Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, April 29, 2016

बैद्यलाई कारवाही गर्ने थापाको तयारी, केन्द्रीय समिति बोलाइँदै

सत्तारुढ एकीकृत नेकपा माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकीकरण गर्ने उद्देश्यसहित छलफल सुरु गरेको छ । जारी स्थायी समिति बैठकले वैद्य नेतृत्वको केन्द्रीय समितिका बहुमत सदस्य आफ्नो पार्टीसँग एकता गर्न उत्साही भएको संकेत पाएलगत्तै एमाओवादीले एकता प्रक्रियाबारे बुधबारबाट औपचारिक रूपमै छलफल थालेको हो । पार्टी विभाजनपछि अन्य पार्टीसँग एकता गर्ने उद्देश्यसहित एमाओवादीले गम्भीरतासाथ बहस चलाएको यो पहिलोपटक हो । अन्य माओवादी दलसँग कसरी एकता गर्ने भन्नेबारे छलफल सुरु गरिएको स्थायी समिति सदस्य जनार्दन शर्माले बताए ।
‘वैद्यजीको पार्टीलगायत एकता प्रक्रियामा आउनसक्ने अन्य पार्टीसँग कसरी एकता गर्ने भन्नेबारेमा छलफल जारी छ,’ शर्माले नागरिकसँग भने, ‘एकीकरणपछि संगठनको जिम्मेवारी, पार्टीको भावी कार्यदिशा, कार्यनीतिलगायत विषयमा गम्भीर छलफल गरिरहेका छौं ।’ एकता प्रक्रियामा आउने माओवादी शक्तिलाई कसरी समायोजन र सम्मानजनक स्थान दिनेलगायत विषयमा सैद्धान्तिक छलफल सुरु गरिएको उनको भनाइ छ ।

समाजवादी क्रान्तिको तयारीमा जानुपर्ने दाहाल नेतृत्वको एमाओवादीको कार्यदिशा र जनवादी क्रान्ति गर्नुपर्नेमा जोड गर्ने अध्यक्ष वैद्यबीच अझै पनि सैद्धान्तिक सहमति जुट्न सकेको छैन । सिद्धान्त, मुद्दा र विचार मिलेपछि मात्रै एमाओवादीसँग एकता गर्नुपर्छ भन्ने अध्यक्ष वैद्य, सिपी गजुरेल, परी थापालगायतको धारणा छ । तर, महासचिव रामबहादुर थापा, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, लेखनाथ न्यौपानेलगायत बहुमत केन्द्रीय नेताले भने पार्टी एकता गरेपछि नयाँ कार्यदिशा निर्माणमा जानुपर्ने तर्क राख्दै आएका छन् । जसका कारण वैद्यले जारी बैठक अचानक अनिश्चितकालका लागि स्थगित गरिदिएका छन् । जुन विषय महासचिव थापालाई चित्त बुझेको छैन ।

यद्यपि वैद्य, गजुरेल र परी थापाबिनै एमाओवादीसँग पार्टी एकता गर्नका लागि रामबहादुर थापालगायत बहुमत टिम तयार भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने उत्साही भएर एकीकरण प्रक्रियाबारे पार्टीभित्र छलफल सुरु गराएका हुन् ।

‘किरण (वैद्य) र सिपी गजुरेलजी नआए पनि बादल (थापा) को नेतृत्वमा बहुमत सदस्य आउने संकेत मिलेको छ, उनीहरुलाई कसरी व्यवस्थापन गर्ने र कुन–कुन पदमा राख्ने भन्नेसम्मका छलफल आजबाट सुरु भएका छन्,’ एक स्थायी समिति सदस्यले नागरिकसँग भने । थापालाई उपाध्यक्ष दिएर भए पनि दाहाल क्रान्तिकारी माओवादीका बहुमत सदस्यलाई पार्टीमा भिœयाउने तयारीमा एमाओवादी जुटिसकेको उनले जानकारी दिए ।
एकताबारेमा छलफल गर्न एमाओवादी अध्यक्ष दाहालले मंगलबार वैद्य र थापालाई निवासमा बोलाएका थिए तर वैद्य उपस्थित भएनन् । वैद्य एकतामा नआउने ‘पक्कापक्की’ भएपछि उनीबिनै एकता गर्ने उद्देश्यसहित दाहालले बुधबारदेखि एकता प्रक्रियामा बहस चलाएका हुन् । दाहाललाई भेट्न वैद्य लाजिम्पाटमा नगएपछि आक्रोशित थापाले कुपोन्डलस्थित नेवाः राज्य समितिमा आफूनिकट प्रमुख नेताको बैठक बोलाएर मंगलबार नै धारणा मागेका थिए ।

संयुक्त बैठकको अनौपचारिक निर्णयअनुसार वैद्यले पार्टी एकताका लागि आनाकानी गरे थापाले केही दिनभित्रै केन्द्रीय समिति बैठक आह्वान गर्नेछन्, जुन बैठकले एमाओवादीसँग एकीकरण गर्ने निर्णय गर्नेछ ।
‘कुपोन्डल बैठकले वैद्यजीले केन्द्रीय समिति बैठक नबोलाएमा अबको बैठक बादल (थापा) जीले डाक्नुहुनेछ र एकतामा जान नचाहने अध्यक्ष वैद्यलाई कारबाही गरेर पार्टी एकीकरणको औपचारिक निर्णय लिनेछ,’ बैठकमा उपस्थित एक नेताले नागरिकसँग भने, ‘त्यसपछि बाँकी रहेका बहुमत सदस्यसहित बादल (थापा) नेतृत्वमा पार्टी एकीकरण हुनेछ ।’

कुपोन्डलस्थित नेवाः राज्य समितिको कार्यालयमा भएको बैठकमा थापासहित नेकपा माओवादी अध्यक्ष मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा, कुलप्रसाद केसीलगायत दर्जन नेताको उपस्थिति थियो ।

‘बैठकमा सहभागी सबैले दाहाल नेतृत्वको एमाओवादीसँग एकीकरण गरेर जाने विषयमा विलम्ब नगर्न सुझाव दिएका छन्,’ स्रोतले भन्यो । एमाओवादी र वैद्यसहित माओवादी शक्तिलाई एकीकरण गराउन पहलकदमी गरिरहेका क्रान्तिकारीका महासचिव मणि थापाले माओवादी शक्तिको पार्टी एकता अन्तिम चरणमा पुगिसकेको जानकारी दिए ।

‘माओवादी शक्तिबीच पार्टी एकीकरण अन्तिम प्रक्रियामा पुगेको छ, अब केही विषय मात्रै मिलाउन बाँकी छ,’ थापाले नागरिकसँग भने, ‘सबैलाई एकीकरण अनिवार्य बनेको छ, यो शुभसंकेत हो ।’ वैशाखभित्र एकीकरण प्रक्रिया टुंग्याउनेबारे कम्तीमा पाँच माओवादी शक्तिबीच घनिभूत छलफल भएको र त्यसलाई निष्कर्षमा पु¥याउने प्रयास जारी रहेको थापाले जानकारी दिएका छन् ।

No comments:

Post a Comment