Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, May 12, 2016

प्रचण्ड र बादलबिचको गोप्य १२ बुदेँ सहमति यस्तो पो रहेछ

एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादी बिचमा पार्टी एकता गर्नका लागि १२ बुदेँ सहमति भएको छ । औपचारिक रुपमा बाहिर नल्याइएको उक्त सहमतिमा बिगतमा संविधानसभा र नयाँ संविधानलाई अस्विकार गर्दै आएका बैद्य माओवादीका थापा पक्षधरले भने स्विकार गरेका छन । यो सहमतिको सबैभन्दा महत्वपुर्ण पक्ष यही रहन गएको छ । मंगलवार बिहान भएको उक्त सहमति पछि थापा पक्षधरले बोलाएको केन्द्रीय समितिको बैठक स्थगित गरी एकता प्रक्रियामा अनिच्छुक बैद्यको निर्णय कुरीरहेका छन् । उक्त १२ बुदेँ सहमतिमा बैद्यले समर्थन जनाए भने एमाओवादीसँग बैद्य सहितको एकतामा सामेल हुने योजनामा थापा पक्षधर छन भने बैद्यले समर्थन नजनाएमा थापा पक्षधर मात्रै संलग्न रहनेछन् । यद्धपी, बैद्य नआउने निश्चिित जस्तै भए पनि जेठ २ गते बोलाइएको बैठकको प्रतिक्षामा थापाहरु रहेका छन् । प्रस्तुत छ, उक्त १२ बुदेँ सहमति:


१) साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग नै रहेको वर्तमान विश्वमा क्रान्ति र प्रतिक्रान्तिका भीषण वर्ग संघर्षका बीचमा यतिवेला विश्वस्तरमा प्रतिक्रान्ति हावी रहेको छ र कम्युनिस्ट क्रान्तिकारीहरूका अगाडि इतिहासका अनुभवहरूको गम्भीर समीक्षासहित मालेमाको रक्षा, प्रयोग र विकास गर्ने तथा क्रान्तिकारीहरूको नयाँ आक्रामक लहरका निम्ति नयाँ कार्यदिशा, रणनीति र कार्यनीतिको विकास गर्ने चुनौतीपूर्ण दायित्व रहेको छ ।

२) उपरोक्त अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावसहित नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनमा पनि प्रतिक्रियावाद, दक्षिणपन्थी संशोधनवाद र अवसरवाद हावी हुँदै आएको छ । माओवादी नेतृत्वको १० वर्षे महान् जनयुद्ध र त्यसको बलमा सिर्जित क्रान्तिकारी परिस्थिति र उपलब्धिहरू खतरामा छन् । यस सन्दर्भमा वैचारिक अन्योल, अन्तरविरोध र विचलनको वस्तुवादी र तर्कसंगत संश्लेषण हुन नसक्दा माओवादी पार्टी र आन्दोलनमा विभाजनका शृंखलाहरू देखा परे । जसको परिणाम क्रान्तिकारीहरूमा निराशा, विघटन र पलायनका प्रवृत्ति हावी हुन थालेका छन् भने यसबाट प्रतिक्रियावादी र अवसरवादीहरू भने हौसिँदै क्रान्तिका उपलब्धिहरूमाथि आक्रमण बढाउँदै लगेका छन् । परिस्थितिको यो संवेदनशीलताका बीचमा आज सम्पूर्ण माओवादी र सच्चा कम्युनिस्टहरूका बीचमा पार्टी एकता हुनुपर्ने आवाज चारैतिरबाट उठिरहेको छ । वस्तुत: सम्पूर्ण माओवादीसहित सच्चा कम्युनिस्टहरूबीचको एकता आज एक अपरिहार्य वस्तुगत र ऐतिहासिक आवश्यकता बनेर आएको छ ।

३) पार्टी एकतालाई दिगो र दह्रो बनाउन सच्चा क्रान्तिकारीहरूले हमेसा विचारधारात्मक र राजनीतिक कार्यदिशालाई आधार बनाउने गर्दछन् र त्यसै गर्नु पनि पर्दछ । त्यसअनुसार आजको ठोस सन्दर्भमा मालेमालाई पथप्रर्दशक सिद्धान्तका रूपमा रक्षा, प्रयोग र विकास गर्दै जाने कुरामा समझदारी हुनु पार्टी एकताका लागि पहिलो आधारभूत सर्त हो ।

४) वित्तीय पुँजीको तीव्र भूमण्डलीकरण, विज्ञान–प्रविधि मुख्यत: सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति तथा मौसम परिवर्तनको परिघटनालगायतका सन्दर्भमा विश्व साम्राज्यवादले नवउपनिवेशवादको नयाँ रणनीतिद्वारा आफ्नो एकाधिकारवादलाई बचाइराख्ने जमर्काे गरिरहेको छ भने सर्वहारा वर्ग र उत्पीडित राष्ट्र एवं जनताका अगाडि उसका विरुद्ध विचार र रणनीतिको नयाँ विकास गर्दै संघर्ष बढाउनुपर्ने कुरामा समान समाझदारी हुनुपर्दछ ।

५) महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनहरूका बलमा सामान्तवादमाथि राजनीतिक रूपमा जनताले आधारभूत विजय हासिल गरेका छन् । तर, साम्राज्यवादविरुद्धको संघर्ष र राष्ट्रिय स्वाधीनताका प्रश्न आज झन् गम्भीर र सर्वाधिक महत्त्वपूर्ण बनिरहेको छ । यो स्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण एवं सामान्तवादका अवशेषका विरुद्ध संघर्षलाई निरन्तर अगाडि बढाउन आवश्यक छ । सामान्ती अवशेषसहित दलाल र नोकरशाही पुँजीपति वर्ग हावी रहेको वर्तमान प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध संघर्ष गर्दै र राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका समस्या समाधान गरी सामान्तवाद र साम्राज्यवादविरोधी पुँजीवादी जनवादी क्रान्ति, जुन नयाँ जनवादी क्रान्तिकै मुख्य सारतत्त्व हो, त्यसलाई पूर्णता दिई समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने आधारभूत राजनीतिक कार्यदिशामा समान समझदारी पनि एकताका लागि आवश्यक छ । यो अन्तरिम कार्यदिशाका आधारमा अगाडि बढेर अध्ययन, अनुसन्धान र छलफलको प्रक्रियाद्वारा एकता महाधिवेशनबाट कार्यदिशाको परिमार्जन समृद्धीकरण र संश्लेषण गरिनेछ ।

६) सामाजिक क्रान्तिमा बल प्रयोगको भूमिकालाई वर्गीय समाजको सार्वभौम सिद्धान्तका रूपमा स्वीकार गर्ने कुरामा समान बुझाइ आवश्यक छ । आजको ठोस परिस्थितिमा त्यसको स्वरूप निर्धारण गर्नुपर्दछ ।

७) जनवादी केन्द्रीयतालाई आधारभूत संगठनात्मक सिद्धान्तका रूपमा स्वीकार र अभ्यास गर्ने तथा तत्काल संगठनात्मक संरचना, नेतृत्व निर्माणदेखि अन्तरसंघर्ष र एकीकरणको सर्वसम्मत नीति, विधि र प्रक्रिया निर्धारण गर्नुपर्दछ ।

८) नेपालको नयाँ संविधानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका क्रममा माओवादी पार्टीले अघि सारेका राजनीतिक मुद्दाहरूलाई संस्थागत गरेको छ । तापनि यो संविधानले प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नै निरन्तरता दिई राज्यसत्तामा दलाल, नोकरशाही, पुँजीपति र सामान्ती वर्गकै हित सुरक्षित गरेको छ । संविधानमा व्यवस्था गरिएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता एवं समानुपातिक समावेशी प्रतिनिधित्व एवं जनताका मौलिक अधिकारसँग सम्बन्धित सकारात्मक पक्षको स्वामित्व लिने, तिनको रक्षा र उपयोगमा जोड दिनुका साथै यसको प्रतिक्रियावादी संसदीय चरित्रका विरुद्ध संघर्षको नीति लिनुपर्छ ।

९) तत्कालीन कार्यनीतिक दृष्टिले राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका समस्यालाई लिई सबै मोर्चाबाट चौतर्फी पहल र हस्तक्षेप गर्दै क्रान्तिको सम्पूर्ण तयारीमा जोड दिनुपर्दछ । यस सन्दर्भमा सडक, सदन र सरकारका सबै मोर्चालाई उपयोग गदै क्रान्तिको समग्र तयारीको विशिष्ट योजना र कार्यक्रम बनाउनुपर्दछ । क्रान्तिका लागि सडकबाट लिइने पहलकदमीको मुख्य र सदन तथा सरकारबाट लिइने पहलको सहायक र विशिष्ट भूमिका रहने कुरामा समान समझदारी रहनुपर्दछ । तराई–मधेस एवं जनजातिसँग सम्बन्धित समस्याको सम्बोधन गर्न जनयुद्धकालमा विकसित आत्मनिर्णयको अधिकार र स्वायत्ततासम्बन्धी नीति लागू गर्नुपर्दछ ।

१०) पार्टी र आन्दोलनका विगतका गल्ती–कमजोरीहरूको समीक्षा गर्ने ।

११) साम्राज्यवादी र विस्तारवादी शक्तिहरूद्वारा विगतमा नेपालमाथि थोपरिएका सन् १९५० लगायतका असमान सन्धि–सम्झौताहरूको खारेजीका लागि संघर्ष गर्ने ।

१२) उपरोक्त साझा सहमतिका आधारमा सबै पक्ष सम्मिलित संयोजन समितिले पार्टीको नामलगायत एकताको विधि, प्रक्रिया, संरचना, नेतृत्व, मिति निर्धारण गर्नेछ ।

1 comment:

  1. अहिलेको अबस्थामा पुष्पकमल दहालनै पुजींपति, नोकरशाही, दलालहरुको ढाक्रे बनेका छन भन्ने कडा आरोप लगाउने बादल, पम्फा भुसालहरुलाई दहालसंग एकता गर्न उत्प्रेरित गर्ने तत्व चांही के रहेछ ।जनता जान्न आतुर छन ।

    ReplyDelete