Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, December 8, 2012

सत्ता गठबन्धनमा दुई गुट: साना दल हावी, ठुला दल निरिह

प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर २४ - सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनमा दुई गुट देखिएका छन्। प्रमुख घटक मधेसी दलहरुकै अनुपस्थितिमा शनिबार साँझ गठबन्धन (साना दस दलको गुट) को बैठक भएको छ। बैठकले मंसिर २७ सम्म सहमतीय सरकार नबने यही मन्त्रिपरिषद विस्तार गर्ने निर्णय लिएको छ।
बैठकमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तमलोपा र नेपाल सद्भावना पार्टीका शीर्ष नेता थिएनन्। मधेसी मोर्चाका संयोजकसमेत रहेका फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतो बैठकमा गएनन्। गठबन्धनका संयोजकसमेत रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि बैठकमा पूरै समय बसेनन्, 'मेरो समर्थन छ, अरूसँग पनि कुरा गर्नु छ' भन्दै चाँडै निस्किए।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकले मंसिर २७ भित्र सहमतीय सरकार नबने मन्त्रिपरिषद विस्तार गर्ने, फेरि पनि समय थप्ने कोसिस भए त्यसको विरोध गर्ने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईसहित गठबन्धनका साना दस दलका नेता थिए।

उक्त बैठकबारे आफूले कुनै जानकारी नपाएको सद्भावना अध्यक्ष एवं स्वास्थ्यमन्त्री राजेन्द्र महतोले बताए। 'बिहान गठबन्धन सचिवालयको बैठक बसेको हो, बेलुका पनि बस्यो र?' महतोले नागरिकसँग सोधे, 'बेलुकाको बैठकबारे मलाई कुनै खबर भएन।' आफू काठमाडौंमै रहे पनि खबर नगरिएको उनको भनाइ छ।
गठबन्धनको अर्को घटक तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले पनि साँझको बैठकबारे अनभिज्ञता प्रकट गरे। 'मलाई गठबन्धन बैठकबारे कुनै जानकारी आएन,' भौतिक योजना तथा निर्माणमन्त्री त्रिपाठीले नागरिकसँग भने, 'बैठक हुँदैछ भनेर कसैले खबर गरेन।'
संक्रमणकालीन अवस्थामा निषेधको राजनीति गरेर मुलुकको हित हुन नसक्ने धारणा गठबन्धन बैठकमा पार्टीले राख्दै आएको त्रिपाठीले जानकारी दिए। 'कसैले कसैलाई निषेध गरेर जान सक्ने अवस्था छैन, सहमतिको विकल्प कसैसँग पनि छैन,' त्रिपाठीले भने।
गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले भने मधेसवादी दलका शीर्ष नेता राजधानीबाहिर रहेकाले बैठकमा सहभागी हुन नसकेको दाबी गरे। 'मधेसवादी दलका नेता काठमाडौं बाहिर रहेकाले बैठकमा सहभागी हुन सक्नुभएन,' सिंहले नागरिकसँग भने, 'सबै शीर्ष नेता सधैँ बैठकमा सहभागी हुने गरेका पनि छैनन्, कहिले को, कहिले को छुटिरहेका हुन्छन्।' बैठकमा सबै मधेसी दलका प्रतिनिधि सहभागी भएको उनले जिकिर गरे।
गठबन्धन सचिवालय सदस्यका नाताले फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देव बैठक थिए। पछिल्ला बैठकमा प्राय मौन रहने गच्छदार साँझ त्यहाँ गएनन्। स्रोतका अनुसार मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष तथा सञ्चारमन्त्री राजकिशोर यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा सिँचाइमन्त्री महेन्द्र यादव भने बैठकमा थिए। अघिल्लो बिहीबारको बैठकमा झैँ उनीहरु मौन बसेका थिए।

