Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, May 15, 2016

माओवादीको एकीकरण प्रक्रियावाट मातृका यादव बाहिरिए

एकीकृत नेकपा माओवादीबाट छुट्टिएर गठन भएका विभिन्न माओवादी पार्टीबीच जेठ ६ गते एकीकरण हुने भएको छ। झन्डै आधा दर्जन पार्टीले संयुक्त केन्द्रीय समिति बैठक बसी पार्टी एकता घोषणा गर्ने भएका हुन्।
पार्टी एकताको विधि र प्रक्रिया तय गर्न पाँच सदस्यीय संयोजन समिति गठन गरिएको छ। समितिमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथै रामबहादुर थापा, मणि थापा, जयपुरी घर्तीमगरका साथै वसन्त घर्तीमगर सदस्य छन्। उक्त समितिले नै पार्टी एकताको सम्पूर्ण कार्यविधि तय गर्नेछ। त्यसका लागि सबै माओवादी पार्टीका नेताले आन्तरिक छलफल तीव्र पारेका छन्।

पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादीले आन्तरिक बैठकलाई तीव्रता दिँदै पार्टीबाट छुट्टिएर गठन भएका माओवादीबीच एकीकरणका लागि राजनीतिक, वैचारिक र सांगठनिक विषयमा छलफल जारी राखेको छ। शनिबार मात्रै एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा पक्षधरको अलग–अलग केन्द्रीय समिति बैठकले एकीकरणका लागि तयार रहेको सन्देश प्रवाह गरेका थिए। एमाओवादी केन्द्रीय समिति बैठकले अन्य माओवादी शक्तिसँग पार्टी एकीकरणको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ भने क्रान्तिकारी पक्षले त्यसका लागि थापालाई जिम्मा दिएको छ। मुख्यतः चार माओवादी पार्टीबीच एकीकरण हँुदा क्रान्तिकारी अध्यक्ष मोहन वैद्य भने सामेल हुने छैनन्।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले एकताको जिम्मेवारी अध्यक्ष दाहाललाई दिएको प्रवक्ता दीनानाथ शर्माले बताए। पछिल्लो समय माओवादी शक्तिबीच पार्टी एकता प्रयास घनिभूत भइरहेका बेला अध्यक्ष दाहाललाई उक्त जिम्मेवारी सुम्पिएको शर्माले बताए।

एमाओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, मातृका यादव नेतृत्वको नेकपा माओवादीलगायतसँग पार्टी एकता प्रयास भइरहेका बेला उक्त निर्णय गरेको हो।

'सबै माओवादी शक्तिलाई एकै ठाउँ ल्याउनका लागि प्रयास भइरहेको छ, त्यसको सम्पूर्ण जिम्मेवारी अध्यक्षज्यूलाई दिएका छौं,' प्रवक्ता शर्माले भने। उनका अनुसार जेठ ५ गते एकता प्रक्रियामा आउन चाहने सबै माओवादी शक्तिको संयुक्त केन्द्रीय समिति बैठक गर्नेे प्रयास पार्टीका तर्फबाट हुनेछ।

पोलिटब्युरो सदस्य विश्वनाथ साहका अनुसार पार्टी एकीकरणका लागि एकीकरणमा आउने मुख्य नेताबीच संयोजक बनाएर एकीकरण प्रक्रिया टुंग्याउने निर्णय भएको छ।

'सबै इच्छुक पार्टीका प्रमुख नेताको संयोजन समिति बन्नेछ, त्यसैले पार्टी एकीकरण प्रक्रिया र विधि टुंग्याउनेछ,' साहले नागरिकसँग भने, 'सबै पार्टी र समूहका केन्द्रीय समिति सदस्य रहनेगरी महाधिवेशन आयोजक समिति बन्नेछ।' पार्टी एकताका लागि एमाओवादीले केन्द्रीय समितिको आकार बढाएर ३ सय पुर्या उने तयारी पनि सुरु गरेको छ।

