Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, March 7, 2016

देउवाको प्रस्ताव पौडेलले सोमवार नमान्दा...

सभापति निर्वाचित हुन पहिलो चरणमा ५१ प्रतिशत मत नआएपछि कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सोमबार बिहान सभापतिका प्रत्यासीद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई भेटेका थिए । देउवाले पौडेल र सिटौलालाई उनीहरूकै निवास पुगेर भेटेका थिए ।
सिटौलासँगको भेटमा देउवाले ५१ प्रतिशत मत नआए पनि आफूले बहुमत ल्याएको भन्दै दोस्रो चरणको निर्वाचनमा नजान र मिलेर जान प्रस्ताव गरेका थिए । जवाफमा सिटौलाले आफू त्यसका लागि सकारात्मक रहेको भन्दै साथीहरूसँग छलफल गर्ने बताए ।
सिटौलासँगको भेटपछि देउवा पौडेललाई भेट्न उनको निवास पुगे । देउवाले दोस्रो चरणको निर्वाचनमा नजान र मिलेर अघि बढ्न प्रस्ताव राखेका थिए । तर पौडेलले ‘आज दिनभरि मतदान गरेर बेलुकासम्म परिणाम आइहाल्छ, यो मैत्रीपूर्ण निर्वाचन भएको’ भन्दै देउवाको प्रस्ताव अस्वीकार गरेको उनी निकट एक नेताले बताए । देउवाको प्रस्ताव अस्वीकार गरेपछि पौडेलले कांग्रेस नेता डा.शशांक कोइराला, मिनेन्द्र रिजाललगायतसँग छलफल गरेका थिए ।

स्रोतका अनुसार नेता देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजान सहमति र सहकार्य रहेको भन्दै आफू जुनसुकै प्रस्ताव पनि मान्न तयार रहेको जनाएका थिए । सकेसम्म दोस्रो निर्वाचनमा नजाँदा पार्टीमा भावनात्मक एकताको विकास हुने भन्दै देउवाले सहमतिको प्रयास गरेका थिए । तर उनको बिहानभरिको प्रयास सफल नभएपछि सोमबार दिउँसो २ बजेदेखि दोस्रो चरणको निर्वाचन भएको थियो ।
सभापतिका दुई प्रतिस्पर्धी उम्मेदवारको मत जोड्दा पनि आफूले ल्याएको जति मत नपुगेको भन्दै देउवा चुनाव गराउने पक्षमा थिएनन् । तर कार्यबाहक सभापति पौडेल कै अस्वीकारका कारण त्यो सम्भव नभएको देउवाले आफू निकट नेताहरूसमक्ष बताएका छन् । नेता देउवाले आइतबार साँझ र सोमबार बिहान साढे ७ बजे सिटौलासँग भेटवार्ता गरी मिलेर जान प्रस्ताव गरेका थिए । देउवाको सो प्रस्तावअनुसार नै सिटौलाले सोमबार दुईवटा विज्ञप्ति जारी गरेका थिए ।

No comments:

Post a Comment