Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, January 31, 2013

सत्तारुढ गठबन्धन भित्रका रमाईला ६ प्रसङ्ग, जो बाहिर आउन सकेका थिएनन्

आमसभा सहभागी हिसाब–किताब यस्तो थियो
प्रकाश तिमल्सिना
 पुष्पकमल दाहाल नेतृत्वको सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले बुधवार राजधानीमा ‘बृहत’ जनजागरण सभा सम्पन्न गरेको छ । प्रहरी प्रतिवेदन अनुसार ३५ हजार मानिस अटने क्षमता भएको खुलामञ्चमा भने करिब करिब एक चौथाईमात्र भरियो । त्यसैले त प्रचण्डले मञ्चवाटै भने, ‘पार्टीको तयारी र अन्य ब्यवस्थापकीय कारणले सोचे जस्तो जनसहभागिता गराउन सकिएन ।’ जे होस, खुलामञ्चमा सत्तापक्ष २१ दलको आमसभा भने बुधवार सम्पन्न भइसकेको छ ।
तर, यहाँ सो सभा हुनु अघि सत्तारुढ गठबन्धन भित्रका ‘गोप्य’ वैठकमा भएका केही रमाईला प्रसङ्ग सुनियो, जसलाई यहाँ लिपिबद्ध गर्ने प्रयास गरेको छु । सो सभा हुन अघि गठबन्धन भित्र के–के भयो, के–के विषयमा छलफल हुन्छ वा हुने गर्छ त ? धेरैलाई यो थाहा नहुन सक्छ किनकी भित्र भएका सवै कुरा बाहिर आउँदैन र भन्न पनि मिल्दैन । गठबन्धनले भन्न नमिल्ने केही रमाईला प्रसङ्ग उल्लेख गर्ने प्रयास गरिएको छ ।

