1. २०६९ साउन २ गते चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको तेस्रो डिभिजनमा चितवन माडी घर भएका घनश्याम पौडेल ‘विवेक’ जो जनमुक्ति सेना तेस्रो डिभिजनका एक सदस्य थिए उनले विष खाएर आत्महत्या गरे। आत्महत्याको कारण थियो– ‘अपमानजनक समायोजनको पीडा’। एउटा जनताको छोरो जसले पढ्दा पढ्दैको कल्कलाउ“दो उमेरमा किताब कापी दराजमा थान्को लगाएर देश र जनताको मुक्तिका लागि बन्दुक भिर्यो। आफ्नो लहलहाउँदो जवानी अरुका लागि समर्पित गरिदियो।
बाबा–आमा, दाजु, दिदी, बन्धुवान्धवा सबै त्यागीदियो। ‘मरे सहिद र बाँचे मुक्तिको कसम खाएर हिंडेको मान्छे जब उसले एसएलसी, काठ कक्षा पास नभएको अभियोगमा ‘अयोग्य’ घोषणा गरी क्याम्पबाट निकाला गर्न थालिया तब उसको मस्तिष्कमा थोपरिएको बोझले ऊ आत्महत्याको बाटो रोज्न बाध्य भयो।
एउटा स्वतन्त्रता सेनानीका लागि त्यो विकल्प अनुचित त छँदै थियो, बिडम्बना त के भयो भने उसलाई त्यो डिलमा पुर्याउन सचेत मार्ग खनियो र डोजर लगाएर ठेलियो खाडलमा। औपनिवेशिकताको जन्जीरमा जकडिएको हाम्रो प्यारो मातृभूमि र अभाव अनि अपमानको लाठोले थलिएका असहाय नेपाली जनताका लागि यो एक भयंकर पीडाको खबर हो। जनमुक्ति सेनाको इतिहासमा एक अकल्पनीय कहालीलाग्दो घटना हो।
२. २०६८ चैत २८ गतेको मध्यरातमा एउटा ठूला चमत्कारिक घटना भयो। जनमुक्ति सेनाका क्याम्पहरु एकाएक नेपाली सेनाले कब्जामा लियो। तत्कालीन नेपालको अन्तरिम संविधान २०६३ को व्यवस्था बमोजिम नेपाली सेनाको परिचालनका लागि राष्ट्रिय सहमति या संसदको दुईतिहाइ बहुमतले निर्णय गर्न सक्ने भनिएकोमा त्यो सम्पूर्ण कुराको ठाडो उल्लंघन गरी, संविधानलाई धोती लगाएर उक्त कार्य गरियो। त्यो पनि दश वर्षे ‘महान् जनयुद्ध’का नायक क. प्रचण्ड अनि उनका घनिष्ट सहयोद्धा डा. बाबुराम भट्टराईको नेतृत्वमा। जसले जन्म दिए, हुर्काए, फुर्काए र उनका सम्पूर्ण रगत पसिना चुसे अनि उनैले अन्तिममा छोक्रो बनाएर सडकमा मिल्काइदिए। जनमुक्ति सेनाको ठूलो पंक्ति समायोजनको चक्रव्यूहभित्र पसेन। बरु, एउटा सानो कित्ली किनेर चिया पसल थापेर बस्न तयार भयो, पुरानो भत्किएको घरको भग्नावशेषमा ‘कटेरो’ बनाउन र सिस्नो र पातीले गाँज हालेको बारी जोत्न ऊ तम्सियो ‘नेपाली सेना’ बन्ने रहर ओइलाएर गयो।
एउटा सुसंगठित शक्ति जनताको भरोसा, उत्पीडित वर्गको सहारा छिन्नभिन्न भयो, जनमुक्ति सेना व्यक्ति–व्यक्तिमा विकेन्द्रित भयो। एउटा महान् त्याग, बलिदानी र वीरताको इतिहास धुजाधुजा पारियो, जलाएर खरानी बनाई नष्ट गरियो।
३. २०६८ कात्तिक १५ गते नेपालको शान्ति प्रक्रियामा एउटा विशिष्ट निर्णय भयो। निर्णयको सार थियो– जनमुक्ति सेनाको हतियार भण्डारको चाबी विशेष समितिलाई बुझाउने र केही दिनभित्रै सेना समायोजनको कार्य सुरुवात गर्ने। रातको अध्यारोमा गरिएको उक्त निर्णय कार्यान्वयन गर्न अर्को दिन प्रचण्ड–बाबुरामहरुले जनमुक्ति सेनाका डिभिजन कमान्डरहरुलाई बैठक बोलाएर लोभ, लालच, धाक, धम्की सबै प्रयोग गरी अनुमोदन गराए। कथित पार्टी निर्णय भनेर आन्तरिक पंक्तिलाई बाध्य बनाए भने उता कांग्रेस–एमाले अनि ‘प्रभू’हरु खुशी पार्न ‘लचकताको पराकाष्टा’ नीति अवलम्वन गरी लम्पसार परे।
