Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, December 22, 2013

भित्र भित्रै संविधानसभामा जाने, बाहिर चाँही अर्कै कसम खाने

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची बुझाउन पुस १० गतेसम्मको 'अन्तिम' समयसीमा तोकेपछि तराई–मधेसकेन्द्रित राजनीतिक दलले उम्मेदवार चयनलाई तीव्रता दिएका छन्। संविधानसभामा ५० सिट प्राप्त गरेका तराई–मधेसकेन्द्रित नौ दलको समानुपातिकमा मात्रै ३८ सिट छ।
विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय समिति बैठकले उम्मेदवार चयन गर्ने जिम्मेवारी अध्यक्षलाई दिइसकेका छन्। यी दुवै दलले निर्वाचन परिणामलाई स्वीकार गरेका थिए।
मधेसकेन्द्रित अन्य दलले भने निर्वाचनमा धाँधली र षड्यन्त्र भएको दाबी गर्दै छानबिन समिति नबनाएसम्म समानुपातिक सूची नै नदिने घोषणा गरेका थिए। अहिले ती दल पनि समानुपातिक सूची बुझाउने गृहकार्यमा छन्। सद्भावना पार्टीले अध्यक्ष राजेन्द्र महतोलाई उम्मेदवार छान्ने जिम्मा दिएको छ।

छानबिन समिति माग गर्दै आएको उपेन्द्र यादव नेतृत्वको फोरम नेपालको केन्द्रीय समिति बैठक जारी छ। महेन्द्र राय यादव नेतृत्वको तराई–मधेस सद्भावना पार्टीको पनि केन्द्रीय सम्पादन समिति बैठक भइरहेको छ। दुवै पार्टीले आ–आफ्नो केन्द्रीय समिति बैठकबाट समानुपातिक उम्मेदवारबारे निर्णय लिने भएका छन्।
समानुपातिकतर्फ एक–एक सिट पाएका अनिलकुमार झा नेतृत्वको संघीय सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक अन्तिम दिन मात्रै समानुपातिक सूची पेस गर्ने तयारीमा छन्। महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फ उम्मेदवार छान्न सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ।
फोरम लोकतान्त्रिकको केन्द्रीय समिति बैठक (मंसिर २२–२४) ले अध्यक्ष गच्छदारलाई उम्मेदवार चयन गर्ने अधिकार दिइसकेको उपाध्यक्ष रामेश्वर रायले बताए। 'तैपनि उहाँले पार्टीभित्रबाट क–कसलाई सभासद बनाउने भनेर छलफल गरिराख्नुभएको छ,' उपाध्यक्ष यादवले भने। प्रत्यक्षतर्फ चार सिट जितेको फोरम लोकतान्त्रिक समानुपातिकतर्फ १० सिट पाएर मधेसकेन्द्रित राजनीतिक दलमध्ये सबैभन्दा ठूलो भएको छ।
सद्भावनाको मंसिर २५ देखि २९ गतेसम्म भएको केन्द्रीय समिति बैठकले उम्मेदवार चयन गर्ने अधिकार अध्यक्ष महतोलाई दिएको महासचिव मनीष सुमनले जनाए। 'अध्यक्षलाई नै उम्मेदवार चयन गर्ने जिम्मेवारी दिइएकाले को–को सभासद बन्दैछन् भन्न सक्ने अवस्था छैन,' सुमनले नागरिकसँग भने। प्रत्यक्षतर्फ एक सिट जितेको सद्भावनाले समानुपातिकतर्फ भने पाँच सिट पाएको छ।
राष्ट्रिय मधेस समाजवादी पार्टीको मंसिर अन्तिम साता बसेको केन्द्रीय समिति बैठकले अध्यक्षलाई सभासद चयन गर्ने अधिकार दिएको उपाध्यक्ष निलम बर्माले जनाइन्। 'हाम्रो तीन सिट हो, अध्यक्षलाई अधिकार दिइसकेकाले उहाँले नै सूची निर्वाचन आयोगमा पेस गर्नुहुन्छ,' बर्माले भनिन्। प्रत्यक्षतर्फ एक सिट पनि नजितेको यो पार्टीले समानुपातिकमा तीन सिट ल्याएको छ।
शनिबार सुरु फोरम नेपालको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा, समानुपातिक उम्मेदवार चयनलगायत एजेन्डामा छलफल जारी रहेको विदेश विभाग प्रमुख अर्जुन थापाले जनाए। 'पहिलो चरणमा चुनावको समीक्षा गरिँदैछ,' थापाले नागरिकसँग भने, 'त्यसलगत्तै सभासद चयनको एजेन्डामा प्रवेश गर्छौ।' प्रत्यक्षतर्फ दुई सिट जितेको फोरम नेपालले समानुपातिकतर्फ भने आठ सिट ल्याएको छ।
प्रत्यक्षतर्फ एक सिटमा विजयी तराई–मधेस सद्भावना पार्टीले समानुपातिक दुई सिटका लागि उम्मेदवार चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक गरिरहेको छ।
तराई–मधेस लोकतान्त्रिक पार्टीले सोमबारबाट चुनावी समीक्षा तथा उम्मेदवार चयन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइसकेको छ। 'भोलि (सोमबार) सुरु हुने केन्द्रीय कार्यसम्पादन समिति बैठकले सभासद चयनबारे छलफल सुरु गर्छ,' केन्द्रीय सदस्य सुरेश मण्डलले भने।
समानुपातिकतर्फ एक–एक सिट ल्याएको संघीय सद्भावना पार्टी र फोरम गणतान्त्रिक अन्तिम दिन उम्मेदवारको सूची पेस गर्ने तयारीमा छन्। 'हाम्रो एक सिट मात्रै भएकाले उम्मेदवार चयन गर्न त्यत्ति टाउको दुखाइ छैन,' संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले भने, 'एक घन्टा बैठक बस्यो भने निर्णय भइहाल्छ।' पहिलोपटक संविधानसभामा आएको मधेस समता पार्टीले अध्यक्ष मेघराज नेपाली निषादलाई नै संविधानसभामा पठाउने निर्णय गरिसकेको छ।

No comments:

Post a Comment