यसपटक घर (रौतहट) जाँदा जिल्लाका एक दर्जन गाबिस घुम्ने मौका मिल्यो । तराईमा जन्मेर पनि तराईका भित्री गाउँहरुमा भने घुम्न पाइएको थिइन् । चन्द्रनिगाहपुरवाट बस चढेर
राजमार्ग हुदैँ गौरसम्म पुगेका त थिएँ तर राजमार्ग दायाँ बायाँका गाउँ भने
घुम्न सकिएको थिएन, अर्थात मौका नै मिलेको थिएन् । जे होस, यसपाली जाँदा
चाँही करिब १४ वटा गाबिस घुमियो । यसरी घुम्दा भेटेका मित्रहरु मध्ये
गणतान्त्रिक फोरम, रौतहट जिल्ला अध्यक्ष शेष जिकरुल्लाहसँग भएको एउटा
कुराकानी र त्यहाँ घटेको दृश्य सबैभन्दा घत लाग्दो लाग्यो । जुन तपाईसँग
साटन लागेको छु, बास्तव मै त्यो निकै अनौठो थियो ।
कनकपुर गाबिस घर भएका जिकरुल्लाहले आफनो घरमा हामीलाई आतिथ्य दिए । नेकपा माओवादीका जिल्ला सेक्रेटरी हरिबंश आचार्य र म उनको घरमा पुगेका थियौं । लिच्चीको बगैचामा शितल हावा लिदै उनले हामीलाई नयाँ परिकार, नाम बिर्से (मसिनो गरी टुक्रा बनाइएको नरिवल भित्र राखिएको, बाहिरवाट हेर्दा बम पाउरोटीजस्तो मिठाई, जुन दक्षिण भारतवाट उनको घरमा आइपुगेको थियो) खुवाए । नेता र राजनीतिक पत्रकार भए पछि देशको राजनीतिका कुरा हुनु स्वभाविकै थियो, भयो नै पनि ।मैले उनलाई सोधे, ‘देशको राजनीति त हामी दिन दिनै थाहा पाउँछौ तर गाउँ (तराई) को राजनीति चाँही यहाँ कस्तो चल्दै छ त ?’ मेरो प्रश्न सुनेर उनी मुस्कुराए ।
उनले भने, ‘जुन चौतारमा तपाईहरु आउँदा म थिएँ, त्यहाँ एकछिन पछि झगडा हुन्छ, अनि म गएर त्यहाँ नेता बन्छु, यस्तै छ यहाँको राजनीति ।’
मैले उनको यो कुरा त धेरै वुझिन् । तर पनि एकछिन त गम नै खाएँ । जुन ठाउँमा उनी बसिरहेका थिए, त्यो चौतारामा उनीसहित १०÷१२ जना मात्र थिए । त्यहाँ कुनै झगडाको संकेत देखिएको थिएन् । हामी उनको गाउँमा पुगे पछि त्यहाँवाट उनी उठे । र, हामीलाई लिएर चौतारा नजिकै रहेको आफ्नो घरमा ल्याएका थिए । जहाँ उनले यो नयाँ प्रकारको मिठाई खुवाएका थिए ।
हामी बिच उनको घरको बगैँचामा कुराकानी हुदैँछ ।
‘मैले भने नि तराईको राजनीति यस्तै छ, जुन अघि मैले तपाईलाई मैले भने,’ म अझै बिलखबन्द भए । मैले दृश्य सम्झे– जुन ठाउँवाट उनी उठेर आएका थिए, त्यहाँ त सबै मिलेर नै बसेका छन् । राम्रैसँग सल्लाह र कुराकानी भई रहेकोे आफ्नै आँखाले देखेको छु, त्यहाँ त झगडा हुने त कुनै पनि संकेत नै छैन, थिएन । तैपनी, जिकुरुल्लाह दावीका साथ त्यहाँ झगडा हुन्छ भनेर ग्यारेन्टी गरिरहेका थिए ।
तैपनी म चुपचाप बसे, के भन्न खोजिरहेका छन, वुझनै सकिन् ।
‘कुनै बिषय छ र त्यहाँ झगडा हुनलाई’ यति चाँही सोधे । उनले यो प्रश्न पछि मेरो मौनता मात्रै देखेनन, उत्सुकता पनि देखे । ‘झगडा हुनलाई त्यहाँ केही बिषय नै छैन, त्यहाँ आफै उत्पत्ति हुन्छ’ उनको यो कुरा सुनेर झन अचम्मित भए ।
