आज पुष महिनाको अन्तिम दिन माघी पर्वको विधिवत शुरुवात "जिता मर्ना"।
भोलिबाट माघे सङ्क्रान्तिसँगै मकर सङ्क्रान्ति पर्ने गर्दछ तर यसमा पाप काम
नगर्ने हुनाले थारूले पुसको अन्तिम दिनमै मासुका लागि सुँगुरबङ्गुर मार्ने
गर्दछन् । जसलाई थारूमा "जिता मर्ना" भनिन्छ । मासु ल्याई पकाउने र विभिन्न
परिकार बनाई सामूहिक रूपमा खाने प्रचलन छ । यसरी सामूहिक रूपमा एकै कोठामा
बसेर खाँदा आपसी मेलमिलाप र समन्वयको वातावरण निर्माण हुने र सुखदुःखका
कुरा साँटासाँट गर्ने अवसर मिल्ने थारू सोच्दछन् । साँझदेखि खाइपिई रमाइलो
गर्दै रातभरि जाग्रम बसिन्छ । राति डफुसँग धुमरु र धमार गीत गाइ एक आपसमा
रमाइलो गरिन्छ ।
(मेरा मित्र तथा पत्रकार लक्की चौधरीले माघी पर्व र थारुका बारेमा लेखेको यो लेख साभार गरेर तपाईहरुलार्इं उपलब्ध गराएको छु)- "सखिये
हो! माघीक् पिबी गुरी जाँर …’ अधिकांशको मुखारबृन्दमा झुण्डिएको यो थारु
गीतको एक हरफले माघीको रमाइलो अर्थ्याउँछ। एकाअपसमा रमाइलो गर्ने,
साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारुको
महापर्व र नयाँवर्ष हो। नयाँ नीति नियम बनाउने, कार्यान्वयनको प्रतिवद्धता
गर्ने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने माघीले वर्ष भरिको कामको
समिक्षा गर्दछ। एकवर्षे अवधिमा के कति काम भए, के राम्रा भए, के नराम्रा
भए। वार्षिक योजना सफल भए कि भएनन् ? सफल र असफल कति मात्रामा भए? यावत
कुराको लेखाजोखा गहन तरिकाले पर्वमा गर्ने हुनाले यो नर्या वर्षमा दरियो।
जिम्मेवारी पाउनेले जिम्मेवारी निभाउन सक्यो कि सकेन? गम्भीर समिक्षा
हुन्छ।
थारुको मौलिकता बोकेको ऐतिहासिक् चाड माघी
विकासेपर्व हो। यसले ‘मेरो हैन हाम्रो’ भावनाको विकास गर्छ। पूर्खाको
आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको उत्सर्जन
गर्दछ। वर्ष भरिको दुःखसुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो–मसिनो खाएर
आत्मसन्तुष्टि लिने काम हुन्छ। विवाहगरी पराईघरमा गएका चेलीबेटीलाई उपहार
दिने र उनीहरुको सुख–दुःखको कुरा अभिभावकबाट जानकारी लिने काम हुन्छ।
चेलीबेटीले आफूले भोगेका समस्या खुलेर राख्छन् र बुवा–आमासँग सुख–दुःखका
कुराहरु साटासाट गर्ने अवसर पाउँछन्। वर्षभरि गरिएको मेहनत र प्रगतिबारे
एकापसमा जानकारी लिने र समस्याका कुरा अरुसँग साटेर मन हलुङ्गो पार्ने अवसर
माघीले जुराउँछ।
बरघर-सभामुख
थारु समुदायले गाउँको नेतृत्व गर्ने बरघर
(मूल नेतृत्व) माघीमै छनौट गर्छ। बरघर गाउँको मूल नेतृत्वकर्ता हुन्छ। गाउँको नीति