प्रसङ्ग १
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गत मंगलबार गठबन्धनको वैठक भइरहेको बेला फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले सोझै भनिदिए, ‘मेरो केटा (केन्द्रिय सदस्य गणेश लामा)ले भने जति १० हजार मानिस ल्याउन नसक्ने भएँ ।’ आफु र महासचिव जितेन्द्र देव ब्यस्त भएकाले त्यत्रो संख्यामा मानिस ल्याउन नसक्ने भन्दै वैठकमै गच्छदारले हात नै उठाए ।
त्यही बेला राजेन्द्र महत्तोको पार्टीले १५ हजार कार्यकर्ता÷सर्वसाधारण ल्याउने प्रतिवद्धताको कुरा उठयो । तर, अनिल झा (हाल दिल्ली) पार्टीको नेतृत्व गर्दै आएका खोभारी रायले प्याच्च भने, ‘महाधिवेसनमा ३ सय मानिस जम्मा गर्न नसक्नेले १५ हजार ल्याउँछु भनेर गफ दिएको छ, उसले ल्याउनै सक्दैन ।’ त्यसपछि गठबन्धन भित्र सवै गलल हाँसोको फोहोरा छुटयो । स्मरणरहोस, खोभारी र महत्तो केही महिना अघिसम्म एउटै पार्टीमा आवद्ध थिए ।
प्रसङ्ग–२
गच्छदारले राजेन्द्र महत्तोले तराईका जिल्लामा गरिरहेको एउटा भाषणको कुरा वैठकमा उप्काए । जो निकै मंगलबार हिट पनि भयो, त्यो प्रसङ्ग उठाउँदा महत्तो भने बालुवाटार पुगिसकेका थिएनन् । यस्तो थियो, कुरो ।
गच्छदार– ‘महन्थजी राजेन्द्र महत्तोले मधेसमा गएर एउटा भाषण गरेछन, हाम्रो विरुद्धमा, सुन्नु भयो कि भएन ?’
महन्थः केही त सुनेको छु, तर अर्कै हो कि त्यही हो ।
गच्छदार– राजेन्द्रजीले भाषण गर्दै जनतालाई सोध्नु भयो– तमलोपाको अध्यक्ष को हो ? (जनताले उत्तर दिए– महन्थ ठाकुर), फोरम लोकतान्त्रिको अध्यक्षको को हो (जनताले उत्तर दिए– विजय गच्छदार) अनि राजेन्द्रले आमसभामा भने, ‘हो यी दुई आफुलाई मधेसको ठेकेदार सम्झिन्छन तर मधेसमा साच्चै लुट मच्च्याउने चाँही यीनै हुन् ।’
महत्तोले आफुहरुलाई भ्रष्ट नेता भनेर आमसभामा भनेको प्रसङ्ग पनि जोडदै गच्छदारले भने, ‘राजेन्द्रजीले त हामीलाई मधेसको गद्धार भनेको चाँही सुन्नु भएन ।’ महन्थले भने– ‘त्यो चाँही मैले सुनिन बिजयजी, नसुनेको कुरालाई लिएर के तर्क गर्नु ?’ भन्दै महन्थले लोकतान्त्रमा जसलाई पनि बोल्ने छुट छ भन्दै त्यसलाई ‘इश्यु’ नबनाउन गच्छदारलाई भने । अन्तिममा, ‘राजेन्द्रले पहिलो पनि यही भन्थे अहिले भनेर के फरक प¥यो ?’ भन्दै महन्थले प्रसङ्ग टुंगाए । तर, उपस्थित २१ दलका नेता भने मरिमरी हाँसिरहे ।
प्रसङ्ग ३
बानेश्वरको सचिवालय वैठक भएको दिन दिन देखी नै दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले १७ गतेको आमसभामा आफुले बोल्न लागेको कुरा सुनाउन लागिसकेका थिए । उनले भन्न चाहेका कुरा यस्तो थियो– ‘मधेसका (संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा) भ्रष्ट नेतालाई बुटैबुटले हान्नुपर्छ, जनताहरु उठनुहोस र बुटैबुटले तीनलाई हान्नुहोस, यो कुरा म खुलामञ्चवाट भन्छु, भन्छु ।’ त्यही कुरा उनले सभाको अघिल्लो दिनमा पनि बालुवाटारको वैठकमा दोहो¥याए । गठबन्धन भित्रका मधेसी नेतालाई गाली गर्छु भनेर विश्वेन्द्रले अडान राखे पछि संयोजक प्रचण्डलाई भने निकै नै आपत्त प¥यो । त्यस पछि प्रचण्डले भने ‘कसैले कसैलाई गाली नगर्ने, सभ्य भाषामा बोल्ने र आफ्नो कुरा राख्ने काम मात्र गरौं ।’ तर कहिले आफ्नो लुगा च्यात्ने त, कहिले संसद भवनको तीन तलावाट कुर्सी फालेर उपद्रो गर्ने पासवानले भने मान्दै, मानेनन, ‘मेरो पार्टीको कुरा राख्नु पाउनु पर्छ, गठबन्धन–गठबन्धन भनेर मात्रै कति बस्ने ।’ त्यस पछि प्रचण्डले पासवानलाई पार्टीका कुरा राख्न दिइने बताए र त्यसपछि बल्ल पासवान शान्त हुन पुगे ।
प्रसङ्ग ४
