Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, February 8, 2016

मधेसी मोर्चाले दिएको धोखाको भंडाफोर गरौ - जेपी गुप्ता

तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले तराई–मधेसमा जारी आन्दोलनको माग पुरा नै नभई आन्दोलनका कार्यक्रम फिर्ता लिएको भन्दै संयुत्तः लोकतान्त्रिक मधेसी मोर्चाको आलोचना गरेका छन् । सोमवार साँझ प्रेस बिज्ञप्ति जारी गर्दै गुप्ताले मोर्चाको आलोचना गदै भण्डाफोरमा आउनसमेत आग्रह गरेका छन् । उनले भनेका छन्–  "मधेस आन्दोलनको कठोर मूल्यांकन गरेर भावी इतिहासले निष्कर्ष निकाल्ने छन् कि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तेस्रो मधेस आन्दोलनलाई क्रमश: कमजोर बनाउदै अन्तत: परिणाम बिहीन बनाए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध पार्टीहरू मूलत: सत्ता समर्पण-मुद्दा विसर्जनवादी नै हुन् । यिनले सडक र संसद दुबै स्थानमा आजसम्म मधेसी जनतालाई धोका नै दिएका छन् ।"  पढौं पुरै बिज्ञप्तिः 

*मधेसी मोर्चाले दिएको धोखाको भंडाफोर गरौ !
*अब नयां बाटो रोजौ !!
*तमरा अभियानको आह्वान !!!

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज औपचारिक रूपमै आफुलाई आन्दोलनबाट पछि फर्काएको छ । मधेस आन्दोलनको कठोर मूल्यांकन गरेर भावी इतिहासले निष्कर्ष निकाल्ने छन् कि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तेस्रो मधेस आन्दोलनलाई क्रमश: कमजोर बनाउदै अन्तत: परिणाम बिहीन बनाए ।

यो मधेसी जनताको स्वत:स्फुर्त आन्दोलन थियो । यथासमय मधेसी जनताको वास्तविक क्रांतिकारी शक्तिको निर्माण नहुदां, सडकमा रहेका शक्तिहरू पनि एकआपसमा मिल्न नसक्दा, नेपाली राज्यसत्ताले पनि मोर्चालाई नै नजिक मानेको साथै भारत सरकारले समेत सम्झौता परस्त संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई टेवा दिएको जस्ता कारणले मोर्चा यस आन्दोलनको कथित रूपमा नेतृत्व गर्न पुगेका हुन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध पार्टीहरू मूलत: सत्ता समर्पण-मुद्दा विसर्जनवादी नै हुन् । यिनले सडक र संसद दुबै स्थानमा आजसम्म मधेसी जनतालाई धोका नै दिएका छन् । संविधान सभामा रहदां मधेसका मुद्दाहरूलाई उठाउन नसक्नु, एक एक गरी मधेसका मुद्दाहरू छोड्दै जानु, संविधान पारित गरिंदाको निर्णायक बखतमा संविधान सभालाई बहिष्कार गरिनु, तर संविधान सभा र संसद परित्याग गर्ने लोभ त्याग्न नसक्नु, शुरूमा दुई दर्जन आन्दोलनकारीहरूको हत्या हुदांसम्म मधेस आन्दोलनका मांगहरूलाई स्पष्ट रूपमा राख्न नसक्नु, लाखौं जनताहरू मधेसका हरेक सदर मुकामहरूमा आन्दोलनरत् रहदां अवस्थाको गलत मूल्यांकन गरि नाकाबन्दीमा जानु, जनताको शक्तिमा भन्दा बिदेशी दाउपेचको गोटी बन्नु, मधेस आन्दोलनलाई निर्णायक बनाउन मधेसी जनताका मांग तथा अपेक्षाका विपरित मोर्चाले अन्तिम समयसम्म मधेसी महागठबन्धन बन्न नदिनु, मोर्चा भित्रै नेतृत्वको अहंकार देखिनु र नेतृत्वको टकराव हुनु जस्ता अनेकन गैर राजनीतिक सोच, संस्कार र चिन्तनका कारणले महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महत्तो तथा महेन्द्र यादवहरूको मोर्चाले मधेसी जनताका बलिदानलाई समाप्त पारे । यसको जति नै निंदा गरेपनि कम हुन्छ ।

मधेसको राजनीतिमा यो "सत्ता समर्पण-मुद्दा विसर्जनवादी" प्रवृति र यसको पिछलग्गु बन्ने भ्रम आन्दोलनकारीहरूमा रहुंजेलसम्म मधेसी जनताको बलिदान कहिल्यै पनि सार्थक हुन सक्दैन । मोर्चाले आन्दोलनलाई अलपत्र पारेपनि, आन्दोलनलाई विचलित पारेपनि मधेसी जनताको हृदयमा रहेको आन्दोलनको धार मर्दैन ।

यसर्थ, अबका दिनमा मधेसी मोर्चाले गर्ने वार्ताको भ्रममा पर्नु हुदैन । नयां सहकार्यका आधारमा मधेस आन्दोलनलाई दीर्घकालीन संघर्षमा रूपान्तरित गर्नु पर्दछ । यो नयां बाटो समात्नु अघि मधेसी मोर्चाले मधेसी शहीदहरूको रगतसंग गरेको खेलवाड तथा यिनले खेलेका घृणित खेल तथा नालायकीको प्रदर्शनलाई संझानमा राख्न बिर्सनु हुदैन । यसको जोडदार रूपमा भंडाफोर गर्दै अबको नयां बाटो र सहकार्यका वारेमा विचार गर्न तमरा अभियान मधेसका सबै स्वभिमानी आन्दोलनकारीमा आह्वान गर्दछ ।

जय प्रकाश गुप्ता
संयोजक, तमरा अभियान
माघ २५ गते, २०७२

No comments:

Post a Comment