नियम, प्रथा परम्परा सबै उसकै मातहतमा बन्छन् र कार्यान्वयनमा जान्छन्। तर
यी सबैकाम बरघरको नेतृत्वमा गाउँलेहरु सामुहिक सहमतिमै निर्क्यौल गर्छन्।
बरघरको प्रस्तावमाथि गम्भीर छलफल भएर सबै निर्णयहरु सर्वसम्मत हुन्छन्।
कसैलाई चित्त नबुझेको कुरा भन्न छुट हुन्छ तर तर्कसहित सहमत पारिन्छ। गाउँको
नीति नियम बेलायतको संविधानजस्तै अलिखित् नै हुन्छन्। बरघरको प्रतिवद्धता
नीति नियमभन्दा कडा हुन्छ। बरघरलाई सहयोग गर्ने अन्य जिम्मेवारीका सहायक
नेतृत्वकर्ता पनि हुन्छन्। उनीहरु बरघरकै सहयोगमा तल्लिन हुन्छन्। सामुहिक
छलफलबाट जे निर्णय हुन्छ, कार्यान्वयन पनि त्यहीअनुरुपले हुन्छ। यही बरघरको
नेतृत्व र गाउँको सामुहिक प्रयासको सफलता हो।
माघी पर्व यस अर्थले पनि महत्वपूर्ण छ कि माघे संक्रान्तिका दिन नदी, पोखरी
तथा जलासयमा गएर नुहाउँदा वर्षभरिको गलत कामको दोस पखालिन्छ भन्ने गहिरो
जनविश्वास छ। त्यो दिन सशुल्क स्नान गरिन्छ। जलदेवतालाई पैसा चढाएरमात्र
नुहाइन्छ। कामको सिलसिलामा घरबाहिर गएकाहरु माघीमा अनुकुलता मिलाएर घर
फर्कन्छन्। मिलनको अवसर जुराउने यस पर्वले गाउँमा नयाँ नेतृत्वको छनौट
गर्दछ। थारु गाउँमा भलमन्सा (बरघर) चुन्ने प्रचलन हुन्छ। त्यही बरघर
(गाउँको अगुवा) ले गाउँको नेतृत्व गर्दै गाउँको सुखदु, विकास निर्माणमा
नेतृत्व गर्छ। त्यसको मातहतमा अन्य जिम्मेवारी लिने सहायक अगुवा पनि हुने
गर्छन्। गाउँको नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति तोक्ने निर्क्यौल
हुन्छ। गाउँको नेतृत्वकर्ता (बरघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको
काम गर्ने (चौकीदार) को नयाँ व्यवस्था गरिन्छ। उनीहरुको वर्ष भरिको
पारिश्रमिक र जिम्मेवारी तोकिन्छ। वर्ष भरिको घरको नाफा नोक्सानको समिक्षा
गरी चित्तबुझ्दो भए घरमुली पुनः एक वर्षका लागि नियुक्त गर्ने, नभए अर्को
व्यवस्था हुन्छ। घरको अनुशासन कायम घरमुलीले गर्छ भने गाउँको बरघरले।
गाउँको नीति नियम बनाउने र त्यसको कार्यान्वयन गराउने जिम्मेवारी गाउँ भरिका
सदस्यहरु सामुहिक छलफल गरेर बरघरलगायतका पदाधिकारीलाई सुम्पने गर्दछन्।
बर्ष भरिको कामको जिम्मा लिएको बरघरले काम चित्तबुझ्दो नगरे छलफलबाट उसलाई
बीचैमा लोकतान्त्रिक प्रक्रियाले हटाउन सकिन्छ। गाउँको साझा नीतिनियम
बमोजिम पदाधिकारीले काम गर्नुपर्ने हुन्छ। त्यसो हुननसके गाउँको व्यवस्थापन
र अनुशासन खलबलिन सक्छ। यसप्रति सबै चनाखो हुन्छन्। माघीदेखि थारुहरुको
नयाँ खाताको सुरुवात हुन्छ। तिर्नुपर्ने ऋणहरु चुक्तागर्ने र नयाँ कामको