बानेश्वरस्थित सचिवालय कार्यालयमा १ लाखको जनपदर्शन गर्ने तयारी छलफल भइरहेको बेला सभामा ५० लाख खर्च हुने कुरा उठयो । माओवादीले १५ लाख, मधेसी मोर्चा आवद्ध पाँचै दलले ५–५ लाख, सरकारमा रहेका साना दलले १–१ लाख र सरकारबाहिरका ११ दलले २५ हजार खर्च ब्योहोर्नु  कुरा उठयो । दोस्रो र युवा संगठनको नेतामात्र उपस्थित रहेको सो वैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार देवेन्द्र पौडेलले खर्चको बिवरण पेश गरे । उनी सभाका आर्थिक ब्यवस्थापन उपसमितिका संयोजक हुन् । तर एमएस थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीका एक युवा प्रतिनिधिले भने अनौठो कुरा उठाई दिए । उनको कुरा यस्तो थियो– ‘सभामा ५० हजार हाल्नु पर्छ भन्नु भयो, हामी १५ हजार मान्छे ल्याउँछौं तर त्यसका लागि २ लाख खर्च हुन्छ’ तीनले पौडेलसँग माग गर्दै भने, ‘गठबन्धनले डेढ लाख पहिला हामीलाई दिनु प¥यो, बाँकी ५० हजार हामी आफै हालेर एकान्तकुनावाट जुलुस खुलामञ्चमा ल्याउँछौं ।’ ती युवा नेताको कुरो सुने पछि पैसा हाल्न माग गर्ने पौडेल तीन छक परे तर केही जवाफ दिएनन् । नभन्दै, साना ११ दल कसैले पनि एक पैसा पनि सभामा हालेनन, खुलामञ्चको कुर्सीमा बसेर फर्किए ।
प्रसङ्ग ५
१६ गते साँझ बालुवाटार । १७ गतेको सभाका लागि माओवादीले (कुपोन्डल, कालिमाटी, लैनचौर, मैतिदेवी, बागबजारवाट)५० हजार, फोरम लोकतान्त्रिकले (तीनकुनेवाट)१० हजार, तमलोपाले (थापगाउँ)वाट ६ हजार, सदभावना पार्टीले (नयाँ बानेश्वर) १५ हजार, तमलोपा, नेपालले (थापाथली) ५ हजार, फोरम गणतान्त्रिकले (शंखमुल) २ हजार, राष्ट्रिय जनमुक्ति पार्टीले (धोवीघाट) १५ हजार, नेपाली जनता दलले (घट्टेकुलो)वाट १ हजार, माले समाजवादीले (डिल्लीबजार) ५ सय, नेपाल परिवार दलले (नागपोखरी) ७ सय, चुरे भावरले (रातोपुल)वाट १५ सय, नेपाः राष्ट्रिय पार्टीले (बसन्तपुर) १ हजार सर्वसाधारण ल्याउने प्रतिवद्धता जनाउँदै संख्या टिपाउन सुरु गरे । गठबन्धनका सचिव जीतेन्द्र देवले टिप्दै गएँ–  जनता दल युनाईटेड, नब नेपाल निमार्ण पार्टी, दलित जनजाति पार्टी, संयुक्त लोकतान्त्रिक मञ्च थरुहट, राष्ट्रिय सदभावना पार्टी, नेपाली लोकतान्त्रिक समाजवादी दल, स्वतन्त्र पुर्व सभासद सरुदल मियाँ हकले (गौशाला) ५ हजार र अन्य वाँकी दलले १ हजार । माओवादीले २ सय बसमा धादिङ, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुरवाट कार्यकर्ता सर्वसाधारण ल्याउने कुरा पनि सुनायो र दुई सय स्वयंसेवकलाई खाजा र खाना ख्बाउने निर्णय गरी बैठक सकियो । त्यो बेलासम्म प्रधानमन्त्रीले गठबन्धनका २१ दलका नेतालाई रसबरी र पेडासहित दुई–दुई पटक खाजा खुवाए। १ लाख उतार्ने हिसाव किताब मंगलबार भयो तर बुधवार भने खुलामञ्चको एक चौथाई पनि भरिएन । दुई साता अघिको योजना अनुसार पनि ३५ हजारको क्षमताको खुलामञ्चको एक चौथाई पनि नभरिए पछि संयोजक प्रचण्डले मञ्चवाटै प्रस्टिकरण दिनु पर्ने अवस्था आयो ।
प्रसङ्ग-६
गठबन्धनको वैठकमा फोरम गणतान्त्रिकका अध्यक्ष तथा सुचना तथा संञ्चार मन्त्री राजकिशोर यादवले भने, ‘मेरा पार्टीका तर्फवाट २ हजार मानिस खुलामञ्चमा आउँछन् ।’ शंखमुलवाट सो जुलुस आउने जानकारी गराएका उनले अर्को पनि जानकारी वैठकमा गराए, ‘मैले जुलुसमा सहभागीता जनाउनका लागि ८ सय मोटरसाइकलका लागि तेल हालिदिएको छ, केटाहरुलाई खर्च दिइसकेको छु ।’ त्यसपछि गठबन्धन भिका एक नेताले ‘यो आमसभा हो, मोटर साइकल ¥याली होइन’ भनेर कुरा काटे पछि एकछिन त राजकिशोर प्रतिवादमा रहे ।
गठबन्धन भित्र यस्ता प्रसङ्ग र किस्सा धेरै धेरै नै छन्, फुर्सद भएमा पुन लेख्ने छु ।

No comments:

Post a Comment