Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, December 28, 2013

पहिला मन्त्रीका लागि फोडिने, अहिले थच्चिए पछि जोडिने

निर्वाचन परिणामले अप्रत्याशित रूपमा कमजोर बनाएलगत्तै संविधानसभामा प्रतिनिधित्व गर्ने र नगर्ने दुवै किसिमका तराई–मधेसकेन्द्रित दलले एकता र मोर्चाबन्दीको प्रयास थालेका छन्।
संविधानसभामा मधेस मुद्दालाई स्थापित गराउने उद्देश्यले एकता र मोर्चाबन्दीको प्रयास थालेको मधेसकेन्द्रित दलका नेताहरूले जनाएका छन् । आ–आफ्नो पार्टीभित्र नीतिगत निर्णय गरी उनीहरूले एकता र मोर्चाबन्दीको प्रयास सुरु गरेका हुन् ।
समानुपातिक सभासद चयनमा व्यस्त तराई–मधेसकेन्द्रित राजनीतिक दलले सो विषय टुंगो लगाएलगत्तै एकीकरण, मोर्चाबन्दी र सहकार्यका लागि पहल सुरु गर्ने भएका छन् । छलफल भने सुरू भइसकेको छ ।
जानकार स्रोतका अनुसार तीन समूहमा त्यस्ता एकता र मोर्चाबन्दी गर्ने गरी छलफल अघि बढेको छ । तराई–मधेसकेन्द्रित राजनीतिक दलमध्ये सबैभन्दा ठूलो विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको मंसिर २२–२४ गते सम्पन्न केन्द्रीय समिति बैठकले औपचारिक रूपमै सबैभन्दा पहिला एकता, सहकार्य र मोर्चाबन्दीका लागि पहल गर्ने निर्णय गरेको थियो ।
'समानुपातिकको टुंगो लाग्नेबित्तिकै मधेसवादी दलसँग एकता, मोर्चाबन्दी र सहकार्यका लागि पहल सुरु हुन्छ,' फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादवले नागरिकसँग भने । उनका अनुसार फोरम लोकतान्त्रिक एजेन्डा र विचार मिल्ने सबैसँग सकेसम्म पार्टी एकता र त्यो सम्भव नभए मोर्चाबन्दी गरेर अघि जाने पक्षमा छ ।
को-को सँग जोडिन खोज्दैछन् ? 

राजनीतिक दल                                                     अध्यक्ष 
१. मधेसी जनअधिकार फोरम नेपाल                           उपेन्द्र यादव
२. तराई मधेस लोकतान्त्रिक पार्टी                               महन्थ ठाकुर 
३. सदभावना पार्टी                                                      राजेन्द्र महत्तो  

राजनीतिक दल                                                        अध्यक्ष 
१. मधेसी जनअधिकार फोरम गणतान्त्रिक                   राजकिशोर यादव
२. संघीय सदभावना पार्टी                                             अनिलकुमार झा 
३. नेपाल सदभावना पार्टी                                             सरिता गिरी
४. तराई मधेस फोरम                                                   अमर यादव 

एक्ला एक्लै हिडेका दल 

राजनीतिक दल                                                     अध्यक्ष 
१. मधेसी जनअधिकार फोरम लोकतान्त्रिक               बिजयकुमार गच्छदार 
२. तराई मधेस सदभावना पार्र्टी                                महेन्द्रराय यादव 
३. मधेस समता पार्टी                                                मेघराज नेपाली निषाध 

