Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, December 12, 2012

धोबीघाट मोर्चाका नखुलेका तथ्यहरू

माओवादी र एमाओवादीको महाधिवेशनको तिथि नजिकिदैं गर्दा एकीकृत पार्टी रहँदै बनेको तत्कालीन धोबीघाट मोर्चाको चर्चा यतिवेला पुनः सुरु भएको छ । महाधिवेशनको दस्तावेजहरूमा यसको सकारात्मक वा नकारात्मक के संश्लेषण होला, त्यो निकट भविष्यमा थाह लाग्नेछ । तर, प्रचण्ड पक्षले धोबीघाट मोर्चाबाट निकै अपमानित हुनुपरेको महसुस गरेकाले यसलाई नकारात्मक घटनाको रूपमा संश्लेषण गर्नुपर्ने बताउन थालेको छ । बाहिर सतहमा देखिएका विषयभन्दा त्यतिबेला अलि पृथक ढङ्गले पनि छलफल भएको पाइएको छ । प्रचण्डमा देखापरेको नोकरशाही एकाधिकार ादी प्रवृत्तिका कारण पार्टी रूपान्तरित हुन नसकेको घोषित निश्कर्ष थियो र जो सार्वजनिक पनि भइसकेको छ । तर मोर्चामा सहभागी तत्कालीन विचार समूहहरूको भित्री छलफलमा कसको के मत थियो भन्नेबारे नया“ जनदिशाले नया“ तथ्य पत्ता लगाएको छ ।

पार्टीका तत्कालीन तीनै जना उपाध्यक्षहरू मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा ‘बादल’ सहित पार्टीको वहुमत केन्द्रीय सदस्यहरू प्रचण्डको विपक्षमा एक ठाउँमा त थिए, तर प्रचण्डको विपक्षमा कुन स्तरमा जाने भन्नेबारेमा भने उनीहरूबीच मतैक्यता नरहेको रहस्य खुलेको छ । वैठकमा सहभागी एक नेताका अनुसार बाबुराम भट्टराई पक्ष प्रचण्डलाई अध्यक्षबाट हटाएपछि मात्र पार्टीमा पहल लिन सकिने भएकाले त्यसै गर्नमा अन्त्यसम्म जोड गरिरह्यो । अल्पमतमा पारेर अध्यक्षलाई यसो गर र उसो गर भनेर दवावमा पारेर काम गर्न लगाउँदा राजनीतिक र नैतिक दुवै हिसाबले वेठीक हुन्छ भन्ने भट्टराईको भनाइ थियो । भट्टराईले आफ्नो प्रस्तावको कार्यान्वयन नभएकोमा अलि बढी रिसाइरहेका र यो मोर्चा प्रचण्डले भत्काउन सक्ने आशङ्का प्रकट गरिरहेका थिए । खासगरी नारायणकाजी श्रेष्ठ, सोनाम साथीहरूप्रति भट्टराईको विश्वास नरहेको उनी निकट स्रोत बताउँछ ।

हुन पनि मोर्चामा सबैभन्दा पछि जोडिएका नारायणकाजी श्रेष्ठ निकै अस्थिर देखिन्थे । खरिपाटी र त्यसअघि देखिएको सङ्कट टार्न हैसियतभन्दा बढी महत्व दिएको तर आफूलाई सङ्कट पर्दा यत्रो धोका दिएको भनेर प्रचण्डले भनिरहेपछि नारायणकाजी श्रेष्ठ र उनका केही नेताहरू अस्थिर बनेका थिए । एकातिर उप प्रधान तथा गृहमन्त्रीको लाभको पद र अर्कातिर प्रचण्डले धोका दिन खोजेको भनेर ठूलै दबाव दिइरहेको स्थितिमा श्रेष्ठले अन्त्यमा प्रचण्डलाई छाडे र लाभको पद स्वीकारे । त्यतिबेला वैठकमा सहभागी नेताका अनुसार तत्कालीन किरण–बादल विचार समूहले ार्यविभाजनलाई व्यवस्थित गरौं, प्रवृत्तिहरूलाई पुरक बनाएर परिवर्तनको यात्रामा अगाडि बढौं भन्ने मतलाई द्रहोसँग समातेको थियो । पार्टीभित्रको सबैभन्दा ठूलो विचार समूह भए पनि उसले आफ्नो पक्षलाई पार्टी वा सरकारको नेतृत्वका लागि दाबी गरेन । बाबुराम भट्टराई पक्षले प्रचण्डलाई अध्यक्ष हटाएर किरणलाई स्वीकार्ने प्रस्तावलाई मानेन ।

