Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, February 29, 2016

आन्दोलनवाट 'थाकेका' मोर्चा महाधिवेसन र संगठनमा ब्यस्त

आन्दोलन कार्यक्रम स्थगित गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध राजनीतिक दल संगठन मजबुत पार्न केन्द्रित भएका छन्। नयाँ संविधानप्रति विमति जनाउँदै ६ महिनादेखि आन्दोलनरत मोर्चाआवद्ध सात राजनीतिक दलका अधिकांश नेता संगठन विस्तार र आन्दोलन समीक्षामा व्यस्त छन्।

पार्टीको संगठन विस्तार, पार्टी प्रशिक्षण र आन्दोलन समीक्षामा केन्द्रित भएको तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले बताए। 'आन्दोलनको समीक्षासहित आन्तरिक पार्टी संगठन मजबुत बनाउनका लागि तमलोपा गाउँ–गाउँमा केन्द्रित भएको छ,' सोनलले नागरिकसँग भने, 'आन्तरिक शक्ति सञ्चय गरेर पुनः आन्दोलनमा कसरी जाने भन्ने पनि छलफल जारी छ।' उनका अनुसार मधेसी मोर्चाको घोषित कार्यक्रममा पनि तमलोपाले सहभागिता जनाइरहेको छ।


अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टीले चैत २६–२८ सम्म जनकपुरमा महाधिवेशन गर्ने निर्णय यसैबीच गरेको छ। जनकपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको सांसद डिम्पल झाले बताइन्। '०७२ सालभित्रै महाधिवेशन गर्ने पूर्व निर्णयअनुसार महाधिवेशनको मिति तय गर्ने काम भयो,' झाले नागरिकसँग भनिन, 'आन्तरिक संगठन निर्माण तथा आन्दोलन समीक्षा पनि गर्न भ्याएका छौं।' उनका अनुसार महाधिवेशन तयारीका लागि अहिलेसम्म ९ हजार सक्रिय सदस्यले सदस्यता नवीकरण गराइसकेका छन्।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण, संविधान निर्माण नेतृत्वकर्ता तीन दल र मधेसी मोर्चाको वार्ता स्थगित, कांग्रेस महाधिवेशनजस्ता अन्य पक्षका कारण पनि मोर्चाआबद्ध दल संगठन निर्माण र आन्तरिक पार्टी कार्यक्रममा व्यस्त हुनुपरेको तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले बताए। 'केही दिनअघि कार्यसम्पादन समितिको बैठक बसेर आन्दोलनको समीक्षा गर्यौंे, आज मात्रै पनि संगठन विभागको बैठकमा संगठन निर्माणमा ध्यान दिने विषयमा छलफल गर्यौंम,' रायले नागरिकसँग भने। उनका अनुसार स्थानीय तहमा रहेका कार्यकर्ता र आन्दोलनसँग अन्तर्क्रिया गर्ने काम पनि सँगसँगै भइरहेका छन्।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले यसबीच पार्टी प्रवेश गराउनेदेखि पार्टी केन्द्रका विभाग गठन गर्ने कार्यलाई तीव्रता दिएको छ। 'विभाग विस्तार गर्ने, आन्दोलन समीक्षा गर्ने र पार्टी प्रवेश गराउने काम भइरहेका छन्,' विदेश विभाग प्रमुख अर्जुन थापाले नागरिकसँग भने। संघीय फोरमले आइतबार मात्रै सिरहाका १, २, ३ र ६ निर्वाचन क्षेत्रमा पार्टी प्रवेश कार्यक्रम गरेको थियो भने मध्यतराईका केही स्थानमा आमसभा पनि आयोजना गर्न भ्याएको छ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी सोमबार जनकपुरको पार्टी कार्यक्रममा पुगे। 'जनकपुरमा पार्टी प्रशिक्षण कार्यक्रम भएकाले अध्यक्षज्यू जनकपुर पुग्नुभयो,' प्रवक्ता केशव झाले नागरिकसँग भने, 'मोर्चाको सडक संघर्षको कार्यक्रम नभएकाले पनि आन्तरिक काममा बढी जोड दिएका हौं।' रामसपाले केही दिनअघि पदाधिकारी बैठक डाकेर पछिल्लो समय मोर्चामा जनाएको सहभागितासहित केही पदाधिकारीलाई निष्कासन गर्ने निर्णय गरेको थियो।

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक काठमाडौंमा जारी छ। 'आन्दोलनको समीक्षा, पार्टी गतिविधि र संगठन निर्माणका विषयमा छलफल गरिरहेका छौं,' महासचिव मनिष सुमनले नागरिकसँग भने। अध्यक्ष महतोलाई मोर्चाले 'सचेत गराउने' निर्णय गरेको सम्बन्धमा पनि पार्टीमा समीक्षा भएको उनले जानकारी दिए।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पछिल्लो परिस्थितिको समीक्षा गर्ने कार्यमा मोर्चाआबद्ध दल लागेको जनाए। '६ महिना लामो आन्दोलन गरेर पनि मधेसीको माग किन पूरा भएन भनेर समीक्षा गर्दै छौं,' यादवले नागरिकसँग भने, 'केही दिन बस्ने मोर्चाको बैठकले त्यसको ठोस निर्णय लिनेछ।'

No comments:

Post a Comment