‘यहाँ तपाई बसिरहनु भयो भने धेरै कुरा थाहा पाउनु हुन्छ, हेर्नुहोस्, अब त्यहाँ एक छिन पछि ठुला ठुला स्वर सुनिन थाल्नेछ, पक्ष बिपक्ष हुन्छ, अनि हातपात हुन्छ, टाउको फुट्छ, प्रहरी चौकीमा त्यो केस जान्छ, त्यहाँ पनि मिल्दैन अनि गौर (सदरमुकाम) सम्म पुग्छ, त्यहाँ मिल्यो भने मिलिहाल्यो नभए अडडा अदालतीको काम हुन्छ, अनि के चाहियो र बर्षौसम्म झमेला’ उनले भन्दै गए, ‘नेता भए पछि हामीलाई पनि बोलाउँछन, हामी जान्छौ र त्यही मुद्धामा बसेर नेतागीरी गर्छौ, अनि हामी नेता हुन्छौं, तराई यस्तै छ, यसरी नै चलिरहेको छ ।’
एकछिन त म मज्जैसँग हाँसे । हरीबंशजीले थप्दै गए, ‘तपाईलाई अनौठो लागेको होला, हामीलाई यो त बानी परिसक्यो ।’ स्थानीय राजनीति गर्ने दुवै जना त्यो बिषयमा सहमत भए । तर, मलाई विश्वास नै लागेन् किनकी त्यहाँ झगडा हुने कुनै संकेत छैन्, न बिषय नै ।
गर्मी भएकाले शितल हावा खान चौतरामा जम्मा भएका भीड बाहेक त्यहाँ केही मेरो आँखाले देखेको थिएन । साच्चै भन्ने हो, भने शितलता लिने बाहेक अरु उदेश्य त्यहाँ उपस्थितको छ भन्ने लाग्दैन, होइन् पनि ।
कुरा मोडियो । अरु अरु कुरा हुदैँ गए । अनौठो प्रकारको खाजा भएकाले (मेरा लागि) बिषय एकछिन त्यही खाजामा नै केन्द्रित भयो । इदका दिन पुनः कनकपुर आउने निम्तो पनि उनले हामीलाई दिए । उनको पार्टीका कुरा पनि भयो । चुनाव हुन्छ कि हुदैन ? भन्ने कुरा पनि भयो । मुख्यतः रौतहट–५ वाट उनी चुनाव उठन लागेको कुरा त्यही बस्दा बस्दै थाहा पाएँ ।
गोबिन्द चौधरीले जाँड रक्सी खुवाएर सद्यै चुनाव जित्ने गरेको तर बिकास भने फुट्टी नगरेका कारण जनतालाई काम गर्ने मान्छेलाई चुनाव जिताउनु पर्छ भन्ने पक्षमा आफु रहेको पनि उनले हामीलाई सुनाए । ‘चुनावको अघिल्लो दिन मज्जासँग जाँड रक्सी खुवाउँछ र गोबिन्द चौधरीले चुनाव जितेर काठमाडौं जान्छ’ उनको भनाई थियो, ‘अनि नेताले काम गरेनन भनेर जनता उनै नेतालाई गाली गर्न थाल्छन, अरे प्रकाशजी, जाँड खाने, रक्सी खाने उनी त्यही तालमा भोट हाल्ने अनि भोलीवाट नेताले काम गरेन भनेर फेरी गाली गर्ने ?’ उनको भनाई थियो, जनताले वुझ्नु प¥यो, सोच्नु प¥यो कि भोट हाल्दा काम गर्नेलाई हाल्नु पर्छ भनेर ।
‘भोट हाल्ने बेला गलत मान्छेलाई हाल्ने अनि बिकास गरेन भनेर नेतालाई गाली गर्न पाइन्छ ? मुख्यतः तराई विकास नहुनुमा जति नेता दोषी छन, त्यो भन्दा कयौं गुना त जनता पनि त दोषी छन् ।’ यस्तै यस्तै कुराकानी भए । कुराकानी बढदै गयो ।
हामी बसेको उनको घर र हामी आउनु अघि जिकुरुल्लाह बसेको चौतारा २० मिटर मात्रै टाढा थियो । हामी आधा घन्टासम्म बस्दा त्यहाँ शान्त नै थियो । एकछिन पछि, कोही कराएको, ठुलो स्वर बनाएको आवाज हामी बसेको ठाउँसम्म सुनिन पुग्यो । नभन्दै १० मिनेट भित्र मारामारा हानाहान नै भए झै गरी आवाज हाम्रो कानमा आई पुग्यो ।
