Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, December 8, 2012

एकीकृत माओवादीको पार्टी सदस्य संख्या: ३ लाख ३० हजार !!!


प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर २२- सत्तारुढ एकीकृत माओवादीले २२ वर्षपछि हुन लागेको महाधिवेशनको स्थल र मिति सारेको छ। माघ १४ गतेबाट काठमाडौंमा हुने भनिएको महाधिवेशन अब माघ २० गते हेटौंडामा सुरु हुँदै छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको एमाओवादीको पदाधिकारी, विभागीय र राज्य इन्चार्जको संयुक्त बैठकले माघ २० गतेबाट महाधिवेशन गर्ने निर्णय गरेको मधेश ब्युरो इन्चार्ज हरिबोल गजुरेलले बताए। 'पहिला तय गरिएको मिति एक हप्ता पछि सारेर माघ २० गते महाधिवेशन उद्घाटन गर्ने निर्णय भएको छ,' गजुरेलले भने, 'हेटौंडा (मकवानपुर)लाई महाधिवेशनस्थलका रूपमा चयन गरिएको छ।' उनका अनुसार महाधिवेसनमा सहभागी हुने प्रतिनिधिले माघ १९ गते सम्पर्क गर्नुपर्नेछ । सम्पन्न गर्ने मिति भने माओवादीले अझै तय गर्न सकेको छैन।
बैठकमा सहभागी राज्य इन्चार्ज र गैर भौगोलिक इन्चार्जले दिएको जानकारीअनुसार पार्टी सदस्यको संख्या ३ लाख ३० हजार बराबर पुगेको छ।
ताम्सालिङले ५९ हजार ५ सय, नेवाले ४९ हजार, मगरातले २५ हजार ६ सय ५८, मिथिला २५ हजार र भोजपुराले १९ हजारभन्दा बढी पार्टी सदस्य भएको प्रारम्भिक जानकारी केन्द्रीय कार्यालयमा पेश गरेका छन्। 'सबै इन्चार्जले पार्टी सदस्यताको प्रारम्भिक रिपोर्ट बुझाए,' मगरात राज्य समितिका इन्चार्ज लोकेन्द्र बिष्टमगरले नागरिकसँग भने, 'केही राज्यबाट अझै सदस्यताको विवरण नआएकाले अझै पूर्ण हुन सकेको छैन।' आगामी पुस १० गते बस्ने भनिएको महाधिवेशन आयोजक समितिको बैठकमा पार्टी सदस्यताको अन्तिम विवरण आउने बिष्टले जानकारी दिएका छन्।
२ सय ५० पार्टी सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि चयन गरिने अनौपचारिक सहमति भएको ताम्सालिङ राज्य समितिका इन्चार्ज विश्वभक्त दुवालले जानकारी दिए। '२ सय ५० पार्टी सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि चयन गर्ने छलफल भएको छ, निर्क्यौल हुन सकेको छैन,' दुवालले नागरिकसँग भने, 'सोहीअनुसार निर्णय भयो भने महाधिवेशनका लागि १९ सय जति प्रतिनिधि सहभागी हुनेछन्।' कुल पार्टी सदस्यताबाट १ हजार ३ सय २०, गैरभौगलिक १ सय, आयोजक समिति सदस्य २ सय ४०, सल्लाहकार ७० र मनोनीत १० प्रतिशत अर्थात १ सय ३० गरी करिब १९ सय प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउनसक्ने अनुमान पार्टी केन्द्रीय कार्यालयले गरेको दुवालले बताए।
पहिलोपटक महाधिवेशन प्रतिनिधि चयन गर्न र महाधिवेशनपछि पुनः दोस्रोपटक अधिवेशन गरेर कार्यसमिति चयन गर्ने निर्णय पार्र्टीले गरेको भोजपुरा राज्य समितिका इन्चार्ज प्रभु साहले बताए। 'पुसा २५ देखि माघ १० सम्म पहिलो चरणमा जिल्ला सम्मेलनमार्फत प्रतिनिधि चयन गर्नेछ, महाधिवेशनपछि पुनः जिल्ला सम्मेलन गरी कार्यसमिति चयन गर्नेछौं,' साहले नागरिकसँग भने। उनका अनुसार महाधिवेशनपछि मात्र राज्य समिति सम्मेलन सम्पन्न गरी कार्यसमिति चयन गरिनेछ।
महाधिवेशनका लागि आवश्यक पर्ने प्रतिवेदन लेखनको सम्पूर्ण जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई फर्काइएकोे छ। यसअघि अध्यक्ष दाहाल तथा उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायतलाई छुट्टाछट्टै लेखन जिम्मेवारी दिए पनि एकरूपता हुन नसक्ने भन्दै सम्पूर्ण जिम्मेवारी अध्यक्ष दाहाललाई नै फर्काइएको बिष्टले जानकारी दिए। 'यसअघि प्रतिवेदन लेखनको बाँडफाँडको निर्णयलाई सच्चाउँदै अध्यक्षलाई नै सम्पूर्ण जिम्मेवारी दिइएको छ' बिष्टले भने, 'अध्यक्षले सवै प्रतिवेदन पुस १० गतेबाट सुरु हुने महाधिवेशन आयोजक समितिको बैठकमा छलफलका लागि पेस गर्नु हुनेछ।'
माओवादीले गाउँ सम्मेलन जारी राखे पनि सो तहका कमिटिमा महाधिवेशनका प्रतिवेदनलाई भने छलफल गराउन सकेको छैन। यसका कारण सातौं विस्तारित बैठकमा पेस भएको अध्यक्ष दाहालको परिमार्जित प्रतिवेदन गाउँ कमिटिमा अध्ययन गराइराखेको छ। पार्टीको कार्यदिशा, प्रधान अन्तर्विरोध, पार्टीको रणनीति र कार्यनीति, कार्यकर्ताको भरणपोषण, नेतृत्वको पद्धति लगायतलाई अध्यक्ष दाहालको प्रतिवेदनले सम्बोधन गर्न आवश्यक भएको बिष्टको भनाइ छ।
दुई महिनापछि हुने महाधिवेशनका लागि आवश्यक सांगठनिक कार्यविधिमा भने माओवादीले अझै सहमति जुटाउन सकेको छैन। पार्टीले समावेशी र समानुपातिकको नारामात्र दिएको तर पार्टीको आन्तरिक जीवनमा भने लागू गराउन नचाहेको भन्दै माओवादीभित्र विवादको विषय बनेपछि कार्यविधि निर्माणमा समस्या आएको हो। 'कार्याविधिको विवाद मिलाउन केही दिनमा केन्द्रीय कार्यालयको बैठक बस्ने कुरा भएको छ,' दुवालले नागरिकसँग भने, 'त्यसले सांगठानिक संरचना र पार्टी विधानबारे अन्तिम निर्णय गर्नेछ।' संगठन विभागका इन्चार्ज कृष्णबहादुर महराले पेस गरेको कार्याविधिमा आरक्षणको विषय प्रधान रूपमा विवादित हुँदै आएको छ।

No comments:

Post a Comment