Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, December 13, 2012

सरकारबारे मधेसी मोर्चा विभाजित

प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर २९ - राष्ट्रपति रामवरण यादवले सहमतीय सरकारका लागि आह्वान गरेपछि सरकारको मुख्य घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विभाजन देखिएको छ।  सहमतीय सरकारबारे मोर्चाभित्र फरक-फरक धारणा देखिएकाले लामो समयदेखि मोर्चाको बैठक बस्न सकेको छैन। राष्ट्रपतिको आह्वानबारे समेत मोर्चाले औपचारिक धारणा सार्वजनिक गरेको छैन।
फोरम गणतान्त्रिकका सहअध्यक्ष बिपी यादवले मधेसी मोर्चाले कुनै पनि निर्णय गर्न नसकेकाले राष्ट्रपतिको आह्वान र सहमतीय सरकारबारे धारणा बनाउन पार्टीलाई समस्या परेको बताए। ‘सिंगो मधेसी मोर्चाले कुनै पनि धारणा सार्वजनिक गर्न सकेको छैन। उसले न राष्ट्रपतिको आह्वान स्वागत गर्न सकेको छ, न त विरोध।' उनका अनुसार मोर्चाले आधिकारिक धारणा सार्वजनिक नगरेकाले मोर्चा आबद्ध दल अन्योलमा छन्।
सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनले मंसिर २७ भित्र सहमति नभएमा मन्त्रिमण्डल विस्तार गर्ने निर्णयमा आपत्ति जनाइसकेको छ। विपक्षी दललाई निषेध गर्नुहुन्न भन्नेमा चाहिँ मोर्चाबीच मतैक्य छ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार तथा नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनभन्दा बाहिरबाट सहमति खोज्नुपर्ने पक्षमा छन्। ‘सहमतिका लागि बाहिर (गठबन्धन) को प्रधानमन्त्रीलाई पनि स्वीकार गर्न हामी तयार हुनुपर्छ,' भन्ने धारणा राख्दै आएका गच्छदारले बुधबार सोही धारणाा सार्वजनिक गरिसकेका छन्।
तमलोपाका अध्यक्ष महन्थ ठाकुर भने गठबन्धनभित्रैबाटै प्रधानमन्त्री चयन गर्नुपर्नेमा अडिग छन्। ‘गठबन्धनभन्दा बाहिरबाट प्रधानमन्त्री खोज्नु हँुदैन,' ठाकुरले भन्दै आएका छन्।
यता, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव भने बाबुराम भट्टराई सरकारको निरन्तरताको पक्षमा देखिन्छन्।
‘सहमति नभइकन सरकार छाडेर हिँडनु हँुदैन,' गणतान्त्रिकका अध्यक्ष यादवले भने। तराई मधेस लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महेन्द्र यादव भने अझै अनिर्णीत छन्। ‘राष्ट्रपतिको आह्वान सकारात्मक रहेको' भन्ने अभिव्यक्ति दिए पनि सिँचाइ मन्त्रीसमेत रहेका यादवले गठबन्धनको बैठकमा ‘पर्ख र हेर'को नीति लिएका छन्।
साना दलको छुट्टै मोर्चाबन्दी
सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनमा आबद्ध साना १० सहित एक स्वतन्त्र पूर्वसभासदले पुनः मोर्चाबन्दी गर्ने भएका छन्।
गठबन्धनभित्रै मोर्चाबन्दी गर्दै आएका साना दलले प्रधानमन्त्रीबाहेक सबैले राजीनामा दिनुपर्ने, गठबन्धनको निर्णय कार्यान्वयन गर्नुपर्ने मागसहित मन्त्रिमण्डल विस्तारबाट हटेको भन्दै मोर्चाबन्दी गर्न लागेका हुन्।
‘पहिले साना दलको बैठक बसेर मोर्चाबन्दी गर्दा संयोजक (एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल) ले यो काम अहिले नगर्नुहोस्, नराम्रो सन्देश जान्छ भन्नुभएपछि रोक्यौं,' असन्तुष्ट एक नेताले नागरिकसँग भने, ‘अहिले गठबन्धनले गरेको निर्णय पनि नमान्ने र उल्टो काम गर्दै जाने भएपछि किन चुप लागेर बसिरहने ?' उनकाअनुसार गठबन्धनको आगामी बैठकमा साना दलका माग कार्यान्वयन गराउन दबाब दिइनेछ।
‘प्रधानमन्त्रीबाहेक सबैलाई राजीनामा गराएर सहमतिको वातावरण बनाउनुपर्छ भन्यौं, त्यो पनि कार्यान्वयन भएन,' अर्का नेताले भने, ‘प्रधानमन्त्रीले मधेसी मोर्चाको मात्र कुरा सुन्ने तथा हाम्रा जायज माग बेवास्ता गरेकाले दबाब दिन पुनः मोर्चाबन्दी गर्न लागिएको हो।'
पुतलीसडकस्थित रामनरेश यादव नेतृत्वको राष्ट्रिय सदभावना पार्टीको कार्यालयमा साना १० दलले आफ्ना माग पूरा गराउन संयुक्त बैठक बसी मोर्चाबन्दी गरेपछि संयोजक दाहालले त्यसलाई यसअघि रोकेको उनले जानकारी दिए। बैठकमा हरिचरण साह नेतृत्वको नेपाली जनता दल, विश्वेन्द्र पासवानको दलित जनजाति पार्टी, रुक्मणी चौधरीको संघीय लोकतान्त्रिक समाजवादी पार्टी, विश्वनाथ अग्रवालको जनता दल युनाइटेड, रामनरेश यादवको राष्ट्रिय सदभावना पार्टीको प्रतिनिधित्व थियो। यसैगरी एमएस थापाको नेपाल जनमुक्ति पार्टी, मोती दुगडको नव नेपाल निर्माण पार्टी, हिमालय प्रधानाङ्गको चुरेभावर राष्ट्रिय एकता पार्टीसहित स्वतन्त्र पूर्वसभासद सरुदल हक मियाँ साना दलको मोर्चाबन्दीमा छन्। पार्टी निर्णयविपरीत गठबन्धनमा सहभागी भएको भन्दै पार्टीबाटै निलम्बित गठबन्धन प्रवक्ता प्रेमवहादुर सिंह बैठकमा सहभागी थिए।

No comments:

Post a Comment