Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, December 10, 2012

दाहाल र भट्टराईपक्षका मजदुरबीच झडप

प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर २६ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर मजदुर नेताबीच सोमबार झडप हुँदा चार घाइते भएका छन्।
होटल एभरेस्ट मजदुर युनियन दर्ताको विषयमा विवाद बढेपछि टेकुस्थित श्रम कार्यालय परिसरमा भएको झडपमा दाहाल पक्षधर झलक श्रेष्ठ तथा भट्टराई पक्षधर विक्रम राई, मणिराम थापा र राजन विष्ट घाइते भए। घाइते तीनजनाको मीनभवनस्थित निजामती अस्पतालमा उपचार भइरहेको छ, श्रेष्ठ डिस्चार्ज भएका छन्।
होटल एभरेस्टका दाहाल पक्षधर मजदुरले किर्ते हस्ताक्षर र नक्कली लेटरप्याड प्रयोग गरी युनियन दर्ता गर्न खोजेको भन्दै भट्टराई पक्षधरले प्रतिवाद गरेपछि झडप भएको थियो। 'किर्ते हस्ताक्षर, नक्कली लेटरप्याड र स्ट्याम्प प्रयोग गरी युनियन दर्ता गर्न लागेपछि मजदुर साथीहरूले विरोध गरेका थिए,' भट्टराई पक्षधर मजदुर नेता राजु बडुवालले नागरिकसँग भने, 'दाहाल पक्षधर मजदुर नेताले हाम्रा साथीलाई रडले हानेर घाइते बनाए।' उनका अनुसार घाइते तीनैजना मजदुर नेताको अवस्था गम्भीर छ।
झलक श्रेष्ठ, राजन खड्का, रत्न नगरकोटी, प्रेम बोलखे र मुकुन्द पन्तले आफूमाथि सांघातिक आक्रमण गरेको भन्दै भट्टराई पक्षधर घाइते मजदुर नेताले प्रहरी वृत्त कालिमाटीमा किटानी जाहेरी दिएको अर्का नेता मुक्ति दाहालले बताए।
उक्त घटनापछि पुनः सोही विषयलाई लिएर दाहाल पक्षधर नेता श्रेष्ठमाथि एभरेस्ट परिसरमै आक्रमण भएको छ। घाइते श्रेष्ठ उपचारपछि घर फर्केका छन्। 'कुरै नबुझी ममाथि आक्रमण भयो, उपचारपछि अहिले घर फर्केको छु,' श्रेष्ठले नागरिकसँग भने।
होटल मजदुरको किर्ते हस्ताक्षर तथा होटल व्यवस्थापनको नक्कली लेटरप्याड र स्ट्याम्प बनाएर संस्था दर्ता नगरेको श्रेष्ठको भनाइ छ। 'मलाई अध्यक्ष बनाएर युनियन दर्ता गराउन खोजिएको रहेछ, त्यो मलाई थाहा छैन,' श्रेष्ठले भने, 'मलाई होटलवाट हटाउने र बदनाम गराउने उद्देश्यले योजना बनाइएको हो।' उनका अनुसार युनियन दर्ता प्रकरणको छानबिन गरी सत्यतथ्य चाँडै नै सार्वजनिक गरिनेछ।
भट्टराई पक्षधर मजदुर नेता होम सुवेदीले श्रेष्ठसहित दाहाल पक्षधर मजदुर नेताले कीर्ते हस्ताक्षर गरेको, नक्कली लेटरप्याड र स्ट्याम्प प्याड बनाएको होटल व्यवस्थापनले पुष्टि गरेको बताए। '१ सय १५ जना मजदुरमध्ये अधिंकाशले युनियन दर्ता गर्न आफूले कुनै हस्ताक्षर नगरेको बताएका छन्। जसको कीर्ते हस्ताक्षर गरिएकोे छ, तीनै मजदुरले आक्रमण गरेका हुन्,' सुवेदीले नागरिकसँग भने, 'होटलको लेटरप्याड र स्ट्याम्प नक्कली बनाएर युनियन दर्ता गर्न लागेको थाहा पाएलगत्तै होटल व्यवस्थापनले उनीहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।'
घटनापछि आकस्मिक रूपमा बसेको मजदुर र होटल व्यवस्थापनको बैठकमा घटनाका दोषीलाई कारबाही गर्ने निर्णय भएको हो। 'व्यवस्थापन महानिर्देशक रवि कपिला र प्रबन्ध निर्देशक ऋषिकेश मैनालीले आफंै उपस्थित भएर नक्कली लेटरप्याड र स्ट्याम्प बनाउनेमाथि कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन्,' सुवेदीले भने।
अखिल नेपाल होटल तथा रेस्टुराँ मजदुर संघको पोखरा सम्मेलनबारे भएको विवादपछि संगठनभित्र दाहाल र भट्टराई पक्षबीच विवाद बढ्दै गएको छ। भट्टराई पक्षधर मजदुर नेताको उपस्थितिबिनै दाहाल पक्षले भदौ २७-२९ मा सम्मेलन गरेपछि विवाद उत्कर्षमा पुगेको हो। उक्त सम्मेलनलाई आधिकारिकता दिने/नदिनेबारे एकीकृत माओवादीले निर्णय गर्न सकेको छैन।

No comments:

Post a Comment