Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, January 30, 2013

विपक्षीलाई नत्थी लगाएर पनि चुनावमा ल्याउने:प्रधानमन्त्री

प्रकाश तिमल्सिना, काठमाडौं, माघ १८ (नागरिक) - प्रधानमन्त्री बाबुराम भट्टराईले आउँदो जेठ १५ भित्र जसरी पनि संविधानसभा चुनाव गराउने प्रतिबद्धता दोहोर्याएका छन्। चुनावबाट भाग्न खोजे विपक्षीलाई नत्थी लगाएर पनि मैदानमा ल्याउने उनले चेतावनी दिएका छन्।

'जेठ १५ भित्र जसरी पनि संविधानसभा निर्वाचन गराउनुपर्छ, दायाँबायाँ कोही भाग्न सक्दैन,' भट्टराईले बुधबार खुलामन्च सभामा भने, 'विपक्षी कांग्रेस/एमालेलाई नत्थी लगाएर भए पनि निर्वाचनमा ल्याउनेछु।' विपक्षीहरु चुनावबाट भाग्न खोजेको उनको आरोप थियो।
सरकारविरुद्ध विपक्षी दलहरुको सडक आन्दोलनलाई जवाफ दिन बुधबार सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनद्वारा राजधानीको खुलामन्चमा आयोजित 'जनजागरण सभा' मा एकीकृत माओवादी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराईले राजनीतिक निकासका लागि चुनावको विकल्प नरहेको बताए।
जेठभित्र कसरी चुनाव गराउने, त्यसका लागि संविधान संशोधन एवं कानुन निर्माणलगायत तयारीबारे उनले केही बोलेनन्। 'निर्वाचनका लागि जस्तोसुकै त्याग गर्न तयार छौं,' प्रधानमन्त्री भट्टराईले भने। संविधानसभा विपक्षी हठ र सर्वोच्च अदालतको फैसलाले विघटन गराएको पनि उनले आरोप लगाए।

गठबन्धन संयोजक एवं एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलले अंहकार कायम राखी सडक आन्दोलन गरिरहे कांग्रेस/एमालेलाई नै क्षति पुग्ने दाबी गरे। 'सहमतिमा आउनुस्, निर्वाचनमा जाऔं,' दाहालले भने, 'सहमति नगरी अंहकार लिएर हिँड्नुभो भने कांग्रेस/एमालेलाई क्षति हुनेछ, उनीहरुको अस्तित्व समाप्त भएर जानेछ।'
सहमतिमा आएर निकास दिन विपक्षी दललाई आह्वान गर्दै दाहालले भने, '१२ बुँदे समझदारीको विरोध गर्ने व्यक्ति कांग्रेस नेतृत्वमा पुग्दा सहमति प्रक्रियामा समस्या आएको हो।'
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पहिचानसहितको संघीयता नभएसम्म गठबन्धन नतोडिने उद्घोष गरे। 'यो गठबन्धन संघीयताविरोधी प्रतिपक्षको खिलाफमा हो,' गच्छदारले भने, 'जबसम्म पहिचानसहितको संघीयता प्राप्त हुँदैन, यो एकता रहिरहन्छ।'
सडकबाट सरकार बदल्ने प्रतिपक्षको आन्दोलनको कुनै तुक नभएको गच्छदारको टिप्पणी थियो। 'उहाँहरु (कांग्रेस-एमाले) सडकबाट सत्ता परिवर्तन गर्ने कुरा गर्नुहुन्छ, त्यो दिवास्वप्न नदेख्नुहोस्,' भट्टराई सरकारमै आउन प्रतिपक्षलाई आह्वान गर्दै गच्छदारले भने।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अनुहारको रंगका कारण राज्यले मधेसीलाई विभेद गरिरहेको बताए। 'अनुहार फरक भएर हो कि किन हो, हामीलाई राज्य र यहाँका शासक वर्गले विभेद गरिरहेका छन्,' ठाकुरले भने। तराई-मधेसका सशस्त्र समूहसँग मिलेको निहुँमा हजारौं मधेसीलाई पक्राउ गरिएको भन्दै उनले अघिल्ला सरकारहरुको आलोचना पनि गरे। समानता नभएसम्म योग्यता र क्षमताको कदर हुन नसक्ने भन्दै नेता ठाकुरले समानता र पहिचानको मुद्दा लिएर मधेस अघि बढेको बताए।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवले गठबन्धन सरकारका लागि नभई मुद्दाका लागि भएको बताए। फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले यथास्थितिवादी र परिवर्तनकारी शक्तिबीच नेपालको राजनीतिक ध्रुवीकरण भएको उल्लेख गरे। नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सडकबाट माग्दैमा विपक्षीले प्रधानमन्त्री नपाउने बताए। 'सडकवाट प्रधानमन्त्री मागेर पाइँदैन, चुनाव जितेर आउनुपर्छ,' महतोले भने।
जागरण सभामा गठबन्धनका सबैजसो साना दलका नेताले बोलेका थिए।
सभामा एक लाख सहभागी उतार्ने भनिए पनि सहभागिता कम देखेपछि दाहालले सभामै भने, 'पार्टी महाधिवेशनका कारण सोचेजति ल्याउन सकिएन, तयारीमा पनि कमजोरी भए।' ३५ हजार हाराहारी अट्ने खुलामन्चको एकचौथाइ मात्र सहभागीले अगोटका थिए।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बोल्दाबोल्दै करिब १० मिनेट बत्ती गयो। 'यो ठाउँमा बत्ती जाँदैन भनिएको थियो, कसरी गयो, छानबिन गर्छौ,' कार्यक्रम सञ्चालक फोरम लोकतान्त्रिकका जितेन्द्र देवले सभामा भने। अध्यक्ष अनिलकुमार झा अनुपस्थित भएपछि संघीय सद्भावना पार्टीका महामन्त्री खोभारी रायलाई सञ्चालक देवले आसनग्रहण गराएका थिए। मञ्चमा भने श्रीप्रसाद पट्टेलले धारणा राखे।
सभा सुरु हुनुअघि २१ दलका नेताले हातेसाङ्लो बनाएर ऐक्यबद्धता जनाएका थिए।

No comments:

Post a Comment