Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, December 8, 2012

"सेलिब्रेटी" रिक्साचालक

प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर २३ -'भाइ! ऋषि धमलाको फोन नम्बर छ?'  फागुन अन्तिम सातातिर हुनपर्छ, उनले फोन गरेको।
म घर (चन्द्रनिगाहपुर) जाँदै थिएँ। एउटा सामान्य रिक्सा चालकले किन चल्ताफुर्ता पत्रकारको नम्बर मागेको होला? नबुझी नम्बर दिने कुरा भएन, दिइनँ। घर पुग्दा रातको दस बजेको थियो।
बिहानै भेट भयो, उनले ऋषिको नम्बर माग्नुको तात्पर्य सुनाए- 'ऋषिले बिहान वाणी बहसमा सोध्ने अन्तर्वार्ता एकदम मन पर्छ, यस्तो खतरा र सिधा क्विसन गर्छ कि यस्तो अरुले सोध्नै सक्दैन। अब ऋषिलाई फोन गरेर मेरो पनि एउटा कुरा सोध्न लाउनु छ।' के सोध्ने, त्यो उनले खुलाएनन्।
केही दिनपछि फोन आयो- 'ऋषिले मैले भनेको क्विसन सोधिदियो, भाइ।' भएछ, के भने माओवादी फुट्छ कि फुट्दैन भनेर उसको नामै (केदार तिमल्सिना, चन्द्रनिगाहपुर-१, कप्तानटोल) लिएर ऋषिले माओवादी नेता देव गुरुङसँग सोधिदिएछन्। उसको खुट्टा भुइँमा छैन। उसले फेरि मसँग सर्त राख्यो- म काठमाडौं आएँ भने ऋषिलाई भेटाइदिनुपर्छ है।

