

स्थापना भएको दुई वर्ष नहुँदै दुई उपाध्यक्षले पार्टी परित्याग गरेका छन् भने अन्य पदाधिकारी पनि निष्त्रि्कय छन्। धेरैजसो नेता तथा कार्यकर्ता मूल पार्टी नेकपा एमालेमै फर्किन थालेका छन्।
वरिष्ठ उपाध्यक्ष विजय सुब्बा, सचिव मीना गुरुङ र केन्द्रीय सदस्य सदस्य चन्द्रलाल क्याप्छाकी मगरले गत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरे भने त्यसअघि अर्का उपाध्यक्ष गोपाल ठाकुर, स्थायी समिति सदस्य जोगीलाल यादव र केन्द्रीय सदस्य अनिल मिश्रले पार्टी परित्याग गरेका थिए। हाल पार्टीमा निष्त्रि्कय भएका उपाध्यक्षद्वय रिजवान अन्सारी र दानबहादुर विश्वकर्मालगायत पनि पार्टी परित्यागको अवस्थामा पुगेका छन्।
विचार निर्माण तथा त्यसलाई स्थापित गर्ने सवालमा कमजोरी भएको, नेतृत्वको कार्यशैली हैकमवादी तथा एकल निर्णयवाट चल्न खोजेको तथा पार्टी निर्माण अपारदर्शी भएको जस्ता आरोप लगाउँदै सुब्बालगायतले पार्टी परित्यागको घोषणा गरेका हुन्। ‘सल्लाहअनुसार उहाँ (अध्यक्ष) चल्दै चल्नुभएन, जे मन लाग्यो पार्टीभित्र त्यही गर्ने तथा अरूको कुरा सुन्न नचाहने प्रवृति नसुधारेपछि बाध्य भएर छाडयौं,' पार्टी प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएका सुब्बाले नागरिकसँग भने। सुब्बासँगै पार्टी छाडेकी सचिव गुरुङ महिला संघको समेत अध्यक्ष थिइन्।
एमाले ‘एकल जातीय पहिचानयुक्त राज्यको पक्षमा नउभिएको' भन्दै तत्कालीन उपाध्यक्ष राईको नेतृत्वमा केही आदिवासी/जनजाति र मधेसी नेताले समाजवादी पार्टी गठन गरेका हुन्। तर, दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुनै पनि सिट नजिते पनि समानुपातिकतर्फ प्राप्त ५ सिटका लागि पार्टीमा चरम विवाद भएको थियो। अध्यक्ष राईले बहुमत सदस्यको निर्णय अस्वीकार गर्दै आफैं सभासद भएको आरोप असन्तुष्ट नेताले लगाउँदै आएका छन्। उक्त पार्टी यतिखेर एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चामा आबद्ध छ।
सुब्बालगायत नेताले एमालेमार्फत लाभको पदमा जान पार्टी परित्याग गरेको संघीय समाजवादी पार्टीका सचिव आङ्काजी शेर्पाले टिप्पणी गरेका छन्। ‘संघीय समाजवादीका केही नेताले एमालेमार्फत २६ सभासद र मन्त्री हुने प्रलोभनमा पार्टी परित्याग गरेका छन्,' शेर्पाले भने।
त्यसअघि पार्टी छाड्ने उपाध्यक्ष ठाकुर, स्थायी समिति सदस्य यादव र केन्द्रीय सदस्य मिश्रले पार्टी केही सीमित जाति र केही व्यक्तिको स्वेच्छाचारितामा चलेको आरोप लगाएका थिए। उनीहरूले मधेसी दलित, मुस्लिमलगायत पीडित समुदायको मुद्दा सम्बोधन नहुने पर्याप्त आधार खडा भएको दाबी गर्दै पार्टी छाड्नुपरेको बताएका थिए।
तराई–मधेसका शीर्ष नेताहरूकै पार्टी परित्याग र निष्त्रि्कयताले संगठन विस्तार हुन नसकेको ठाकुरले जिकिर गरेका छन। ‘तराई–मधेसमा संगठन बनाउने र बढाउने नेतामध्येमा म निस्किहालँ र रिजवानजी पूरै निष्त्रि्कय नै हुनुभएको छ, अनि कसरी बन्छ संगठन?' ठाकुरले नागरिकसँग भने, ‘समाजवादी पार्टी तराई र मधेसको विपक्षमा त छँदैछ, आदिवासी जनजातिमा पनि ठालु भनाउँदाको पक्षपोषण गर्छ। यसले वास्तविक आदिवासी/जनजातिको वकालत गर्न सक्दैन।'
रेडियो नेपालका जागिरे ठाकुरलाई एमालेले पहिलो संविधानसभामा सभासद बनाएको थियो।
उपमहासचिव अजम्बर काङमाङ राईले दीर्घकालीन लक्ष्य लिएर हिँडेको पार्टीमा अल्पकालीन स्वार्थ बोकेर आउनेहरू बाहिरिनु स्वाभाविक भएको प्रतिक्रिया दिए। अल्पकालीन स्वार्थ लिएर आएका नेता बाहिरिँदा पार्टीलाई फाइदा नै भएको काङमाङको भनाइ छ।
No comments:
Post a Comment