Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, December 14, 2012

किरणको आर्ट

प्रकाश तिमल्सिना -काठमाडौं घट्टेकुलो मोडबाट सिंहदरबार पूर्वी ढोका पुग्नुअघि बायाँपट्टि जस्ताले छाएको सानो टहरो छ। लेखिएको छ- किरणको आर्ट। त्यही टहरोभित्र तुल/ब्यानर बनाइरहेका, स्टाम्प प्याड र फ्लेक्स बोर्डका काम गरिरहेका किरण मगर बिहानदेखि बेलुकासम्मै भेटिन्छन्।
ग्राहक आउनेबित्तिकै अर्डरअनुसार काम सकेर खुसी पार्नुपर्छ ताकि अर्कोपटक पनि आओस्। ढिला गरे ग्राहक भड्किएलान् र रोजीरोटीमा समस्या होला भन्ने डर। ओशोका भक्त भएकाले धेरैजसो रातो लुगामा देखिने ३६ वर्षीय मगरलाई थुप्रैले 'स्वामीजी' भनेर सम्बोधन गर्छन्। आजभोलि उनै 'स्वामीजी' को दिनचर्यामा निकै फेरबदल आएको छ। उनलाई चिन्नेहरू हिजोआज फ्लेक्स बोर्ड, तुल/ब्यानरको कुरा मात्रै सोध्दैनन्। यस्तो पनि सोध्छन्, 'भन्नुहोस् स्वामीजी, देश कता जाँदै छ? राजनीति के हुन्छ?' स्वामीजी पनि के कम? राजनीतिबारे आफूलाई थाहा भएका सबै कुरा खररर भनिहाल्छन्।

