Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, December 26, 2013

'अरुलाई मात्र नदिऊ दोष, हाम्रो पनि खुलाऊ होस'- एमाओवादी

नेतृत्वको कमजोरीलाई धाँधलीका नाममा ढाकछोप गर्न खोजिएको भन्दै एकीकृत माओवादी बैठकका सहभागीले पार्टीको भावी रणनीति र भविष्यबारे 'चिन्ता' प्रकट गरेका छन्।
पार्टी मुख्यालय, पेरिसडाँडामा बिहीबार बसेको पूर्वपोलिटब्युरो सदस्य र राज्यसमिति इन्चार्जहरुको संयुक्त बैठकमा बोल्ने अधिकांश नेताले पार्टीको आगामी सांगठनिक ढाँचा, कार्यनीति र रणनीति कस्तो हुने भन्दै चिन्ता व्यक्त गरे। 'धाँधली भएकाले हार्‍यौं' भनेर नेतृत्व उम्कन नसक्ने उनीहरुको दाबी थियो।
'पार्टीको भविष्य र पार्टी निर्माणका प्रश्नमा बैठक बढी चिन्तित र केन्द्रित हुन पुगेको छ,' पूर्व पोलिटब्युरो सदस्य विश्वनाथ साहले नागरिकसँग भने, 'त्यसैले धाँधली र षड्यन्त्र भयो भनेरमात्रै नेतृत्वले उम्कने र कार्यकर्ताले चित्त बुझाउने अवस्था छैन, नयाँ ढाँचामा पार्टी निर्माणमा जोड गरेर जानुपर्छ भन्नेमा बोल्नेहरुको एकमत देखियो।'

साहका अनुसार बैठकमा अधिकांश सदस्यले पार्टी कमिटीहरु भद्दा भएको, नेताहरुमा अनुशासनहीन आचरण देखा परेको, बाहिर जनमत बलियो भए पनि आन्तरिक संगठन लथालिंग रहेको, टिकट वितरण र पार्टी परिचालनमा कमजोरी देखा परेको जस्ता कारण पार्टी निर्वाचनमा तेस्रो स्थानमा झरेको औंल्याएका थिए।
बैठक पार्टी पराजयको समीक्षा र पार्टी निर्माणमा बढी केन्द्रित हुन पुगेको अर्का पोलिटब्युरो सदस्य गोपाल किराँतीले जनाए। 'पार्टी पराजयको कारण र पार्टी निर्माण गर्ने विषयमा धारणा आए,' किराँतीले भने। उनका अनुसार पार्टीको राजनीतिक भविष्य र आगामी बाटोलाई लिएर सुझावहरु राख्ने क्रम जारी छ।
बैठकमा बोल्ने अधिकांश सदस्यले तत्काल सांगठनिक अधिवेशन गरी अघि जानुपर्ने, चुस्त र सानो पार्टी कमिटी बनाउनुपर्ने, 'सेलेक्सन होइन इलेक्सन' गर्नुपर्ने, पार्टीभित्र स्वस्थ बहस सिर्जना गर्नुपर्ने, गुटबन्दीको अन्त्य गर्नुपर्नेजस्ता सुझाव दिएका छन्।
'पार्टीभित्र देखा परेको खराबीलाई पहिले चिनेर त्यसको उपचार गरौं, त्यसपछि अरुतिर जानुपर्छ, त्यसो नगरी पार्टी बन्दैन,' स्वनाम साथीले नागरिकसँग भने, 'हामी कहाँ चुक्यौं भन्ने खोज्नुपर्छ, अरुलाई दोष दिएरमात्रै हुँदैन।' उनका अनुसार पार्टी 'गम्भीर समीक्षाको चरण' मा रहेकाले त्यसलाई नेतृत्वले मनन गरे अघि जानुपर्छ भन्ने धारणा आएको छ।
बैठकमा समानुपातिकतर्फका सभासद चयनका बारेमा पनि सुझाव पेस भएका छन्। 'धेरै मत ल्याउने जिल्लाबाट मनोनीत गर्नुपर्ने, नयाँलाई अवसर दिनुपर्ने, सहिद र बेपत्ता परिवारबाट प्रतिनिधित्व गराउनुपर्ने सुझाव आएका छन्,' बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने। उनका अनुसार अधिकांश सदस्य पार्टी संगठनभित्र आन्तरिक प्रतिस्पर्धामा जोड गराउन नेतृत्वले भूमिका खेल्नुपर्ने सुझाव पेस भएका छन्।
धारणा राख्ने क्रम नसकिएकाले बैठक शुक्रबार पनि पुनः बस्दैछ।

No comments:

Post a Comment