नयाँ शक्ति अभियान नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संशोधन गर्नुपर्ने अजेन्डालाई प्राथमिकता साथ अघि सार्ने जनाएका छन्। तत्कालीन संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले सो अभियानका नामबाट संविधान संशोधन प्रस्ताव अघि सारेका हुन्। सो शक्तिको अन्तरिम परिषदको बैठकमा उक्त अजेन्डामा छलफल जारी छ। मिश्रित निर्वाचन प्रणाली र संसदीय व्यवस्थाले मुलुकलाई स्थिरता दिन नसक्ने भन्दै उनले संविधान संशोधनको औपचारिक प्रस्ताव नयाँ शक्तिमार्फत बहसका लागि अघि सारेका हुन्। 'वर्तमान 'नेपालको संविधान'मा अपनाइएको मिश्रित निर्वाचन प्रणाली र संसदीय शासकीय प्रणालीले देशमा राजनीतिक स्थिरता दिन सक्दैन र राजनीतिक स्थिरताबिना आर्थिक विकास र समृद्धि असम्भव हुन्छ,' भट्टराईले भनेका छन्, 'यो प्रणाली बदल्नै पर्छ र त्यस निम्ति तुरुन्त संविधान संशोधन गर्नुपर्छ।'
संवैधानिक राजनीतिक संवाद तथा सहमति सभापतिका हैसियतमा भट्टराईले नै 'मिश्रित निर्वाचन प्रणाली र संसदीय प्रणाली' लाई नै पास गरेर संविधानसभामा पठाएका थिए। आफ्नै नेतृत्वकोे समितिले पठाएको उक्त अजेन्डालाई नै अस्वीकार गर्दै संयोजक भट्टराईले एमाओवादी पार्टी र व्यवस्थापिका संसदको सदस्य परित्याग गरेको ४ महिनापछि औपचारिक रुपमा उठाएका हुन्।
भट्टराईले कार्यकारी प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा आफू रहेको पनि जनाएका छन्। 'त्यसका लागि नयाँ शक्ति नेपालले व्यवस्थापिका र कार्यपालिकाको भूमिका अलग गरी व्यवस्थापिका–संसदका लागि पूर्ण रुपले समानुपातिक निर्वाचन प्रणाली र कार्यपालिकाका निम्ति प्रत्यक्ष निर्वाचित प्रणाली अपनाउन देशव्यापी अभियान चलाउनेछ,' उनले प्रस्ताव गरेका छन्।
काठमाडौंमा जारी नयाँ शक्ति अभियान नेपालको केन्द्रीय अन्तरिम परिषद बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत संविधान संशोधनको प्रस्ताव अघि सारेका हुन्।
तर, केही समयअघि आफ्नो नयाँ पार्टीले 'कम्युनिस्ट सिद्धान्त' नबोक्ने जनाएका भट्टराई त्यसबाट पछिल्लो समय भने पूरै पछाडि हटेका छन्। 'नयाँ शक्ति, नेपाल एउटा पार्टी मात्र नभएर नयाँ युगको आवश्यकता पूर्ति गर्ने वैकल्पिक राजनीतिक धार वा प्रवृत्ति हो,' अगाडि भनिएको छ, 'यो समाजवाद उन्मुख वाम लोकतान्त्रिक शक्ति हुनेछ।' नयाँ शक्तिको नेपालको प्रतिबद्धता पाँच 'स'मार्फत उक्त सैद्धान्तिक मान्यता अघि सारिएको हो।
तर, भट्टराईले प्रस्ताव गरेको 'वाम लोकतान्त्रिक शक्ति'को सो सैद्धान्तिक मान्यता सत्तारुढ दल नेकपा एमालेले अभ्यास गरिरहेको भन्दै बैठक अन्योलग्रस्त बन्न पुगेको केही सदस्यको भनाइ छ।
'नयाँ शक्ति नेपालले एक्काइसौं शताब्दीको आवश्यकता र नेपालको विशिष्टता अनुरुपको समुन्नत समाजवादको नयाँ मोडेल विकास गर्नेछ,' भनिएको छ, 'मार्क्सद्वारा प्रतिपादित र अन्य चिन्तकद्वारा समृद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तन प्रणालीबाट अघि बढेर त्यसको विकास गरिनेछ।' तत्काल उद्यमशील राष्ट्रिय औद्योगिक पुँजीको विकासमा जोड दिँदै समुन्नत समाजवादको आधार तय गर्नेछ।
पत्नि देखी पिएसम्म अन्तरिम केन्द्रीय परिषदमा
नयाँ शक्ति अभियान, नेपालको केन्द्रीय अन्तरिम परिषद तेस्रो पटकसम्म विस्तार हुँदा जम्बो बन्न पुगेको छ। घोषणा सभामा २६ जनाको केन्द्रीय अन्तरिम परिषदबाट सुरु भएको विस्तार तेस्रो पटक पुग्दा २ सय ४५ सदस्यीय भएर जम्बो बन्न पुगेको हो। तेस्रो विस्तारमा पत्नी हिसिला यमीदेखि स्वकीय सचिव विश्वदिप पाण्डेले समेत स्थान पाउन सफल भएका छन्।
यसअघि दोस्रो पटक विस्तार हुँदा सो परिषदमा २२ जना पूर्व माओवादी नेता मात्र थपिएका थिए, जसमा यमीको नाम समावेश भएको थिएन। सोही सूचीमा भट्टराई प्रधानमन्त्री कालका महान्यायाधिवक्ता मुक्ति प्रधान, माओवादी–एमाले र पुनः एमाओवादी हुँदै भएका उद्धव पोखरेल, तिमिल्सना समाजका पूर्व अध्यक्ष शान्तिराज तिमिल्सना, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष केशवमान शाक्य, भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डे, एमाले नेता झलनाथ खनालका पूर्व स्वकीय सचिव निर्मल भट्टराईलगायत २ सय ४५ जनालाई समेटेका छन्।
सो अन्तरिम परिषदको दुईदिने बैठक आइतबार सम्पन्न भएको छ। बैठकले पेसागत संगठनमा प्रविण मिश्र, संगठन विभाग देवेन्द्र पौडेल, आर्थिक तथा सुशासनमा रामेश्वर खनाल, सूचना तथा सञ्चार मुमाराम खनाल, अन्तर्राष्ट्रिय नवराज सुवेदी, प्रशिक्षणमा डम्बर खतिवडा, नीति अध्ययन तथा अनुसन्धान सुरेन्द्र चौधरी, सांस्कृतिकमा अशोक शर्मा, सामाजिक अभियानमा पासाङ शेर्पा चयन भएका छन् भने राजनीतिक विभागको जिम्मेवारी भट्टराई आफैंले लिएका छन्।
उनको पार्टीको प्रस्तावित अजेन्डा पुर्व बिबरण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
No comments:
Post a Comment