'राष्ट्रपतिले दिएको समयसीमाभित्र पनि सहमति हुन सकेन भने सरकार विस्तार गरेर जाने निर्णय गठबन्धनले गरेको छ,' सिंहले बैठकको निर्णय उद्धृत गरे, 'फेरि म्याद थप्ने कोसिस भयो भने गठबन्धन त्यसको विपक्षमा कडा रुपमा उभिन्छ।'
गठबन्धनको बैठकमा संयोजक दाहालले नै छलफलका एजेन्डा राख्ने चलन पनि शनिबारको बैठकमा तोडियो। प्रवक्ता सिंहले नै मंसिर २७ गतेभित्र सहमति जुट्न नसके सरकार विस्तार गर्नुपर्ने प्रस्ताव बैठकमा राखेका थिए। 'राष्ट्रपतिज्यूले पेस गर्नुभएको म्यादमा पनि सहमति हुन सकेन भने सरकार विस्तार गरेर जानुपर्छ,' सिंहलाई उद्धृत गर्दै एक सहभागीले भने, 'र त्यसभन्दा एक दिन पनि म्याद थप गर्नेमा गठबन्धनले सहमति दिनुहुँदैन।'
सिंहले भने आफूले प्रस्ताव नल्याएको जिकिर गरे तर कसले राखेको भन्ने खुलाउन चाहेनन्।
बैठकस्रोतका अनुसार प्रवक्ता सिंहले राखेको सो प्रस्तावमा दस साना दलले समर्थन जनाएपछि मात्र संयोजक दाहालले समर्थन जनाएका थिए। 'अध्यक्षले मेरो पनि समर्थन छ मात्रै भन्नुभो र सहमतिका लागि अहिले वार्ता र छलफल गर्नु छ भन्दै बैठक नसकिँदै हिँड्नुभो,' ती नेताले नागरिकसँग भने।
उनका अनुसार एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासँग भएको संयुक्त भेटघाटबारे अध्यक्ष दाहालले बैठकमा सामान्य जानकारी दिएका थिए।
प्रधानमन्त्री भट्टराईले भने सिंहको प्रस्तावमा पूर्ण समर्थन जनाउँदै आफू मन्त्रिपरिषद विस्तारको तयारीमा छिट्टै लाग्ने बैठकमा धारणा राखेका थिए। दाहाल हिँडेपछि फोरम लोकतान्त्रिकका महासचिव देव र प्रवक्ता सिंहले निर्णय ड्राफ्ट गर्ने तथा विज्ञप्ति तयार पार्ने काम गरेका थिए।
बैठकमा नियमित सहभागी नेताका अनुसार गठबन्धनका पछिल्ला बैठकमा साना दल १० हावी छन्। 'हाम्रा निर्णय मानेनौ भने गठबन्धनबाट बाहिरिन्छौं भनेर साना दल घुर्की लगाउँछन्, गठबन्धन जोगाउन पनि उनीहरुको मागअनुसार निर्णय हुने गरेको छ,' ती नेताले भने, 'विज्ञप्तिमा पनि संयोजक दाहालको हस्ताक्षर हुन छाडेको छ।'
तमलोपा, नेपालका सहमहामन्त्री सर्वेन्द्रनाथ शुक्लाले साना १० दलको दबाबमा सो निर्णय भएको भन्दै त्यस निर्णयलाई गलत भएको टिप्पणी गरेका छन्। 'साना १० दलको दबाबमा मन्त्रिपरिषद विस्तार गर्ने निर्णय भएको छ, यसले मुलुकलाई सिधै मुठभेडमा लैजान्छ,' शुक्लाले नागरिकसँग भने, 'यसको पक्षमा (मन्त्रिपरिषद विस्तार) मधेसी मोर्चा छँदैछैन, त्यो सम्भव पनि छैन।'
शुक्लाले सहमतिको प्रयास भइरहेका बेला प्रधानमन्त्री भट्टराईले मन्त्रिपरिषद विस्तारको निर्णय गराएर गलत काम गरेको आरोप लगाए।
स्रोतका अनुसार बैठकमा साना दलहरु विश्वेन्द्र पासवानको दलित जनजाति पार्टी, हरिचरण साहको नेपाली जनता दल, रुक्मिणी चौधरीको संघीय लोकतान्त्रिक मोर्चा, रामनरेश यादवको राष्ट्रिय सद्भावना पार्टी, हिमालय प्रधानांगको चुरे भावर पार्टीलगायतको दबाबमा निर्णय भएको हो।

No comments:

Post a Comment