जनमुक्ति सेनालाई निशस्त्र पार्ने देशी–विदेशी प्रतिक्रियावादी षड्यन्त्रलाई सार्थक तुल्याइयो। आफ्ना अंग–प्रत्यांगहरु चुडाएर प्राप्त गरेका हतियारहरु, वर्ग बन्धु र रक्त आफन्तको रगतले साटेका हतियारहरु विरोधी पक्षलाई समर्पण गरिए। केही दिनअघिसम्म मात्रै पार्टी र जनमुक्ति सेनाको आधिकारिक लाइन भनी प्रचारित, आन्तरिक सम्प्रेषित–महानिर्देशनालयको नेतृत्व जनमुक्ति सेनाको हुनुपर्ने, ‘युनिट बेस’ र हतियारसहित समायोजन गर्नुपर्ने नीति रद्दीको टोकरीमा फ्याँकियो। जनमुक्ति सेनाको त्याग र वीरतालाई मोलमोलाइ गरेर लिलाम बिक्रीको बजारमा पुर्याइयो।
४. २०६६ माघ ११ गते जनमुक्ति सेनाको क्याम्पबाट अयोग्यको बिल्ला भिराएर करिब ४ हजार जनमुक्ति सेनाका योद्धाहरुलाई संगठनबाट निकाला गरियो। संयुक्त राष्ट्रसंघीय मिसन ‘अनमिन’ र नेपाल सरकारका प्रतिनिधिको रोहवरमा गरिएको कथित बिदाई कार्यक्रम जनमुक्ति सेनालाई भौतिक विघटनको पहिलो सुरुवात थियो। उक्त प्रक्रियामा सामेल जनताका छोराछोरीहरुलाई अपराधीलाई समेत नगर्ने व्यवहार गरियो। दश–विश हजार रुपैयाँ हातमा थमाएर डाँडो कटाइयो। नेपाल सरकार र माओवादीबाहेक दलहरुले तिनको अभिभावकत्व लिने सम्भावना त थिएन नै स्वयम् माओवादी पार्टी पनि उनीहरुको त्याग र बलिदानीप्रति गैरजिम्मेवार बन्यो।
उनीहरुको नाममा विदेशीहरुबाट पैसा भिख मागेर केही नेताहरु करोडपति बने तर, उनीहरु न पार्टी न समाज सबै र सधैँका लागि अयोग्य बनाइए।
५. २०६६ मंसिर ५ गते क्यान्टोनमेन्टको स्थापना भयो। सम्पूर्ण, जनमुक्ति सेनालाई अपरिचालनको अवस्थामा राखियो। त्यसको केही दिनपछि उनीहरुको लागत उठाइयो। जनमुक्ति सेनाको साथमा रहेका सम्पूर्ण हतियार दर्ता गरेर अधिकांश हतियार फलामको वाकस ‘कन्टेनर’मा राखेर भोटेताल्चा लगाइयो। जनमुक्ति सेनालाई निशस्त्र पार्ने अभियानको सुरुवात त्यहीबाट भयो। अपरिचालन नभेर जनताको काखबाट जनसेनालाई अलग–थलग पारियो भने बिडम्बनाको कुरा पार्टीभित्रैबाट कमिशारको जिम्मेवारीमा रहेका सम्पूर्ण नेतृत्वलाई संगठनबाट निकालेर वैचारिक बन्ध्याकरणको भयंकर ठूलो आत्मघात गरियो। जसको परिणाम यो भयो कि वर्गसंघर्षको भूमिकामा खरो उत्तिर्ण जनमुक्ति सेना विचार संघर्षको भूमिकामा कमजोर र निरीह भयो। मध्यरातमा आएर आफ्नो धोती सुर्कदा या साथमा भएका हतियार गोलीगठ्ठा बुझाउ“दा अप्रतिवाद ‘त्वम् शरणम् गच्छामि’ जपिरह्यो।
उपरोक्त घटना शृंखलाबाट के कुरा पुष्टि हुन्छ भने शान्ति प्रक्रियाको मूल उद्देश्य जनमुक्ति सेनाको विघटन थियो। जनताको साथमा उनीहरुको आफ्नै सशस्त्र शक्ति रह“दासम्म प्रतिक्रियावादीहरुको एकलौटी राज चल्न गाह्रो हुन्छ। जनयुद्धकाल र शान्ति प्रक्रियाबीचको तुलना गर्ने हो भने भ्रष्टाचार, महंगी, गरिबी, कमिशन, बेरोजगारी इत्यादि दैनिक जनजीविकासँग सम्बन्धित समस्याहरु र राष्ट्रियताको प्रश्न निकै जोखिमयुक्त अवस्थामा देखिन्छ। कथित शान्ति प्रक्रिया सर्वसाधारण जनताका लागि आँशु बनिरहेको छ भने मुठ्ठीभर तत्वहरुका लागि ‘धन कमाउने’ स्वर्णिम अवसर बनिरहेको छ।
