वर्षौदेखि मन्दिरमा बस्दै आएकी लाटीले मूर्तिमा नै सु गरको हल्ला गाउँभरी फैलिदै टोल बीचमा रहेको यो चिया पसलसम्म आइपुग्यो।
चियापसल, लाटीले मूर्तिमा सु गरेको हिजो रातीको घटनाले निकै गरमरायो।
यो मेरो गाउँ होइन, त्यसलै प्रतिक्रियाबिहिन भएर चुपचाप चिया पिउँदै एकतर्फी कुरा सुनिरहेछु। किनकी, यही नजिकको गाउँको विद्यालयमा म सरुवा भएर आएको धेरै दिन भएको छैन। यो साँझ, यो चियापसलमा लाटीको सो हर्कतले निकै गर्मागर्मी बहस नै चलायो। लाटीले मूर्तिमा गरेको सुमा तर्क बिर्तक भई रहेका छन्।
सुरुमा बुढा बाले गाली गर्दै भने– असत्ती, त्यसलाई मूर्तिमा मुत्नु पर्ने, थुइक्क पापिनी।
अर्को बोल्योेः त्यहीँ त मुत्ने ठाउँ अरु थिएन र त्यसलाई मूर्ति नै छान्नुपर्ने?
थप आवाज आयो– मन्दिरको हेरचाह पनि गर्छे, सफा सुघ्घर पनि गरिराखेकी छे भनेर गाउँलेले त्यसलाई रामैसँग खान लाउन पनि दिएका थिए, नपचेको क्या!
अर्को अधवैसेले बोल्यो– त्यहीँ त हिजो अस्ति त खुब माया गरीरहेकी हुन्थी त्यही मूर्तिलाई, सुमसुमाउँदै ढोग गरेको देखाउँथी तपाई हामी कोही जाँदा पनि, हिजो नै किन त्यस्तो गरी खै?
जुल्पीवाले केटोले बोल्योः बुद्धी नभएर नै हो, त्यो लाटी भएकी? बुद्धी भएको भए त तपाई हामी जस्तै हुन्थी नी, यहाँ के नौलो कुरा भयो र?
वामपन्थी जस्तो लाग्नेले बोल्यो– मैले त भन्दै थिए नी संसार भौतिकवादमा अडेको छ, धर्म भनेको भ्रम हो, ठगी खाने मेलो हो, त्यसैले अहिले लाटीले चेतना पाई, तिमीहरुले अझै पाएका छैनौ र त दिक्क लाग्छ।
उसकै साथीले हाँस्दै थप्यो– हुन त कार्ल मार्क्सले धर्मलाई अफिम भन्थे, लाटीले मार्क्सवाद पढी की क्या हो?
थप अर्को रौसिदै भन्यो– यो काम पक्कै माओवादीको हो, माओवादीहरुले लाटीलाई उक्साए, अनि मूर्तिमा नै मुतिदिई, त्यहीँ भएर त मलाई माओवादी मन नै पर्दैन।
अर्की एकजना अधबैंसे महिला बोलिन– त्यस्तालाई गाउँ निकाला गर्नुपर्छ।
छेवमै बसेकी अर्कीले चिन्ता ब्यक्त गरी– कसरी अब त्यहाँ पूजा गर्ने? खै कसरी फूल चढाउने, ढोग्ने?
पहिलाका बुढा बोले– असत्ती, त्यसको मुत्ने ठाउँमा त भिरिङ्गी लागोस्, कुहिएर झरोस्, लौ जा मैले त श्रापै दिए।
चिया पसल्नी साउनीले चिया खन्याउँदै भनिन्– बा, त्यसलाई त पहिला नै भिरिङ्गी लागेको छ, के अहिले श्राप दिनुहुन्छ? एकछिन चिया पसलमा गलल हाँसो चल्यो।
साउनीका कुराले बुढा चुपचाप बसे अनि एकछिन पछि थोते दाँत देखाउँदै मुस्कुराए। तर, म बसुन्जेल लाटीले मूर्तिमा किन सु गरी? त्यहाँ कुनै पनि भेद खुल्न सकेन। तर, पनि आ–आफना तर्कविर्तक भनि त्यहाँ प्रस्तुत भइरहेका छन।
मलाई कौतुहल लाग्यो कि साँच्चै वर्षौदेखि मन्दिरमा बस्दै आएकी लाटीले किन रोजेर मूर्तिमा नै सु गरी? त्यसको जवाफ कतैबाट पनि पाइएन। र, यो गाउँमा नयाँ–नयाँ भएकाले मैले मुखै फोरेर सोध्न पनि सकिन।
त्यसको केही दिनपछि म फेरि त्यहीँ चियापसलमा गएँ। त्यहाँ पुग्दा थाहा पाइयो– लाटीले मन्दिर छाडेकी त छैन तर, पूजा गर्न भने बिल्कुलै छाडेकी रहिछे। मन्दिरको वास्तै उ गर्दिन रे। तर, पहिला झै मन्दिरकै छेऊमा भने सुत्ने बस्ने भने अझै गर्दिरहिछे।
गाउँलेले उसलाई पहिला झै माया गर्न छाडेका छन्, रहल पहल खाएर उ बाँच्दै आएकी छे। तर, अहिले मन्दिर चोख्याएर पूजाआजा चाँही सुरु भएको रहेछ.... आदि इत्यादि।
चियाको सुरुप तान्दै गाउँलेका कुरा सुनिरहेँ। र, त्यही यो कुरा पनि थाहा पाइयो कि, …गाउँका सात–आठ जना युवा भिरिङ्गी लागेर सहरमा उपचार गर्न गएका छन रे।' अनि, मैले लाटीलाई हृदयदेखि नै सम्झे।
नोटः यो धेरै पहिला लेखिएको लघुकथा हो, जसले एउटा राष्ट्रिय स्तरको पुरस्कार पनि हात लगाएको थियो, जुन लघुकथा तपाईहरु समक्ष प्रस्तुत गरेको हुँ ।
नोटः यो धेरै पहिला लेखिएको लघुकथा हो, जसले एउटा राष्ट्रिय स्तरको पुरस्कार पनि हात लगाएको थियो, जुन लघुकथा तपाईहरु समक्ष प्रस्तुत गरेको हुँ ।
No comments:
Post a Comment