‘नमानेको किन त ?’ नयाँ जनदिशाको प्रश्नमा ती नेताले भने–‘क्रान्तिका लागि पार्टी एकता जरुरी थियो । क्रान्तिकारी विचारसहितको एकता आवश्यकता थियो । प्रचण्डलाई एकपटक चर्काे दबाव दिएर रूपान्तरण गर्ने अन्तिम योजना थियो । रूपान्तरण हुनुको साटो उनी त झन् हामीसँग बदला लिने मनसायले आए ।’ धोबीघाट मोर्चाको विरुद्ध प्रचण्ड पक्षले पनि कमलादीमा मोर्चा बनायो । त्यतिबेलाको पार्टी निर्णय अनुसार नै धोबीघाटमा एउटै स्तरका नेताहरूभित्र बसेर छलफल भएको थियो भने कमलादीमा काङ्ग्रेसनिकट वुद्धिजीविहरूलाई समेत ल्याएर पार्टी सहयोद्धाका विरुद्ध सार्वजनिक रूपमा आलोचना गर्न लगाइयो । वाहिर चर्काे लडाईं चल्दै गर्दा केन्द्रीय समितिको वैठक डाकियो । दुवै पक्षले केन्द्रीय समितिमा आआफ्नो बाहिर रहेको दाबी गरिरहेका थिए । केन्द्रीय समितिको वैठकमा पनि यसबारेमा रस्साकस्सी परेको एक केन्द्रीय सदस्यले नयाँ जनदिशालाई बताए । वहुमत केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेर बुझाएको प्रतिबद्धतापत्र प्रचण्डलाई बुझाएर त्यसलाई पार्टीको अभिलेखालयमा राख्न भनिएको थियो ।

प्रतिबद्धतापत्रमा लेखिएको भन्दा अझ अगाडि बढेर प्रचण्डले वैठकमा व्याख्या गरे । ‘मलाई यसमा हस्ताक्षर गर्न छुटाउनुभएकोमा दुःख लागेको छ, मेरो पनि यसैमा सहमति मान्नुस’ प्रचण्डको हवाला दिदैं वैठकमा सहभागी नेताले भने । प्रचण्डको भनाइपछि वैठकमा एकछिन हाँसोको फोहोरा छुट्यो । केन्द्रीय सदस्यको वहुमत ‘शो’ गर्नुप¥यो भनेर प्रचण्ड पक्षका नेताहरूले निकै जोड गरे । प्रचण्डले ‘भयो, भयो’ अब च्याप्टर सकियो भनेर भन्दा पनि हल्ला गरेपछि दुवै पक्षले हस्ताक्षर भएका केन्द्रीय सदस्यहरूको नाम पढ्न दबाव दिए । ७६ जनाको नाम पढ्दा नपढ्दै एकछिन अघि चर्काे स्वरमा कराउनेहरू उठेर बाहिर हिंड्न थाले । गम्भीर विषयमा अल्पमतमा परेपछि प्रचण्डले राजीनामा दिनसक्छन भनेर केहीले अड्कल काटेका थिए तर प्रचण्डले त्यसलाई सहजै पचाइदिए । पालुङटारको विस्तारित वैठकबाट पारित क्रान्तिकारी दस्ताबेज प्रचण्डले फेरेर पछिल्लो केन्द्रीय समितिको वैठकमा बाबुराम भट्टराईले प्रस्तुत गरेको फरकमतको पक्षमा प्रचण्ड उभिएका थिए । प्रचण्डले नीतिगत रूपमै धोका दिएपछि किरण–वादल विचार समूहले फरकमत प्रस्तुत गरेको थियो । त्यो वैठकको निर्णयको पृष्ठभूमिमा धोबीघाट मोर्चा बनेको थियो ।