जेठ ५ गते बस्ने संयुक्त केन्द्रीय समिति बैठकबाट पार्टी एकता घोषणा गर्ने कि राष्ट्रिय सम्मेलन वा महाधिवेशनको मिति तय गर्नेबारेमा भने निर्क्योल हुन बाँकी छ।

यसअघि, एमाओवादीले पार्टी एकता गर्ने उद्देश्यसहित क्रान्तिकारी माओवादीका रामबहादुर थापा पक्षधरसँग १२ बुँदे सहमति गरिसकेको छ। तर, थापा पार्टीका अध्यक्ष भने अझै निर्णयमा आउन सकिरहेका छैनन्।

'विचार र राजनीति नमिलेका कारण एकीकरणमा त्यसलाई मिलाउने कोसिस जारी छ,' वैद्यले शुक्रबार भनेका छन्, 'राजनीतिक, वैचारिक मुद्दा मिल्नेबित्तिकै पार्टी एकता भइहाल्छ।' आफू एकीकरणको विपक्षमा नरहेको प्रस्टीकरण वैद्यले दिए पनि पक्षमा पनि खुलेका छैनन्।

अध्यक्ष वैद्य पार्टी एकताका लागि अनिच्छुक भएपछि थापा समूहले शनिबार कोपुन्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा अलग्गै केन्द्रीय समिति बैठक बोलाएका थिए। बैठकले एमाओवादीसँग साताभित्रै एकीकरण गर्ने तयारीसमेत गरेको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताए।

'थापाजीले साताभित्रै एमाओवादीसँग एकता गर्ने जानकारी दिनुभएको छ,' न्यौपानेले नागरिकसँग भने, 'त्यसका लागि आजको बैठकले उहाँलाई संयोजक चयन गरिसकेको छ।' उनका अनुसार बैठकले एकताका लागि १३ बुँदे सहमतिका आधारसमेत पारित गरेको छ।

एमाओवादीसँग एकीकरणका लागि भन्दै थापाको पक्षमा १ सय १३ सदस्य उभिएका छन्। आइतबार पनि जारी रहने उक्त बैठकले एमाओवादीसँग संयुक्त केन्द्रीय समिति बैठक बस्ने निर्णय गर्दैछ।

क्रान्तिकारीका मणि थापाले संविधानका प्राप्त उपलब्धि रक्षा गर्दै बाँकी उपलब्धिका लागि सडक, सदन र सरकारबाट संघर्ष कायमै राख्ने सर्तमा माओवादी शक्तिबीच एकीकरण हुन लागेको बताए। 'मिलेका राजनीतिक विषय स्वीकार गर्दै अन्य विषयपछि टुंग्याउनेगरी एकीकरण हुनेछ,' उनले भने।

उनका अनुसार नयाँ संविधान, कार्यदिशा र अन्य राजनीतिक– वैचारिक विषयमा सहमति हुन बाँकी छ। एकीकरणका लागि तयार रहेका माओवादीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केही पक्षधर पनि एकीकरण प्रयासमा सामेल हुने दाबी गरेका छन्। तर, को–को आउँदैछन् भन्ने खुलेको छैन।

यसैबीच मातृका यादव नेतृत्वको माओवादी पनि एकीकृत माओवादीसँग एकीकरणको पक्षमा रहेको बताइए पनि शनिबारबाट विपक्षमा देखिएका छन्। एमाओवादी अध्यक्ष दाहाललाई राजनीतिक प्रतिवेदनवाट ‘भारतीय विस्तारवाद’ हटाउन मातृकाले जोडबल गर्दै आएका थिए । तर, शनिवारसम्म दाहालले यादवको प्रस्ताव स्विकार गरेनन । अन्तिममा यादवले आफु एकीकरणको प्रक्रियामा सामेल नहुने भन्दै सन्देश पठाए । शनिवार बिहानसम्म एकीकरणका लागि तयार भएका यादव शनिवार साँझको बैठकमा भने नआउने सन्देश दिए ।

No comments:

Post a Comment