दिनभरी रङसँग खेल्ने यी स्वामीजी अहिले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संयोजक रहेको सरकार पक्षधर संघीय लोकतान्त्रिक गठबन्धनका प्रमुख नेतामध्ये एक हुन्। 'हिजोअस्तिसम्म तुल-ब्यानर पोत्ने र स्ट्याम्प प्याड बनाउने काममा सीमित थिएँ,' स्वामीजीले भने, 'आजकाल बालुवाटार, सिंहदरबार र लाजिम्पाट जान्छु, देशका बारे छलफल गर्छु, धारणा राखेर फर्किन्छु।' स्वामीजी जनता दल युनाइटेड पार्टीका निमित्त अध्यक्ष भएपछि यो मौका पाउन थालेका हुन्।
नेपाली जनता दल विभाजित भई गठन भएको उक्त पार्टीका अध्यक्ष विश्वनाथ अग्रवाल बिरामी छन्, निमित्त अध्यक्षको जिम्मेवारी पाएका स्वामीजी तगडा र फुर्तिला। 'अध्यक्षज्यू बिरामी हुनुहुन्छ, राम्रोसँग हिँडडुल पनि गर्न नसक्दा पार्टीको सम्पूर्ण जिम्मेवारी मलाई दिइएको छ,' स्वामीजीले भने, 'अहिले पार्टीको सबैजसो काम म हेर्छु, बैठक बोलाउनेदेखि अन्य बैठकमा पार्टीको प्रतिनिधित्व पनि गर्छु।'
दलहरूको बैठकमा नियमित सहभागी हुँदै आएका स्वामीजी गठबन्धन संयोजक दाहालको अरूको मनकै कुरा बुझ्ने क्षमताको तारिफ गर्छन्। 'आज बैठकमा केही भन्छु भनेर योजना बनाएर गयो, मनको योजना प्रचण्ड आफैंले भनिदिन्छन्,' स्वामीजी दंग पर्छन्, 'कुरा राख्न गएको मान्छे, प्रचण्डको कुरा सुनेपछि ताली बजाएर पो फर्किन्छ र सोच्छ, मनको कुरा कसरी थाहा पाए होलान यिनले?' प्रचण्डको यो क्षमताको रहस्य भने स्वामीजीले बुझेका छैनन्।
उनका अनुसार बैठकहरूमा प्रधानमन्त्री बाबुराम भट्टराई भने कम बोल्छन्। 'प्रमुख नेतालाई भन्दा पनि दोस्रा तहका नेतालाई बोल्न हतार भएको देख्छु,' उनको अनुभव छ।
गठबन्धनको नेता हुनुअघि प्रचण्डदेखि बाबुराम भट्टराईसम्म, विजय गच्छदारदेखि महन्थ ठाकुरसम्म, माधवकुमार नेपालदेखि राष्ट्रपति रामवरण यादवसम्म स्वामीजीकोे चिनजान टेलिभिजन र पत्रपत्रिकामा सीमित थियो। हेर्दाहेर्दै आजकाल स्वामीजी नै उनीहरूका सामू धारणा राख्छन्, तर्क पनि गर्छन्।
बैठकमा गइरहनुपर्दा नियमित काममा भने धेरै बाधा पुग्छ। 'एकदिन जागरण नेपालको तुल बनाउदै थिएँ, बालुवाटारबाट तुरन्त बैठकमा आउनू भनेर फोन आयो, ब्यानर बनाउनै छोडेर गएँ र राति फर्केर ब्यानर बनाएँ,' स्वामीजीले कष्ट सुनाए।
'देशको बारेमा गम्भीर छलफल' गर्दागर्दै स्वामीजीलाई फोन आउँछ- 'मेरो ब्यानर लेखिसक्नु भयो? स्ट्याम्प प्याड बनिसक्यो? तपाईं कता हो? मेरो स्ट्याम्प प्याड बनाउनु पर्योन, फ्लेक्स बोर्ड तुरुन्तै चाहियो!' उनलाई निकै अप्ठयारो पर्छ त्यस्तो बेला। कसरी झेल्छन् त्यस्ता फोनहरू?
स्वामीजीले भने, 'कहिले स्ट्याम्प प्याड र ब्यानरको नमूना त्यही झुन्ड्याएर जानुहोस् भन्छु, कहिले एकछिन कुर्नुहोस्, म आउँदैछु भन्छु, बैठकका सहभागी भने अचम्म मानेर हेर्छन्।' स्वामीजीका अनुसार उनको पेन्टिङ व्यवसायबारे साना दलका केही नेता बाहेक गठबन्धनका प्रायःलाई थाहा छैन।
अर्को दिन पनि बालुवाटारबाट त्यस्तै आकस्मिक फोन आयो। हतारहतार ट्याक्सीमा जानुपर्ने। खल्तीमा पैसा रहेनछ। 'यहीं नजिक बस्ने (अनामनगर) चिनेको ट्याक्सी ड्राइभर थियो, उसैलाई लिएर बालुवाटार गएँ र उताबाट फर्केर आएपछि भाडा तिरेँ।'