निर्वाचनअघि एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा आबद्ध लोकतान्त्रिकले निर्वाचनपछि भने सो गठबन्धन औपचारिक रूपमा नै छाडिसकेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध अन्य चार दल भने निर्वाचनमा धाँधली र षड्यन्त्र भएको भन्दै एमाओवादीसँगै छन् । त्यसैले लोकतान्त्रिकको नेतृत्वमा फरक मोर्चाको सम्भावना देखिएको छ । महेन्द्र राय यादव नेतृत्वको तराई–मधेस सद्भावना पार्टी भने अझै पनि एकता र मोर्चाबन्दीका बारेमा खुलिसकेको छैन ।
उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरण र एकताको तहसम्म छलफल सुरु भएको छ । तिनीहरूले औपचारिक निर्णय नै गरेर गृहकार्य सुरु गरेका हुन् ।
'मधेस आन्दोलनपछि भएको आठबुँदे सहमतिमा हस्ताक्षर गरेका दलबीच एकीकरण गर्ने प्रयास स्वरुप पहल सुरु भएको हो,' तमलोपाका केन्द्रीय सदस्य सुरेश मण्डलले नागरिकसँग भने, 'विभाजित भएर नगएको भए मधेसकेन्द्रित दलले ८० सिटमा विजय हासिल गर्ने सम्भावना रहेको तथ्यांकले देखाएको छ, त्यसले पनि एकता अनिवार्य बनायो ।'
मण्डलका अनुसार आठबुँदे सहमतिका हस्ताक्षरकर्ता दलबीच हुने एकीकरणले तराई–मधेसमा पार्टी थप बलियो बन्ने ठम्याइ छ । त्यसका लागि तीनै दलका अध्यक्षबीच अनौपचारिक रूपमै विभिन्न चरणमा छलफल भइसकेको उनले जानकारी दिए । 'पार्टीको जारी केन्द्रीय समितिले एजेन्डा र विचार मिल्ने मधेसवादी दलबीच एकता र मोर्चाबन्दी
गरेर जानुपर्ने निर्णय पुनः गरेको छ,' फोरम नेपालका महासचिव रामसहाय यादवले नागरिकसँग भने, 'केही दलसँग त्यसबारेमा अनौपचारिक छलफल पनि भएको छ, आशावादी छौं ।' उनका अनुसार १५ गते समानुपातिकको सूची बुझाउने बित्तिक्कै एकता र मोर्चाबन्दीको पहल सुरु हुनेछ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनले मंसिर २५–२९ गतेको केन्द्रीय समिति बैठकमा एकता, सहकार्य र मोर्चाबन्दी गरेर अघि जाने निर्णय भएअनुसार पहल सुरु गरिसकेको बताए । 'केन्द्रीय समितिको निर्णयपछि गृहकार्य सुरु भइसकेको छ,' सुमनले नागरिकसँग भने, 'फोरम नेपाल र तमलोपासँग अनौपचारिक छलफल जारी नै छ ।' उनका अनुसार एकीकरण गरेर जानेसम्म छलफल भइरहेको छ ।
यसैगरी, अनिलकुमार झा नेतृत्वको संघीय सद्भावना र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकसहित संविधानसभाबाहिर रहेका अमर यादव नेतृत्वको तराई–मधेस फोरम र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच पनि एकीकरणको प्रयास भइसकेको छ ।
मधेस मिडिया हाउस, हनुमानस्थानमा संयुक्त पत्रकार सम्मेलन गर्दै ती चार दलले एकीकरणको पहल सुरु भएको घोषणा गरिसकेका छन् । मंसिर २० गतेको सो घोषणापछि ती दलबीच सांगठनिक र पदीय जिम्मेवारी बाँडफाँटसम्ममा छलफल भइरहेको छ ।
'पार्टी एकीकरणका लागि पहल गरिसकेका छौं,' फोरम गणतान्त्रिकका अध्यक्ष यादवले नागरिकसँग भने, 'समानुपातिकको सूची बुझाएपछि फेरि बसेर मूर्त रूप दिन्छौं ।' उनका अनुसार सबैजसो पार्टी समानुपातिकतर्फका सभासद चयन गर्न ब्यस्त भएकाले एकीकरण र मोर्चाबन्दीको छलफल निर्णायक तहमा पुग्न सकेको छैन ।

No comments:

Post a Comment