दावी गर्दैः 'त्यो प्रस्ताव बाबुरामजीको होइन, मेरो हो' |
एकीकृत माओवादीका पुर्व उपाध्यक्ष बाबुराम भट्टराईले केही दिन अघि पार्टी संगठनका बारेमा दुईवटा सबालहरु उठाए, आफनो फेसबुक पेजमार्फत । पहिलो, नेतृत्व दुई कार्यकाल भन्दा बढी हुन नपाउने र दोस्रो माथी बाट नभई तलवाट निर्वार्चित गरेर संगठन सुदृढीकरण गर्ने । सो सबाललाई लिएर माओवादी भित्र एक खाले भुकम्प गएको छ, त्यसले तरङ्गित बनाएको पनि छ । त्यो तरंगको प्रतिक्रिया आउन थाले पछि भट्टराई स्वयं तरङित भए र हिजो भने, ‘हे भगवान, मलाई मेरा मित्रहरुवाट बचाई देऊ, शत्रुहरुसँग सामाना गर्न म आफै तयार छु ।’ आफुले ल्याएको संगठनका प्रस्तावलाई धेरैले सकारात्मक रुपमा लिए पनि बामवृतवाटै भने बिरोध र कुण्ठा प्रकट भएको भन्दै उनले गुनासो गरे । भट्टराईको सार्वजनिक अभिब्यक्तिले के पुष्टी गराउन खोज्छ भने त्यो उनको आफनो ब्यक्तिगत प्रस्ताव हो, अझ पहिलो पनि ।
तर, हिजो साँझ जनार्दन शर्माले भने सो प्रस्ताव भट्टराईको नभई आफनो भएको दावी यो ब्लगरसँग गरेका छन् । ‘उहाँले मेरो भनेर जुन प्रस्ताव ल्याउनु भयो, त्यो उहाँको होइन्, त्यो प्रस्ताव सबैभन्दा पहिला मैले गरेको हुँ ।’ उनले अझ तथ्य पेश गरे, ‘बाबुरामजीले अहिले ल्याएको प्रस्ताव मैले निर्वाचन अघि नै केन्द्रीय समितिमा दर्ज गराएको थियो । त्यो बेला फरक मत भन्दै केन्द्रीय समितिले पास गरेको थियो, जुन सांगठानिक अधिवेसनमा कार्यान्वयन गराईदैछ ।’ उनका अनुसार आफुले ल्याएको प्रस्तावलाई भट्टराईले युग सुहाउँदो भनेर ब्याख्या गर्नु भन्दा पनि पार्टी भित्रका युवा नेताहरुले ल्याएको प्रस्तावमा मेरो पनि समर्थन छ भनिदिएको भए सुनमा सुगन्ध हुन्थ्यो । ‘उहाँजस्तो ठुलो नेताले युवाहरुलाई स्वामित्व दिन नखोजेको त्यति उचित हुन सकेन्’ शर्माले हिजो यो ब्लगरसँग भने ।
थप चाँही आजको नागरिक दैनिकवाट आफनै समाचार साभार
संविधानसभा निर्वाचनमा अप्रत्यासित परिणामसहित तेस्रो स्थानमा खुम्चिएपछि एकीकृत नेकपा माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहालको 'नेतृत्व क्षमता' बारे नयाँ बहस सुरु भएको छ। पूर्वउपाध्यक्ष बाबुराम भट्टराईसहित उनी पक्षधर नेताहरु 'नेतृत्व कमजोर हुँदा' पार्टीले पराजय भोग्नुपरेको भन्दै खुलेरै दाहालको विपक्षमा उभिन थालेका छन्। दाहाल पक्षधर नेताहरू पनि त्यसको प्रतिरक्षामा उत्रिन थालेका छन्। दाहाल र भट्टराई पक्षबीचको यो संघर्षमा अर्का पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्ष भने मौन छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सार्वजनिक रुपमै 'नयाँ सांगठनिक ढाँचा' मा जानुपर्ने बहस थालेपछि दाहाल पक्षले त्यसलाई 'नेतृत्व फेर्ने योजना' का रुपमा लिएको छ। 'पार्टीहरु नै लोकतन्त्रका खम्बा भएकाले आन्तरिक पार्टी लोकतन्त्र बलियो पार्न पार्टीका विभिन्न स्तरका कमिटीहरु माथिबाट मनोनीत गर्नुको सट्टा तलैदेखि निर्वाचित गर्ने, पार्टीको नेतृत्वमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने' भन्ने प्रस्ताव भट्टराईबाट आएपछि दाहाल पक्ष थप सशंकित देखिन्छ।
दाहाल पक्षधर नेताहरूको अनौपचारिक छलफलमा भट्टराईको योजना विफल पार्नेबारे छलफल हुन थालेको छ। भट्टराई पक्षबाट आउन सक्ने दाहालविरुद्ध प्रस्तावको प्रतिरक्षा गर्नुपर्ने उनीहरुको निष्कर्ष छ। त्यसका लागि दाहाल पक्षबाट पूर्व स्थायी समिति सदस्य तथा पूर्वी ब्युरो इन्चार्ज वर्षमान पुनले अगुवाइ गरिरहेको दाहाल निकट एक नेताले जानकारी दिए।
निर्वाचनपछि मतगणनास्थलबाट प्रतिनिधि फिर्ता बोलाउने निर्णय गलत हुन पुगेको, निर्वाचनमा भएको 'धाँधली र षड्यन्त्र' बारे छानबिन आयोग बनाउने माग लत्याएर व्यवस्थापिका संसदबाट छानबिन समिति बनाउन सहमति जनाएको, संविधानसभा बहिस्कार गर्छौं भन्दै पुनः संविधानसभामा जान लागेको, राजनीतिक संयन्त्रको नेतृत्व माग गरे पनि पूरा गराउन नसकेको जस्ता पछिल्ला घटनाक्रमले एमाओवादीको नेतृत्व 'निरन्तर आत्मसमर्पण' को अवस्थामा पुगेको भन्दै पार्टीभित्र भट्टराई पक्षले बहस थालेको हो।