जीवनसंगिनी कल्पना दर्लामी कहिलेकाहिँ सबैका स्वामीजी र आफ्ना 'स्वामी'को 'अचाक्ली नेतागिरी'बाट दिग्दार हुँदै भन्दिरहिछन्, 'मन्त्री छैन सरकारी, घरमा छैन तरकारी, के नेता बन्छौ र देश बनाउँछौं बुढा?' आध्यात्मिक स्वभावका स्वामीजी हाँसेर टारिदिन्छन्। बालुवाटार र लाजिम्पाटस्थित दाहाल निवासमा हुने गठबन्धनको बैठकमा जान स्वामीजी प्रायः अनामनगर हुँदै जाने नेपाल यातायात प्रयोग गर्छन्।
स्वामीजी महिनाको सरदर तीस हजार रुपैयाँ कमाउँछन्। टहरो र घट्टेकुलोमा रहेका दुई कोठाका भाडा, चामाल, ग्यास, बत्ती र तरकारी भन्दाभन्दै कमाएको सबै पैसा सकिन्छ। 'त्यसमा पनि पार्टी कार्यकर्तालाई गाडी भाडा र मिटिङ भन्दा वचतको त कल्पना नै नगरौं,' उनको दुखेसो छ। सानै भए पनि पार्टी चलाउने काम निकै दुःखपूर्ण भएको अनुभव पोख्छन् उनी।
ठूला नेतासँग उठबस गर्दा भने उनलाई निकै आनन्द लाग्छ। उनका लागि यो जीवनकै महŒवपूर्ण उपलब्धिमध्ये एक हो। 'म राजनीतिमा आउने मान्छे नै होइन,' स्वामीजीले राजनीतिमा आउनुको कारण खोले, 'एकजना पत्रकारले हरिचरण साह (अध्यक्ष, नेपाली जनता दल)को पार्टीलाई संविधानसभाका लागि उम्मेदवार चाहिएको छ भन्ने खबर गर्योस र साहजीलाई भेटेँ, टिकट मिलिहाल्यो।' सोही भेटले उनलाई संविधानसभा निर्वाचनमा काठमाडौं- ४ बाट साहकै पार्टीको उम्मेदवार बनायो। ७० मतसाथ उनी तेर्हौंल स्थानमा आए, नानीमैया दाहालभन्दा एक तह माथि। आफैं उम्मेदवार भएको बेला उनी आफैंले भने मत हाल्न पाएनन् किनभने उनको नाम सप्तरी कल्याणपुरको सूचीमा थियो।
चुनावमा उम्मेदवार भए पनि उनी पार्टीको कुनै जिम्मेवारीमा भने बसेनन्। त्यसपछि उनी आफ्नै पेन्टिङ व्यवसायमा सीमित भए। 'जब पार्टी विभाजन भयो, त्यसका लागि केही भूमिका खेलेको मात्र के थिएँ, मैलै उपाध्यक्षको जिम्मेवारी पो पाएँ,' स्वामीजी दंग हुँदै सुनाउँछन्।
गठबन्धनमा नियमित सहभागी स्वामीजीसँग बालुवाटारको एउटा बैठक भने डर र त्रासमा गुजारेको अनुभव पनि रहेछ। 'बालुवाटारमा बैठक बसिरहँदा राष्ट्रपतिले सेना लगाएर प्रधानमन्त्री र सरकारलाई 'कु' गर्दैछन् भन्ने कुरा उठ्यो, प्रचण्ड पनि अध्याँरो मुख लगाएर बसे, प्रधानमन्त्री पनि निन्याउरो, अरू पनि एकअर्काको मुखमा हेर्छन्, बोल्दैनन्, सबै आत्तिएका,' उनी त्यो दृश्य सम्झन्छन्, 'मलाई पनि निकै डर लाग्यो, भर्खर बिहे गरेको छु, बच्चा भर्खरै जन्मेको छ, व्यवसाय गरी गुजारा चलाउँदै थिए, के नपुग थियो र राजनीतिमा आउनु परेको होलाजस्तो लाग्यो, झलझली जेल सम्झेेँ।'
उनी उठेर शौचालय गएछन् र आफूलाई निकै शान्त पारेछन्। 'त्यसपछि १५/१६ हजार मान्छे मार्ने त यहाँ नेता भएर बसेका छन्, जाबो म पेन्टरलाई चार महिना राजनीतिमा लागेकै भरमा जेल लान्छ भने लगोस्,' उनले सम्भि्कए, 'परिवर्तनका लागि राजनीतिमा आएको हुँ, मैले अरू के नै बिगारेको छु र भन्ने सोचेपछि डर हरायो।'
आइएसम्म पढेका स्वामीजी गठबन्धनको बैठकमा सहभागी हुन थालेको चार महिना मात्रै भयो। 'अरूले ४० वर्षमा नबुझेको राजनीति मैले चार महिनामा बुझेँजस्तो लाग्छ,' स्वामीजीको अनुभव छ, 'वास्तवमा यो मुलुक जम्मा २०-३० जनाले चलाउँदा रहेछन्, त्यसमा पनि चार-पाँच जनाको वरिपरि सिंगो राजनीति घुमेको हुँदो रहेछ।' ३ करोड नेपालीको भविष्य यति थोरै नेताको हातमा रहेको बुझेपछि स्वामीजीलाई धेरैपटक नरमाइलो लाग्यो। उनलाई यो यथार्थ चिर्ने इच्छा छ।

No comments:

Post a Comment