Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, December 19, 2013

‘प्रभु’भन्दै छन्, ‘कांग्रेस-माओवादी सरकारमा जाऊँ, बरु एमाले बाहिर आऊ’

पछिल्लो समय नेपाली राजनीतिमा एउटा बहस चलेको छ कि नेपाली कांग्रेस र एकीकृत माओवादी मिलेर सरकार बनाउने र सञ्चालन गर्ने प्रयासको बारेमा । यो होला, नहोला भोली देखिएला नै, अहिले त्यसको प्रतिक्षा गरौं । तर, पनि यो ब्लगमा म केही कुरा तपाईहरु माझ सेयर गर्न खोजिरहेको छु कि त्यो सम्भावना पनि छ है भनेर अर्थात कांग्रेस र एमाओवादी मिलेर सरकार बनाउन पनि सक्छन् । यसका लागि भित्री प्रयासहरु निकै भईसकेका छन, त्यो आज आएर मात्रै सुरु भएको होइन्, त्यो संविधानसभा–२ को निर्वाचन परिणाम सार्वजनिक भए लगत्तै देखी सुरु भएको हो । भलै, त्यो सफल होला, नहोला आफनो ठाउँमा छ । यो किटानका साथ भन्न सकिन्छ, ‘कांग्रेस र एमाओवादीलाई सरकारमा लैजाने प्रयास जारी छ ।’
संविधानसभा–२ मा नेपाली कांग्रेस पहिलो पार्टी हुन सफल भएको छ भने संविधानसभा–१ मा पहिलो भएको माओवादी अहिले तेस्रो स्थानमा झरेको छ, त्यो पनि भारी सिट अन्तरले । दोस्रो स्थानमा नेकपा एमाले छ, त्यो पनि कांग्रेस कै हाराहारी मै । कांग्रेस र एमालेलाई मिलेर जान जनताले जनादेश दिएका छन, सोझो आँखाले सिट संख्यालाई बिश्लेषण गरेर हेर्दा । फेरी सत्य यो हो कि नेपालको राजनीतिमा जनताको म्यान्डेट अनुसार केही पनि हुदैन्, न हिजो भयो, न सायद अब भोली नै होला ? 
किनभने, हिजो संविधानसभा–१ मा तेस्रो स्थानमा रहेको एमालेले दुई दुई पटक सरकार सञ्चालन गर्ने सौभाग्य पायो, भलै उसलाई सरकार सञ्चालन गर्ने जनमत अर्थात म्यान्डेट नै थिएन । त्यसैले अहिले पनि यो भन्न सकिन्छ कि नेपालको राजनीतिमा असम्भव भन्ने कुरा त केही हुन्न किनकी यहाँ सिद्धान्त र बिचारले भन्दा पनि ‘आवश्यक्ता र अपमानको पीडा’ले सरकार गठन र बिघटन हुन्छ, भइरहेको छ । अब फेरी, त्यो कांग्रेस र माओवादीको हकमा पनि लागु हुन सक्छ । 
खासमा कांग्रेस र माओवादी मिलेर गएको देख्न जनता चाहदैनन र त मिल्ने गरी जनताले उनीहरुलाई मत पनि त दिएनन । तर, जनमत भन्दा बाहिर गएर मिलेको देख्न ‘प्रभु’ भने निकै चाँहदा रहेछन् । त्यसैले त संविधानसभा–२ मा भारी मत अन्तरले तेस्रो स्थानमा पुग्ने संकेत पाए लगत्तै बहिस्कार गर्ने माओवादीलाई ‘प्रभु’को जोडबलमा ‘फेस सेभिङ’ मार्फत त्यो निर्णय उल्टाउन लगाईरहेको छ । ‘प्रभु’ को हो ? त्यो आफैले बुझ्नु होला । कृपया..मलाई भन्न बाध्य नबनाई दिनुहोला । 