प्रारम्भ गर्छन्। कुलोपानीको उचित व्यवस्थापनको प्रबन्ध मिलाइन्छ। थारुहरु
बरघर छनौटगर्दा गाउँको सक्षम व्यक्तिको चयन गर्दछन्। पुरुष या महिला जो
नेतृत्वका लागि सक्षम हुन्छ त्यही नै बरघरको जिम्मेवारी सम्हाल्ने
मौका पाउँछ। थारु गाउँमा महिलाहरु बरघर हुने प्रचलन उहिले देखिको हो। तर
संख्यात्मकरुपमा महिला बरघर भएको निकै कम उदाहरण भेटिन्छ।
जीतामार्ने चलन
माघे संक्रान्ति मकर संक्रान्तिसँगै
पर्ने हुनाले त्यसदिन अशुभ काम गरिदैन। थारुहरु पुसको अन्तिम दिन नै मासुका
लागि सुंगुर–बंगुर काट्ने गर्छन्। जसलाई थारु भाषामा ‘जीता मार्ने’ भनिन्छ।
मासुको लागि जीता भरसक गाउँबाटै खोज्ने गरिन्छ। त्यो सम्भव नभए अन्य
गाउँ ठाउँमा गएर पनि सुंगुर–बंगुर खरिद गर्ने चलन छ। गाउँको भलमन्साको घरमा
सामुहिक जम्मा भई मासु काटेर भाग लगाई वितरण गरिन्छ। मासु खान पाइने हुनाले
सो दिन गाउँघरका केटाकेटीहरु निकै फुरुङ्ग हुनेगर्छन्। माघे संक्रान्तिका
दिन गेडागुडीका विशुद्ध चोखो चिज बस्तुहरु घरमा बनाईन्छ। चेलीबेटीलाई माइतमा
बोलाई मीठो मसिनो खान दिइन्छ।
चेलीबेटीलाई उपहार
यस पर्वमा थारुहरु आफ्ना चेलीबेटीलाई
गच्छ अनुसार उपहार टक्र्याउँछन्। चेलीबेटीका लागि उपहारको भाग नछुट्याएसम्म
आफू खानासमेत खाँदैनन्। कुखुरा बासेपछि शुद्ध जलाशयमा स्नानगरी घर आएर
चेलीबेटीका नाममा नुन, चामल, दाललगायतका खाद्यान्नहरु छुट्याएर बाँकी कामको
शुरुवात हुन्छ। त्यसका अतिरिक्त नगद, लत्ता कपडा तथा अन्य सामग्री पनि
चेलीबेटीलाई उपहारको रुपमा दिइन्छ। विवाहगरी अर्काको घरमा गएका चेलीलाई
मात्र सो सामान उपहारस्वरुप दिने गरिन्छ। जसलाई थारुमा ‘निसराउ’ भनिन्छ।
माघीको निसराउ नपाए चेलीबेटीहरु आफू माइतबाट उपेक्षित भएको महशुस गर्छन्।
त्यसैकारण त्यसको अनिवार्यता रहन्छ। यस्तो उपहारले आफ्ना चेलीबेटीसँगको
सम्बन्ध सुधारमा ठूलो महत्व राख्ने थारुहरुको बुझाइ छ।
थारु र दारु
विशेषगरी माघीमा थारुहरु ढिक्री, मुरही,
खिचरी, तिलको लड्डु, खँरिया, अण्डीभात, सखरखण्ड, तरुल, माछा, गंगटा, मासु,
जाँड र त्यसको झोल एवं दारुलगायतका परिकार खाने गर्दछन्। माघे संक्रान्तिको
अघिल्लो दिन रातभरी जाग्राम बसी धुमरु गीत तथा डफुहरु बजाई मनोरञ्जन गर्छन्।
थारु गाउँघरमा एउटा उखान छ ‘जाँर ना दारु काहेक् थारु’ (दारु नभएको पनि के
थारु)। त्यसैले माघी पर्वमा प्रायः सबै घरमा जाँड र दारुको व्यवस्था गरिएको
हुन्छ। घरमै उत्पादन गरिएका अन्नका ती जाँडहरु सत्कार स्वरुप पाहुना तथा
घरगाउँका सदस्यलाई खान दिइन्छ। अघि पछि काममा व्यस्त हुने थारुहरु चाडपर्वमा
