्र्थापनाको लागि साझा अवधारणा कार्यान्वयन गर्न खबरदारी गर्नेछ ।

१५. वर्तमान सरकार जनताका दुःख, कष्ट र आधारभूत आवश्यकताहरूप्रति पूरै उदासीन छ । महँगी, कालोबजारी र अभाव सामान्य भएको छ । सीमामा रहेको अवरोध समाप्त भएर आयात निर्यात सुचारु भए पनि इन्धनको कृत्रिम अभाव सृजना गरी कालोबजारीलाई संस्थागत गरिएको छ । यो सरकारले राज्य संरचनाहरूलाई पार्टीकरण गर्ने काम तीव्र पारेको छ । प्रमुख प्रतिपक्षको हैसियतले नेपाली कांग्रेस पार्टीले यसको विरोधमा सशक्त आवाज उठाउनेछ ।

१६. सत्य निरूपण आयोग र बेपत्ता आयोगमार्फत पीडित र तिनका परिवारहरूलाई न्यायको प्रत्याभूति चाँडोभन्दा चाँडो दिलाउन कांग्रेस निरन्तर लागिपर्नेछ ।

प्रिय कांगे्रसजन,
मैले पार्टी नेतृत्व गर्दा पार्टी भित्र समावेशी राजनीतिको शुरुआत गरें । सरकारको नेतृत्व गर्दा महिला, दलित जनजातिहरूको छुट्टाछुट्टै आयोग, प्रतिष्ठानमार्फत न्याय र अधिकारको प्रत्याभूति गराउने अभियानको थालनी गरें । भारतसँगको व्यापार र पारवहन सम्झौता महाकाली सन्धिमार्फत नेपालको हितको संरक्षण गर्ने काम गरें । कमैया प्रथा जस्तो सामाजिक आर्थिक शोषण गर्ने प्रथा अन्त्यको शुरुआत गरें । सुदूरपश्चिमलाई सडक पुलमार्फत देशसँग जोड्ने काम गरें ।
म विधिको शासनमा आधारित सुदृढ एवम् समृद्ध र अन्याय तथा विभेदबाट मुक्त नेपाल निर्माणमा विश्वास गर्दछु । तपाईंहरूको विश्वास र समर्थन पाएँ भने पार्टीको नेतृत्व गर्दै समृद्ध नेपाल बनाउने अभियानलाई अझ अगाडि बढाउनेछु । संविधानसभामार्फत संविधान जारी गर्न मैले नेतृत्वदायी भूमिका निर्वाह गरेको थिएँ र यसको कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु । साथै नेपाली कांग्रेसलाई सुदृढ र गतिशील पार्टी बनाउनेछु । पार्टी र यससँग आबद्ध संगठनहरूलाई विधानसम्मत ढंगले चलाउने परिपाटीलाई संस्थागत गर्ने मेरो प्रयास हुनेछ । पार्टीका साथीहरूलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै एकताबद्ध पार्टी बनाउन प्रतिबद्ध छु ।
अन्त्यमा, नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी प्रतिनिधि साथीहरू सबैलाई शुभेच्छा व्यक्त गर्दै पार्टीको आसन्न निर्वाचनमा पार्टी सभापतिको पदमा तपाईंको अमूल्य मतका लागि विनम्र अनुरोध गर्दछु ।

जय नेपाल ।
शेरबहादुर देउवा

No comments:

Post a Comment