मैले यो प्रसङ अथवा कांग्रेस र एमाओवादी बिच भोली ‘नयाँ मिलनको कथा’ हुन सक्छ है भनेर किन दावाका साथ भनिरहेको छु भने ‘प्रभु’का तीनै मान्छेहरु थिए, जसले अघिल्लो पटक मलाई ‘यो मुलुकमा सुशिल कोइराला प्रधानमन्त्री हुदैनन’ भनेर दावीका साथ पहिला नै भनेका थिए, त्यसलाई मैले ब्लगमा पनि लेखेको थिए, त्यसलाई तपाई यहाँ क्लिक गरेर फेरी पनि पढन सक्नु हुन्छ । त्यो पढी सके पछि थाहा हुन्छ कि कांग्रेस सभापति कोइराला किन प्रधानमन्त्री हुन सकेनन भनेर । कांग्रेसले सभापति कोइरालालाई मंगलवार प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरे पछि ‘प्रभु’का केही मान्छेले मलाई भोली पल्टै भनेका थिए, ‘लेखेर राख्नुहोस प्रकाशजी सुशिल कोइराला प्रधानमन्त्री कसै गरी पनि हुनै सक्दैनन् ।’ मैले पर्सिपल्ट अर्थात बिहिवार यही ब्लगमा उनकै विश्वासमा लेखे पनि । नभन्दै कोइराला प्रधानमन्त्री भएनन, उनको चर्चा परिचर्चा निकै भए पनि आखिर प्रधानन्यायधिस खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष (प्रधानमन्त्री) हुन पुगे । मलाई त्यस दिन देखी निकै नै विश्वास लाग्यो, ‘प्रभु’का ती मान्छेहरुसँग । 
र, ‘प्रभु’का त्यही मान्छेहरुले मलाई दुई साता अघि नै सुनाएका थिए, ‘प्रकाशजी, भोली कांग्रेस र एमाओवादी मिलेर सरकार चलाए भने आश्चर्य नमाने हुन्छ, यो पनि लेखेर राख्नुहोस् है, पहिला जस्तै ।’ यो प्रसङ्ग, त्यही बेला भनेका थिए, जुन बेला कांग्रेस र एमाले निकै निकट देखिएका थिए र माओवादी भने अलग मोर्चाबन्दी बनाउन लागिरहेको थियो । घटनाक्रम बिकास हुदैँ जाँदा अहिले कांग्रेस र एमाओवादी बिच घनिष्ठता बढ्दै गएको छ, र एमालेको केही नेताहरुले ‘सत्तामा जाने लोभ छैन, प्रतिपक्षमा बस्न तयार छौ’ भन्दै बोल्न नै सुरु गरे पछि अब चाँही भएन है भनेर दुई साता अघिको प्रसङ्ग नलेखी बस्नै सकिएन् । उनको तर्क पढौ हौ त एक पटक ।  
मैले चिनेका ती मान्छेहरुका अनुसार खासमा ‘प्रभु’ कांग्रेस र माओवादी नमिलेसम्म यो मुलुकमा संविधान बन्दैन्, संविधान बनाउनका लागि पनि कांग्रेस र एमाओवादी मिल्नु जरुरी छ भन्ने ठान्दछ ।अघिल्लो पटक संविधान नबन्नुमा पनि कांग्रेस र एमाले बिच एकता नहुनु कारणका रुपमा 'प्रभु'को बुझाई छ ।  दुवै पार्टी मिले पछि लोकतन्त्र बलियो हुन्छ र संसदीय ब्यवस्था पनि स्थापित हुन्छ भन्ने ‘प्रभु’को सबैभन्दा बलियो तर्क यही निर देखिन्छ । 