जिकुरुल्लाहले भने, ‘मैले अघि नै भने नी, त्यहाँ झगडा हुन्छ भनेर, प्रकाशजी ल हेर्नु होस त नभन्दै भयो ।’ म उनको यो कुराले झन दंग खाए । उनले भने झै त्यहाँ ठुलै झगडा सुरु भयो । पक्ष बिपक्ष भएको बोलीवाट नै सुनिन्थ्यो । म हाँसे पनि, उनीहरु पनि हाँसे ।
‘अहिलेसम्म त झगडा मात्र भएको छ, अब हात हालाहाल हुन्छ, टाउको फुट्छ र अस्पताल नै लानु पर्छ’ उनले भन्दै गए, ‘नेता भए पछि स्वभाविक रुपमा गाउँलेले बोलाउँछन नै, म त जानै प¥यो....नेता बन्नै प¥यो आदी इत्यादी ।’
‘अनावश्यक रुपमा आफै झगडा उत्पत्ति गराउने, अनि मारामार गर्ने, टाउको फुटाउने अनि गएर मिलाएर हामीहरु नेता बनिरहेका हुन्छौ’ उनी भन्दै थिए, ‘गाउँ बिकास गर्ने छलफल यहाँ कहिल्यै हुदैन, कुलो कुलेसो बनाउने, खेती कसरी राम्रो बनाउने यहाँ छलफल हुदैन अनि कसरी तराईमा बिकास हुन्छ ?’
‘पहाड र तराईका गाबिसमा उत्तिकै बजेट जान्छ, पहाडको डाँडाकाडामा बाटो पुग्छ तर यहाँका बाटो सद्यै हिलो हुन्छ’ उनी अझ भन्दै थिए, ‘यहाँका राजनीतिक दल विच बजेट झ्याप्प पार्ने बिषयमा चाँही राम्रैसँग सहमति हुन्छ, अरु सबै बिषयमा भने असहमति हुन्छ, यसरी चलिरहेको छ तराईको राजनीति ।’
हामीलाई चन्द्रनिगाहपुर आउन हतारो भइसकेको थियो । उनलाई पनि ‘नेता’ बन्न । चौतारामा रहेकाको आवाजहरु ठुल–ठुला हुदै गएका थिए । माइकका जत्रा आवाज आइसकेका थिए । सामुहिक रुपमा पक्ष प्रतिपक्षका आवाज सुनिन पुगिसकेका पनि थिए । आ–आफ्नो धारणा पनि त्यहाँ ब्यक्त हुन थालिसकेका थिए । को चाँही मुख्य दोषी हो त ? निउँ चाँही पहिला कस्ले खोजेको हो ? जस्ता कुरा सुरु भइसकेका थिए । आवाज सुन्दा हानि नै सकेकी भन्ने चाँही मलाई पनि लाग्यो । तर, हानिसकेका भने चाँही थिएनन् है ।
‘म त्यहाँ तुरुन्तै गइन भने मैले गौरसम्म (मुद्धामामिला बढेर) पुग्ने दुःख ब्योहोर्नु पर्छ, यसै छोडिदियो भने त्यहाँ रक्तपात पनि हुन सक्छ....’ जिकरुल्लाहले बाध्यता सुनाए । ‘नेताजी कहाँ पर है...उसका पत्ता है कि खास बात क्या है’ जस्ता आवाज पनि सुनिन सुरु गरे ।
हिड्ने बेला त्यही ‘शान्त’ चौतारामा हेरे । अघि शान्तसँग बसेका मान्छे अहिले उठिसकेका पो रहेछन । औला तेर्साई–तेर्साई, हात हल्लाई हल्लाई ठुला स्वरमा आ–आफ्नो दावी प्रस्तुत गरिरहेका देखिन्थ्यो ।
‘तराईमा झगडा हुनलाई कुनै पनि बिषय र मुद्धा चाहिदैन’ जाने बेला उनले हामीसँग भने, ‘मात्र १०–१२ जना सामुहिक रुपमा उभिनु पर्छ, झगडाको बिषय त्यही उत्पन्न हुन्छ ।’ त्यसैमा तराईका नेताले नेतागिरी रहेको तितो यथार्थ उनले सुनाए ।
हतार भएकाले हामी त्यहाँवाट हिड्यौ, जिकरुल्लाह भने त्यही चौतारा तिर लागे । जहाँ ठुला ठुला स्वरमा ‘तँ तँ र म म’ भइरहेको थियो...
No comments:
Post a Comment