धोबीघाटको प्रतिबद्धता

पार्टीको अगाडि क्रान्तिकारी रूपान्तरण र पार्टी एकताको विकल्प छैन । त्यसको लागि हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभवको सश्लेषण एवम् प्रतिक्रान्तिका शिक्षाहरूलाई आत्मासत गरी सङ्गठनात्मक प्रणालीलाई सामूहिक नेतृत्वको अवधारणाको प्रयोग जनवादी केन्द्रियताको अभ्यास र नयाँ ढङ्गको पार्टी निमार्णलाई केन्द्रमा राखेका छौं । परन्तु पार्टीको मूल नेतृत्वमा देखापरेको नोकरशाही एकाधिकारवादी प्रवृत्तिले गर्दा आज पार्टी रूपान्तरित हुन सकिरहेको छैन ।
पार्टी पद्धतिविहीन बन्दै गइरहेको छ । बैठकहरू पटक–पटक अनिर्णयको बन्दी बनिरहेका छन् । केही निर्णहरू लिइयो भने पनि ती व्यवहारमा क्रियान्वयन भइरहेका छैनन् । पार्टी विधान तथा दस्तावेजहरू परित हु“दै थन्किदै गरिराखेका छन् । व्यवहारमा व्यक्तिवाद देखापर्दै गइरहेको छ । पार्टी विसर्जनको दिशातर्फ तीव्र रूपमा बढिरहेको छ । अतः पार्टीलाई विसर्जन हुन नदिन, पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्नैपर्छ । नया“ ढङ्गले पार्टीलाई सु–सङ्गठित गर्न पार्टीमा सामूहिक नेतृत्व प्रणालीको विकास गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । पार्टीमा विधिविधानलाई स्थापित गर्नैपर्दछ । जनवादी केन्द्रीयताको मान्यताअनुसार विचारमा स्वतन्त्रता र कामकारवाहीमा एकरूपताको मान्यतालाई दह्रोस“ग अबलम्बन गर्नु पर्दछ । अन्तरसङ्घर्षको क्रममा भएका कमीकमजोरीलाई सच्याउ“दै स्वस्थ, मैत्रीपूर्ण र रूपान्तरणमुखी ढङ्गले अन्तरसङ्घर्ष सञ्चालन गर्नु पर्दछ । पार्टीभित्र रहेका विभिन्न प्रवृत्तिहरूलाई एक अर्काको परिपुरक बनाएर लैजानु पर्दछ । परन्तु पार्टीमा भिन्न मतलाई निषेध गर्ने र असहिष्णु बन्ने एकमानावादी नोकरशाही प्रवृत्ति बढ्दो छ । त्यसलाई दुरुत्साहित गर्नै पर्दछ । सामूहिक पद्धतिमा आधारित नया“ ढङ्गको पार्टी निमार्णका लागि पार्टीका जिम्मेवारीहरूलाई पनि वैज्ञानिक ढङ्गले विभाजन गर्नुपर्दछ । त्यसको लागि पाटीर्, सदन, सरकारसहितको संयुक्त मोर्चा र सैन्य जिम्मेवारीलाई विभाजन गरी पार्टीको माथिदेखि तल्ला कमिटीहरूसम्म एक व्यक्ति एक मुख्य जिम्मेवारीको मान्यताअनुसार कार्य विभाजन गर्न पहल गर्नुपर्ने भएको छ । एवम् प्रका ले पार्टीको आर्थिक आयव्यय तथा स्रोत साधनको सामूहिक व्यवस्थापन र ठोस जिम्मेवारी विभाजन गर्न पनि पहल गर्नुपर्ने भएको छ । पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्नका लागि पार्टी अध्यक्षलाई रूपान्तरित गर्दै हामी सबै पनि रूपान्तरित हुन, नया“ ढङ्गको कम्युनिस्ट पार्टी निर्माण गर्न र पार्टी एकतावद्ध गर्न, पार्टी अन्तरसङ्घर्षलाई सशक्त र प्रभावकारी ढङ्गले अगाडि बढाउन हामी प्रतिबद्ध भएका छौं ।

उपाध्यक्ष मोहन वैद्य ‘किरण’, 
उपाध्यक्ष बाबुराम भट्टराई, 
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,
महासचिव रामबहादुर थापा ‘वादल’,
 पीबीएम स्वनाम साथी, 
पीबीएम नवराज सुवेदी, 
संस्थापक सदस्य नरबहादुर कर्माचार्य ।
source: janadishanews.com

No comments:

Post a Comment