अर्को प्रसङ्ग । एमालेलाई सरकार वा सत्ता भन्दा बाहिर राखेर ‘प्रभु’ र नेपाललाई केही घाटा हुदैन किनभने ‘प्रभु’को बुझाईमा, कम्युनिष्ट पार्टी नै भए पनि एमाले माओवादी जति ‘अराजक’ भने छैन् । न त उसवाट भारतलाई भोली खतरा नै छ, न त उ बिना संविधान नबन्ने खतरा नै देखिन्छ । जति एमाओवादीलाई बाहिर राख्नुमा ‘प्रभु’ले खतरा महशुश गर्छ, त्यो एमालेलाई बाहिर राखेर हुदैन । एमाले सरकार (सत्ता) भित्र बसे पनि बाहिर बसे पनि ‘प्रभु’लाई भने कुनै आपत्ति छैन, जति आपत्ति माओवादी संविधानसभा र सरकार (सत्ता) भन्दा बाहिर बस्दा हुदोँ रहेछ ।  
‘प्रभु’को तेस्रो तर्क अझ बलियो लागेको छ मलाई । खासमा एमाओवादीलाई बाहिर राखेर गयो भने राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा भन्दै ‘प्रभु बिरोधी छबी’ बनाएको मोहन–बैद्य नेतृत्वको नेकपा–माओवादीसँग मिल्ने सम्भावना बढी नै हुन सक्छ । जब दुवै पार्टी मिलि हाले भने त्यसवाट ‘प्रभु’ लाई दुईवटा खतरा हुने रहेछ । पहिलो त, नेपालमा ‘प्रभु बिरोधी भावना बढछ्’, दोस्रो, ‘प्रभु’ स्वयंलाई पनि बर्षौ देखी निकै दुःख दिईरहेका त्यहाँका माओवादीको मनोबल बढन सक्छ । 
फेरी पनि, ‘प्रभु’का गाउँ–गाउँमा रहेका माओवादी र नेपालका माओवादी बिच सहकार्य हुने सम्भावना बढी हुने उसको आशंका पनि रहेछ । त्यसकारण पनि कांग्रेस र माओवादी मिलेरै जानु पर्छ, ‘प्रभु’ चाँही यसै भन्छन् । 
अहिले ‘प्रभु’ कांग्रेस र माओवादीलाई मिलाउन भरमग्दुर लागिरहेको छ । त्यसका लागि कोठे बैठक होस वा गोप्य बैठक नामका बैठकहरु निरन्तर भई रहेका छन्् । तर, एउटा कुरा अहिले जानकार हुँदै गएको छ कि ‘प्रभु’ कहिले हाकाहाकी दलालको रुपमा आउँदा रहेछन् त,  कहिले नेपाली नेताको रुपमा नै । जे भए पनि पछिल्लो समयमा ‘प्रभु’ निकै क्रियाशिल भएको छ, उसको क्रियाशिलता अबको दिनमा सरकार निमार्ण देखी सत्ता साझेदारीसम्म काम लाग्न सक्छ कि सक्दैन, त्यो समयले नै पुष्टी गर्ला । तर, पनि अहिलेसम्म ‘प्रभु’ फेलै चाँही खाएका छैनन्, सायद यसपटक पनि फेल नहोलान् । 
म त ब्लगमा लेखिदिन मात्र सक्छु तर उसलाई हस्तक्षेप गर्न भने सक्दिन् । किनभने, ‘प्रभु’को अगाडी ‘१० बर्षे महान जनयुद्ध’ गर्नेको त केही लागेको छैन’ । त्यो देख्दा देख्दा अरु के नै भन्न सक्छु र म ? बाँकी चाँही....
प्रभुको जो इच्छा ।


# नेपाली कांग्रेसले उम्मेदवार बनाउँदा पनि सभापति सुशिल कोइराला किन पहिला प्रधानमन्त्री हुन सकेनन र अब पनि उनलाई किन गारहो छ त ?,  त्यो जान्ने इच्छा भए यहाँ क्लिक (CLICK) गर्नुहोस् ।#  




No comments:

Post a Comment