पछि सिंहदरबारमा ऋषिलाई उनका यी फ्यानबारे सुनाइदिएँ। ऋषिले पनि बिलम्ब नगरी भनिहाले 'मेरा यस्ता फ्यान धेरै छन्, गाउँमा।'
मैले भनिदिएँ, 'तर तपाईंले त आजकाल उसको फोन नै उठाउनु हुँदैन रे नि?' पछि कुरा बु‰दा थाहा भयो कि ऋषिलाई उनले धेरै नै फोन गरेछन् र दिग्दार नै बनाइदिएछन्।
४० वर्ष हाराहारी उमेरका केदारजी रौ.रि.संघ ३८ नम्बरको रिक्सा ठेल्छन्। दैनिक ७ सय रुपैयाँ कमाइ गर्छन्। उनले पाँच कक्षा पढेका छन्। घरमा श्रीमती र एक छोरा छन्। टोलमै कच्ची घर कसैको छ भने त्यो उनकै हो। एक दिनमात्रै केदारजीले रिक्सा चलाएनन् भने उनको सम्पूर्ण भान्साको व्यवस्थापन भद्रगोल हुन जान्छ।
उनै रिक्सा चालक केदारजी भने रौतहट, सर्लाही र बारा आसपासमा भने चर्चित रहेछन्। त्यहाँका एफएममा फोन गरेर भनाइ राखेकै कारण उनलाई चिन्ने धेरै छन्। उनको रिक्सामा चढियो भने उनी आफ्नो परिचय दिन छुटाउँदैननन्, 'एफएममा फोन गर्ने म केदार तिमल्सिना।'
एफएममा फोन गरेकै भरमा कोही निकै चर्चित भएको छ भने केदारजी एक्ला हुन्, उनलाई जान्नेहरु यसै भन्छन्।
खासगरी लोकगीत, कृषि सम्बन्धित र राजनीतिक विषयका कार्यक्रममा उनले धेरै फोन गर्छन्।
'दिनको बढीमा हजार जति कमाउँछु, कम्तीमा ६०/७० रुपैयाँ त एफएमै फोन गरेर जान्छ' उनी भन्छन्, 'धेरै जसो त मलाई फ्यानहरुले नै मोवाइलमा ट्रान्सफर गरिदिन्छन्।'
'मेरो रिक्साको विज्ञापन नुनथर एफएममा बज्छ, त्यहाँ मोबाइल नम्बर पनि भनिदिन्छ,' केदारजीले गर्वसाथ सुनाए।
फोन गरेका कारण नुनथर एफएमले उनको रिक्साको विज्ञापन निःशुल्क बजाइदिँदो रहेछ- 'घर, अफिस, पसलको समान बोक्नुपरेमा हामीलाई सम्झनु होला, केदार तिमल्सिना-मोबाइल नम्बर ९८४५२-५२११६।'
त्यसैले एफएमका स्टेसन म्यानेजर फणी महतलाई उनी निकै मान्छन्। 'धेरै फोन गर्ने असल स्रोता भएका कारण केदारजीको रिक्साको विज्ञापन निःशुल्क बजाइन्छिौं, त्यो पनि कम्तिमा दिनको तीनपटक,' महत भन्छन्।
सम्भवतः मुलकमै केदारजीको मात्रै रिक्साको विज्ञापन एफएममा आउँछ।
'एउटा सामान्य रिक्सा चालकको मिडियाप्रति चासो अनौठो छ,' गुञ्जन एफएमका स्टेसन म्यानेजर खेम बोलखे भन्छन्, 'त्यही चासोले उनलाई यो ठाउँमा चर्चित बनाइदिएको छ।'
केदारजी आफूमात्र एकोहोरो एफएममा फोन गर्दैनन्, उनलाई एफएमबाट पनि फोन जान्छ। एक दिनमात्रै केदारजीले फोन नगर्दा कार्यक्रम सञ्चालकले उल्टै फोन गरी उनको अवस्था बु‰छन्। नुनथर एफएममा 'भाका गाउँघर' कार्यक्रम सञ्चालिका रीता भट्टराई भन्छिन्, 'किन फोन आएन भनेर बु‰दा उहाँ कि दाउरा लिन जंगल गएको कि जिल्ला बाहिर टाढा गएको हुने गर्छ।'
गुञ्जन एफएमकी 'लोकसुसेली' कार्यक्रम सञ्चालिका नवीना कार्की भन्छिन्, 'गीत गाउने र फर्माइस गर्नेमात्रै होइन, उनी गाउँमा बाटो बिग्रिएको, तरकारी खेती बिग्रिएको, किरा लागेको, बजारमा ठगी र तस्करी भइरहेको, सरकारी कर्मचारीले ढिलासुस्ती गरेको र नेताले बदमासी गरेको सबै धक नमानी जानकारी गराइदिन्छन्।'
केदारजी गाउँघरका मात्रै कुरा गर्दैनन्, देशको राजनीतिक बहसमा पनि भाग लिन्छन्। एकता एफएमका स्टेसन म्यानेजर कृष्ण थपलिया भन्छन्, 'उहाँको तर्कले एउटा गरी खाने औसत नेपालीले मुलुकको राजनीतिलाई कसरी हेरिरहेका छन्? त भन्ने बुझ्न केदारजीको अभिव्यक्ति पर्याप्त हुन्छ।'
त्यस्तै, सलार्ही एफएमको 'आफ्नो विचार आफ्नै स्वर' कार्यक्रममा पनि केदारजी नियमित आवाज रेकर्ड गराउँछन्। उक्त एफएमका सञ्चालक समितिका अध्यक्ष चूणामणि वाग्ले भन्छन्, 'केदारजी वेबसाइटबाट रेडियो सुन्ने र फेसबुक म्यासेजबाट रेडियोले सुधार गर्नुपर्ने सुझाव पनि पठाइरहेका हुन्छन्।'
त्यसो त चन्द्रनिगाहपुरका तीन सयभन्दा बढी रिक्सा चालकमध्ये सम्भवतः केदारजी एक्ला फेसबुक प्रयोगकर्ता हुन्। उनका ६ सय ६० भन्दा बढी फेसबुक मित्र छन्।
केदारजीलाई रौतहट र सर्लाहीका पत्रकारले सत्यतालाई छुपाउँछन् भन्ने एउटा ठूलो पीडाबोध हुँदोरहेछ। 'मैले चन्द्रनिगाहपुर हाइवेको सडक बिग्रेको छ, किन बनाइएन भनेर एफएममार्फत भनेको थिए, पछि त एफएमहरुले समाचार नै बनाए,' केदारजी गर्वसाथ सुनाए, 'राजमार्ग नै बिग्रिएर सडक दुर्घटना बढाउँदा पनि पत्रकारले नलेखेपछि एफएममा भनेको हुँ, पछि त सबैले भन्न पो थाले।'
त्यसो त केदारजी सवैभन्दा बढी बाटोघाटोको नै बढी कमेन्ट गर्दा रहेछन्। कारण, रिक्सा चलाउन जुनजुन बाटोमा गाह्रो हुन्छ।
असल स्रोता भएरमात्रै होइन्, एफएममार्फत सामाजिक उत्तरदायी भूमिका खेलेको भन्दै केदारजीलाई दुइटा एफएमले दोसोल्लासहित सम्मान गरे। 'एक वर्ष पहिला नुनथर एफएमले र भर्खरै एकता एफएमले सम्मान गर्योल,' गर्वका साथ केदारजीले सुनाए।
केदारजीको व्यापार चन्द्रनिगाहपुरमा रिक्सा चलाउने अरु मजदुरको भन्दा बढी छ। किनकि उनी रोलमोडल सेलिब्रेटी पनि भइसकेका छन्।

2 comments:

  1. ल देशभित्र मात्र होइन , हामीले विदेशबाट नि कदार जीको खबर नागरिकमा पढ़ेउ ,राम्रो लाग्यो

    ReplyDelete
  2. this hero of nepali gari khane barg ko Communist, kedar ji your the communist.
    jay nepal comm red.

    ReplyDelete