दाहालको 'नेतृत्व अक्षमता' का कारण नै पार्टी थप कमजोर हुँदै गएको विषयलाई भट्टराई पक्षले बहसमा ल्याइरहेको छ। 'जुन माग पूरा गराउन सकिँदैन वा नसक्ने भन्ने देखिन्छ, त्यस्ता माग अगाडि सार्नु जरुरी नै थिएन,' भट्टराई पक्षधर एक पूर्व पोलिटब्युरो सदस्यले नागरिकसँग भने, 'सोमबारको चारबुँदे सहमति त्यसको एउटा उदाहरण हो, पहिले तातो–तातो पानी भन्ने अनि अन्तिममा चिसैले नुहाएर हिँड्नेजस्तो प्रवृत्ति निरन्तर नेतृत्वमा देखा परिरहेको छ, यसले पार्टीलाई बलियो बनाएन।'
ती नेताका अनुसार नेतृत्वको 'अक्षमता' का कारण नै पार्टी निरन्तर कमजोर हुँदै गएकाले आगामी बैठकमा समीक्षाको प्रश्न उठाउन लागिएको हो। दाहालको प्रतिरक्षाको नेतृत्व गरिरहेका नेता पुनले भने भट्टराईले अघि सारेका धेरैजसो प्रस्तावलाई सार्वजनिक रुपमै अस्वीकार गर्दै आएका छन्।
भट्टराईले नयाँ जनादेशअनुसार 'राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्नुपर्ने' प्रस्ताव गरे पनि पुनले यसलाई सार्वजनिक कार्यक्रममार्फत नै अस्वीकार गरिदिएका हुन्। 'राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन हुँदैन' राजधानीको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा पुनले बुधबार भने।
दाहाल पक्षधर नेताहरु भने अध्यक्षलाई कमजोर बनाउने उद्देश्यसहित भट्टराईको भनाइ आएकाले त्यसको खुलेरै विरोध गर्ने 'योजना' बनाइरहेका छन्। पुनको सार्वजनिक अभिव्यक्ति त्यसैको एउटा उदाहरण हो।
'निर्वाचन परिणामसँग जोडेर एक व्यक्ति (नेतृत्व) लाई मात्र आक्रमण गरिए सह्य हुँदैन,' दाहाल निकट पूर्वपोलिटब्युरो सदस्य जनार्दन शर्माले नागरिकसँग भने, 'राजीनामा दिनुपर्ने अवस्था आए चारैजना (पूर्वपदाधिकारी) ले दिनुपर्छ, एउटाले मात्रै दिने भन्ने हुँदैन।'
एमाओवादी पूर्वपदाधिकारी दाहाल, भट्टराई, श्रेष्ठ र पूर्वमहासचिव पोष्टबहादुर बोगटीको निर्णयका आधारमा चुनावमा गएकाले त्यसको जिम्मेवारी पनि चारै शीर्ष नेताले लिनुपर्ने शर्माको भनाइ छ।
भट्टराईले केही दिनअघि सार्वजनिक गरेको 'कमिटीहरु माथिबाट मनोनीत गर्नुको सट्टा तलैदेखि निर्वाचित गर्ने र पार्टीको नेतृत्वमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने' सांगठनिक संरचनासम्बन्धी प्रस्ताव आफ्नो भएको शर्माले दाबी गरेका छन्।
'उहाँ (भट्टराई) ले राख्नुभएको प्रस्ताव मैले निर्वाचनअघि नै केन्द्रीय समितिमा दर्ज गराएको हुँ', शर्माले भने। यो सांगठनिक संरचना निर्माणको प्रस्ताव स्वागतयोग्य भए पनि त्यसलाई निर्वाचन परिणामसँग जोडेर हेरिए प्रत्युत्पादक हुने शर्माको दाबी छ।
भट्टराईले अघिसारेका प्रस्तावले एमाओवादीभित्र 'अस्वस्थ बहस' सुरु भएपछि सोमबार उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक रुपमै भने, 'हे भगवान! मलाई मेरा मित्रहरुबाट बचाऊ, मेरा दुश्मनहरुको सामना गर्न म आफैं सक्षम छु।'
आफूले अघिसारेको 'नयाँ सांगठनिक संरचना प्रस्ताव' लाई गलत रुपमा व्याख्या गरिएको भट्टराईको दुखेसो छ। 'चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा थुतेझैँ मैले समकालीन विश्वको सबैभन्दा महत्वपूर्ण वैचारिक–राजनीतिक प्रश्न लोकतन्त्रको युगसुहाउँदो मोडलबारे चलाउन चाहेको सार्वजनिक बहसबारे धेरैजसोले सकारात्मक धारणा राखे पनि केही वामवृत्तभित्रकै महानुभावहरुले भने सैद्धान्तिक बहसको प्रक्रियामाथि नै बन्देज लगाउने धृष्टता गरेको देख्दा कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय रुपमा नै किन रक्षात्मक बन्न पुगेको रहेछ भन्ने बुझ्न मद्दत पुगेको छ,' भट्टराईले भनेका छन्। भट्टराईले यसरी आफ्नो बचाउ गरे पनि दाहाल पक्षधर नेताहरु भने त्यसलाई भट्टराईको 'नेतृत्व हत्याउने प्रपञ्च' को रुपमा बुझ्न थालेका उनीहरु सार्वजनिक रुपमै विमति जनाइरहेका छन्।
No comments:
Post a Comment