Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, June 2, 2014

एमाओवादीमा ‘प्रचण्ड राज’, बाबुराम हुदै गए 'काम न काज'

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अर्का बरिष्ठ नेता बाबुराम भट्टराई बिना नै पार्टी चलाउन खोजेका छन । समानुपातिक सभासद चयन देखी गत शनिवारसम्मका घटनाक्रम अध्ययन गर्दा अध्यक्ष दाहालले भट्टराई बिना नै एक्लै पार्टी चलाउन खोजेको देखिएको छ । ुसमानुपातिक सभासद चयन देखी भट्टराईलाई पेल्दै आएका दाहालले शनिवारसम्म आइपुग्दा पार्टी भित्र सो समुहलाई जिम्मेवारी बिहिन नै बनाई दिएका छन् । जसले माओवादीलाई कहाँ पु¥याउँछ ? यसको हिसाव किताव इतिहासले नै खोज्ला ।  दुई बर्ष अघि पार्टी विभाजन गरी हिडेका मोहन बैद्य पक्षसँग पार्टी एकताको तयारीमा ब्यस्त अध्यक्ष दाहालले भट्टराईलाई छाडेर अघि बढने योजना अनुुसार सो कार्य गरिरहेको माओवादी स्रोतहरुले बताएका छन् ।