खुलेरै रमाइलो गर्छन्। आफू पनि खाने र अरुलाई पनि खुवाउने गर्छन्। घरका
सदस्यहरु सँगै गाउँका अन्य सदस्यहरुलाई पनि बोलाई सत्कार गर्छन्। काम गर्न र
खानमा नहिच्किचाउने थारुहरु परि आएको बेला जस्तो सुकै सहयोग गर्न तयार
हुन्छन्। थारुहरु घरमै अन्नको दारु (रक्सी) उत्पादन गर्छन्। जसलाई
सगुनको रुपमा पहुनाको स्वागतार्थ प्रयोग गरिन्छ।
साताभरी राम-रमाइलो
पुसको अन्तिम दिनबाट शुरु हुने माघीपर्व
करिब साताभरी मनाइन्छ। पहिलोदिन माघेसंक्रान्ति, दोस्रोदिन खिचडी भात
पकाइ खाने ‘खिच्रहुवा’ पर्व मनाइन्छ। त्यसपश्चात् साताभरी नाचगान गरी रमाइलो
गरिन्छ। गाउँमा केटाकेटी, उमेरले अधवैसे तथा बुढाबुढीको अलग–अलग समूह बनाई
नाचिन्छ। सामुहिक नाचले गर्दा हप्ता दिनसम्म गाउँ नै गुञ्जयमान हुन्छ।
माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरालगायतको नाच नाचिन्छ। नाचसँगै
जाँडको झोल र रक्सी पिउने चलन छ। जसलाई थारुमा ‘छाँकी पिलाएको’ भनिन्छ।
नाचेबापत दक्षिणा असुली त्यसलाई विकास निर्माणको काममा लगानीगर्ने प्रचलन
अहिले बढेको छ।
यसो गर्दा एकातिर सामाजिक सदभाव पनि कायम हुन्छ, अर्कोतिर
संस्कृतिको जगेर्ना पनि हुन्छ। मनोरञ्जन बाहेकका बाँकी समय हरहिसाव तथा
नेतृत्व छनौट गर्ने काममा थारुहरु समय खर्चन्छन्। नाच नाच्दा मादले र
नाच्नेको अनिवार्य व्यवस्था गरिन्छ। थारुहरु माघीको अतिरिक्त, दशैं, तिहार,
होली, अतवारी, जितिया, सिरुवा, कृष्णाष्टमी, गुरिया, छठ, भजहर लगायतका
चाडहरु धुमधामसँग मनाउँछन्।
धमार गित :
कौने मास बसन्दर फुले कौने मास आम मौड़े रे ।
कौने मास बन फुली गिल टेंसु चम्पा कै फूल ।।
माथे मे रहे कुमिलाई ।।।
माघ मास बसन्दर फुले फागुनी मास आम मौड़े रे ।
चैत मास बन फुली गैल टेम्सु चम्पा कै फूला ।।
मठेमे रहे कुमिलाई ।।।
एक बन नाघल कुब्जा रे दुइ रे बन चापल ।
तिसरे बन भई गैल थाह्र दिदि रे गोह्रावै ।।
तिसरे बन नाघल कुब्जा रे चौथे बन गोह्रावे ।।।
(तस्बिर र शब्द साभारः थारुवान डटकम र थारु कम्युनिटीको फेसबुक पेज )
कौने मास बसन्दर फुले कौने मास आम मौड़े रे ।
कौने मास बन फुली गिल टेंसु चम्पा कै फूल ।।
माथे मे रहे कुमिलाई ।।।
माघ मास बसन्दर फुले फागुनी मास आम मौड़े रे ।
चैत मास बन फुली गैल टेम्सु चम्पा कै फूला ।।
मठेमे रहे कुमिलाई ।।।
एक बन नाघल कुब्जा रे दुइ रे बन चापल ।
तिसरे बन भई गैल थाह्र दिदि रे गोह्रावै ।।
तिसरे बन नाघल कुब्जा रे चौथे बन गोह्रावे ।।।
(तस्बिर र शब्द साभारः थारुवान डटकम र थारु कम्युनिटीको फेसबुक पेज )
No comments:
Post a Comment