नेपाल राष्ट्रको सार्वभौमिकता तथा नेपाली जनताको मुक्तिका लागि जनमुक्ति सेना एक अस्त्र मात्र होइन यो एक नविन मूल्य र सिर्जनाको एक भौतिक रुप थियो। अतः त्यसलाई नष्ट नपार्दासम्म राष्ट्रघाती, दलालहरुको स्वर्ग सुरक्षित हुन सक्दैनथ्यो। जो लडेर सम्भव थिएन। जनमुक्ति सेनालाई लडाईको मैदानबाटै धुलोपिठो पार्ने उद्घोषसहितका कैयौं अपरेशनहरु नभएका होइनन्। ती कोही पनि सफल नभइसकेपछि ‘कम घनत्वको युद्ध सिद्धान्त’ अन्तर्गत स्वयम् माओवादी पार्टीका नेताहरु र जनसेनाका कमान्डरहरुलाई खरिद गर्ने, सुख–सुविधामा डुबाइदिने तरिका अपनाइयो। जसअन्तर्गत जनसेनाका सुप्रिम कमान्डर प्रचण्डदेखि डेपुटी कमान्डर र डिभिजन कमान्डरहरु सबैलाई विभिन्न तरिकाले ध्वस्त पारिदिए। जनताका दृश्मनहरु सफल भए। जनसेनाको दुःखद् विघटन भयो।
‘पार्टीले राजनीतिक र कुटनीतिक क्षेत्रमा थुप्रै सम्झौताहरु गर्न सक्छ तर, हजारौं सहिदहरुको रगतको बलमा नेपाली जनताले आर्जन गरेको आफ्नो वास्तविक शक्ति जनमुक्ति सेना र जनताको हातमा भएको हतियारलाई कदापि छोड्ने छैन।’
(२०६३ वैशाखमा भारतको जालान्धरमा सम्पन्न माओवादी केसको बैठकको दस्तावेज)
‘हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्ति अगाडि बढाउने तथा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरु चलाउँदै मानवजातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ। एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्गको एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं। यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुंग्याउने साधन हुन कदापि दिइने छैन।’
(जनयुद्धको प्रथम योजनाको सैद्धान्तिक प्रतिबद्धता, ०५२)
‘एक वास्तविक क्रान्तिकारी पार्टीको काम खाली यह छ भन्नु मात्र होइन कि सबै किसिमका सम्झौताहरु अस्वीकार गर्नु अस्वीकार छ, बरु, सम्झौताहरु अनिवार्य छन् भने यी सब सम्झौताहरुमा आफ्ना सिद्धान्तहरु, आफ्नो वर्ग, आफ्नो क्रान्तिकारी उद्देश्य, क्रान्तिको तयारी गर्ने र क्रान्तिको विजयका लागि जनसमूहलाई प्रशिक्षित गर्दै लैजाने आफ्नो कार्यभारप्रति आफ्नो निष्ठा कायम राख्नु हो।’ (लेनिन)
उपरोक्त महान् जनयुद्ध शुरुवातको प्रतिबद्धता, केन्द्रीय समितिका दस्तावेजहरु या अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका शिक्षाहरु सबैका आधारमा भन्न सकिन्छ– निशर्त जनताको बन्दुक बुर्जुवा वर्गलाई समर्पण गर्नु धोका र षड्यन्त्र मात्र होइन घोर वैचारिक विचलन, दलाली र आत्मसमर्पणको पराकाष्टा हो। यसर्थ जनमुक्ति सेनाको विघटन एउटा भयंकर प्रतिक्रान्तिको अभ्यास हो।
BY UDAYA CHALAUNE FROM NEPALSANDESH.COM
No comments:
Post a Comment