‘बाबुरामजीले धेरै दुःख दिनु भयो, उहाँका कारण पार्टी विभाजन भयो र चुनावमा क्षति पनि हुन पुग्यो, संगठन पनि अस्तब्यस्त हुन पुग्यो,’ दाहालले आफु निकटहरुसँग भन्दै आएका छन, ‘बाबुरामजीलाई छाडेर अघि नबढेसम्म अब पार्टी रुपान्तरण हुन सक्दैन् ।’ दाहालको यही बुझाई र निष्कर्षका कारण भट्टराई पक्ष पार्टी भित्र जिम्मेवार बिहिन हुन पुगेका हुन । गत संविधानसभा निर्वाचनमा पार्टी पराजय हुनुका अन्य धेरै कारण मध्ये संगठन अस्तब्यस्त हुनु पनि एक रहेको दाहालको निष्कर्ष छ । दाहालका अनुसार यदी भट्टराईले उपाध्यक्ष ‘पद त्याग’ नगरेको भए संगठन बलियो हुन्थ्यो । र, निर्वाचन परिणाम उत्साहजनक आउँदथ्यो तर भट्टराईको ‘पद त्याग’ले निर्वाचन परिणाममा नै उल्टो क्षती पुग्यो ।
दोस्रो, निर्वाचन परिणाम पछि धाँदली भयो भन्दै ‘संविधानसभा’ नै छाड्न पहिला भट्टराईले उक्साए पछि सोही अनुसार अभिब्यक्ति आफुले दिएको तर पछि भट्टराईले सामाजिक सञ्जालमार्फत संविधानवाट पार्टी नभाग्ने भन्दै दाहालको भनाई खण्डन गरि दिएका थिए । ‘मध्यरातमा लाजिम्पाट पुगेर मत गणकहरुलाई फिर्ता बोलाउन लगाउने पनि उहाँ नै, संविधानसभामा नबस्ने भनेर बोल्नुहोस भनेर अध्यक्षलाई उक्साउने पनि उहाँ नै तर आफु चाँही फेसबुकवाट संविधानसभावाट माओवादी भाग्दैन पो भन्न थाले ।’ दाहाल निकट नेताहरुको अनुसार भट्टराईले सो बेलामा अध्यक्ष दाहालले सो अभिब्यक्ति दिन लगाएर ‘ड्यामेज’ गराउने कार्य गरेका थिए ।
जानकारहरुका अनुसार आफु प्रधानमन्त्री हुदाँ अध्यक्ष दाहालले धोका दिदै गएकाले त्यसको रिस भट्टराईले पछिल्लो समय फेर्ने गरेको दाहालको बुझाई रहदै आएको छ । ‘संविधानसभा र ब्यवस्थापिका संसद बिघटन गराएर लामो समय सत्ता चलाउने बाबुरामजीको योजनामा अध्यक्ष बाधक बनेको उहाँको बुझाई रहदै आएको छ’ दाहाल निकट नेताहरुले भन्दै आएका छन, ‘तर, सत्ता कब्जा गरेर अघि बढने योजना सफल नहुनुमा अरु पार्टीका नेताका भन्दा पनि आफनै अध्यक्ष प्रचण्ड मुख्य बाधक भएको र आफु सरकारवाट गलहत्तिनु परेको उहाँको बुझाई रहदै आएको छ ।’ सोही कारण नै, भट्टराईले निर्णायक अवस्थामा अध्यक्ष दाहाललाई धोका दिने र असफल नेतृत्व भनेर पुष्टी गराउन हरदम प्रयत्न गरिरहेका छन् ।
त्यसो त सोही आवेगमा रन्थनिएका अध्यक्ष दाहालले समानुपातिक सभासद चयनमा भट्टराई (नारायणकाजी श्रेष्ठसमेत)को बिरोध र असहमतिको बाबजुद पनि सभासद चयन गरेका थिए । समानुपातिक सभासदको सुची निर्वाचन आयोगमा पेश गर्नु अघिल्लो दिन लाजिम्पाटस्थित दाहाल निवास पुगेका भट्टराईले अघिल्लो दिन तयार पारिएको (जो पत्रपत्रिकामा सार्वजनिक भइसकेको थियो) सुची प्रति आपत्ति जनाए । तर पनि दाहालले सार्वजनिक भइसकेको सुची सच्चाउने कुनै संकेत गरेनन । त्यस पछि भट्टराई निकै रिसाए । रिसाएका भट्टराईलाई फकाउनुको सट्टा दाहालले सोही राती आफनै निवास पुगेका भट्टराईलाई भनिदिए, ‘न्याय नपाए गोर्खा जानु ।’ त्यसपछि जुरुक्क उठेर भट्टराई हिडे तर दाहालले भोली पल्ट कुनै पनि नाम परिवर्तन नगरी सुची निर्वाचन आयोगमा पेश गरे । त्यही सुचीको आधारमा आयोगले एमाओवादी समाुनपातिक सभासदको नामावली घोषणा ग¥यो ।
त्यसो त बैशाख १७ गतेका लागि आयोजना गरिएको राष्ट्रिय सम्मेलन रोकेर बिशेष महाधिवेसनमा जान भट्टराई (श्रेष्ठसमेत)ले निकै जोड गरे । तर, भट्टराईको कुरै सुन्न छाडेका दाहालले धमाधम जिल्ला सम्मेलन गरी सम्मेलन प्रतिनिधि चयन गरे र कतिपय जिल्लामा पदाधिकारी पनि चयन गर्न काम गरे । महाधिवेसनमा जानु पर्ने जोडलाई अध्यक्ष दाहालले लत्याएर जिल्ला सम्मेलन गरे पनि भट्टराईले त्यसमा कुनै चासो देखाएनन तर दाहालले भने त्यहाँवाट आफु निकटहरुलाई प्रतिनिधि चयन गरेर बिराटनगर पु¥याउने काम गरे ।
तेस्रो पटक भट्टराईलाई अध्यक्ष दाहालले केन्द्रीय समिति गठन प्रक्रियामा माइनस गरेर अघि बढे । भट्टराई र श्रेष्ठका बिरोधका बाबजुद बिराटनगर सम्मेलनवाट एकपक्षिय रुपमा केन्द्रीय समिति घोषणा गरे । त्यसमा भट्टराईसहित १७ जनाले अस्विकार गर्दै हलवाट बाहिर निस्के तर दाहालले भने भट्टराईलाई रोक्नेसम्म प्रयास सम्म गरेनन्, उनलाई सम्मेलन स्थल छाडेकोमो धन्यवाद नै दिन पो पुगे । भट्टराई हिडे पनि वाँकी रहेका ८२ जनालाई सम्मेलन स्थलवाट अनुमोदन गराएर केन्द्रीय समिति गठन गरे ।
लगत्तै, काठमाडौंमा पुनः दाहाल–भट्टराई बिच वार्ता भयो । त्यहाँ भट्टराईले संसदीय दलको नेता कृष्णबहादुर महरालाई बनाउनु पर्ने तथा महासचिव आफु निकट टोपबहादुर रायमाझीलाई बनाउनु पर्ने अडान राखे । तर, दुवै मागलाई दाहालले अस्विकार गरेर अघि बढि दिए ।
बिराटनगर सम्मेलनको म्यान्डेट अनुुसार १ सय ५१ सदस्सीय केन्द्रीय समिति बनाउने तयारी चलिरहदाँ भट्टराईले फेरी ३३ प्रतिशत आफुलाई दिनु पर्ने अडान राखे । त्यसलाई पनि अस्विकार गर्दै दाहालले २९ जना मात्र भट्टराई पक्षका नेतालाई केन्द्रीय समितिमा ल्याए ।
पदाधिकारी जिम्मेवारी बाडफाँड सहमतिको आधारमा गर्नु पर्ने भट्टराईको मागलाई अस्विकार गर्दै दाहालले निर्वाचन प्रक्रियामा जाने निर्णय लिए । सो निर्वाचनलाई भट्टराई पक्षले उम्मेदवारी मात्रै नदिएको होइन्, निर्वाचनमा मतदान पनि गरेनन तर ‘सबै उम्मेदवार सबै मतदाता’ भन्ने निर्वाचन बिधि बनाएर भट्टराई पक्षका ७ जनालाई निर्वाचित गराई दिए । जसमा भट्टराई पक्षले आपत्ति जनायो र कुनै पनि ‘बिजयी पद’मा नबस्ने घोषणा नै ग¥यो ।
सो वाट असन्तुष्ट भट्टराई पक्षधरले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो बैठकमा नबस्ने तर केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यको हैसियतमा मात्रै बस्ने घोषणा गरे लगत्तै अध्यक्ष दाहालले आफु निकटहरुलाई मात्रै समेटेर कार्यविभाजन गर्ने प्रस्ताव गरे । जुन छलफलको क्रममा नै छ तर त्यसमा भट्टराई पक्षले आपत्ति जनाई रहेको छ ।
त्यति मात्रै होइन, बिजयी भएका कुनै पदमा नबस्ने घोषणा भट्टराई पक्षले गरे पछि सो रिक्त पदमा पदपुर्ति गर्ने तयारी अध्यक्ष दाहालले गरिरहेका छन । केही दिनमा ‘बिजयी गराइएका’ भट्टराई पक्षका ७ स्थानमा नयाँ ब्यक्ति चयन भएको घोषणा गरियो भने आश्चर्य नमाने हुन्छ किनकी घटनाक्रमले अध्यक्ष दाहाल एक्लै बढिरहेको र बढन खोजेको जो पुष्टी घटनाक्रमले देखाइरहेको छ ।
परिणाम, माओवादी भित्र ‘प्रचण्ड राज’ चम्किरहेको बेला भट्टराई भने क्रमशः छायाँमा पर्दै गएका छन् । पार्टी भित्र भट्टराई ‘काम न काज’का रुपमा देखिएका छन, जसलाई स्थापित गराउनका लागि दाहाल स्वयंं प्रयत्नशिल भइरहेका छन् ।

No comments:

Post a Comment